मोदी सरकारको जयशंकर कुटनीति

शनिबार, भदौ ७, २०७६



- ई द्वारिका अधिकारी

भारतको आमचुनावमा दोस्रो कार्यकालको लागि अभुतपूर्व विजय प्राप्त गरेको मोदी सरकारले छिमेकी राज्यहरुसँग शान्तिपूर्ण तवरले सम्बन्ध अगाडि बढाउने नीति लिएको संकेत दिएको छ ।

सोही नीति अनुरुप प्रधानमन्त्री मोदीले भुटान भ्रमण सम्पन्न गरिसकेका छन । प्रधानमन्त्री मोदीले आफ्ना विश्वास पात्र एस जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी सुम्पदै विश्व राजनीतिमा नयाँ संकेत गरेका छन ।  मोदी सरकारको जय शंकर कुटनीति पछिल्लो समय काठमाडौंसम्म आइसकेको छ । विदेशमन्त्री जयशंकरलाई विगतको तीतामिठा पल विर्साउँदै सम्बन्ध सुधारको अहम जिम्मेवारी सहित काठमाडौं पठाउने मोदी नीति आफैमा अर्थपरक रहेको राजनीतिक विश्लेषकहरुको धारणा छ ।

गत अगष्ट २१-२२ तारिखमा २ दिने नेपाल भ्रमण सम्पन्न गरेका जयशंकरले नेपाली राजनीतिको नाडी छाम्न सफल भएका छन । नेपाल भारत सम्बन्ध सुमधुर पार्न र दुईपक्षीय हितको लागि नेपाल भारत संयुक्त समितिको बैठक बस्दै सन् २०१५ मा नेपालमा लगाइएको ५ महिने अघोषित नाकाबन्दीको घाउ पुर्ने कोशिस गरेको देखिन्छ । तत्कालिन समयमा कर्मचारीतन्त्रको सल्लाहमा नाकाबन्दी गरिएको संकेत गर्दै मोदी सरकार नेपाली जनताको कुडिएको मन फर्काउने अभियानमा लागेको देखिन्छ । गत अगष्ट ५ तारिख पछि मोदी सरकारले लिएको एक भारत नीति अनुरुप जम्मु-कश्मीर मामिलामा नेपाल सरकारबाट समर्थन प्राप्त गर्न भरमग्दुर कोशिस गर्दैछ ।

नेपाली जनताको भावना बुझ्दै “हिन्दु कुटनीति” सहित काठमाडौं उत्रेका जयशंकरको उद्धेश्य नबोलेरै नेपाली राजनीतिलाई दिन सफल भएका छन । मधेसवादी दलहरुको माग सम्बोधन नभएको भनिएको २०७२ सालमा ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई अहिलेसम्म भारतले केवल नोटिसमा राखेको अवस्थामा भारत अझपनि नेपालमा विकसित घटनाक्रममा पूर्ण विश्वस्त हुन सकिरहेको देखिदैन।  जयशंकर विदेसमन्त्रीमा चयन हुँदा देखि नेपाल भ्रमण हुने पकापक्की भएसँगै नेपाली राजनीतिका एलिट भनेर चिनिएका धेरैको सुरुवाल गिलो भएको कुरा सर्वबिधितै छ ।

भाजपाको २०१९ को चुनावी घोषणापत्रमा हिन्दु राज्यको प्रसङ्ग पनि बृहत तर गौण रुपमा उठेको थियो। चाहे धेरैले यो कुरामा असहमति जनाउन वा नजनाउन तर भारतलाई पनि मोदीले हिन्दु राज्यको रुपमा फर्काउन चाहन्छन । किनकि भारतमा पनि हिन्दुराज्य छलछामपूर्ण तरिकाले नै हटाइएको थियो। भाजपाको राजनीतिक एजेन्डा भनेको हिन्दु धर्ममा आधारित मूल्य र मान्यताहरु हुन् र चुनावताका र विजय पश्चात पनि भारत धर्मनिरपेक्ष राज्य रहन नसक्ने खालका अभिव्यक्ति पनि मोदीले दिएकै हुन्। तर भारतमा अन्य धर्मको पनि बहुल रहेको अनि पश्चिमाहरुले हिन्दुराज्य विरुद्ध ब्यापक लगानी गरिरहेको अवस्थामा मोदीलाई भारतमा हिन्दु राज्य फर्काउन त्यति सजिलो छैन।

षड्यन्त्र मुलक ढंगबाट नेपाललाई धर्मनिरपेक्ष राज्य बनाएको मोदी सरकारले रुचाएको छैन । मोदी सरकार नेपालको गुमेको हिन्दु राज्यको विरासत फर्काउँदै भारतमा हिन्दुत्वको राजनीति चर्काउँदै आरएसएसको नारामा जबरजस्ती होमिन चाहन्छ । जसको निम्ति मोदी नेपाल मामिलामा नम्र्रता र धैर्यतापूर्वक खेल्न चाहन्छन् ।

मोदीले पहिला soft power  र त्यसले नपुगे  hard power को समेत प्रयोग गर्न पछाडी पर्दैनन् भन्ने कुरा जयशंकरको यो भ्रमण मार्फत दिन चाहन्छन ।  हिन्दु आइडियोलोजीमा hard power रहेका मोदी सरकारलाई नेपालको हिन्दुत्व र पशुपतिनाथको महत्व राम्ररी थाहा छ। त्यसैकारण भ्रमणको दोस्रो दिन जयशंकर पशुपतिनाथ मन्दिर पुगेर हिन्दु जनमानसमा हिन्दुत्वको अस्त्र फ्याँके ।

विदेशमन्त्री जयशंकरले पशुपतिनाथको कुटनीति प्रयोग गर्दै डबल स्ट्यान्डर्ड अवलम्बन गर्ने नेपालका सत्ताधीशहरुलाई हिन्दुधर्मको पाठ पढाउन सफल भए ।  गुठि विधेयक जस्ता अध्यादेश ल्याएर मन्दिर र गुठीको सम्पति छिनेर हिन्दु धर्मलाई पाताल भसाउन उद्धत अन्य राजनीतिक एलिटलाई विदेशमन्त्री जयशंकरले भेट्नुले पनि भारतले नेपाललाई धर्म निरपेक्षताको मुद्दाबाट पछी हट्न र हिन्दु राज्य कायम गर्न पशुपतिको चन्दनको soft power प्रयोग गरेको प्रष्ट हुन्छ।

धर्म निरपेक्षताको आधारमा सत्तामा राज गरेका र होलि वाइनको प्रायोजनमा धर्म मास्न तिकडम लगाएका एलिटहरुले यस पटक पूर्व सुचना सहित नेपाल आएका विदेशमन्त्रीसँग प्रोटोकलको हवाला दिदै नभेटेको कुराले पनि धर्मनिरपेक्षताको प्रबर्द्धकहरुको होस हवास उडेको प्रस्टै देखिन्छ। रअ जस्तो खुफिया संस्थाको नेपाल हेर्ने स्टेसन म्यानेजरु सँग लम्पसार परेर भेट्दा प्रोटोकल याद नहुनेहरुले विदेसमन्त्रीसँग अफिसियल भेट्न नसक्नुले धर्मनिरपेक्षताको वकालत अब नेपालमा कमजोर भइसकेको देखाउछ।

प्रधानमन्त्री ओलीले मोदीलाई असोजमा नेपाल भ्रमण गरेर संविधान दिवसको मौका पारेर धर्मनिरपेक्ष नेपालको संविधानलाई औपचारिक रुपमा स्वागत गर्न अनुरोध गरेकोमा असोज अघि नै धर्मनिरपेक्षताको बारेमा संविधानमा संशोधन हुन सक्ने आँकलन गरिएको छ ।

कुनै पनि हालतमा धर्मनिरपेक्षता रहेको संविधान मोदीले स्विकार्दैनन भन्ने कुरा घाम जस्तै छर्लंग छ। त्यसैले राजनैतिक रुपमा २०१५ को नाकाबन्दीबाट नेपालमा आफ्नो साख गुमाएका मोदीले त्यस घटनाको क्षतीपुर्तीको हिसाबमा बहुसंख्यक नेपालीको भावनालाई कदर गरेर छलछामपूर्ण तरिकाले छिनिएको हिन्दुराज्य फर्काउन सहयोग गर्ने छन । नेपालसँग भविष्यमा सहकार्य गर्न इच्छुक भएको देखिन्छ । विश्वमा अर्थतन्त्र, प्रविधि र सैन्य शक्तिमा अब्बल भारतको लागि मिसिनरी विहिन हिन्दुराज्य शान्त नेपाल पहिलो आवश्यकता देखिन्छ।

ई द्वारिका अधिकारी जलस्रोतबिज्ञ हुनुहुन्छ साथै कानुन र राजनीतिशास्त्रका बिद्यार्थी पनि हुनुहुन्छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata