मओवादीले निर्वाचन हार्नुका दश कारण

शुक्रबार, साउन ६, २०७४



पछिल्लो समय नेपाली सञ्चार माध्यममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हार्नुका कारणहरुको बारेमा विभिन्न प्रकारका टिका टिप्पणीहरु आईरहेका छन् । यसैलाई लिएर अहिले माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित वैठक पनि वसिरहेको छ । केन्द्रीय समितिको वैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखी लिएर विभिन्न प्रदेशका इन्चार्ज र जिल्लाका संयोजकहरुले रिपोटिङ गर्ने काम गरिरहेका छन् ।

हुन त माओवादीको विस्तारित वैठकले हार्नुको कारणहरु त पत्ता लगाउला नै तर माओवादी पार्टी आफैमा यो हारको कारणहरु खोज्दा–खोज्दै फेरी अर्को हारको समीक्षा गर्नु पर्ने दिन आउन सक्छ ? त्यसैले माओवादी हार्नुका दश कारणहरु यस लेखमा प्रष्ट पार्न खोजिएको छ । जसले माओवादी केन्द्रको विस्तारीत वैठकमा हारको कारण पत्ता लगाउन थप सहज हुनेछ ।

पहिलो, राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिनुः माओवादी केन्द्रले चुनाव आउनु भन्दा निकै अगाडी नै चुनाव लागि सकेको थियो । कि यस प्रकारको चुनाव अन्य दलहरुमा आएको नै थिएन् । तर, माओवादी केन्द्रमा भने प्रष्ट रुपमा चुनावको हावाले छोइसकेको थियो । हावा यस्ता भयो कि जसले आफ्नो पार्टीलाई भन्दा पनि अरु पार्टीलाई वढि टेवा दिएको पाइयो ।

यसका साथै माओवादी केन्द्रले उम्मेदवारहरुको छनोट गर्दा सिद्धान्त र व्यवहार भन्दा पनि आफ्ना मान्छेलाई वढि प्राथामिकता दिइयो । नेताको पिछलग्गु बन्ने व्यक्तिलाई मात्र उम्मेदवार बनाउने काम भयो । अनि नेताको तुमसरण नगर्ने सही व्यक्ति भएपनि राम्रा व्यक्तिले उम्मेदवार बन्न पाएनन् । जसको कारण चुनाव हार्न पुग्यो । राम्रा व्यक्तिलाई उम्मेदवार बनाएको स्थानीय तहमा माओवादीले सानदार जित हासिल गरेको छ । यस्तो हुनुको मुख्य कारण भनेको नै राम्रालाई भन्दा पनि हाम्रालाई र नेताको चाकडी गर्नेलाई वढि प्राथामिकता दिनु ।

दोस्रो, सिद्धान्त भन्दा पनि पैसाको पछि कुद्नुः दश वर्षसम्म महान जनयुद्ध लडेको माओवादी पार्टीमा यति छिटो विभाजन र सैद्धान्तिक रुपमा विचलन आउला भनेर कसैले पनि कल्पना गर्न सकेका थिएनन् । तर, यस्तोसम्म अवस्था आयो माओवादी शान्ति प्रत्रियामा आएको दश बर्षमा टुक्रा टुक्रामा विभाजन हुन पुग्यो । फलस्वरुप दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीले नराम्ररी पराजय भोग्नु प¥यो । दोस्रो संविधानसभाको निर्वाचनको विरोध गर्दे आएको माओवादीको विभाजित घटकहरु विच एकता त भयो तर, त्यो सैद्धान्तिक रुपमा र भावनात्मक रुपमा हुन सकेन् । व्यवहारिक रुपमा एकता भए जस्तो देखिए पनि मनमा विभिन्न प्रकारका कुण्ठाहरु यथावत रहन गयो । जसको कारण माओवादीको सिद्धान्त भन्दा पनि पैसाको पछि कुद्ने व्यक्तिको हावि हुन थाल्यो ।

फलस्वरुव माओवादी पार्टीको चार हजारको हाराहारीको केन्द्रीय समिति बन्न पुग्यो । जसको व्यवस्थापन गर्न नसक्दा पैसा र पहुँच भएको व्यक्तिले पार्टीलाई आफ्नो अनुकुलमा चलाउन थाले । यसले सिंगो पार्टी नै वदनाम हुन पुग्यो । जुन स्थानीय तहको निर्वाचनमा सतहमा देखियो । कर्तव्य निष्ठ व्यक्तिलाई पार्टीको उम्मेदवार बनाउने भन्दा पनि खराब आचरण र पैसाको प्रदर्शन गर्न सक्ने व्यक्ति उम्मेदवार बने । यसलाई इमान्दार कार्यकर्ताले सही ठानेनन् । जुन कारण कार्यकर्ता निर्वाचनको काममा भन्दा पनि अन्य काममा वढि खटेको देखियो । यसको सही तरिकाले व्यवस्थापन गर्न नसक्दा पार्टीले नराम्रो तरिकाले हार व्यहोर्न प¥यो ।

तस्रो, नेतृत्वले गलत रिपार्ट गर्नुः पार्टीले चुनावको लागि स्थानीय तह तथा जिल्ला जिल्लामा चुनावी कमाण्डर तोकेर पठायो । यसरी पार्टीले चुनावको कमाण्डर तोकेर पठाएका व्यक्तिहरुले पार्टीको माथिल्लो निकायमा रिपोटिङ गर्दा मनोगडन्ते तरिकाले रिर्पोट गरे । जसलाई पार्टी केन्द्रीय कार्यालयले अनुसरण गर्दा गलत निणर्य गर्नु पर्ने बाध्यता भयो जसको कारण माओवादील हार व्याहोर्नु प¥यो । माओवादी केन्द्रका स्थानीय नेताहरुले यस्तोसम्म रिर्पोट गरे मानौंः ‘कुनै वडामा ७५० मतदाता रहेका छन् भने माओवादी पार्टीमा २८५ मत खस्ने र एमालेलाई १५० र कांग्रेसलाई २०० खस्ने र केही मत अन्यलाई जाने तथा ५० जना मतदाताले मत नै नहाल्ने भनि रिपोटिङ गर्दथे ।’

यसरी रिपोटिङ गरिएको वडामा माओवादीलाई जम्मा १०० मा मत मात्र आएपछि अहिले माओवादी नेताहरु हसिया र ताराले हामीलाई दुःख दियो भनिरहेका छन् । यस प्रकारका हास्यस्पद रिपोटिङ गर्नु भन्दा सत्यतथ्यमा आधारित भएर रिपोटिङ गरे माओवादीले आगामी चुनावमा वढि स्थानमा जित हासिल गर्दथ्यो कि ? होईन भने गलत रिर्पोटका कारण नै माओवादीले थप हार व्याहोर्दे जाने निश्चित छ ।

चौथो, उम्मेदवारले आफ्नो बिकल्प नै छ्रन् भन्नुः माओवादीबाट उम्मेदवारको रुपमा घोषणा भईसकेपछि माओवादीको उम्मेदवारहरुले आफुले जितिनै सके जस्तो महसुश गर्नु पनि माओवादी हार्नुको कारण हो । माओवादीले उम्मेदवार छनोट गर्दा अन्य पार्टी भन्दा छिटो त छनोट ग¥यो अरु पार्टीमा भन्दा अलिक कम विवादित तरिकाले उम्मेदवार छनोट त ग¥यो । तर, माओवादीले सही के हो गलत के हो भनेर छुट्याउन नसक्दा सही उम्मेदवार छनोट गर्न सकेन ।

यसका साथै उम्मेदवारले माओवादी पार्टी आफु मात्र भएको र आफुले भनेको सबै कुरा लागु हुनपर्ने जस्तो कुराहरु गर्न थाले जसलाई पार्टीको सबै कार्यकर्ताले सही रुपमा लिन सकेनन् । यस्तो अवस्था आयो कि ? माओवादीले कुनै पार्टीसंग सहकार्य गर्दा जित निश्चित हुने स्थानीय तहमा समेत उम्मेदवारको हठमा कारण सहकार्य हुन नसक्दा विपक्षीले जित हासिल ग¥यो । भने यस्तो ठाउँमा माओवादीका उम्मेदवारको जमानत जफत नै भयो ।

पाचौं, जनतामाझ झुटा वाँचा बढि गर्नुः माओवादीले मतदातालाई आश्वासन पार्ने काममा पनि वढि नै चुकेको देखियो । बर्षौसम्म नभएको काम माओवादीले स्थानीय सरकारको नेतृत्व लिएको खण्डमा जादुको छडि जस्तो केही बर्षमा नै सबै काम गरिसक्ने वाँचा बाँड्दै हिड्यो । जसको कारण माओवादीले पराजय भोग्नु प¥यो । जनतालाई के थाहा छ भने माओवादी देशको पहिलो पार्टी भएको अवस्थामा दुई बर्षमा संविधान बनाउने भने पनि संविधान चार बर्षमा समेत निर्माण हुन नसकेको तितो यथार्थ भोगेका छन् । यसलाई माओवादीले आत्मसाथ गर्न सकेन ।

माओवादीले आफ्नो एजेण्डामा जनतालाई निशुल्क आवास देखी लिइए निःशुल्क पानी, विजुली जस्ता धेरै प्रकारका एजेण्डा जनतासामु ल्याए पनि सही रुपमा यसलाई व्यवस्थपान गर्न नसक्दा यसको वढि आलोचना हुन पुग्यो । जसलाई जनताले विश्वास गरेनन् । यसप्रकारको एजेण्डालाई जनताले वेवास्ता गर्दा माओवादीको धेरै स्थानीय तहमा पराजय हुन पुग्यो ।

छैटौं, विकासवादी भन्दा पनि सुविधाभोगि एजेण्डालाई प्राथमिकता दिनुः माओवादीले सबै भन्दा पहिला आफ्नो चुनावी रणनीति सार्वजनिक गर्दे आफ्नो एजेण्डाहरु जनतामा खोल्यो । जसलाई नेपालको पुजीवादी मिडियाले प्रोपोगाण्डा नै बनायो । माओवादीले फ्रि वाईफाई दिने रे । बास्तवमा यो एजेण्डा माओवादीले ल्याउनु नै पर्ने थिएन । कार्यकर्ता पंतिmबाट नै यसको विरोध भयो माओवादीको शिर्शस्त नेताहरुले यसलाई कुनै वास्ता गरेनन् । तर, माओवादी हार्नुको एउटा कारण यो पनि बन्यो ।

विश्वका विभिन्न देशमा इन्टरनेट तथा टेलिफोन सेवा निःशुल्क गरिएका उदाहरणहरु पनि हामी माझ छन् । तर, माओवादी केन्द्रका नेतृत्वको अदुरदर्शीका कारण देशको विकासमा भन्दा पनि सुविधाभोगि एजेण्डाहरु बढि आए । जसलाई आम जनताले पत्याएनन् । अहिले नेपाली जनताकाको प्रमुख आवस्यकता भने रोजगारी हो । यसमा माओवादी एजेण्डामा उल्लेख्य रुपमा स्वदेशी रोजगारीको बारेमा स्पष्ट खाका आउन सकेन ।

जनताले वास्तवमा माओवादीसंग देशको स्वरुप कस्तो बनाउने भनेर खाका ल्याउने आशा गरेका थिए । त्यो माओवादीबाट पुरा हुन सकेन । माओवादीको केन्द्रीय समितिले स्थानीय तहको निर्वाचनको लागि प्रतिवद्धता–पत्र सार्वजनिक गर्दा सबै स्थानीय तहलाई एकै डालोमा राखेर हेर्ने काम भयो । यो पनि माओवादी हार्नुको कारण हो भन्न सकिन्छ । माओवादीको एजेण्डालाई सुश्म तरिकाले अध्ययन गर्दा अन्य पार्टी भन्दा माओवादीमा विलासिताको मोह बढि देखियो । जसलाई आधारभुत्र जनताले सही मान्न सकेनन् ।

सातौं, आलोचना सहने क्षमतामा कमि, गुठबन्दीमा जोडः जनताको मुक्तीका लागि जिवन र मृत्युको कशम खाएको माओवादी नेताहरुमा यस्तो संस्कृती मौलायो जहाँ अरुको आलोचना गर्न पाइयो भने खुसी हुने अनि आफ्नो आलोचना हुदा चाही रिसाउने । यो परिपाटी माओवादीमा यसरी झागियो की विकराल रुप लिन गयो । जसको परिणाम स्वरुप गुठ तथा उपगुठहरु सिर्जना भए । आफुले मनले खाएको नेतालाई पार्टी भित्रबाट नै आलोचना हुदा आरोप प्रत्योरोपमा उत्रीय तर अरुको पार्टीले आफ्नो पार्टीे नेतृत्वको बारेमा खैरो खन्दा समेत एक शव्द नवोल्ने नेताहरु पनि पनि भेटियो ।

पछिल्लो समय यसप्रकारको परिपार्टी यसरी मौलाउदै गयो । जुन स्थानीय तहको चुनावसम्म आउदा चरम गुठबन्दीमा हुन गयो । पार्टीभित्र आलोचना हुने र त्यसको समाधानको विकल्पहरु नखोजिने संस्कारको विकास भयो । कुनै पनि विषयमा भएको विवादलाई गुमनाम तरिकाले मिलाउने कोषिश भयो । विवादमा सम्लग्न भएका व्यक्तिहरुलाई समेत त्यसबारेमा थाहा दिइएन । थप नेताहरुको गलत आचरणको विरोध गर्दे गएमा पार्टीबाट निश्कासन गर्ने र भौतिक कारवाही गर्र्ने खालको धम्कीको भाषा समेत वोल्ने बानीको विकास भयो । अनि चुनावमा मुखैमा आउदा माअ‍ोवादी केन्द्रका नेताहरुमा एकरुपता देखिएन । सकेसम्म एकले अर्कोको चर्को विरोध गर्ने । नेताको चाकडी गर्ने प्रर्थाको हावी हुन गयो । जुन कारणले गर्दा माओवादी केन्द्रमा आलोचना सहने प्रवृति हराउँदै गयो भने गुठगत स्वार्थ मौलाउँदै गयो । परिणाम स्वरु नराम्ररी हार खानु पर्ने अवस्था आयो ।

आठौं, सहानुभुतिवाद र अवसरवाद हावी हुनुः माओवादी केन्द्रमा नातावाद र क्षेत्रीयवाद त हावी भएको नै थियो । त्यसमा थप सहानुभुतिवाद र अवसरवाद हावी हुन पुग्यो । जहाँ माओवादी केन्द्रबाट कुनै पनि सदस्यमा उम्मेदवार वन्नका लागि नेताको पिछलग्गु बन्नु पर्ने कि पैसा सो गर्न सक्नु पर्ने अवस्था सिर्जना भयो । जसको कारण माअ‍ोवादीबाट उम्मेदवार बन्नका लागि नेताको सहानुभुति पाउनु पर्ने वा अवसरवादी भएरलाग्नु पर्ने हुन्थ्यो । यतिले नभए नेतालाई मोटो रकम हस्तान्तरण गर्न सकिएको खण्डमा मात्र माओवादी पार्टीको तर्फबाट उम्मेदवार बन्न पाउने अवस्था आयो । यो त नेपाली का्रग्रेस र एमालेमा मात्र देखिएको थियो तर, पछिल्लो समय माओवादीमा समेत यस विषय हावी भएको कारण माओवादीले सही उम्मेदवार खडा गर्न नसक्नु हारको कारक हुन पुग्यो ।

नवौं कार्यकर्ताको सही परिचालन नहुनः माओवादीमा जिम्मेवारी पाउनका लागि पन नेताहरुको पुच्छर बन्नुु पर्दथ्यो । जसले नेताहरुको पुच्छर बन्न सक्द्थ्यो । उसले मात्र विभिन्न प्रकारको जिम्मेवारी लिन पाउथ्यो । तर, आजको दिनमा माओवादीले सही तरिकाले कार्यकर्ताको परिचालन गर्न नसक्दा माओवादीले स्थानीय तहको चुनावमा परजय भोग्नु प¥यो । माओवादीले स्थानीय स्तरको चुनाव भएपनि कसरी स्थानीय स्तरको नेताहरुलाई परिचालन गर्ने सो विषयमा सही तरिकाले नसोच्दा स्थानीय स्तरमा नेता तथा कार्यकर्ता परिचालनमा समस्या देखियो । यस्तोसम्म समस्या देखियो की गाउँमा बसेर काम गरेको नेता तथा कार्यकर्ताहरुले जिल्ला बाहिर रहेर पार्टीको विभिन्न तह तप्कामा काम गर्ने व्यक्तिहरुलाई कुनै पनि तरिकाले नसमेट्ने प्रकारको परिपार्टी विकास भयो ।

माओवादी आन्दोलनमा लामोसमय देखी प्रतिवद्ध रहको व्यक्तिहरुलाई गाउँमा लगेर चिनाउने काम भएन । ति व्यक्ति गाउँमा जाँदा समेत पार्टीको गाउँ स्तरका नेतृत्वहरुले परिचय गराउने भन्दा पनि ‘भाग खान आएछ’ भन्ने जसरी हेर्ने पद्दतीको विकास भयो । जसको कारण पार्टीको नेता तथा कार्यकर्तामा सहकार्य देखिएन । पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न गएको आफ्नो गाउँ भन्दा बाहिर बसेर काम गरेको नेतृत्व र स्थानीय तहका पार्टी नेतृत्व बीचमा तालमेल नहुदा विपक्षीले मौकाको फाइदा लिने अवसर पाए । परिणाम स्वरुव स्थानीय तहको निर्वाचनमा माओवादीले धेरै ठाउँमा दोस्रो र तेस्रो दलको रुपमा वस्नु पर्ने बाध्यता पैदा भयो ।

दशौ, संगठन निर्माण भन्दा पनि गफ बढिः माओवादीमा संगठन निर्माण गर्ने परिपार्टी भन्दा पनि गफ गर्ने संस्कारको बढि विकास भयो । कसरी हुन्छ पार्टीको माथिल्लो नेतृत्वसंग पहुँच विस्तार गर्नका लागि एक दुई जना नेताहरुको चम्चे भएर अरुले गरेको कामलाई समेत आफैले गरेको भनि जस लिने प्रवृतिको विकास भयो । यसरी कुनै नेतृत्वलाई प्रभावमा पारेर जस लिने प्रवृतिका कारण सही व्यक्तिले अवसर पाउने भन्दा पनि गलत व्यक्तिको हातमा पार्टी नेतृत्व हस्तान्तरण हुने संस्कारको विकास भयो ।

पार्टीको नेताको विश्वास पात्र भएपछि संगठन निर्माण गरिरहनु नपर्ने बनावटी कुरा गरेपनि भईहाल्यो । वास्तविक रुपमा आफ्नो पार्टीमा प्रतिवद्ध व्यक्ति के कति छन् । ति व्यक्तिहरुलाई खोजविन गरी पार्टी निर्माणमा लगाउने तर्फ नेतृत्वको ध्यान कम गएको पाइयो । पार्टी भित्रका संगठकका रुपमा चिनिएका व्यक्तिलाई नै पार्टीको माथिल्लो निकायका नेतृत्वहरुबाट अविश्वास गरिदा सही तरिकाले पार्टीले गति लिन सकेन् । पार्टी भित्र संगठक व्यक्तिहरु भन्दा पनि गफ गर्ने व्यक्तिहरुको समुहलाई नेतृत्वबाट विश्वास लिने अन्ध–विश्वासवादी तथा व्यक्तिवादी संस्कार हावी हुदा पार्टी भित्र गफ गर्ने र कुरा काट्ने प्रवृतिको विकास भयो फलस्वरुप स्थानीय तहको निर्वाचनमा नराम्ररी पराजय भोग्नु प¥यो ।

निश्कर्षः लामोसमय सम्म मुक्ती या मृत्युका कसम खाएको योद्धाहरुको निकै ठुलो उपस्थीति रहेको माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा हार खानु चानचुने कुरा होइन । दश वर्षसम्म जनताको मुक्तिको लागि जनयुद्ध लडेको पार्टी शान्ति प्रक्रियामा आएको दश वर्षको छोटो अवधीमा नै जनताबाट यसरी विस्थापित हुनु भनेको पार्टी नेतृत्व पंक्तीबाट निकै ठुलो गल्ती भएको समिक्षा गर्न आवस्यक भएको छ । पार्टी शान्ति प्रक्रियामा आएपछि झुण्ड–झुण्डमा विभाजन भएर फेरी एकताको नाम दिएर एक ठाउँमा त आएका छन् नेताहरु । तर, त्यो एकताले के बास्तविक रुपमा माओवादी आन्दोलनलाई जोड्ने काम ग¥यो कि गरेन सो विषयमा समेत समिक्षा गर्ने वेला भएको छ । अनि पार्टीका नेतृत्वहरुले पनि हिजोको दिनमा समाजमा रहेको आफ्नो छविलाई फेरी सही तरिकाबाट विकास गरी नेतृत्वदावी कदम लिन आवस्यक छ । होइन भने, नेपालमा माओवादी आन्दोलनको विरासतलाई इतिहासको पानामा खोज्नु पर्ने दिन आउन सक्छ ?
श्रेष्ठ प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हुन ।

625 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank