मनोरञ्जनको क्षेत्र होइन, व्यवसाय भन्न सिकौँ !

बिहिबार, अशोज १६, २०७६



- सीता ओझा

नेपालको संविधानले काम या व्यवसायलाई सेवा र मनोरञ्जन भनेर छुट्ट्याइएको कहिँपनि भेटिँदैन । त्यस्तै व्यवसायजन्य कामहरूलाई औपचारिक र अनौपचारिक भनेर परिभाषा र व्याख्या गरेको पनि भेटिएन । तर पनि श्रम क्षेत्रलाई हामीले महिलाहरूको बढी सहभागिता हुने क्षेत्रको काम र पुरुषहरू सेवा लिन सहभागी हुने क्षेत्रको काम भनेर नाममा पनि विभेद गरेको रहेछौँ । यसरी विभेद गरिएको कुरा तल प्रस्तुत गरिएको विषयले प्रष्ट देखाउनेछ ।

अनौपचारिक मनोरञ्जनात्मक क्षेत्र भित्र पर्ने भनेर डान्सबार, मसाज पार्लर, होटेल, क्याबिन, रेस्टुरेन्ट, गेस्टहाउस, दोहोरी साँझ, खाजा घर र स्पाल लगायतका व्यावसायिक कामका क्षेत्रलाई हामीले कसरी मनोरञ्जनात्मक क्षेत्र भनेर व्याख्या गर्‍यौ ? के यी क्षेत्रमा काम गर्न जाने मनोरञ्जन लिन र दिन जाने भनेर बुझ्ने बुझाउने कुरा कानुनी कुरा हो ? यस्तो कानुन अझैसम्म रहिरहेको छ ? पुरानै कानुनलाई टेकेर अझै यस्ता र यसरी व्यवसाय सञ्चालन भइरहेका छन् ? यदि हो भने संविधानसँग बाझिएका यस्ता प्रावधान या कानुनको संशोधन हुनु पर्दैन ?

यस्ता व्यवसायजन्य ठाउँमा विशेषगरि महिलाहरू काम गर्न र कामको पारिश्रमिक लिएर जीविकोपार्जन गर्ने उद्देश्य लिएर जाने गर्छन् । तर हाम्रो दृष्टिकोण महिला र महिलासँग जोडिएको यौनजन्य कार्यलाई मनोरञ्जनसँग जोडेर हेर्ने गएका छौ । यस्ता पेसा र व्यवसाय सञ्चालकहरूको मनाशय पनि हेर्दा सुन्दर देखिने, टिपटप पहिरनमा सजिएका, वैशालुहरू भए राम्रै आम्दानी हुने र यस्तै गर्ने गरेको कुरा अध्ययनको क्रममा बताएका छन् । यसरी व्यवसाय सञ्चालन गर्ने कानुन राज्यले बनाएका कारण हामीले गरिब, दु:खी बालबालिकाहरूलाई काम दिएर मानवीय धर्म निर्वाह गरेको साथै कानुनी रूपमा दर्ता र कर तिरेर व्यवसाय सञ्चालन गरिरहँदा बेलाबेलामा, प्रहरीको हाकिम फेरिदा र टिप्सको रकम नमिल्दा हामीलाई प्रहरी प्रशासनले धेरै दु:ख दिने गरेको भन्ने आरोप व्यवसायीहरूले गर्ने गरेका छन् । त्यस्तै कामदारलाई नियुक्ति, काम, सेवाको सम्झौता र न्यूनतम पारिश्रमिक सहित सामाजिक सुरक्षाको कुरा गर्दा व्यवसायीहरू किन  मौन बस्छन् ? यस्ता विषयमा सरोकारवालाको ध्यान जानू पर्ने देखिन्छ ।

देशको शान्ति सुरक्षा जिम्मा लिएर बसेको प्रहरी प्रशाशनहरूसँग नाम नभन्ने सर्तमा जानकारी दिँदा उनीहरू भन्छन् – ” दिदी हामीले पाएको सूचनाको आधारमा यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा नै ( रङ्गे हात ) यस्ता व्यवसाय जन्य ठाउँबाट हामीले समातेर ल्याएका हौ । त्यतिकै हामीले नागरिकलाई किन दु:ख दिने र ! तपाईँ हेर्न या बुझ्न चाहनु हुन्छ भने बर्दी नलगाई त्यस ठाउँमा पुर्‍याएर देखाइ दिन नै सक्छौ । यस्ता काम र व्यवसायमा निकै ठुलो ओहोदामा रहेका व्यक्तित्वहरू सामेल छन् । अस्ति मात्रै हामीले छापा मार्‍यौ । छापा मार्दा रेस्टुरेन्टको मालिक र पाटीका नेताहरू नै यौनजन्य क्रियाकलापमा सामेल भएको अवस्थामा हामीले गिरफ्तार गर्‍यौ र लग्यौ तर बिहान हुँदाहुँदै मन्त्री, सचिवहरूको फोन आयो र हामीले छोड्न बाध्य भयौँ । “

किन छाड्नु भएको त भन्ने प्रश्नको जवाफमा उनी भन्छन् – “जागिर त हामीलाई पनि खानु छ नि दिदी ! हाम्रो पनि परिवार छ । माथिको आदेश पालना गरेन भने कारबाहीमा परिन्छ । हामी निर्णय गर्ने ठाउँमा छैनौ । के गर्नु र ? यस्तै छ यहाँको चलन …….!” भन्दै सुस्केरा हाल्छन् ।

यस्ता व्यवसायजन्य ठाउँमा परिचय नखुलाई अध्ययनको क्रममा जाँदा घण्टौँ हामीले सेवा पाएनौं । वास्तवमा नियमित ग्राहकको रूपमा आउने ( जानपहिचान ) पुरुष ग्राहक केन्द्रीकृत त्यो पनि यौनजन्य क्रियाकलापमा प्रभावित सेवा नै रहेको देखियो । यस्तो गर्नु व्यावसायीक मर्यादा र व्यवसाय दर्ता गर्दा गरिएको करार होइन र पछि खोज्दा यहाँहरूको त्यस्तो काम गर्ने इजाजतपत्र भेटिएन । त्यसमा श्रमिक भन्दा व्यवसाय सञ्चालकको दोष बढी देखिन्छ । त्यही कारण उनीहरू प्रहरीको घेरामा परिरहेका हुन्छन् । अझै कतिपय ठाउँमा त सुरक्षाको लागि भन्दै बाउन्नसर नै राखेको पनि भेटियो । “संसारभर मानिस पद, पैसा, दल र बलले सम्पन्न भए पछि मद, मदिरा र यौनजन्य क्रियाकलापमा सामेल हुनेतिर लालायित हुन्छ । ” सौखको लागि मदिरा र महिलालाई प्रयोग र उपयोग गर्ने परिपाटीको सोच भएका पुरुषहरूले पैसा र ओहोदाको सहयोग लिएर गर्ने सयकडौं अपराध गर्ने र हुने गरेका सयौँ घटना यस्तै व्यवसाय क्षेत्रभित्र घट्ने गरेको पनि देखिन्छ । यस्ता घटनाले मिनेटभरमा सडकमा पुर्‍याउँदा पनि चेत खुलेको देखिन्न । यस्ता गलत लत बसेका कुराले मानिसलाई अपराधी बनाउँछ । यसरी नियम कानुन भन्दा फरक आवश्यकताको व्यवसाय गर्न उद्यत हुँदा महिला श्रमिकहरूमाथि यौनजन्य दुर्व्यवहार हुने गरेको र कतिपय अवस्थामा फाइदामा प्रयोग हुँदाहुँदै श्रमिकमा मनोरञ्जनात्मक पक्षको चेत नहुँदा पनि आफूमाथि दुर्व्यवहार भएको उनीहरू बताउने गर्दछन् ।

समाजको रूपान्तरणको लागि श्रम र ज्याला जोडिएका सबै क्षेत्र व्यवसाय हुन र यस्ता कार्यक्षेत्र र कार्यस्थललाई परिभाषा गर्ने हाम्रो दृष्टिकोण बदल्नु जरुरी देखिन्छ । रात दिन या कुन समय र कति घण्टाको काम हो ? उल्लेख भएको नियुक्तपत्र अनिवार्य नली र नियुक्तिमा तोकिएको भन्दा फरक काम नगर्ने, गर्न नमान्ने, गर्न बाध्य पारे कानुनी सरसल्लाह अनुसार उजुरी गर्ने र तुरुन्तै सुनुवाइ हुनुपर्ने विषयमा ट्रेड युनियनहरूले भूमिका खेल्नु पर्ने अवस्था रहेको देखिन्छ ।

ज्याला र काम जोडिएर बनेको काम गर्ने क्षेत्र मनोरञ्जनात्मक व्यवसाय हुन सक्दैनन् । यसबाट मनोरञ्जन शब्द हटाएर व्यवसाय मात्रै बनाउनु पर्छ भन्ने मान्यता र कानुन बनाउने कुरामा राज्यका संरचना र नीति निर्माणमा बस्नेहरूले सोच्न जरुरी देखिन्छ । सेवा लिन लुरुलुरु जाने, रमाइलो गर्ने, मौका मिलाएर आफू पनि रल्लिने अनि अनौपचारिक श्रम क्षेत्र भनेर महिला कामदारहरू प्रति ‘हेलाहोचो गर्ने प्रवृत्ति’ पनि हामी कहाँ समस्या बनेको छ।  घरेलु श्रमिक राख्ने, आफू काम नगर्ने अनि अरूले गरेको श्रमको महत्त्व नबुझेका सामन्तवादी सोचहरू भएकाहरूलाई काम र काम गर्नेको मर्यादा गर्न सिक्ने, जान्नु पर्ने विषयमा प्रशिक्षण दिनु पर्ने पनि देखिन्छ ।

त्यस्तै यस्ता विषयहरूमा ट्रेड युनियनहरूले पनि महिला श्रमिकहरूलाई अधिकार र कर्तव्यको बोध गराउने सन्दर्भमा व्यवसायी, राज्यका संरचनाका सेवा प्रवाह गर्नेहरू, श्रमिक र ग्राहक लगायतलाई राखेर विषयको सहजीकरण गर्न पर्ने देखिन्छ । राज्यको तर्फबाट यस्ता विभेदकारी ऐन, कानुनहरू तुरुन्तै बदल्नु या सच्याएर यस्ता व्यवसाय सञ्चालन गर्ने ठाउँमा महिला कामदारमाथि हुने दुर्व्यवहारको तुरुन्तै अन्त्य गर्न पहल गर्नु पर्ने देखिन्छ । अहिलेसम्म जे-जस्तोगरि व्यवसाय सञ्चालन भए पनि अब अपराधविहीन बनाउन स्थानीय निकाय मार्फत नै व्यवसायीको भूमिका बदल्नु अति जरुरी देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata