विक्षिप्त मोदी मिडिया !

फरकमत

आइतवार, असार १४, २०७७



- दीपेन्द्र पाण्डे

भारत अतिक्रमित भूमि लिम्पियाधूरा, लिपुलेक र कालापानीलाई समेट्दै गत जेठ ३ गते नेपालको संसद्ले ऐतिहासिक चुच्चे नक्सा अनुमोदन गर्‍यो । गत जुन १७ मा गलवान घाँटीमा चीन र भारतीय सेनाको अप्रिय मुठभेडमा भारतीय सेनाको एक कमान्डर सहित १९ जवान मारिए । करिब एक महिनाको अवधिमा भारतीय सत्ताले भोगेको अकल्पनीय घटना पश्चात् मोदी मिडिया नाङ्गो ढङ्गले प्रस्तुत भइरहेको छ। लामो समय देखी नेपालसँगको सीमा विवाद सल्टाउन खासै रुचि नदेखाएको भारतले चुच्चे नक्सा अनुमोदन पश्चात् वार्ताको निम्ति कोभिड -१९ लाई बहाना बनाएको छ ।

गलवान घाँटीमा भएको अप्रिय झडप पछि भारतीय सेनाका उच्च अधिकृतहरू थुप्रै असहमतिको बाबजुद वार्तामा बसिरहेका छन् भने भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबिच टेलिफोन वार्ता सम्पन्न भएको छ । भारतीय सेनाको ठुलो भौतिक क्षतिको बाबजुद दुवै मन्त्रीले समस्यालाई थप जटिल नबनाउने सहमति गरेका छन् । तथापि मोदी सत्ता सस्तो मिडियाबाजीको बलमा सर्वसाधारण भारतीयको मनमा विष घोल्दै छ ।

बेलायती उपनिवेशबाट मुक्त भएको लामो समय बितिसक्दा पनि सर्वसाधारण भारतीय जनताको न्यूनतम आवश्यकता समेत पुरा गर्न असफल सत्ता प्रति भारतीय जनता निराश र क्रुद्ध छन् । बढ्दो महँगी, चर्को बेरोजगारी, कहाली लाग्दो भ्रष्टाचार, जातिवाद, धार्मिक उन्माद, गरिबी र आफ्ना असफलता छोप्न भारतीय सत्ता राष्ट्रवादको खेल खेल्न बाध्य छ । तात्कालिक भारतका करिब ६०० राज्यहरूले आफ्नो अस्तित्व रक्षा गर्न नसक्दा बेलायती उपनिवेशद्वारा प्राप्त विशाल भारतको सीमा समस्या जनतालाई सु-सूचित गर्नुको सट्टा उत्तेजित गर्ने, भड्काउने, घृणाको व्यापार गर्ने मोदी मिडियाको कारण दक्षिण एसिया राजनीति थप टकराब तर्फ मोडिँदै छ ।

नेपाल र बेलायतको बीच औपचारिक कूटनीतिक सम्बन्ध सन १८१६ बाट शुरु भयो भने यसलाई अझ मजबुत र औपचारिक बनाउने काम ३१ डिसेम्बर १९२३ मा सम्पन्न गरियो । २५ अप्रिल १९४७ मा नेपाल – अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापित भइसक्दा पनि भारत भने स्वतन्त्रता र पहिचानको लडाई लड्दै थियो । भारतले आजसम्म नेपालसँग युद्ध गर्नु नपरेको बरु भारतको सुरक्षाको निम्ति नेपालीहरूले रगत बगाएको इतिहासको अपमान गर्ने मोदी मिडियाको कारण सन १९५०मा स्थापित नेपाल – भारत सम्बन्ध कठिन मोडमा पुगेको छ । सुगौली सन्धि पश्चात् राजनीतिक भूगोल खुम्चिएको नेपालसँग बेलायती सत्ताले एकीकरण गरिदिएको विशाल भारतको बलमा रोटी- बेटीको दुहाई दिँदै ‘बडेभैया’ बन्ने भारतीय सत्ताको व्यवहार नेपाली जनताले सदासर्वदा अस्वीकार गर्दै आइरहेका छन् ।

बेलायत निर्मित विशाल इन्डिया  भारत – पाकिस्तानमा विभाजित गर्दै बेलायत फर्केसँगै शुरु भएको दक्षिण एसिया राजनीति वर्तमान भारतले बुझ्न चाहेन । इन्डियाबाट बेलायत फर्किएको दुई वर्षपछि, सोभियत रुसमा समाजवादी सत्ता आएको ३२ वर्षपछि चीनमा उदाएको माओवादी सत्ताको कारण भारतीय राजनीति आफ्नो खुट्टामा उभिन पाएन । तिब्बतलाई चीनको अभिन्न अङ्ग बनाउने माओको विकसित सोच र नेहरु-पटेलको बृहत् भारतको सीमा भित्रैमा नेपाल पार्ने खेल असफल हुनुको कारण अमेरिका – बेलायतसँग नेपालको दौत्य सम्बन्ध बन्न पुग्यो । नेपाललाई भारतमा गाभ्दा भारतकै भू-भाग गुम्ने खतरा र आफ्नै आन्तरिक समस्याको कारण विश्वको राजनीतिक नक्सामा अविच्छिन्न टिक्न सफल नेपाल भारतीय राजनीतिको कारण आत्मनिर्भर बन्न सकेन । जसको कारण आज पर्यन्त नेपाल-भारत सीमा अद्यावधिक गर्न सफलता मिलेको छैन भने राजनीतिक अस्थिरता नयाँ चरणमा प्रवेश गर्दै छ ।

सन १९५० पछि दौत्य सम्बन्ध स्थापित गरेका भारत-चीन सन १९५९मा तिब्बतीय धर्मगुरु दलाई लामालाई धर्मशालामा शरण दिएसँगै नयाँ विवादमा फस्यो । सन १९६० पछि चर्किएको भारत-चीनको सीमा विवाद १९६२ मा युद्धमा बदलियो। उक्त लडाइँमा भारतले ठुलो नोक्सानी सहित अनपेक्षित हार बेहोर्‍यो । जितिरहेको युद्धबाट एकतर्फी पछि हट्दै चीनले अमेरिकाको भारत प्रवेशलाई रोकी दियो । भारतको उत्तर तर्फ करिब ९०,००० वर्ग किलोमिटर जमिन माथि दाबी गर्दै युद्धबाट पछि हटेको चीनलाई भारतले अरुणाञ्चल प्रदेश, लद्धाख र अक्साई चीन समेत करिब ३,८०,०० वर्ग किलोमिटर जमिन कब्जा गरेको आरोप लगाउँदै आएको छ ।

महाशक्ति राष्ट्र बन्न हतारिएको चीनले दक्षिण एसियामा अमेरिकाको प्रत्यक्ष उपस्थिति नचाहेको कारण भारतीय सत्ताले सीमा विवाद चर्काई रह्यो । सन १९९३ मा सीमा विवादको दीर्घकालीन समाधान गर्ने हेतुले एक सम्झौता सम्पन्न गरियो । सोही सम्झौतालाई सफल बनाउन चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री बीच पटक-पटक वार्ता भए पनि पूर्ण सफलता हात लागेन । यसै समयमा सन १९६७ पछिको सबैभन्दा ठुलो भौतिक क्षति भारतले बेहोरेसँगै चीन-भारत सम्बन्ध कठिन मोडमा प्रवेश गरेको छ । इतिहास र तथ्यसँग सम्पूर्ण नाता तोडेको मोदी मिडिया नक्कली समाचार मार्फत भारतीय जनतामा उन्माद भर्दै छ ।

चीन – नेपाल विरोधी राष्ट्रवादी भावना, चरम बयान बाजी र अफवाह फैलाउने मोदी मिडियाले सर्वसाधारण भारतीयको ब्रेन यसरी वास गरिरहेको छ कि चीनको विरोध गर्दा उत्तर कोरियाको राष्ट्रपति किमको फोटो जलाई रहेका छन् । कोरोना युद्धको कारण भारतीय जनताको जीवन भयावह अवस्था तर्फ मोडिँदै गएको अन्देखा गर्दै मोदी मिडिया चीन-भारत सम्बन्धलाई खतरामा पार्न लागी परेको छ । वरिष्ठ अधिकारीहरू परिस्थितिलाई शान्त पार्न खोजिरहेको समयमा मोदी मिडिया जनमतलाई भड्काउन उद्धत छ । मोदी मिडियाको कारण उठ्ने आन्दोलन र ठुलो जनमतले मोदी सत्तालाई ठुलो राजनीतिक दबाब दिन सक्ने तर्फ उनीहरू ध्यान दिन चाहिरहेका छैनन् । तनावको समयमा कडा अडान लिँदै भीडलाई शान्त पार्न मोदी सत्ताले सजिलै गल्ती गर्न बाध्य हुने खतरा चुलिएको छ ।

दिल्ली सत्तामा मोदी आगमनसँगै बढेको भारत -चीन व्यापारको कारण ठुलो सङ्ख्यामा भारतीयहरूले रोजगारी पाएका छन्। पछिल्लो समय चीनले भारतमा ठुलो लगानी गरिरहेको छ । झन्डै सयको हाराहारीमा चिनियाँ कम्पनीहरू भारतमा स्थापना गरिएका छन् । टेक्नोलोजी क्षेत्रमा चीन र भारतको सम्बन्ध अझ न्यानो बन्दैछ । अन्तर्राष्ट्रिय डाटा कर्पोरेसन (आईडीसी) का अनुसार भारतका शीर्ष पाँच स्मार्टफोन ब्रान्डहरू मध्ये चार चीनका छन् । काउन्टरपोइन्ट रिसर्चको आँकलनले देखाउँछ कि चिनियाँ स्मार्टफोनले भारतीय बजारको ६० प्रतिशत हिस्सा ओगटेको छ ।

सन २००० देखी चीन – भारत व्यापार उकालो लागेको छ । सन २००० मा ३ बिलियन अमेरिकी डलरबाट उकालो लागेको व्यापार सन २०१९ मा ९२ बिलियन युएस डलर पुगेको छ । भारतले आयात गर्ने सामानको १४ प्रतिशत हिस्सा चीनले ओगटेको छ भने ५.१ प्रतिशत निर्यात भारतले चीनतर्फ गरिरहेको छ । यसै समयमा चीनले करिब २६ बिलियन युएस डलर लगानी भारतमा गरेको छ । कोभिड -१९ को कारण भारतीय अर्थतन्त्र दिन दिनै ओरालो लाग्दै छ । भारतमा चरम बेरोजगारी र न्यून आर्थिक वृद्धिदर हुने प्रक्षेपण भइरहेको समयमा कोभिड- १९ बाट सबै भन्दा छिटो फुत्किन सफल चीनसँग कुबेलामा राष्ट्रवादको नारा भारतलाई महँगो पर्दै छ । मोदी मिडियाले तमाम तथ्यलाई इन्कार गर्दै जनस्तरमा चिनियाँ सामान बहिष्कारको हौवा फैलाएको छ ।

मोदी मिडियाले चाहेर पनि चीन-भारत र नेपालको सम्बन्धलाई गलत बाटोमा लैजान सक्दैनन् । भारतीय जनतालाई नेपाल-चीन विरुद्ध खडा गर्न सक्छन् तर सर्वसाधारणले कुनै अवसर, प्रतिफल र पुरस्कार प्राप्त गर्ने छैनन्। सस्तो चिनियाँ सामान बहिष्कार गरे भारतीय धनीहरूले महँगो उत्पादन गरिब जनतालाई भिडाउने छन् भने सर्वसाधारण मानिस नयाँ प्रविधिको प्रयोगबाट वञ्चित हुने छन् । मोदी मिडियाले सर्वसाधारण जनतालाई अन्धकारमा राख्दै फैलाएको चिनियाँ सामान बहिष्कारको नारा कति सम्भव छ बुझ्न भारतको बेसिक रसायन, फार्मास्यूटिकल्स र प्रशाधन सामग्री निर्यात प्रवर्द्धन परिषद्का पूर्व अध्यक्ष सतीश वाघको बुझाई काफी छ । चिनियाँ कच्चा पदार्थको अभाव र योग्य प्राविधिकको कमी भएमा भारतीय रासायनिक उद्योगहरूमा गम्भीर असर पर्ने छ। जसको कारण भारत झनै पछाडि पर्ने छ ।

अर्को तर्फ नेपाल विरुद्ध विष ओकल्ने मोदी मिडियाको कारण नेपाल र भारतीय जनताको सम्बन्ध नाजुक अवस्था तर्फ मोडिएको छ। मुलुक सानो भए पनि नेपाल भारतको ठुलो बजार बनिरहेको छ। खुला सिमाना, धार्मिक -सांस्कृतिक सम्बन्ध मात्र हैन भारतको सातौँ रेमिटेन्स भित्र्याउने मुलुक विरुद्ध मोदी मिडियाले छेडेको सस्तो युद्ध भारतलाई महँगो पर्ने छ । दशकौँदेखि चल्दै आएको गहिरो अन्तर सम्बन्धित सम्बन्धलाई मोदी मिडियाले खतरामा पार्दै छ । चरम बयान बाजी र अफवाह फैलाउन स्वतन्त्र उडान गर्न दिने मोदी सत्ताको कारण मोदी मिडिया क्यान्सर बनेर उदाएको छ । चीन र नेपालसँग हुने सीमा सङ्घर्षको परिणाम तर्फ ध्यान दिनुको सट्टा सम्बन्धलाई थप गिजोल्ने मोदी मिडियाको खल्लो रणनीति कालान्तरमा भारत विरोधी शक्तिको निम्ति वरदान बन्ने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments