कोरोना भाइरसको सन्देश

सोमवार, बैशाख ८, २०७७



- डा. गोविन्दबहादुर थापा

कोरोना भाइरस विश्वमा कति र कस्तो क्षति पुर्‍याएर बिदा लिने हो अझै भन्न सकिने अवस्था छैन । तर यसले बिदा हुनु अघि पृथ्वीवासीलाई एउटा जवर्जस्त पाठ सिकाएर जाने कुरा भने पक्का छ । त्यो पाठ हा, मानिसहरूले धन, दौलत, सुख सयल, प्रविधि, शक्ति, प्रभाव आदिमा जतिसुकै उचाइ हासिल गरे पनि यी सबै कुराले अझै पनि मानिसको सुरक्षाको प्रत्याभूति दिँदो रहेनछ । लाखौँ मानिसहरूको ज्यान लिएर यो भाइरसले यो कुरा प्रमाणित गरेको छ । अझ भन्न सकिन्छ कि मानिसले अहिलेसम्म विभिन्न क्षेत्रमा जति उपलब्धि हासिल गरेको छ ती सबैलाई यो भाइरसले चुनौती दिएको छ । उपलब्धिको शिखरमा पुगेका मुलुकहरू नै आफ्ना नागरिकहरूको जीवन रक्षा गर्न असमर्थ हुनुबाट उनीहरूले पराजित महसुस गरिरहेको हुनु पर्दछ । चिकित्सा क्षेत्रमा हालसम्म हासिल गरिएको प्रगतिलाई विल्कुल अपर्याप्त तुल्याई एक से एक शक्तिशाली व्यक्तिको जीवन हर्ने अदृश्य शक्ति यो धरतीमा अप्रत्याशित रूपमा उत्पन्न हुन सक्दो रहेछ भन्ने उनीहरूलाई लागिरहेको होला । यसले मानिसहरूलाई गहिरो सङ्ग असुरक्षित र निरीह महसुस गराएको छ । यो भाइरस उत्पत्ति भएको चार महिना नाघी सक्दा पनि र विश्वका उत्कृष्ट विशेषज्ञहरू अहोरात्र लाग्दा पनि यसलाई निर्मूल पार्ने औषधि पत्ता लगाउन नसक्नुले मानिसले यो क्षेत्रमा अहिलेसम्म पाएको सफलता बिलकुल अपर्याप्त रहेछ भन्ने दर्साउँछ ।

कोरोना भाइरसबाट मानव जातिले लिनु पर्ने प्रमुख शिक्षा के देखिन्छ भने अहिलेसम्म हामीले अभ्यास गर्दै आएका खान पान, आहार, व्यवहार, जीवन शैली आदिमा परिवर्तन गर्नु अब जरुरी भइसकेको छ । त्यसमा मुख्य गरी जङ्गल, जल र जमिन मुनी र माथि रहेका सयौँ, हजारौँ थरिका परिचित÷अपरिचित जीव जन्तुको उपभोग अब बन्द गर्नु पर्दछ । ती स्वादिष्ट होलान्, खाने गरिएका पनि होलान्, प्रतिष्ठासँग जोडिएका कुरा पनि होलान् तर समयको अन्तरालमा ती घातक पनि हुन सक्दा रहेछन् भन्ने कुरा यो भाइरसको उत्पत्तिले देखाएको छ । त्यसैले चिर परिचित, लामो अभ्यासबाट पुष्टि भएका र मानिसको सामुन्ने जन्मी, हुर्की बढेका कुरा नै उपभोग गर्ने आदत बसाल्दा कम्तीमा खानपानको तर्फबाट आउने असुरक्षाबाट जोगिन सकिँदो रहेछ । त्यही भएर चीनले यो भाइरस उत्पन्न भएपछि जङ्गली प्राणीको उपभोगमा प्रतिबन्ध लगाएको छ ।

शिक्षा लिनु पर्ने अर्को कुरा प्रियजन भेट हुँदा शरीर स्पर्श गर्ने (हात मिलाउने, आलिङ्गन गर्ने, चुम्बन गर्ने आदि) प्रचलन पनि कतिखेर रोग (भाइरस) सार्ने माध्यम हुने हो भन्न नसकिने रहेछ भन्ने कुरा पनि यही भाइरसले देखाएको छ । हात मिलाउने त त्यसै पनि स्वस्थ चलन होइन । किनभने नाक, मुख, आँखा, कान वा शरीरका कुनै पनि भागमा असहजता महसुस भएका बखत तत्काल हात नै त्यहाँ पुग्ने भएकोले हात ती अङ्गमा रहेका खराबीबाट कुनै न कुनै रूपमा हरबखत प्रभावित भइरहेको हुन्छ । त्यसो हो भने सान्निध्य दर्साउन हात नै किन मिलाउनु पर्‍यो ? त्यसैले हात जोडी नमस्ते, एउटा हातले मात्र सलाम, वा अरू कुनै तरिकाले मित्रता दर्साउने गर्नु सर्वथा उचित हुन्छ । अहिले पश्चिमाहरूले पनि हात मिलाउनुको खराबी बुझे जस्तो देखिन्छ । साथै भेट्दा केही फैसला राखेर बातचित गर्ने परम्परा पनि राम्रो हो । पश्चिमाहरूको अन्धानुकरण गर्दा नै यस्ता गलत परम्पराहरू हाम्रो संस्कृतिमा प्रवेश गरेका हुन् । पश्चिमा देशका चलन भन्दैमा सबै राम्रा र वैज्ञानिक नहुने रहेछन् भन्ने कुरा अहिले पुष्टि भएको छ ।

यो भाइरसले अर्को के कुरा पनि सिकायो भने धेरै चरणमा प्रशोधन गरिएका खास गरी ‘जङ्क फुड’ को उपभोगले मानिसको रोग (भाइरस पनि) प्रतिरोधक क्षमता (ईम्युनिटी पावर) कमजोर पार्दै लैजाँदो रहेछ । यो कुरा त्यस्तो खानाको बढी उपभोग गरिने मुलुकहरूमा यो भाइरसको सङ्क्रमण अधिक रहेबाट पनि पुष्टि हुन्छ । हुन त यस्तो सङ्क्रमणका अरू पनि कारण होलान् तर ती मध्ये एउटा कारण यसलाई पनि मानिएको छ । अधिक जनघनत्व, गरिबी र न्यूनतम सफाइ, व्यापक मात्रामा कुपोषण भएका भारत, बङ्गलादेश, पाकिस्तान, इन्डोनेसिया र नेपालमा पनि सापेक्षिक मात्रामा यो भाइरसको सङ्क्रमण कम हुनुको मूल कारण यहाँका मानिसमा रहेको अधिक रोग प्रतिरोधक क्षमतालाई मानिएको छ । र, यो क्षमता बढी हुनुको कारण यहाँका मानिसले ‘जङ्क फुड’ उपभोग नगर्ने र गरे पनि नगन्यले मात्र गर्ने हो भनिएको छ । त्यसैले रोग प्रतिरोधक क्षमता कायम राख्न अब त्यस्ता जङ्क फुडको उपभोगलाई पुरै उपेक्षा गर्नु आवश्यक छ । हामी जन्मी, हुकीर्, बढेको हावा पानी र माटोमा कुनै रासायनिक पदार्थ प्रयोग नगरी उत्पादन गरिएका (अर्गानिक) बस्तुको उपभोग नै स्वस्थ र सुरक्षित रहन सहयोगी हुने रहेछ भन्ने कुरा अब हामीले स्वीकार गरी अमल गर्नु पर्दछ । युरोप, अमेरिका तिरका मानिस हेर्दा स्वस्थ देखिन्छन् र उनीहरूको औसत आयु पनि हाम्रो भन्दा निकै नै बढी छ । तर त्यसो हुँदा पनि उनीहरूको रोग प्रतिरोधक क्षमता भने कम हुँदो रहेछ ।

यो भाइरसको स्थानान्तरण र सङ्क्रमणको प्रवृत्ति हेर्दा के देखिन्छ भने एक ठाउँमा सङ्क्रमित भएको मानिस जुन बाटो भएर जहाँ पुग्यो र त्यो क्रममा उ जो जो सङ्ग सम्पर्कमा रह्यो यो भाइरस पनि उ सङ्ग सङ्गै सम्पर्क गरिएका मानिस र ठाउँमा सङ्क्रमण गर्दै जाँदो रहेछ । युरोपका इटाली, स्पेन, फ्रान्स, बेलायत र अमेरिका यो भाइरसबाट बढी प्रभावित हुनुको अन्य कारणका अतिरिक्त एउटा कारण धेरै युरोपियन र अमेरिकीहरू धेरै विदेश भ्रमण गर्ने र त्यसमा पनि चीनमा धेरै आवत जावत गर्ने हो भनिएको छ र चीन र युरोप तथा अमेरिकाबिच हवाई उडानको सङ्ख्या अत्यधिक हुनुलाई यसको आधारको रूपमा लिइएको छ । यसबाट आउँदा दिनमा व्यापारिक, व्यावसायिक र मनोरञ्जनात्मक भ्रमण (पर्यटन) यो भाइरसको महामारीबाट कतै निरुत्साहित पो हुने हो कि भन्ने आशङ्का गर्न थालिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments