नेपालको आफ्नै एकीकृत राष्ट्रिय बजार खोई ?

बुधबार, चैत्र १९, २०७६



- डा. गोविन्दबहादुर थापा

नेपालको अन्य सबै मुलुकमा भए जस्तै आफ्नो एकल एकीकृत आन्तरिक राष्ट्रिय बजार छैन । नेपालको दक्षिण तर्फ खुला सिमाना र समथर भूभाग भएकोले नेपाली बजार दक्षिणको सीमा पारी तर्फ विस्तारित छ । व्यवहारमा पूर्व-पश्चिम नगन्य मात्रामा मात्र विस्तारित छ । त्यसले गर्दा नेपालका आफ्ना उत्पादनहरू पूर्वका पश्चिम र पश्चिमका पूर्व कमै मात्रामा मात्र जान्छन् । अर्थात् पूर्व-पश्चिम कमै मात्रामा मात्र व्यापार हुन्छ। खास व्यापार उत्तर-दक्षिण हुन्छ । पहाडका एक जिल्लालाई आवश्यकता पर्ने सामान धेरैजसो दक्षिण र त्यसमा पनि सीमापारिबाट आपूर्ति हुन्छ तर दायाँ बायाँका अरू जिल्लाबाट नगन्य मात्रामा मात्र हुन्छ । यसले गर्दा आयातित सामान पनि पूर्वमा एक किसिमका र पश्चिममा अर्कै किसिमका हुन्छन् र मूल्य पनि फरक हुन्छ । किनभने दक्षिण तर्फको आयातको श्रोत फरक हुन्छ ।

यसरी नेपालको आन्तरिक बजार टुक्रा टुक्रामा छरिएर रहेको छ । एकीकृत एउटै आन्तरिक राष्ट्रिय बजार छैन । यसले गर्दा कुनै पनि आन्तरिक रूपमा गरिने उत्पादन सम्पूर्ण देशभरिको लागि कति आवश्यक हुन्छ भन्ने प्रक्षेपण गर्न सकिँदैन र गर्न सकिएको पनि छैन । नियन्त्रित र नियमन गरिएका अन्तर्राष्ट्रिय सिमाना भएका विश्वका अन्य कुनै पनि मुलुकमा यस्तो हुँदैन । उनीहरू सबैको आ-आफ्नो एकीकृत र एकल आन्तरिक राष्ट्रिय बजार हुन्छ । त्यसैले उनीहरूले कुनै पनि बस्तु र सेवाको उत्पादन वा आपूर्ति गर्नु पर्दा त्यही बजारलाई मध्यनजर गरेर गर्दछन् । नेपालको दक्षिण तर्फको समथर भूभागमा पूर्व-पश्चिम लोकमार्ग भएकोले एक हदसम्म बजारहरू जोडिएका छन् । जस्तो वीरगन्जबाट पूर्व-पश्चिमका जिल्लाका बजारहरू, भैरहवा र नेपालगन्ज पूर्व पश्चिमका जिल्लाका बजारहरू, विराटनगर पूर्व पश्चिमका जिल्लाका बजारहरू र धनगढीका पूर्व पश्चिमका जिल्लाका बजारहरूमा केही व्यापारिक सम्बन्ध छ तर त्यो सीमित छ । दक्षिण तर्फका ती नेपाली बजार र उत्तरका हिमाली र पहाडी जिल्लाका बजारबीच पनि व्यापारिक सम्बन्ध छ ।

तर हिमाली र पहाडी जिल्ला भित्रका बजारहरुवीच एक आपसमा अत्यन्त सीमित मात्रामा मात्र व्यापारिक सम्बन्ध छ । सुरुदेखि नै रहेको यो स्थिति हाम्रो समग्र आर्थिक विकासमा कति बाधक भइरहेको छ भन्ने सम्बन्धमा अहिलेसम्म बहस त के चर्चासम्म पनि भएको पाइँदैन । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्क, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मात्र होइन अध्ययन, अनुसन्धान गर्ने नाममा खोलिएका अनगिन्ती गैरसरकारी संस्थाहरूले पनि यस बारेमा चर्चा गरेको पाइँदैन । अर्थात् यी कसैले पनि यो स्थितिको अनुभूति नै नगरेको जस्तो देखिन्छ । त्यति मात्र होइन कि नेपालको विकासमा सुरुदेखि साझेदारका रूपमा संलग्न हुँदै आएका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू र मित्र देशहरूको समेत यस दिशा तर्फ अहिलेसम्म ध्यान गएको पाइँदैन ।

नेपालको यस्तो बजार नभएकोले यहाँ मेची र महाकालीका उपभोक्तालाई एकैसाथ लक्षित गरेर कुनै पनि निजी क्षेत्रका बस्तु र सेवा उत्पादन हुँदैनन् । सिमेन्ट, फलामे छड, चिनी जस्ता केही बस्तु यसका अपवाद हुन सक्दछन् । तर यी बस्तु पनि मधेसका बजारमा केही मात्रामा सीमा पारीबाट आयात हुन्छन् । नेपालगन्जमा उत्पादित सिमेन्ट ताप्लेजुङमा त कुरै नगरौँ झापा पुग्न पनि गाह्रो छ । त्यसै गरी झापामा उत्पादित चिनी कञ्चनपुर पुग्दैन भने दार्चुला पुग्ने त कुरै भएन । पोखराको कुनै उद्यमीले पोखरा र त्यस वरिपरिका मात्र बजारलाई हेरेर उद्योग खोल्छ। झापा र ताप्लेजुङ तथा कञ्चनपुर र दार्चुलासम्म उसको दृष्टि पुग्दैन । तब पोखरा र आसपासका बजार (उपभोक्ता) लाई मात्र लक्षित गरेर कत्रो उद्योग खोलिएला !

यही स्थिति नेपालका अन्य ठाउँको पनि छ । त्यस अतिरिक्त सीमा पारीबाट निकटका नेपाली बजारमा सबै किसिमका सामान सबै तरिकाबाट सहजतापूर्वक ल्याउन पाइन्छ । त्यही भएकोले चाडबाड र विवाह व्रतबन्धमा काठमाडौँबाट समेत गएर सीमापारिका बजारमा किनमेल गरिन्छ । दसैँ तिहारका बेला हरेक वर्ष सीमावारिका बजार सुनसान र सीमापारिका बजारमा घुईचो भन्ने समाचार आउँछन् । त्यसमाथि अन्य मुलुकबाट पनि सजिलो सङ्ग र सस्तोमा सामानको ओइरो लाग्ने छँदै छ । राजस्वको दृष्टिले पनि हामी आयात प्रति सुरुदेखि नै सकारात्मक छौँ । त्यसो भएपछि नेपालको आन्तरिक बजार र नेपाली उद्योगको विकास कसरी हुन्छ ? यी सबै कारणले नेपालको उद्योग क्षेत्र विस्तार हुँदै जानुको सट्टा खुम्चिँदै गएको छ । यो स्थितिलाई नउल्ट्याउने हो भने अझ खुम्चिँदै जाने पक्का छ । नेपालमा बेरोजगारीको समस्या सुल्झिँदै जानुको सट्टा बल्झिँदै जानुको प्रमुख कारण पनि यसैलाई मान्नु पर्दछ । अतः बजारको यो अवस्थाले सरकारबाट यस सम्बन्धमा दूरगामी प्रभाव दिने ठुलो निर्णयको अपेक्षा गरिरहेको छ । यस क्रममा एकीकृत र एकल आन्तरिक राष्ट्रिय बजारको क्रमिक विकासलाई प्राथमिकता दिनु पर्दछ । अहिलेसम्म त नेपाल भारतको विस्तारित (एक्स्टेण्डेड) बजार जस्तो मात्र भएको छ ।

कुनै पनि मुलुकको विकासको लागि आफ्नै स्वतन्त्र र एकीकृत आन्तरिक राष्ट्रिय बजार हुनु कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा अमेरिकाको विकास इतिहास हेर्दा स्पष्ट हुन्छ । पिटर डी. ए. जोन्सले आफ्नो पुस्तक ‘द कन्जुमर सोसाईटीः ए हिस्ट्रि अफ अमेरिकन क्यापिटलिजम’ मा लेख्दछन् ‘विशाल, एकीकृत आन्तरिक बजार अमेरिकाको भौतिक सफलताको एउटा महत्त्वपूर्ण कडी हो’।

युरोपका बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि मुलुकले अमेरिका, भारत, लगायत अफ्रिका र दक्षिण अमेरिकाका कयौँ मुलुकलाई आफ्ना उपनिवेश बनाउनुको मुख्य उद्देश्य औद्योगिक क्रान्तिको क्रममा उत्पादित आफ्ना उत्पादनको लागि बजार विस्तार गर्नु थियो । साथै ती उपनिवेशबाट आफू कहाँ औद्योगिक कच्चा पदार्थ ओसार्नु पनि थियो । त्यसैको जगमा युरोप विश्वमा सबैभन्दा पहिले समृद्ध बन्यो र विज्ञान तथा प्रविधि विकासमा लगानी गर्दै अरू समृद्ध बन्यो । यसले औद्योगिक विकासको लागि बजारले कति महत्त्व राख्दो रहेछ भन्ने कुरा पुष्टि गर्दछ । विश्व युद्धका अनेकन् कारण मध्ये औद्योगिक राष्ट्रहरूबीच बजार कब्जा गर्ने प्रतिस्पर्धा पनि एक थियो भनिन्छ । आफ्नो बजार सुरक्षित राख्दै अरू विस्तार गर्ने उद्देश्यले कारोबार लागत घटाएर आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन युरोपियन मुलुकहरूले युरोपको साझा बजार (कमन मार्केट) बनाए र युरोपका प्रभावशाली १२ मुलुकहरूले आ-आफ्ना मुद्रा खारेज गरी सन् २००२ देखि साझा मुद्रा ‘युरो’ प्रचलनमा ल्याए । यसले पनि आर्थिक प्रगतिको निमित्त बजारले कति महत्त्व राख्दो रहेछ भन्ने दर्साउँछ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले फेब्रुअरी १९७२ मा चीन भ्रमण गरेर अमेरिका र चीनबीच रहेको अत्यन्त चिसो सम्बन्धमा सुधार ल्याउने पहल गरे । त्यो भ्रमणको क्रममा दिएका प्रत्येक भाषणमा उनले पटक पटक चीन एक अर्व जनसङ्ख्या भएको मुलुक हो भनेका छन् । त्यसो भन्नुको पछाडिका अन्य धेरै उद्देश्य मध्ये चीन एक अर्व जनसङ्ख्याको बजार हो भन्ने पनि थियो । अर्थात् त्यत्रो ठुलो बजारमा पहुँच पाउनु सके हुन्थ्यो भन्ने पनि उनको भित्री मनसाय थियो । त्यसपछिका वर्षहरूमा ती दुई देशबीचको आर्थिक लगायतको सम्बन्धमा हुँदै गएको सुधारबाट ती दुवै देश अत्यधिक मात्रामा लाभान्वित भए । चीन कहाँबाट कहाँ पुग्यो भने अमेरिकाले पनि आफ्नो समृद्धि थप्दै जान सफल भयो । किनभने अमेरिकाले आर्थिक विकासको निमित्त बजारको कस्तो महत्त्व हुन्छ भन्ने कुरा आफू बेलायतको उपनिवेशबाट स्वतन्त्र (जुलाई ४, १७७६) भएपछि बुझिसकेको थियो ।

बजारको महत्त्वको त्यत्तिकै ज्वलन्त उदाहरण चीन र भारतवीचको व्यापार सम्बन्धमा पनि देख्न सकिन्छ । विशेष गरी सन् १९६२ को युद्धपछि चीन र भारतबीचको सम्बन्ध अत्यन्त तिक्त रहँदै आएको कुरा जग जाहेर छ । यी दुई देशबीचको चर्को सीमा विवाद अद्यापि कायम छ । तर यी दुवै देशले एक अर्काको विशाल बजारलाई दृष्टिगत गरी आपसी व्यापार बढाउन कुनै कसर बाँकी राखेका छैनन् । किनभने यी देशका सरकारहरू माथि जनतालाई समृद्ध पार्नु पर्ने चर्को दबाब छ । यस अनुसार आर्थिक वर्ष २०१७÷१८ मा चीन र भारतबीच ८९.६ अर्व डलर बराबरको व्यापार भएको थियो।  जसमा भारतलाई ६२.९ अर्व डलरको घाटा भएको थियो ।  भारत,चीनको एघारौँ ठुलो व्यापार साझेदार हो । अहिले मुलुकहरू अन्य मुलुकसँगको सीमा तथा अन्य विवादले देशको आर्थिक समृद्धि प्राप्तिको प्रयासलाई छेकी राख्नु हुँदैन भन्ने निष्कर्षमा पुगेका छन् । अतः बजारको यस्तो महत्त्वलाई बुझेर अव नेपालले आफ्नो आन्तरिक बजारलाई सङ्गठित गर्न ढिलाइ गर्नु हुँदैन ।
नेपालमा त्यस किसिमको बजार निर्माण गर्न भू—बनौटको कारणले निश्चित रूपमा निकै कठिन छ । पहाडी भेगमा पूर्व पश्चिम सडक निर्माण गर्न कठिन छ । खर्चिलो छ । बनाइए पनि सडक साँघुरा, उकालो ओरालो, घुम्ती र पुल धेरै हुन्छन्।  मर्मत सम्भार गर्न गाह्रो हुन्छ । त्यसमाथि हरेक वर्ष बर्सातमा कहीँ न कहीँ बाढी र पहिरोले सडक र पुल भत्काउँछ । साथै नेपाल भूपरिवेष्टित मुलुक भएकोले उत्पादन लागत पनि बढी हुन्छ । त्यसको साथै विद्युत् महसुल र बैङ्कको ब्याजदर उच्च छ । यी कुराले पनि हाम्रा उत्पादनको लागत बढाएको छ । हाम्रा उत्पादनको स्केल सानो हुने भएकोले प्रति इकाई उत्पादन लागत बढी हुन्छ । त्यसैले हाम्रा उत्पादनले सीमा पारीबाट आयात गरिने बस्तुसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसैले हाम्रो आयातमै जोड छ । यस्ता आधारभूत कुराहरू तर्फ हाम्रा सरकारको कहिल्यै ध्यान गएन । त्यसैले विकास हुन सकेन र बेरोजगारी घट्न सकेन ।

त्यसैले जे भएता पनि जिल्लाहरूलाई पूर्व-पश्चिम जोड्ने सडक सञ्जालको विकास गर्न अब विलम्ब गर्नु हुँदैन । साथै मध्य पहाडी लोकमार्ग (पुष्पलाल लोक मार्ग) को निर्माणलाई उच्च प्राथमिकता दिई यथाशक्य छिटो सम्पन्न गर्नु पर्दछ । सीमा पारीबाट हुने आयातलाई निरुत्साहित गर्दै जानु पर्दछ र उत्पादनको लागत घटाउन पनि सम्भव भएसम्मका सबै उपाय गर्नु पर्दछ । यसरी एकल आन्तरिक राष्ट्रिय बजार निर्माण गर्ने तर्फ अब हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गर्नु पर्दछ । तब मात्र हामीले प्रगति गर्न सक्ने छौँ । अस्तु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments