न्हूकोठाको झ्यालबाट हेर्दा कहाँ चुक्यो नेकपा ?

बुधबार, बैशाख १७, २०७७



- पूर्णशोभा चित्रकार

न्हूकोठा अर्थात् नयाँ कोठा, म जन्मेको घरको कोठाहरुमध्ये एउटा कोठा थियो । आमा बुबाले पछि तथा नयाँ ढाँचाबाट बनाएको कोठा भएकोले उहाँहरूले त्यो कोठाको नाम न्हुकोठा राख्नु भएको थियो रे । करिब दश स्वायर फिटको त्यो कोठा माटोले चिटिक्क पर्ने गरी लिपेको थियो । कोठामा तीन तिरको भित्तामा खोपेर सजाइएका दराजहरू थिए । कोठाको एकापट्टि झ्याल थियो । झ्याल बाहिरबाट टोलको गल्ली देखिन्थ्यो । सात वटा घरहरूले घेरिएको एउटा इनार बिचमा थियो । त्यो कोठामा मेरो २०२८÷०२९ साल देखि २०४१ साल सम्मको करिब तेह्र वर्ष राजनीतिक जीवनका अनेकौँ कथाहरू गाँसिएका छन् । जीवनका आरोह अवरोह सँगै त्यो कोठाका भित्ताहरूले मेरा खुसीका गीतहरू र दुःखका रोदनहरू सुनेको छ । धेरै वर्ष पछि पनि मलाई हरेक सङ्कटको बेला त्यो कोठाको माटोले सधैँ बोलाई रहेको जस्तो लाग्ने गर्दछ । अनगिन्ती बिर्सन नसकिने कथाहरू साँचेको छ त्यो न्हूकोठाले ।

म विभिन्न साहित्यहरू मार्फत राजनीतिमा सरिक भएसँगै, त्यो न्हूकोठाको भूमिका पनि बढ्दै गएको थियो । सुरुका दिनहरूमा सुलोचना मानन्धर, अष्टलक्ष्मी शाक्य लगायत श्याम प्रसाद शर्मा समूहसित आबद्ध साथीहरूको आवत जावत र बैठक भेलाहरू हुने गर्दथ्यो त्यो न्हूकोठामा । पछि तीनै भित्ताका दराजहरूमा राजनीतिक किताबहरूले भरिन थाल्यो । त्यो कोठा बैठक भेलाका साथ साथै राजनीतिक पुस्तकहरूको भण्डार बन्न थाल्यो । पछि घरको तीन वटा कोठाको दराजहरूले ठेग्न नसक्ने पुस्तकहरू जम्मा हुन थाल्यो ।

वि.स. २०३६ सालमा श्याम प्रसाद शर्माको समूह तत्कालीन नेकपा (माले) मा समाहित भरसकेपछि जिम्मेवारी माथि जिम्मेवारी थपिँदै गयो । तत्कालीन मालेका केन्द्रीय कमिटी, पोलिटब्यूरोका सदस्यहरूको बैठक भेलाहरू देखि लिएर लेखक कलाकारहरू, शिक्षकहरू, मजदुरहरू, बुद्धिजीवीहरू आदिको भेला बैठकहरू नियमित रूपमा सञ्चालनको भार पनि त्यो न्हूकोठाले लिन सक्षम भयो । आफू पनि अखिल नेपाल महिला सङ्घको महासचिव, पार्टीको जिल्ला कमिटीको सदस्य भई जिम्मेवारी निभाउनु पर्ने, मजदुर आन्दोलनमा सहयोग गर्नु पर्ने, शिक्षक आन्दोलनमा प्रत्यक्ष रूपले लागेको हिसाबले टोल देखि केन्द्र सम्मका कमरेडहरूको भेला, बैठकको लागि ठाउँ त्यो न्हूकोठाले दिलाएको थियो । पछि त्यसले पार्टीको प्रेसको समेत जिम्मा लिन सकेको थियो । पार्टीका अति गोप्य निर्देशनहरू त्यही न्हूकोठामा छापिने गर्दथ्यो ।

न्हूकोठाले माधव नेपाल, जीवराज आश्रित, झलनाथ खनाल, अमृत बोहरा, मोदनाथ प्रश्रित, ईश्वर पोखरेल, प्रदीप नेपाल, मुकुन्द न्यौपाने, बामदेव गौतम, मदन भण्डारी, सिपी मैनाली, गोविन्द न्यौपाने लगायत कैयौँ महिला, शिक्षक, मजदुर, बुद्धिजीवीहरूलाई स्वागत सत्कार गरेको थियो । त्यै न्हूकोठोमा ईश्वर पोखरेल र मिराध्वँजुको विवाह समेत भएको थियो । न्हूकोठामा कैयौँ योजनाहरू बनाई कार्यान्वयन भए । कैयौँ आन्दोलनका नक्साहरू कोरिए । विसं २०४१ सालको आन्दोलनको सिलसिलामा मलाई गिरफ्तारी गर्न प्रहरीले घर घेरा हाले पछि म त्यहाँबाट जोगिएर निस्केको पनि आज छत्तिस वर्ष भइसकेछ । त्यो बेला न्हूकोठा तथा पुरै घरको खान तलासी भएको थियो । पार्टीको सामाग्री, पार्टी नेता तथा कार्यकर्ताहरूलाई जोगाउनको लागि न्हूकोठाले निकै कठिन सङ्घर्ष गर्नु परेको थियो ।

मैले न्हुकोठाको सम्झना गरिरहेको यो बेला पार्टी कसरी बन्यो र कसरी फैलिँदै गयो ? पार्टी जोगाउनको लागि नेता तथा कार्यकर्ताहरूले कुन हदसम्म त्याग र बलिदान गर्नु पर्दथ्यो ? पार्टी अनुशासन भनेको के हो ? सामूहिक नेतृत्व भनेको के हो ? भन्ने अनुभवलाई सम्झिई रहेकी छु ।
तत्कालीन माले पार्टी सत्तामा थिएन । नेता तथा कार्यकर्ताहरूको पार्टीमा लाग्नुको व्यक्तिगत स्वार्थ थिएन । पार्टीमा लाग्नु भनेको त्याग गर्नु हो भन्ने थियो । नेता तथा कार्यकर्ताहरू हरेक दिन पार्टीको लागि चौबिसै घण्टा पनि खट्दथे । कामको बेला चौबिस घण्टाभित्र चार पाँच मिनेट झपक्क निदाएर पनि चित्त बुझाउँथे । उनीहरूमा हरबखत पार्टीको लागि गर्नु पर्दछ र पार्टीले चाहेको बेला जे गर्न पनि तयार हुनु पर्दछ भन्ने भावना हुन्थ्यो ।
पार्टी नेता, कार्यकर्ता र सदस्यहरूको गहना भनेको उनीहरूको ईमान्दारी हुन्थ्यो । उनीहरूले पार्टीको एक पैसा पनि हिनामिना गर्दैनथे । पार्टीबाट लिनु भन्दा पनि पार्टीलाई के दिन सकिन्छ भन्ने सोच्दथे । आफूmसँग भएको पैसा, सुन, चाँदी, कपडा, कागज, कापी, कलम पनि पार्टीलाई चन्दा दिन्थे । कसैले केही गडबडी गरेको थाहा पाएमा पार्टीले सिधै कारबाही गर्दथ्यो । सकेसम्म आफ्नाmना मान्छेहरूलाई पनि पार्टीमा आबद्ध गर्दथे र कठिन भन्दा कठिन काम गर्नको लागि र पार्टीमा निस्स्वार्थ रूपले सेवा पुर्‍याउनको लागि एकताबद्ध गर्दथे ।
जनवादी केन्द्रितयताको सिद्धान्तलाई प्रधान मानिन्थ्यो । अर्थात् तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, अल्पमत बहुमतको मातहत, सम्पूर्ण सदस्यहरू केन्द्रीय कमिटीको मातहत हुनु पर्दथ्यो । नेता, कार्यकर्ता तथा सदस्यहरू अनुशासित हुन्थे । हरेक कुराको लागि कमिटीका बैठक बस्थे, सामूहिक छलफल गर्दथे र निर्णय लिन्थे । कहीँ कतै निर्णय र कार्यान्वयनमा गल्ती भएछ भने व्यक्तिलाई दोष दिएर बस्दैनथे । सामूहिक रूपमा जिम्मेवारी लिन्थे र गल्ती सच्याउँथे । हरेक ठाउँमा हरेक व्यक्तिले छुट्टा छुट्टै विचार र धारणाहरू बोकेर हिँड्दैनथे । माथि देखि तलसम्म सबैले एउटै विचार बोलिरहेका हुन्थे ।
महिलाहरू प्रति सम्मानको भावना थियो । महिला पुरुषको भेदभाव थिएन । विचारको आधारमा कुराहरू सुनाउने र सुन्ने गरिन्थ्यो । महिलाहरू सुरक्षित थिए । कसैबाट कुनै खालको नराम्रो व्यवहार गरिँदैनथ्यो । कहीँ कतै त्यस्तो व्यवहार गरेको पार्टीमा रिपोर्ट आएछ भने अनुसन्धान गरेर दोषी ठहरिएमा पार्टीले गल्ती अनुसारको सजाय दिन्थ्यो । पार्टी र कार्यकर्ताहरूको सक्रियताको कारणले समय यति छिटो फड्को मारिरहेको हुन्थ्यो कि कुनै कारणवश गल्ती गर्ने सदस्यले तीन महिना वा छ महिना निलम्बनमा रहनु पर्दा पार्टी कमिटीहरूमा

आफूलाई सन्तुलित रूपमा अगाडी बढाउन गाह्रो हुन्थ्यो । कतिपय निष्क्रिय समेत हुन पुग्थे । पार्टीका नेता, कार्यकर्ता र सदस्यहरू बिच विश्वास र सम्बन्धको आधार वैचारिक, सैद्धान्तिक र राजनीतिक हुन्थ्यो । पार्टी, जनता र देशका लागि भनेर कैयौँले आमाबाबु, दिदी बहिनीलाई समेत त्यागेका कैयौँ उदाहरणहरू छन् । कैयौँ बलिदानी समेत भएका छन् र कैयौँले जेलनेल भोगेका छन् । पार्टी भित्र एक आपसमा यति धेरै विश्वास हुन्थ्यो कि पार्टीले दिएको सूचना, निर्देशन, सूत्रको आधारमा नचिनेको मान्छेहरूसँग भेट्न पनि टाढा टाढा पुग्थे । एक आपसमा दृढता तथा विश्वासका साथ पार्टी कामका विषयमा छलफल गर्थे ।

पार्टी र व्यक्तिले गरेका निर्णयहरू सामूहिक हितका लागि हुन्थे र निजी वा व्यक्तिगत स्वार्थका लागि हुँदैनथे । लेनदेन र व्यक्तिगत लाभ र स्वार्थको आधारमा कुनै सम्बन्ध हुँदैनथ्यो । पार्टीका नेता तथा कार्यकताहरु बिच आत्मीय सम्बन्धहरू हुन्थ्यो । दैनिक जीवन, खानपान, बिहेवारिको विषयमा पनि ध्यान पुर्‍याउँथे । पार्टीले कार्यकर्ताहरूलाई परिवार छोडेर आएको महसुस गर्न दिँदैनथ्यो । ईमान्दारीता र गोपनीयताको पालना हरेक नेता तथा कार्यकर्ताहरूले गरेका हुन्थे । पार्टीका निर्देशनहरू पेलिटव्यूरो स्तरसम्म, केन्द्रीय कमिटीसम्म वा साधारण सदस्यसम्म भनेर उल्लेख गरेको छ भने सोही स्तरको सामाग्रीहरू सोही स्तरका व्यक्तिहरूबिच मात्र वितरण हुन्थ्यो । फेसबुक र ट्विटर को जमाना थिएन । व्यक्तिहरू पनि असम्बन्धित कुराहरू असम्बन्धित ठाउँ र व्यक्तिहरूसँग बोलेर हिँड्दैनथे । त्यसो गरेमा पार्टी, नेता, कार्यकर्ताहरू र सेल्टर दाताहरूको सुरक्षाको सवाल पनि गम्भीर बन्न सक्दथ्यो । कार्यकर्ताहरूमा ईमान्दारीता कति सम्म हुन्थ्यो भने कोही नेताले कुनै कागजमा लेखेर खोलेर नहेर्नु र सम्बन्धित ठाउँमा पुर्‍याई दिनु भने पछि त्यसै गर्दथे । आदेश बेगर अनावश्यक सूचना बटुल्दै गलफती गर्ने संस्कार थिएन ।

मानिसहरूले गल्ती गर्न सक्छ र गल्ती सच्याउन सक्छ भन्ने धारणा मजबुत थियो । हरेक बैठकमा आलोचना र आत्मालोचना भन्ने विषय हुन्थ्यो । बैठकमा कसैले गल्ती गरेको भन्ने अरू सदस्यहरूलाई लागेमा बैठकमै औँल्याउने गरिन्थ्यो । सम्बन्धित व्यक्तिले स्पष्टीकरण दिँदै गल्तीलाई नदोहोर्‍याउने सङ्कल्प गरिन्थ्यो । गल्ती र कमजोरीहरूलाई औल्याईदिनेहरुलाई धन्यवाद दिइन्थ्यो । कसैले पनि गल्ती सुधार्न सघाउनेहरू प्रति इगो राखेर हुर्मत लिने वा बदला लिने भावना राख्दैनथे ।

कठिन भूमिगत कालमा पनि नियमित रूपले कमिटीका बैठकहरू हुन्थे । नियमित बैठक बोलाउन नसक्ने र जिम्मेवारी बहन गर्न नसक्ने नेता तथा कार्यकर्ताहरूलाई लामो समय सम्म सोही किसिमको जिम्मेवारी बहन गर्न दिइँदैनथ्यो । तर क्षमता अनुसारको जिम्मा दिई सबैलाई सक्रिय रहनको लागि वातावरण दिने गरिन्थ्यो । कहिले, के विषयमा बैठक हुँदै छ भन्ने कुरा कमिटीका सदस्यहरू बिच पूर्व सूचना हुन्थ्यो ।

बैठक सुरु गर्नु पूर्व महासचिव वा सचिवले विषयवस्तुको जानकारी गराई बुँदाहरूलाई आवश्यकता अनुसार थपघट गर्न लगाइन्थ्यो । हरेक बैठकमा कमिटीका सदस्यहरूले आफूले जिम्मेवारी अनुसार प्रतिवेदन दिनु पर्ने अनिवार्यता थियो । जिम्मेवारी पूरा भयो या भएन, चुनौतीहरू के के छन्, पार्टीका सामाग्रीहरू उचित तवरले सबै ठाउँमा पुगेको छ कि छैन, परिस्थिति के छ, कार्यक्रम कसरी गर्ने, आगामी बैठकसम्मको योजना के भन्ने विषयमा गहन छलफल गरिन्थ्यो । कमिटीका बैठक हुने स्थानहरूमा आवश्यकता अनुसार नेता तथा कार्यकर्ताहरूको सुरक्षाको लागि बोनाफाईड, लडाकु, जुझारु किसिमका कार्यकर्ताहरूको रखवारी हुन्थ्यो । नातागोता, चाप्लुसे, गफाडी, चम्चे, धुपौरेहरूको कुनै आवश्यकता नै थिएन । बरु त्यसताहरूबाट जोगिएर काम गर्नु पर्दथ्यो । अन्यथा पार्टी जोखिममा पर्न सक्दथ्यो ।

पार्टीले सधैँ एकता र सङ्घर्षमा जोड दिन्थ्यो । एकता गर्न सकिनेसँग एकताको कुरालाई अघि बढाउँथ्यो । त्यसले गर्दा पार्टी एक पछि अर्को दिनमा नयाँ क्षेत्रहरूमा विस्तार र नयाँ व्यक्ति तथा समूहहरूसित आबद्ध हुँदै विशाल पार्टीमा परिणत हुन सक्यो । त्यो बेला पनि कोही कोही नेताहरू पार्टीको सबै गोपनीयताको बारेमा खबर दिन्छु, भूमिगत नेता र कार्यकर्ताहरूको सूचना दिन्छु भनेर कागज गरेर जेलबाट छुटेको खबरहरू पनि सुनिन्थ्यो । त्यस्तालाई पार्टीले कारबाही गर्थ्यो । त्यस्ता कतिपय व्यक्तिहरू जेलबाट छुटे पछि मात्र जेलबाहिर बस्नेहरूले गरेका सङ्घर्ष र परिवर्तन देखेर पछुताउँथे । उनीहरूले जेल भित्रबाट बाहिरका मानिसहरूले गरिरहेका सङ्घर्ष बारेमा अडकल नै गर्न सक्दैनथे । वास्तवमा पार्टीको निर्माण, विस्तार र परिवर्तन भनेको एकाध व्यक्तिहरूको मेहनत र परिश्रमबाट मात्र नभई हजारौैं मानिसहरूको त्याग, तपस्या र बलिदानबाट मात्र सम्भव भएको हो ।

विस्तार हुँदै, फैलिँदै, एकताको प्रक्रियाबाट अगाडी बढ्दै विभिन्न पार्टीका नामबाट सत्ता सञ्चालन गर्ने मौका पनि पार्टीले पायो । अहिले तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेको छ । यसैको नामबाट चुनावमा बहुमत सिट प्राप्त गर्दै सरकार सञ्चालनको जिम्मा पाएको छ । तर कहिले घाम र कहिले पानी भएर हुँडलिएको बादल जस्तै पार्टी अनेकौँ विवादमा उल्झि रहेको छ । यस्तो बेला न्हूकोठामा बिताएको करिब चौध वर्षको राजनीतिक जीवनले मलाई माथिका दृश्यहरू सम्झन बाध्य बनाएको छ । पार्टीलाई नेतृत्व सम्हाल्न र जनतालाई नेतृत्व गर्न नेकपा कहाँनेर चुकेको छ भन्ने प्रश्न मेरो मनमा उठिरहेको । अहिले नेकपा सिंहदरबार र बालुवाटारको आसनमा पुग्न पनि यस्तै हजारौँ न्हूकोठाहरुको अमूल्य योगदानबाट मात्र सम्भव भएको छ भन्ने चेतना नेकपालाई कतिको छ भन्ने प्रश्न पनि ममा उठिरहेकै छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments