तीजको मौलिकतासँग जोडिएका मिथकहरू

सोमवार, भदौ ९, २०७६



- सीता ओझा

हरितालिका अथवा तीज भन्नासाथ हरण / हरत + हरितालिका अर्थात पिता गिरिराज पर्वतद्वारा पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन गरेको प्रयत्नलाई असफल गराइ विष्णुसहित सखी / साथी आलिकाको सहयोग लिएर पार्वतीले शिवसँग  विवाह गरेको ऐतिहासिक प्रसङ्ग हो ।

यस प्रसङ्गले बताउने विषय भनेको भाद्र शुक्ल द्धितियाको दिन एक अञ्जुली पानी पिएर हिमालयकै एकान्तबासको कठोर तपस्याको रूपमा व्याख्या गरेको पौराणिक साहित्यको एक महत्त्वपूर्ण   मिथकको  रूपमा रहेको भेटिन्छ । यस्ता मिथकहरूमा तीजसँगैको ऋषि पञ्चमी,स्वस्थानी, मनुस्मृति,आदि परिवारिक संरचनाको विकास र स्थायीत्वसँग जोडेर समाजको विकासका लागि बनाएका पौराणिक साहित्यमा निकै भेटिन्छन् । यी प्रायःजसो प्राग ऐतिहासिक हिन्दुसमाजभित्र  रहेका सबै उमेर, समुह र वर्गलाई सम्बोधन गर्न बनाइएको भेटिन्छ ।

यसको ऐतिहासिकता केलाउदा वैदिककालदेखि विकास हुँदै उत्तरवैदिक कालमा विकास भएको धार्मिक तथा सामाजिक र सांस्कृतिक पर्व भन्दा उत्तम हुन्छ । यसले मावनजातिको  विवाह,नाता सम्बन्ध र पारिवारिक संरचनाको विकास र विस्तारमा भुमिका खेल्न विकास गरिएको वा लेखिएको कथाका रूपमा बुझ्दा उतम हुन्छ ।ऐतिहासिक पक्षबाट विवेचना गर्दा यसलाई पुष्ठि गर्ने निम्न आधारहरू हुनसक्छन् ।

वैदिककालको सामाजिक व्यवस्था हेर्दा मानवजातिको विशेष सम्बन्ध प्रकृतिसँग देखिन्छ । मानिसका लागि आवश्यक पर्ने हरेक वस्तुहरू प्रकृतिसँगै थिए ।  सुख्खा, खडेरी, वर्षा ,बाढी,पहिरोपछिको हराभरा प्रकृति, हरियाली , शितल मौसम, खाद्यान्न लगायत अति आवश्यक वस्तुहरूको उपलव्धता आदिका कारण परिवार सबै जुट्ने मीठो मसिनो खाने, नाता,सम्बन्धको महत्वबोध गराउने उदेश्यले दाजुभाइ र  विवाहित दिदीबहिनीबीचको सम्बन्धको  महत्त्व बुझाउने पर्वको रूपमा विकास गरिएको पनि भन्न सकिन्छ ।यसको उदाहरण अहिले पनि भारतको विभिन्न ठाउँमा मनाउने हरितालिकालाई हरियाली तीज: सावन सुदी तीजको रूपमा मनाउने परम्पराहरूलाई लिन सकिन्छ । त्यस्तै करीज ,हरितालिका तेहर आदीको नाममा अझै पनि मनाउने गरिन्छ ।

पौराणिक  समाजको वर्ण व्यवस्थाले पच्चिस वर्ष सम्मको उमेरमा विवाह गरि गृहस्थ समालिसक्नु पर्ने कुरालाई जोड दिएको देखिन्छ । शिवको ध्यान,योग र साधनामा रावणदेखि ( राक्षस ) मनुष्यसम्म पुग्ने गर्दथे । शिवका अनेकन रूप मध्यको पासुपतका मात्रै चार मुख थिए । त्यस मध्यको दक्षिणपट्टि फर्केको रूप अघोररूप मानिन्थ्यो । यसको अर्थ शिवको क्रोधको अवस्था भनेर बुझिन्छ । शिव भाङ,धतुरो,गाँजा,भष्मको लेपन,सर्पको माला र कुन्डल,जटा,गंगा,चन्द्रमा सहितको त्रिशूल आदि देख्दै वैराग्यको रूप धारण गरेर बस्थे ।

यस्तो वैराग्यमा जे पनि हुनसक्ने खतराको व्यवस्थापनका लागि शिवलाई विवाहको प्रस्ताव राखिएको थियो । विवाहले थोरै भएपनि शिव गृहस्थ र मायाको प्रभावमा बाँधिनेछन भन्ने मान्यताले नै आर्य कुलका  दक्ष प्रजापतिकी छोरीसँग विवाह गराउदा शिवको सम्बन्ध विकास गराउदा आर्य कुलको हित हुने,समाज र पर्यावरणीय  दुबै पक्षमा सन्तुलन कायम गर्न सक्ने अवस्था देखेर नै सतीदेविसँग विवाह गराइयो ।

सतीदेविकाे पिताले पतिलाई गरेको अपमान सहनगर्न कठिन भएर आत्मदाह गरेको घटनाले भावविह्वल भएका शिवलाई शान्त पार्न पुनः हिमालय पुत्री पार्वतीसँग विवाह गराउन विष्णुले पार्वती सखी आलिकाको सहयोग लिए र विवाह भयो ।त्यही विवाह र वैवाहिक जीवनको प्रेम ( दाम्पत्य प्रेम ) को कथाका  रूपमा हरितालिका / तीजलाई अहिलेसम्म हिन्दु महिलाले निराहार,निर्जल  पतिको सौभाग्यका लागि व्रत लिने गरेका छन ।

शिव र सतीदेविको विवाह अन्तरजातीय शक्ति र प्रभावबीच संघर्षको अवस्थाकाे कथा मान्नुपर्छ । यो हिंसा र अहंकारको असरले परिवार र  समाजमा दिनानुदिन बढ्दै गएको असुरक्षाको व्यवस्थापन थियो ।  शिवको परोपकारी र मानवतावादी सोचको कारण शिवको संरक्षणमा जाने समुहहरूको पङ्ति हेर्दा त्यस समाजमा बहिष्कारमा परेका,असक्तहरू नै देखिन्छन । त्यसैले त्यो अभियानलाई वर्गिय असन्तुलन र हिंसाविरूद्दको अभियानको रूपमा पनि लिन सकिन्छ । शिवको ज्ञान ,ध्यान र बलको अगाडि विष्णु ,इन्द्र आदिको पहुँच र शक्ति कमजाेर थियो । अथवा आर्य मुल भन्दा मङ्गोल/ अनार्य मुल बलियो थियो ।

यस्तो असन्तुलनको असर प्रत्यक्ष रूपमा  सामान्य श्रमजीवीहरूमा पर्यो भने परोक्ष रूपमा आफ्नो गण या कविलामा पर्न गयो । यसको सन्तुलन कायम गर्न नसक्दा समाजमा आर्यहरूको सत्ता नरहने अवस्थामा पुगेपछि शिवसँगको सम्बन्ध विस्तारका लागि आर्यकुलकी सती र पछि पार्वतीलाई विवाह गराएर सम्बन्ध सुधार्न गरिएको कुटनैतिक  शक्तिको सन्तुलनको प्रयासको रूपमा पनि हेर्न सकिन्छ ।

शिवको बहान साँढे, स्वतन्त्र जनावर,मानिसको मन जस्तै अराजक, यसलाई मानिसले समालेर राख्नु पर्छ नत्र मानवजातिमाथि नै असुरक्षा हुन्छ भनेर त्यसलाई शिवको भक्तिमा वसाहाको  प्रतीकको रुपमा प्रयोग गरियो । शिवले बोक्ने त्रिशुलले काम,वासना,लोभ, मोहको प्रतीकका साथै मानविय गुण थिए  ।

शिवकाे पहिलो पत्नी गंगा,ज्ञानको सागरजटा र प्रकाशकोलागि चन्द्रमा साथै राख्ने गर्थे। पुत्र गणेशको बहान मुसा बिघ्न गर्ने प्राणी हो यसलाई नियन्त्रण गर्नसके  कार्य सफल हुने देखेर नै गणेशको बहान बनाएर साथैमा राखे । अनि क्लेस नभएको कैलासमा आफ्नो बासस्थान बनाउन सफल रहे । ( जहाँ क्लेस छैन त्यो कैलास हो र त्यहीँ शिवजीको निवास हुन्छ ) कुमारको बहान मयुर,पार्वतीको बहान सिहको मेलको सद्भाव नै   शिव परिवार बन्यो । यस्तो मानव,प्राणी  र  प्रकृतिको समन्वय र सन्तुलनले पर्यावरण जोगाउन मद्दत गर्दछ भन्ने सन्देस दिन सफल रहेको छ ।

राजा भगिरथको समयमा पृथ्वीमा पानीको हाहाकार भयो । राजा भगिरथले पानीको समस्या हल गर्न अनेकौं प्रयत्न गरे तर गंगालाई पृथ्वीमा ल्याउन सकेनन् ।  शिवले गंगालाई पृथ्वी ल्याउदा पर्ने सम्पुर्ण दवाव सहेर जटा बोकेर ल्याए र मानवको रक्षा गरे । त्यस्तै मानव परोपकारकै लागि समुद्र मन्थन गरे । मन्थन गर्दा निस्किएको अमृत आदि देवगणले लिए । विष कसैले लिन मानेनन् र शिव आफैले सेवन गरेर मानवजातिको कल्याण गरेको कथा पनि हामी पढ्छौ । यस्ता कथाले शिव शक्तिसाली महापुरूष थिए । उनको क्षमता अनुसारको सहकार्य र सिपको आर्जन गर्न नसके शिवले आफुसँग विवाह गर्दैनन् भन्ने निष्कर्ष निकालेर पार्वतीले गरेको तपस्याको विकसित रूप नै हरितालिका तीज बन्न पुगेको देखिन्छ ।

पुर्विय सभ्यताभित्र समाजको विकासको चरण बुझ्न  नीजि सम्पति,परिवारको विकाससँग जोडिएर नै हिजोका गण र कविला राज्य बन्दै गएको अवस्थादेखि विश्लेषण गर्नुपर्ने हुन्छ । यसरी हेर्दा मातृप्रधान समाजको अन्त्यसगैं शिव सभ्यता मौलाएको जस्तो देखिन्छ । शिवले सधैं भस्म दल्थे । गाँजा,भाङ,धतुरो,सर्पसँग रमाउथे । लोभ,मोह,अहंकार कम गराउदै सबै प्राणीहरू नासवान छौ भन्ने संकेत थियो । शिवले विवाहमा एकनिष्टता कायम गर्ने अर्धनारेश्वर (आधा पुरूष र आधा महिला सहितको मानव जीवन ) को परिकल्पनाले समानताको पाठ सिकाएको छ । पारवारिक दायित्वको महत्व,प्रकृति र पर्यावरणीयबीचको सम्बन्ध र प्रकृति सन्तुलनको कुरा पनि तीजसँग जोडिएको छ ।

धर्म,संस्कृति ,यौन जस्ता कुराको व्याख्या राज्यले निर्धारण गर्ने कुरा हुन ।अहिले सरकारले तीजलाई भड्किलो नबनाउन गरेको सिमा रेखाको विषयमा पनि महिलाहरूबाटै अनेकौं टिप्पणी गरेको सुनिएको छ । त्यस्तै पुरूषले गर्ने गरेका हरेक नराम्रा कामसँग हामीले तीजको दर खाने विषय जोड्नु पनि राम्रो विषय होइन ।

त्यस्तो बुझाइले समानताको परिभाषा र पक्षपोषण होइन ।  विस्तारै महिलाको स्थापित हक विस्थापित गर्ने मत बढ्दै जाने सम्भावना हुनसक्छ । राजनीतिक परिवर्तनले स्थापित गरेका महिलाका अधिकारहरू स्थापित गर्ने कुरासँग धर्म,संस्कृतिभित्रका अन्धविश्वास र तडकभडक पर्दैनन । हिजोदेखि सामाजिक व्यवस्थापन गर्न विकास गरेका सामाजिक कानुनहरू लामो समयको प्रयोगका कारण अहिले धार्मिक र सांस्कृतिक पर्व र संस्कार बने भन्दै त्यस्ता कुरा अबलम्बन गर्यौं भने पश्च्यगमन गराउछ । हामीले तीज मनाउदा शिव र पार्वतीसँग जोडिएको दाम्पत्य जीवनको प्रेम,विश्वास र समर्पण टिक्न सक्नुपर्छ । हिजो राजनीतिक व्यवस्थाले नेतृत्व गरेको तीज आज भडकिला बनिरहदा हिजो स्थापित मुल्यमान्यता भित्रका असल पक्षहरू लोपोन्मुख हुदैछन ।

शिक्षासँगै घरबाट बाहिरिएर प्रतिस्पर्धामा दौडिएका महिला अहिले तीजको नाममा अन्धविश्वास,तडकभडक र खानपानका  कुरा ग्रहण गर्न खोजेको हो की जस्तो पनि देखिन्छ । त्यस्तै कामको गुणस्तरीयता सगैं महिला महिलाबीचको सहकार्य र आपसी सम्बन्ध विस्तार गर्ने र निर्णय प्रकृयामा महिलाको भुमिका बढाउने विषयमा सक्षमता बढ्न नसकेको आरोप पनि सुनिन्छ । अब तीजसँग जोडेर महिलाहरूले यस्ता विषयमा पनि छलफल चलाउन अति आवश्यक छ कि ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata