महाभारतकालीन नारीवाद दह्रो कि अहिलेको ?

बुधबार, मंसिर १५, २०७३



कहिले गान्धारीको ठाउँमा, कहिले कुन्तीको ठाउँमा त कहिले द्रौपदीको स्थानमा आफूलाई राखेर हेर्ने महिला कति होलान् ? धेरै होलान् जसले महाभारतको कथा पढेका छन्, बुझेका छन्, सुनेका छन् । कथा नै थाहा नपाईकन तिनका पात्रहरूसँग तुलना गर्ने कुरा आएन । महाभारतकालीन यी महिला स्वयम्बर (आफैँले आफ्नो पति छान्ने काम) गर्थे । गान्धारीबाहेक कुन्ती र द्रौपदीले भारी सभामा विभिन्न देशका राजकुमार लाइनमा राखेर स्वयम्बर गरेका हुन् । द्रौपदीलाई कसले पाउने भन्ने कुरामा सर्त राखिएको थियो । धनुष विद्यामा उत्कृष्ट हुनुपर्ने भनिएको मात्र थिएन, अभ्यास नै गराइएको थियो । कुन्तीले राजकुमारहरूको अनुहार र तिनको ‘फेसियल एक्स्प्रेसन’ छानी–छानी हेरेरै पाण्डुलाई रोजेकी थिइन् । अन्धालाई छोरी नदिने भनेर उनका बाबु र भाइ गान्धारी धृतराष्ट्रलाई दिन राजी थिएनन् । तर, गान्धारी स्वयम् आफू धृतराष्ट्रसँग विवाह गर्न राजी भएकी थिइन् ।

हस्तिनापुरका राजकुमार धृतराष्ट्रसँग विवाहको प्रस्ताव गएपछि गान्धार नरेशकी छोरी गान्धारीले जब आफ्ना हुनेवाला पति दृष्टिविहीन भन्ने थाहा पाइन् । उनले पनि आँखामा पट्टी बाँध्ने निर्णय गरिन् । यसो गर्नुको कारण बताउँदै उनले भनेकी थिइन्, ‘अन्धालाई बुझ्नका लागि अन्धकारलाई महसुस गर्न सक्नुपर्छ ।’ कुन्ती, द्रौपदीलगायत महाभारतकालीन नारीहरूलाई स्वयम् वर खोज्ने स्वतन्त्रता भए पनि हाम्रा आमा–हजुरआमाहरू बाबुआमाले जसलाई दिन्छन् जस्तालाई दिन्छन् लुरुलुरु पछि लाग्न बाध्य थिए । न त उमेर मिल्नुपथ्र्यो न त देखभेट नै गर्नुपथ्र्यो, विचार मिल्ने–नमिल्ने त कुरै नगरौँ ।

‘नारीवाद’मा समानता र स्वतन्त्रताले ठूलो अर्थ राख्छ । जीवनसाथी रोज्ने अधिकारबारे महिलामाथि हुने सबै प्रकारका भेदभावविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि (सिड) मा उल्लेख छ भनी हामी गौरवका साथ भन्छौँ । महाभारतका महिला पात्रहरूले त्यो अधिकारको अभ्यास पहिल्यै गरेका थिए । महिलाले स्वयम्बर गर्ने भएकाले त्यतिबेलाका पुरुष महिलाबाट ‘रिजेक्ट’ हुन सक्थे । धेरै पुरुषबीच एकजनालाई माला लगाइदिने हुँदा भयङ्कर पराक्रमी भनेर चिनिएका, मानिएका राजकुमार पनि रिजेक्ट भएर फर्कनुपथ्र्यो । यता, राम्री लागेन या खुट्टाका औँला मिलेनन् या शिर अँध्यारो भयो लगायतका अनेक बहानामा महिलालाई विवाहका लागि हेर्ने र छोड्ने क्रम अहिले पनि जारी छ ।

नारीवादलाई पछिल्लो समयमा पुरुषलाई ‘इरिटेट’ गर्ने शब्दका रूपमा लिनेहरूको सङ्ख्या ठूलो छ । तर, नारीवादको अर्थ त समानतासँग मात्रै जोडिएको छ । अहिलेका महिलाले दृष्टिविहीन व्यक्तिलाई जीवनसाथी रोज्ने हिम्मत गर्लान्् कि नगर्लान्, तर त्यतिबेला गान्धारीले त गरिन् । यद्यपि विवाह गरेपछि आँखामा पट्टी नबाँधिएको भए अझ राम्रो हुने थियो भन्न सकिन्छ । उनको आँखाबाट संसार हेर्ने धृतराष्ट्रको चाहना अधुरो रह्यो । आमाको नामबाट सन्तानहरू चिनिँदा त्यतिबेला गौरव गरिन्थ्यो । पाँच पाण्डव पाण्डुपुत्रभन्दा बढी कुन्तीपुत्र या कुन्तेय भनेरै चिनिए । कृष्णलाई देवकीनन्दन नै भनियो, भीष्मलाई गंगापुत्र भनेरै सम्बोधन गरिन्थ्यो । तर, अहिले आमाको नामबाट सन्तानलाई नागरिकता दिनका लागि अनेक लबी र एड्भोकेसी गर्नुपरेको छ । मनमा प्रश्नले बेलाबेलामा ठाउँ लिइरहन्छ, त्यतिबेलाको नारीवाद दह्रो कि अहिलेको ?

हामीकहाँ जिउँदै जलाउने, बलात्कारलगायतका घटना हुँदा पनि कुनै उच्चपदस्थहरूले प्रश्न गरेको सुनिएको छैन, यत्तिका घटनामा केही गर्न नसक्दा–नसक्दै पनि के म यो मुलुकको प्रधानमन्त्री या राष्ट्रपति भनिन योग्य छु ?

द्रौपदी महाभारतकी सबैभन्दा चर्चित पात्र हुन् । यसो हुनुका अनेक कारण छन् । त्यसमध्ये धर्मराज भनेर मानिएका युधिष्ठिरले उनलाई जुवामा दाउ राख्नु र भारी सभामा उनको अपमान प्रमुख कारण हुन् । सम्पत्तिका रूपमा द्रौपदीलाई जुवाको खालमा दाउ राखेर जग्गाजमिन र पैसाजस्तै गरी हानेपछिका संवादहरू मन छुने छन् । महिलालाई वस्तुको रूपमा हेर्न मिल्छ कि मिल्दैन, पाइन्छ कि पाइँदैन भन्ने बहस महाभारतकालदेखि नै रहेको देखिन्छ । मलाई जुवा हान्नका लागि म तिमीले चाहेको बेला प्रयोग गर्ने सम्पत्ति होइन भनेर द्रौपदीले पटकपटक भनेकी छिन् ।

जुन कुरामा उनकी सासू कुन्ती र बढीसासू गान्धारीले द्रौपदीको भरपूर साथ दिएका छन् । यो मेरो मात्र होइन, सारा नारी जातिको इज्जतसँग जोडिएको कुरा हो भनेर द्रौपदीले भनेकी छिन् । द्रौपदीलाई लछारपछार गर्दै ल्याएर सारी उतार्न लगाएको (चीरहरण) प्रसङ्गमा नारी जातिको सम्मान र आत्मसम्मानको कुरा गान्धारीले सशक्त रूपमा उठाएकी छिन् । हस्तिनापुरका पुरुषहरूलाई गान्धारीले ‘महिलाको अपमान गरेर तिमीहरूको सम्मान बढ्दैन’ भनेकी छिन् । त्यसअघि अर्जुनले दौपतीलाई विवाह गरेर ल्याएपछि आमा कुन्तीसँग भिक्षा ल्याएको छु भनेपछि हेर्दै नहेरी उनले सबै दाजुभाइले बराबरी बाँडेर लिनु भनेको वचनलाई लिएर पनि लामो छलफल भएको छ । पत्नीलाई भिक्षा भन्न तिमीले कसरी सक्यौ ? पत्नीलाई भिक्षा भन्न मिल्छ ? भनेर कुन्तीले अर्जुनलाई प्रश्न गरेकी छिन् ।

अधिकारसँगै कर्तव्यका धेरै कुरा छन् महाभारतमा । आमा हुनुको अधिकार माग्दै गर्दा कर्णले उत्तरदायित्वको कुरा सम्झाएका छन् । आमा हुनुको कर्तव्य पूरा नगरी नदीमा बगाइदिने आमाप्रति उनका कठोर शब्दहरूले बच्चा पाउनु मात्रैले आमा भइँदैन भन्ने सन्देश दिएको छ । कर्ण कुन्तीले अविवाहित अवस्थामै पाएका छोरा हुन् । कुमारीआमा हुने कुरा अहिले त जिब्रो टोकिन्छ, त्यतिबेला केसम्म हुन्थ्यो होला ? लोकलाजबाट बच्नका लागि कुन्तीले आफ्नो पहिलो सन्तान कर्णलाई फूलको ढकीमा राखेर नदीमा बगाएकी थिइन् । लोकलाजकै कारण अहिले कति शिशुहरू संसारै नदेखी आमाकै हातबाट मर्न बाध्य छन् ।

महाभारतकालमा पनि नारीवादी पुरुष थिए । समानताकै परिभाषाभित्र समेटिने महिलाको अस्तित्व स्वीकार गर्नु र उनीहरूको आत्मसम्मानलाई महत्व दिनु नारीवाद हो । भारी सभामा सारी तान्ने पुरुष नै भए पनि बेइज्जती हुनबाट जोगाउनका लागि अघि सर्ने कृष्ण पनि पुरुष नै थिए । चीरहरण प्रयासपछि विह्वल द्रौपदीलाई गान्धारी भन्छिन्, ‘आफ्नो आँसु आफँै पुछ द्रौपदी, हात उठाऊ, आँसु पुछ ।’ हामी अहिले महिलाहरू आफैँ सक्षम र सशक्त हुनुपर्छ भनिरहेका छौँ । आँसु पुछ्नुको अर्थ सशक्त हुनु हो । भारी सभामा द्रौपदीको बेइज्जती काण्डपछि विदुरले महारानी भनेर सम्बोधन गर्दा गान्धारी प्रश्न गर्छिन्, ‘महिलाको सम्मान नहुने यस्तो राज्यमा के म महारानीको सम्बोधन गरिन योग्य छु ?’ तर, हामीकहाँ जिउँदै जलाउने, बलात्कारलगायतका घटना हुँदा पनि कुनै उच्चपदस्थहरूले प्रश्न गरेको सुनिएको छैन, यत्तिका घटनामा केही गर्न नसक्दा–नसक्दै पनि के म यो मुलुकको प्रधानमन्त्री या राष्ट्रपति भनिन योग्य छु ? नारीवाद पुरुषको विरोध होइन, प्रवृत्तिको विरोध हो, पितृसत्ताको विरोध हो । हामीकहाँ भएका धेरैजसो नारीवादी महिला र पुरुष उदारवादी नारीवादी हुन् भन्न मिल्छ । कतिपय अर्थमा महाभारतकालीन नारीवाद उदारवादी नारीवादभन्दा माथि झैँ लाग्छ ।

घटना र बिचार साप्ताहिकबाट

888 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank