जागरणका अभियान्ता स्व. लेखनाथ ज्ञवाली

बिहिबार, साउन १०, २०७५



- सीता ओझा- अध्यक्ष  महिला अध्ययन केन्द्र 

स्व. लेखनाथ ज्ञवाली नेपालको पश्चिम पहाडी  जिल्ला गुल्मीको  बोहन भन्ने ठाउँमा ऋषिराम ज्ञवाली र   कुन्ता ज्ञवालीको कोखबाट वि स २००० आश्विन ५ गते जन्मिएका थिए । मध्यवर्गिय परिवारमा जन्मेका ज्ञवालीको प्रारम्भिक  शिक्षा  घर परिवार भित्र नै भएको देखिन्छ ।  माध्यमिक शिक्षा आफ्नै गाँउ अर्घाखाँचीको हरिहर संस्कृत  विद्यालयबाट पूरा गरे । विद्यालय शिक्षा पूरा गरे पश्चात् परिवारले उनलाई उच्च शिक्षाकालागि  बनारस पठाइए  ।

lekhnathबाल्यकालदेखि नै समाजमा रहेको विभेदको  विरूद्द नजर पुर्याउने स्व  ज्ञवाली  तात्कालिन समाजमा रहेको पछौटे चिन्तन , अवैज्ञानिक संस्कार , र  सांस्कृतिक अन्धविश्वासको  यथास्थितिवाद प्रति बाल्यकाल देखि नै विरोधी देखिन्छन । विरोधी मात्रै होइन यस्ता संस्कारको अन्त्य कसरी गर्ने भन्ने विषयमा पनि हेक्का राख्ने व्यक्तित्वका रूपमा हुर्किएको देखिन्छन ।  तत्कालिन नेपाली समाज विकासको स्वरूप हेर्ने हो भने प्राय  सबैका बालकाल घाँसपात,गोठालो र कामसँग तालमेल मिलाउदै सामान्य शिक्षा लिनु, पारिवारिक आवश्यकताले विवाह गर्नु, मातापीताको सेवा गर्नु,परिवारिक परम्परागत पेसा या व्यवसायलाई निरन्तरता दिनु, खेतीपाती लगायत  अग्रजहरूबाट घरका सम्पुर्ण जिम्मेवारीहरू हस्तान्तरण गरेर आफुले लिनु  आदि नै देखिन्छन ।

समाजको महत्वपूर्ण सामाजिक पक्षका रूपमा  जातपात , छुवाछुत, लिङ्गी,वर्गिय र क्षेत्रीय  विभेद सहित शक्तिशालीहरूले शक्ति विहिनहरूलाई प्रगतिको हरेक खुड्किलामा गर्ने निषेधले समाजका हरेक परिवार प्रताडित थिए । त्यस समयमा यी  र यस्ता विषयको व्यवहारिक ज्ञान जोडेर नहुर्किएको बालकले गरिखान सक्दैन भन्ने चिन्तन व्याप्त थियो । हरेक बाल बालिकाहरूको हुर्काईको चर्चा , चासो,खोजी समाजमा हुने गर्थ्यो। समाजमा  हुर्कने हेरक बालबालिकाहरूको उचित शिक्षादिक्षा,लालनपालन ,खानपान आदी कुरा मानविय आवश्यकता भित्र राखेर होइन दया र मायामा जोडेर हेर्ने गरिन्थ्यो ।  स्व ज्ञवाली यीनै परिस्थिति भित्र शिक्षा आर्जनको अवसर पाएका थोरै बालकहरू  मध्येका बालकमा  पर्दथे ।

उनले आफ्नो हुर्काइको समायमा नै समाजमा रहेको वर्गिय ,जातिय,लिङ्गीय विभेद बुझेकै कारण धेरै बालबालिका भित्र   एक फरक स्वभाव भएका बालकको रूपमा हुर्कीएका देखिन्छ ।  उनले पहिचान गरेको सामाजिक विभेद विरूद्दको त्यो चेतना  उनले संस्कृत पढेर पनि आफ्नो परम्परागत पेसा पडित्याइ नगरि समाजमा भएको अन्यायको विरूद्द सबै वर्ग र तहका आम जनसमुदायलाई संगठित गर्ने अभियानमा लागेको कुराले नै देखाउछ । त्यो समयमा समाजका विसंगति विरूद्द बोल्नु,तात्कालिक व्यवस्थाको विरोध गर्नु, व्यवस्थाका कमि कमजाेरी कोट्याउनु , गाँउका जमिनदार र सामन्तले गरेका ज्यादतीका विरूद्द अन्यायमा परेका नागरिकहरूलाई संगठित गराउदै विरोध गर्ने बनाउनु त्यति सरल कुरा थिएन  ।

त्यसो गरेकै कारण स्व.ज्ञवाली सामाजिक जागरणका अभियान्ताको रूपमा त्यो समाजमा चिनिन सफल रहे । त्यो उनको कठिन तर सफल यात्राका रूपमा समाजमा स्थापित हुन सक्यो ।

राणाकालीन दासताबाट प्रभावित नेपाली समाजमा राणाहरूको अत्याचारको विरूद्द गरेका र भएका केही विद्रोहहरूले नेपाली जनमानसमा केही प्रभाव त पार्दै थियो । तर पनि  वि स १९९७ सालतिरको ज्यादती र गंगालाल लगायतका व्यक्तिहरूको हत्याले सर्वसाधारण नागरिक आतङ्कित थिए । त्यस पछिको लगातारको विद्रोहको कारण   वि‍. स. २००७ सालमा प्रजातन्त्र त आयो तर राजनीतिक स्थायित्व हुन सकेन । नेपाली कांग्रेस भित्रको अन्तरविरोधको उदण्डताका कारण दलिय अन्तरविरोधको व्यवस्थापन हुन सकेन ।

समाजमा रहेका,शैक्षिक,सांस्कृतिक ,सामाजिक,आर्थिक विभेदका विरूद्द न वहस पैरवी भए न राजनीतिक नेतृत्वले रूपान्तरणका लागि कुनैकुनै अभियान नै सञ्चालन गरे । यी र यस्ता विषयहरूको प्रभाव लेखनाथमा विद्यालयको विद्यार्थी उमेर देखि नै परेको थियो भन्ने आधारहरू भेटिन्छन । त्यसताका प्रजातान्त्रिक आन्दोलनको सन्दर्भमा हरिहर संस्कृत विद्यालयकै पछाडीको चौरमा हुने गरेका राजनीति भाषणमा उठाउने गरेका असमानता कुरा भित्रका जातिय, लिङ्गीय , वर्गिय कुरा सगै वनारस पढ्दाको नेपाली युवाहरूसगँको भेटघाटहरूले नै स्व. लेखनाथलाई सामाजिक जागरणको अभियान्ता बनायो भन्न सकिन्छ ।

स्व. ज्ञवालीका प्रकाशित प्राय सबै कृतिहरू सामाजिक जागरणसँगै जोडिएका छन । प्रकाशित कृतिहरू  कुनै बालबालिकासँग छन भने कतिपय सामाजिक न्यायसँग जोडिएका छन ।उनका प्रकाशित कृतिको अध्ययन गर्दा स्व. ज्ञवाली निडर,साहसिक ,स्पष्ट माक्र्सवादी साहित्यकारका रूपमा अहिलेको समाजले  चिन्न सक्छ । उनले लेखेका गीत ,कविताहरूले नेपाली समाजको निम्न र माध्यम वर्गभित्रको त्यस बेलाको जीवन र जिविकाको गहिराइ छुन्छ । त्यसै गहिराइलाई अहिले त्यो  समाजको दर्पण बनाएर गहिराइको वास्तबिकता पढिरहेकाछौ । अबको केही वर्षपछि ती र त्यस्ता कुरा  हाम्रालागि मात्रै  होइन नयाँ पुस्ता र नेपाली समाजको अध्ययन गर्ने सयौंकालागि कथा हुँदै दन्तेकथा नबन्लान भन्न सकिन्न ।

स्वगिय लेखनाथ ज्ञवालीले लेखेको “दशैको आशिस ” नामको कृति ( कविता संग्रह ) हेर्दा निकै आकर्षक रहेको छ । यस कृतिमा लेखकका दशवटा कविता परिवारभित्रको नाता सम्बन्ध भित्रका व्यक्तिहरूलाई आसिक या आर्सिवाद दिन सजिलो होस भन्ने उदेश्य राखेर लेखिएको देखिन्छ । हाम्रा चाडपर्वहरूमा दशै सबैभन्दा ठूलो र प्रमुख पर्वको रूपमा मान्ने प्रचलन छ ।  दशैको टीका र आर्सिवादको मौका मिलाएर सबै नाता सम्बन्धभित्रको भेटघाट र सन्चोविसन्चोको कुरा जान्न पाउने अवसरको रूपमा पनि लिने गरिन्छ ।त्यस्तै  खेतीपाती सकेर बाडी, पहिरोको जोखिमबाट छुट्कारा पाएर आफन्तजनहरूसगँ भेटघाट गर्नु,दुख,सुखको भलाकुसारी गर्दै  नयाँ लुगा सहित भेटघाट र आर्सिवाद लिनेदिने कुरासगँ नाता सम्बन्धभित्र दर्जा र स्थानहरूको पहिचान गर्दै  पारिवारिक मेलमिलाप र  स्थानमानको सद्दभाव कायम गर्न खोजेको कुरा उनको यो कृति पढ्दा थाहा हुन्छ ।

उनले लेखेको “पत्नीलाई ” शीर्षक आर्सिवाद दिनु उपयुक्त लागेर साथै पारिवारिक मर्यादा नभत्कियोस भन्ने सन्देस दिनकालागि पनि होकी भन्ने देखिन्छ : —

पत्नि इज्जत हो गृहस्थहरूको, आधार हो झोपडी
पत्नि मन्दिर एक एक घरको, हो उन्नतिको कडी

जसकाे साथ विताउनु छ जुग यो बाँचेर यौटै घर
जसकाे आड विना अडिन्न रथको पाङ्ग्रा दुईको धुर

उसले हात झिकेर गै यदि भने बर्बाद हामी हुने
उसले माथि उठाउदै लागि भने बेनाम नामि हुने

— यसरी दिने  आर्सिवादहरूलाई मानिसले जीवनको महत्वपूर्ण सिकाइको रूपमा लिन सकुन भन्ने स्व. ज्ञवालीको ध्येय  देखिन्छ । त्यस्तै छोरा,छोरी,बहिनी,भाइ,भान्जाभान्जी ,ज्वाइँ,नाता सम्बन्ध,विद्दान जन सहित आम नागरिकहरू समेतलाई सम्बोधन गर्न सकेको कुराले पनि उनी समाजमा यथास्थितिवादी सोचको परिवर्तनको पक्षमा थिए भन्ने प्रष्ट हुन्छ । समाजमा छोरीको स्थान विवाह र फरक रक्त सम्बन्धसगँ छ भन्ने संकेत उनले यी हरफबाट दिन खोजेका हुन कि ; जस्तो लाग्छ ।

“कैल्यै हिम्मत त्यो नतोड पतिको सच्चाइमा हो भने,
कामै छैन परत्रले विथितिमा हेप्दा र चेप्दा रूने “

उनी छोराहरूलाई पनि सामाजिक र पारिवारिक दायित्वबाट पछि हट्न दिन्न हुन्न  भन्ने आसय यी हरफहरूबाट बुझ्न सकिन्छ ; –
” जो अन्याय गरेर भन्छ म ठूलो उस्को उपेक्षा गर,
सत्ते,न्याय समानतातिर सधैं लागेर हिड्ने गर “!

नाता सम्बन्ध  भित्र एकै पेटबाट जन्मिएकी बहिनी प्रति लक्ष्यित भएर उनी यस्तो लेख्छन ; –
” माँया छैन भने मिठास फलमालाग्दैन कत्ती पनि,
बैनी ! स्नेह ठूलो छ सुख्ख दुखता हुन् पाहुना झै यिनी,

एउटै स्तन चुसेर हुर्केका भाइहरू विचको दरार हटाउन सकियोस् भन्दै कवि लेख्छन ;

” एउटै छाती चुसेर जीवित रह्यो जो तेहि बैरी हुने,
अर्काको घरमा लगेर घरको सर्वस्व पोको फुने “

ज्ञवालीले लेखेका यी कवितात्मक शैलीका आर्सिवादहरूले त्यो बेलाको नपाली समाजको सामाजिकआर्थिक बनोट र पारिवारिक नाता सम्बन्ध विच रहेका अन्तरविरोधहरूलाई  व्यवस्थापन गर्न सजिलो होस् भनेर नै यी कवितालाई दशै जस्तो पर्वमा दिइने आर्सिवादको रूपमा पस्कन खोजेका हुन भन्न सकिन्छ ।

साहित्यकार ज्ञवाली अघिल्लो कालखण्डमा जन्मिएका साहित्यकार  हुन  । नेपालका सबै परिवर्तनहरूलाई उनले नजिकै बाट देखे भने कतिपयलाई भोगेका पनि छन । उनी आफै सत्य र निष्ठालाई आधार बनाएर चल्नु पर्दछ  भन्ने मान्यताका धनी व्यक्तित्व हुन । हाम्रा सांस्कृतिक संस्कारहरू साथै सामाजिक मुल्यमान्यतामा वैज्ञानिक आधारको तथ्य भेटिनु पर्दछ । राजनिती देशको मेरुदण्ड भएकोले समाजमा बेथितिको अन्त्य सँगै प्रजातान्त्रिक मुल्यमान्यताको राजनीतिक व्यवस्थापन पनि चाहिन्छ भन्ने मान्यता बोकेका अभियान्तामा लैङ्गिक अबधारणको हेक्का भने खास देखिन्न ।

त्यसरी धारण नबन्नुमा लैङ्गकि सोचको अबधारण विकास नभएको अवस्थाका कारण पनि हुनसक्छ । समाजको आर्थिकसामाजिक विभेदको सुरूवात नै लैङ्गकि विभेदको कारण जन्मिए हो । त्यसैले नाता सम्बन्ध भित्र कर्तव्यबोध गराइ रहदा आर्थिक अधिकार सहितको समानताको अवसर छोराछोरी ,भाइबहिनी, पतिपत्नी लगायत सबैकोलागि सोच्नुपर्छ भन्ने सन्देस दिन चाँहि नसकेको जस्तो देखिन्छ । त्यस्तै लिङको आधारमा समान अस्तित्व र भुमिकामा जोडिएका पति र पत्नि स्थान र मानमा पनि समान हुन्छन भन्ने कुरामा कमि देखिन्छ । समाजले छोरी र बहिनीको परिचय र पहिचानलाई ज्वाईसगँ गाँसेर बाच्च सिकाएको तथ्यलाई  कविले यसरी अभिव्यक्त गरेका छन ; –

“हेप्नु हुन्न परत्रलाई पनि क्वै ठानेर है निर्धन,
ज्वाईं हो ! सबथोक हैन पद औं  द्वि- चारदिनको धन ”

यो हरफले थोरै अग्रगमको कुरा गरेपनि छोरी र बहिनीको आर्थिकसामाजिक हैसियतमा  पुनः प्रश्न चिन्न लाग्न सक्ने चुनौतितिर लादैन र ? भनेर एक प्रगतिशिल साहित्यकारको साहित्य लेखनको दृष्टिकोणमा असमानता रहेछ भन्ने प्रश्न उव्जाउने आधार पनि भेटिन्छ । यस्तै  ”  पत्नि ” शिर्षकको आर्सिवाद लेख्ने  तर पतिकालागि नलेख्ने यथास्थितिवादी विचार पनि अलिकति देखियो ।  आर्सिवाद पत्निले पतिलाई पनि दिनु पर्छ र दिन सक्छिन भन्ने विचार चाहिँ उनका यो ” दशै आसिक ” कविता संग्रहमा देखिन्न तर पनि त्यो कालखण्डका समाजमा जागरण ल्याउन उद्दत थिए स्व. ज्ञवाली । यस्ता अभियान्ताको विषयमा दुइचार शब्दको माध्यमबाट श्रद्धाञ्जली दिन पाउँदा मनैदेखि नमन गर्न चाहान्छु ।

 स्व. लेखनाथ ज्ञवालीकाे पुस्तक समिक्षामा अाधारित
527 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank