दलाल राजनीतिको चक्रब्युहमा वाम आन्दोलन !

फरकमत

बुधबार, पुस १८, २०७५



- दीपेन्द्र पाण्डे

सिद्धान्तत सामान्तवादको समाप्ती सँगै पुँजीवादको विकास हुन्छ । नेपालको सवालमा २४० बर्ष देखी राजगरेको सामान्तवादको संरक्षक संस्था राजतन्त्र समाप्त हुँदा पनि पुँजीवादको विकास हुन सकेन । प्रजातन्त्र प्राप्तिसँगै  राजनीतिमा स्थान जमाउन सफल दलाल राजनीतिले राष्ट्रिय पुँजी र पुँजीपतीको विकास हुन दिएन । झापा आन्दोलनको उर्जा प्राप्त गर्दै ‘जबज’को जगमा संसदीय तागत बनेको पुर्व एमाले मुलुक परिवर्तन गर्नुको सट्टा आफै बदलिनुलाई क्रान्ति सम्झियो । संसदीय राजनीतिमा स्थान बनाउन असफल तात्कालीन  ‘ नेकपा एकता केन्द्र ‘ माओवादी हिंसाको प्रयोगबाट राज्यसत्ता कब्जा गर्ने सपना अन्तत क्यान्टोनमेन्टमा नक्कली लडाकु खडा गर्दै मुलुक लुटन तम्सियो । विगतमा आफैले तय गरेका तमाम सिद्धान्त भुल्दै फगत कुर्सीको निम्ती जुनसुकै घाटको पानी पिउन राजी वाम आन्दोलन दलाल राजनीतिको चक्रब्युहमा पर्दै लालसलाम , अभिवादन , नमस्कार बाट आइस्यो , गइस्यो र राज होसमा पुगिसकेको छ ।

राजनीतिक आन्दोलन सकिएको समृद्धिको युग शुरु भएको जति चिच्याए पनि वाम राजनीति जनमुखी काम गर्न बिमुख हुनुको प्रमुख कारण त्यही दलाल राजनीति हो भन्ने राजनीतिक शास्त्रका बिद्धार्थीले बुझिसकेका छन । जाति, धर्म , क्षेत्र , प्रेम , घृणा , दोस्ती , दुश्मनी , आफ्ना , पराया भुल्दै कुर्सी मात्र देख्ने राजनीतिक शब्दको क्षेत्र जति व्यापक छ त्यति नै संकुचित बन्दै गरेको बर्तमान नेपालमा देश , गाउ , शहर , घर , कार्यालय , चियापसल , बसपार्क , पत्रपत्रिका , सामाजिक सञ्जाल देखी रेडियो टेलिभिजन सम्म कान पाक्ने गरि सुनिने नकारात्मकता भित्र नदेखिने पात्र  ‘ दलाल राजनीति ‘ हो भन्ने बुझ्न सकिन्छ ।

सर्प , भ्यागुता र बिच्छी अलग – अलग रहँदा एकले अर्कोलाई खाई दिन्छ । तर उनीहरु सँगै बस्दा एकले अर्कालाई प्रहार गर्न नसक्ने मात्र हैन , पुर्ण रुपमा सुरक्षित हुने गर्दछन । दलाल राजनीतिले अत्यन्त राम्रोसँग बुझेको सर्प , भ्यागुता र बिच्छीको कमजोरी र शक्तीलाई उपयोग गर्दै मुलुकमा आफ्नो अहम भूमिका स्थापित गरिसकेको छ । कर्मचारी र राजनीतिक नेतृत्वले अलग अलग शक्तीको अभ्यास गर्दा दलाल राजनीतिले स्थान नपाउने सामान्य मानिसले बुझेकै छन । निजी क्षेत्र र कर्पोरेट पूँजीको भूमिका बुझेको दलाल राजनीतिले कर्मचारी र राजनीतिक नेतृत्वलाई प्रयोग गर्न अतिरिक्त पुँजीको सिर्जना गर्दै आफ्नो शक्ति विस्तार गर्दै छ ।

 जसरी भएपनि कुर्सीमा पुग्ने र सत्ताको प्रयोग गर्दै आफ्नो कुर्सीको आयू लम्ब्याउने एक सुत्रीय नारामा टिकेको वाम राजनीति माने पनि नमाने पनि दलाल राजनीतिको फन्दामा परिसकेको छ । बिधी , बिधान , नीति , नियम , प्रक्रिया , सिद्धान्त जस्ता झमेलामा पर्दा आफ्नो सत्तामा प्रतिकुल प्रभाब पर्ने राम्रोसँग बुझेको नेतृत्वले पार्टी एकतालाई स्थानिय तह सम्म पुर्णता दिन ढिलाई गर्नुको एक मात्र उदेश्य वडासम्म आफ्नै भक्तहरुको व्यवस्थापन गर्दै दलाल राजनीतिलाई संस्थागत गर्न हो भन्ने आधार फेला परिसकेको छ । भिमकाय कमिटी बनाउने , रणनीतिक विवाद सिर्जना गराउँदै शक्तीको अभ्यास सानो झुण्डले गर्ने नियोजीत मनसाय भित्र तीनै तत्वले काम गरेको मान्न सकिन्छ  ।

सत्ताको प्रयोग गर्दै राज्यका प्रमुख निकायमा आफ्ना मानिस भर्ती गर्ने , सरुवा , बढुवा , ठेक्का , नियुक्ती  लगायतका काम मार्फत अधिकतम अर्थको जोहो गर्दै पार्टी सत्ता कब्जा गर्ने मनसाय खुलेकै छ । अख्तियार , अदालत , प्रहरी जस्ता निकायमा आफ्ना मानिसलाई पुर्याउने , तीनै निकायलाई प्रयोग गर्दै आफुसँग असहमत हुनेलाई दुख दिने , उनीहरुलाई बदनाम गर्ने , अनेक झमेलामा अल्झाई दिने र राज्य स्रोतको दोहनलाई निरन्तरता दिने खेल नेपालको वाम आन्दोलन भित्र प्रबेश गरिसकेको देखिन्छ ।

राजनीतिक र प्रशासनिक मिलीमतोमा सामान्य आर्थिक हैसियतका मानिसहरु राजनीतिक उद्धोग चलाएकै भरमा निर्माण गरिएको सुबिधाजनक जीवन शैलीको स्रोत दलाल राजनीतिले खोज्ने कष्ट गर्दैन । पेट पाल्न मुस्किल कर्मचारी देखी चुँडामणी शर्मा सम्म जन्माउने सत्ताले कमाएको अथाह सम्पतिको स्रोत दलाल राजनीति हैन भन्ने तागत कुन नेतासँग छ ? सरकारी पदको दुरुपयोग गर्दै प्राप्त गरिने अथाह पुँजी र शक्तीले मुलुकमा जमाएको स्थान नै विकास , सुशासन र समृद्धिको बाधक हो भन्ने सिंहदरबारले नबुझेको हो र ? राज्यले व्यापार गर्दैन भन्दै नियमन बिनाको नीजिकरण र खुलाबजार अर्थतन्त्र मार्फत बाँडिएका तमाम लाईसेन्स ,  हतियार खरिद -बिक्री गर्दै लिएको कमिशन , कर चोरीमा मद्धत गर्दै प्राप्त प्रोत्साहन रकम, राजनीतिक शक्तीको दुरुपयोग गर्दै प्राकृतिक स्रोतको दोहनबाट गरेको आर्थिक उपार्जनले राजनीति कुन अवस्थामा पुगेको छ ,  भनिरहनु पर्छ र ?

संबिधानमा समाजवाद उन्मुख लेख्ने , एनसेल जस्तो कम्पनीसँग विशेष लाभ लिँदै लाभकर छुट दिने , लोकमान र दिगम्बर झा जस्ता हस्तीलाई पुरस्कृत गर्दै पार्टीसत्ता कब्जा गर्ने दलाल राजनीति वाम आन्दोलनको अभिन्न अंग बनिसकेको सजिलै बुझ्न सकिन्छ । पार्टी र संसदीय चुनाव लडन पैसा चाहिने , कार्यकर्ताको फलामे र छालाको टयाङ्की भरिदिनु पर्ने , बहुमत प्राप्त गर्न आफ्नालाई टिकट र खर्चपानी दिनु पर्ने , संसद-अदालत, सरकारी संस्था, युवा – सामाजिक संस्था र मिडियालाई पाल्ने अर्थको जोगाड तीनै दलाल राजनीति मार्फत गरिने कटु सत्य लुकाएर लुक्ने बिषय अब रहेन ।

सुजन रोज एकरम्यानले आफ्नो रचना करप्सन एन्ड गभर्मेन्टमा शीर्ष पदमा बस्दै गरिने दलाल राजनीतिलाई ‘क्लेप्टोक्रेसी ’ को संज्ञा दिएकी छिन । कुनैपनि तन्त्रको शीर्ष स्थानमा बसेको राजनेता वा प्रशासनिक नोकरसाहले मुलुकको स्रोत र साधनलाई  पूँजीपतिको जस्तै आचरण गर्ने गर्दछन । काँग्रेसको राजनीतिक शक्ती घटदै गएको र वामहरुको सपना बिक्दै गएको समयमा दलाल राजनीति प्रयोग गर्दै मालदार स्थानमा पुगेका नियुक्तीवाजहरु आफुलाई ‘नयाँ राजा’ मान्न थालेका छन । सर्वसाधारण जनताले दैनिक रुपमा भोगी रहेको ‘स्पीड मनी’ वा ‘सुविधा शुल्क’ हर क्षेत्रमा अनिबार्य गरिएको वाम सत्ताले सजिलै स्वीकार गरेको महशुस हुँदैछ । चन्द सरकारमा सहभागी भएसँगै पुर्व एमाले मार्फत बिटुलिएको नेपाली वाम आन्दोलन माओवादी ध्वसंमा भएको लुटपाटको कुनै हिसाब किताब देखाउन नपरेसँगै फस्टाएको मान्न करै लाग्छ । संसदीय भासमा डुबेका देखी हिंसा मार्फत धन बटुल्न पल्केका वाम नेताहरु जग्गा दलाली देखी सरुवा बढुवामा कमाएका पैसालाई बैधानिक बनाउन बुहारीको दाइजो बाध्यात्मक बनिसकेको छ ।

सार्वजनिक जीवनमा अक्सर बहस हुँदै गरेको बिषय ‘क्लेप्टोक्रेसी ’ र ‘स्पीड मनी’ मा कुन बढि खतरनाक हो ? नेपाली समाजमा बिचित्र ढंगबाट स्थान जमाएको शिर्ष तहमा हुने ‘क्लेप्टोक्रेसी ’ र तल्लो तहमा भइरहेको ‘सुविधा शुल्क’ को मुलजरो दलाल राजनीति नै हो । गाँस , वास , कपासको ग्यारेन्टी , न्यायपुर्ण समाज , भ्रष्टाचारको अन्त्य , मुलुकको हर क्षेत्रमा नविन रुपान्तरण , प्रगतिशिल शिक्षा , स्वास्थ्यमा आम मानिसको पहुँच जस्ता रुमानी सपना बाँडदै सिद्धान्तको राजनीतिमा हुर्केको नेपाली वाम आन्दोलन पछिल्लो समय कुर्सीको निम्ति सबै भुल्न राजी भइसकेको छ । सहकर्मी र सहधर्मी छुटयाउन नसक्ने , पद्धतिलाई बोझ ठान्ने , असहमत पक्षलाई पिना पेले जस्तो पेल्ने, सानो घेराबन्दीमा रमाउने , परिक्रमा र टिके प्रथालाई वाम आन्दोलनको नबिन सिद्धान्त बनाउँदै आफ्नै बिगत र घोषणाबाट बिमुख हुँदै गएको कार्यकर्ताले महशुस गरेका छन । मुलुकभित्र कुनै उद्धोग सञ्चालन नगर्ने , युवालाई बैदेशिक रोजगारीमा पठाउँदै समृद्धिको सपना बाँडने , राष्ट्रिय पुँजी  र पुँजीपतिको निर्माण गर्नुको सट्टा दलाल राजनीतिको रक्षा र पक्षपोषण गर्दा आफ्ना नीतिगत कार्यकुशलता र सिद्धान्तगत क्षमता घटेको नदेख्ने वाम आन्दोलन दलाल राजनीतिको चक्रब्युहमा फसेको ठोकुवा गर्न सकिन्छ ।

 लोकतन्त्रमा हाबी भएको दलाल राजनीतिको कारण भ्रष्टाचारको बिकेन्द्रीकरण संघीयतासँगै मुलुकभर फैलिएको आँकलन सटिक र यथार्थपरक हुँदैछ । एकरम्यानले देखेको ‘क्लेप्टोक्रेसी ’को जबर्जस्त उपस्थीती वाम आन्दोलनले सजिलै स्वीकार गरेको बुझ्न सिंहदरबार र बालुवाटारमा पुगेको प्रमाण नेकपा केन्द्रिय सदस्यहरुले नियुक्ती सच्याउन दिएको दवावलाई लिन सकिन्छ । राजनीतिको उच्च स्थानमा पुग्न सफल पदाधिकारीलाई कमिशन र दलाली मार्फत एक आपसमा पानी दिंदै ‘क्लेप्टोक्रेसी ’ र ‘सुविधा शुल्क’को मिलनमा झाँगिदै गएको दलाल राजनीति वर्तमान लोकतन्त्रको अभिन्न अंग बनिसकेको छ ।

अन्तमा सन १९९० पछी हाबी भएको बजारोन्मुख व्यवस्था र लोकतन्त्रको बीच अघोसित एकता मार्फत फस्टाएको दलाल राजनीतिले गर्ने आर्थिक चाँजोपाजो शिर्ष नेताको आबश्यकता मात्र हैन जरुरत बनिसकेको छ । राजनेता बन्ने भोकलाई साकार पार्न पार्टी र संसदीय सत्ता सुरक्षित गरिदिने दलाल राजनीति कठिन समयमा काम लागेका पार्टी सहयोद्धालाई दुश्मन देखाउन कालोधनको अथाह प्रयोग गर्ने गर्छ ।  अनुपयुक्त बाटोबाट अतिरिक्त आम्दानी गर्दै स्थायी सत्ता चलाउने वाम नेतृत्वको चाहाना दलाल राजनीतिको चंगुलमा परेको कारण राजनीतिक बिकास र समृद्धिको नारा ‘एका देशको कथा’ बन्दै छ । राजनीतिक पद र प्रशासनिक गठजोडमा हुने अतिरिक्त कमाई , विपक्षको कमजोरी र पूँजीको शक्ति बीच गरिने गठजोठले सार्वजनिक जीवनमा निर्माण गरिसकेको ढाँचा वर्तमान वाम नेतृत्वले मुक्त गर्ने कल्पना करीब असम्भव बन्दै छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank