अन्तर्राष्ट्रिय श्रमिक दिवस र श्रम संगठनहरू

बुधबार, बैशाख १८, २०७६



- सीता ओझा 

श्रम भन्ना साथ काम, कामदार र काम बनाउने या दिने अथवा लगानी गर्नेसगँ  जोडिएको एकअर्का विचको परिपुरक सम्बन्ध भएको भनेर बुझ्ने गरेका छौं । श्रम या काम शब्दले औपचारिक या अनौपचारिक क्षेत्रमा हुने या गरिने कामलाई  नै  परिभाषित गरेको हुन्छ र छ पनि । काम चाहे औपचारिक होस् या अनौपचारिक, त्यो काम या श्रम नै हो भन्ने कुरा हामी कहाँ बल्ल बुझ्ने चलन विकास हुदैछ । श्रम शब्द र यसको अर्थसगँ सम्बन्ध जोडेर अहिले बिस्तारै कामसगँका क्षेत्रहरू समेट्ने प्रयत्न हुँदैछ । यसैसगँ सम्बन्ध जोडेर महिला अधिकार कर्मिहरूले हरेक महिलाले घरमा गर्ने कामलाई पनि श्रम र श्रमबाट आर्जन हुने पुँजीसगँ महिलाको घरायसीकामलाई जोड्नुपर्छ भनेर माग राखिरहेका छन। त्यसैगरि श्रम शब्दले विश्व बजारमा राजनीतिक  परिवर्तन र विकासका विविध क्षेत्र र तिनीहरूको व्यक्ति पिच्छेको  सम्बन्ध  साथै समाज र  मुलुकको  उत्पादन शक्ति, क्रय र विक्रयको क्षेत्र साथै उपभोक्ता हुँदै राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभावसगँ सम्बन्ध राख्ने गरेको देखिन्छ । त्यसैले पनि श्रम शब्दसँग त्यहाँ काम गर्ने कामदार, उत्पादन, उत्पादित वस्तुको खपत र नाफा र नाफाको प्रयोग र उपयोगको विषेश सम्बन्ध पनि छ ।

हरेक मानिसको जिविकोपार्जनसगँ पनि श्रम शब्द जोडिन पुग्छ । यसरी काम गर्ने मानिससगँ सम्बन्ध गाँसिएर श्रम शब्द  श्रमिकको  र श्रमिकहरू या काम गर्नेहरूको आन्दोलनसगँ जोडिएर श्रमिक हुन पुगेको देखिन्छ । श्रमिक शब्द विषेश गरि आज भन्दा १३२ वर्ष पहिले अमेरिकाको शिकागो शहरमा कारखानामा काम गर्ने मजदुरहरूले ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राखेर  सन् १८८६ मे १ तारिक देखि नै आन्दोलन सुरूवात गरेको निकै महत्त्वपूर्ण दिन हो ।  विश्वका मजदुरहरुलाई संगठित हुदै आफ्नो अधिकारलाई सुरक्षित रूपमा उत्सवको रूपमा मनाउन, अधिकारको प्रयोग गर्न साथै सेवामा सीप र क्षमताको विकास गर्न सक्ने वातावरण बनाउन लगानीकर्ता र राज्यलाई औपचारिक रूपमा अनुरोध गरेको दिन र समय पनि हो । त्यस दिन सयौं कारखानाका मजदुरहरूले श्रमशक्तिको उचित मूल्यांकनकालागि खुसिले काम छोडेर सडकमा उत्रिएका थिए । यसरी गरिएको शान्ति पुर्ण आन्दोलनमा तात्कालिक अमेरिकी सरकारले निर्मम ढङ्ले गोली बर्सायो । सयौ मजदुरहरू घाइते भए । नौ जना मजदुर नेताले आफ्नो जीवन मजदुरको हक र हितकालागि बलिदान दिए । शिकागो शहर मजदुरको रगतमा चुर्लुम डुब्यो । सरकार झन दमनमा उत्रियो । मजदुरहरूले आन्दोलन निरन्तर अगाडि बढाई रहे ।  अनवरत चलेको त्यो आन्दोलनले चार वर्षसम्म चल्यो । चार वर्ष सम्म निरन्तर हत्याहिंसा, घाइते हुँदै अघि बढेका मजदुर या श्रमिकहरूले सन् १९८९ मा एंगेल्सको नेतृत्वमा अन्तर्राष्ट्रिय सम्मेलन गरे ।  सन् १८९० मे १ देखि विश्व भरि मजदुर दिवसको रूपमा मनाउन आव्हवान गर्ने निर्णय गरे । त्यस पछि मे १ मजदुर या श्रमिकको एकता, विरता, सघर्ष र अधिकार प्राप्तीको उपलब्धिको दिनको रूपमा विश्वभरि मनाउन थालियो ।

नेपालमा श्रमिकहरूले प्रजातान्त्रको प्राप्तीसगँ जोडेर वि.स. २००४ सालमा विराटनगर जुटमिलमा पहिलोपटक ‘चार घण्टा काम, चार घण्टा आराम र ४ घण्टा मनोरञ्जन’को माग राखेर निकै लामो समयसम्म आन्दोलन भएको इतिहास पढ्न पाइन्छ । त्यसको नेतृत्व गर्नेमा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाहरूसँगै महिला आन्दोलनकारीको रूपमा नन्दा नेपाललाई पनि शसक्त मजदुर योद्धाको रूपमा पढ्न पाइन्छ । त्यस्तै गरि विद्यालयका शिक्षकहरूले आफ्नो पेसागत सगंठन, सगंठनमा स्वतन्त्र पुर्वक संगठित हुन, खान पुग्ने वेतन, सन्चयकोष, निवृती भरण र उपदान लगायतका विषयलाई राज्यले  उचित सम्बोधन गर्न माग राखेर वि.स. २०३२/०३३ देखि वि.स.२०३६ हुँदै ०४२ सम्म चुनौतीपूर्ण ढंगले आन्दोलन गरे । त्यो आन्दोलनमा सयौं  शिक्षकहरू  घाइते भए, गिरफ्तारी दिए, जेल परे, बेपता पारिए, अङ्गभग भए । आन्दोलन कै क्रममा वि.स. २०३७ साल चैत्र २९ गते  संगठन खोल्न पाउने अधिकार सहित शिक्षकका केही मुद्दाहरू राज्यल सम्बोधन गर्न बाध्य भयो । त्यहीँ आन्दोलनको उपलब्धिको रूपमा आज नेपाली शिक्षकहरूले वेतन लगायतका सुविधा र संगठित हुने अवसर पाएका छन् । यस्तै आन्दोलन वि.स. २०४६ सालको आन्दोलन पश्चात् निजामती कर्मचारीहरूले पनि गरेका थिए तर त्यो  आन्दोलनले खास सफलता पाउन सकेन । त्यसले श्रमिकहरूको मनोबल ह्रास गरायो ।

 हाम्रो जस्तो देशमा यस्ता आन्दोलनहरूले पेसा, पेसामा दक्षता सहित उत्पादन क्षमता वृद्धि गर्ने विषयमा पनि सम्बोधन गर्न राज्य र लगानीकर्तालाई आव्हान गर्ने गर्दछन तर राज्य र लगानी कर्ता दुबैले यसको महत्व अहिले सम्म बुझ्न नसकेको देखिन्छ । त्यस्तै  लगानी, उत्पादन र श्रमिकहरू बीचको समन्वयात्मक सम्बन्ध विस्तार गर्ने श्रम र श्रमिक बीचको सामुहिक सौदावाजीका विधिवत व्यवस्थाका विषयले सबैलाई सुरक्षित अवतरण गर्छ भन्ने विषय हाम्रो देशमा लागू हुन सकेको देखिन्न । सामुहिक सौदावाजीको विषय सिद्धान्तत निकै राम्रो र गुणकारी ढङ्गबाट प्रयोग गर्न सकिने विषय हो  तर हामी कहाँ यसो गर्नु, गर्न सर-सल्लाह दिनु या गराउनु चाहिँ राज्य या लगानीकर्ता झुक्नु भन्ने अर्थमा लिने गरेको देखिन्छ । अब हामीले मुलुकको विकाससगै जोडेर विकासमा सहभागी हुन र गराउन यै श्रमिक क्षेत्रसगँ सहकार्य गर्नुपर्ने छ । त्यसको लागि नेपालमा भएका सबै खाले ट्रेड यूनियनको  कार्यक्षेत्रमा व्यवस्थापन गर्ने विषय पनि सोच्नु पर्ने ठाउँमा पुगिसकेका छौ ।

 अहिले हामी दलिय संरचनाको राज्य व्यवस्थामा छौ । दलिय राजनीतिक व्यवस्थाभित्र चलायमान हुने शक्तिका रूपमा दलका स्थानिय तहसम्मका संरचनाहरू र दलका जनवर्गिय संगठनहरू पनि देशको निर्माणमा सहभागी हुनुपर्ने हुन्छ । दलका हरेक संरचनाहरूले मुलुकको निर्माणको खाका कोर्न र डोर्‍याउन सक्ने गरि योजना बनाउन सक्नु पर्छ । त्यसैले राज्य सञ्चालन गर्ने दल र दलसगँ सम्बन्ध भएका श्रमिकका संगठनले अहिले सरकारसगँ ठसल गर्ने होइन । त्यस्तै दलहरूले आफ्ना मुलुकको सञ्चालनको दलिय योजनालाई राष्ट्रिय योजनासगँ समाहित गरि तिनै श्रमिकहरू मार्फत आफ्ना योजनागत कार्यक्रमहरू लागू गर्नु पर्ने थियो, हो । तर यहि विषय चाहिँ समस्या बनेर एकअर्का विचमा दोषारोपण गर्ने परिपाटी श्रृजना भएको हो कि भन्ने देखिन्छ ।  यस्तो गर्ने बेला अहिले होइन कि सोचौ है !

हामीसगँ अहिले पनि मुलुकको विकासका लागि राष्ट्रिय पुँजीको विकास गर्न सक्ने आधार बनेको छैन । राष्ट्रिय पुँजी निर्माणको लागि हामीले पहिले पुँजी निर्माण गर्न सक्ने राष्ट्रिय योजना र लागतको खाका निकाल्न सक्नु पर्ने होला । त्यहीँ खाकाका आधारमा पुँजीकरण हुनसक्ने सम्भाव्यताहरू भएका योजनाको विकासका कुराहरू पनि हाम्रा कार्यक्रमहरू हुन् कि भनेर श्रमिकहरूलेसोच्ने बेला आयो कि जस्तो लाग्छ । श्रमजिविहरूले अब पनि यसरी सोच्न नसकेर सेवा, सुविधा र अतिरिक्त सुविधाका कुरा मात्रै मागको रूपमा तेर्साउने हो भने देशै नरहने हो कि ?  मजदुर दिवस मनाइ रहँदा मजदुरका संगठनका नेताको ध्यान यता पनि पुग्नु पर्छ कि !

लगानी कर्ताहरूले पुँजीको परिचालन गरिरहँदा एक पक्षिय फाइदा या नाफा केन्दीत सोच भन्दा नाफाको पुन: परिचालनमा श्रमिकको पनि सहभागिता र स्वामित्वको कुराहरू आफ्नो लगानी क्षेत्रमा समावेश गर्न सके श्रमिकहरूले पनि कार्यक्षेत्रमा अपनत्व महसुस गर्ने थिए । यस्ता विषयले लगानी, नाफा र दिर्घकालिन व्यवसायको योजना  बनाउन श्रमिकका संगठनहरू पनि बाध्य हुने अवस्था श्रृजना हुने थियो र श्रमिकका संगठनबाट बिस्तारै टाढा हुँदै पेसागत दक्षतातिर धकेलिन्थे । लगानी कर्ताले पहिचान गर्न नसकेको कुरा नै श्रमिकहरूलाइ श्रम र उसको श्रमप्रतिको मिहिनेतलाई बुझ्न नसकेको कारण समस्याहरू उब्जिएका देखिन्छ ।

 श्रमिकका संगठन र संगठन भित्रको सांगठनिक पद्दती भित्र देखिएको नेतृत्वको निषेधिकरण र घेराबन्दी श्रमिक संगठनहरूको पेसागत दक्षता विकासको बाधक कुरा हो । श्रम संगठन र श्रम संगठनहरू प्रतिको सदस्यहरूको आकर्षणको अवस्था निकै दयनिय छ । श्रमिकका नेताहरू श्रमिकमुखि भन्दा पनि राजनीतिक विचार सदस्यमुखि रहेको अहिलेको अवस्थामा श्रमिकका संङ्गठनहरूले श्रमिकमैत्री वातावरण आफ्ना संगठनहरूमा बनाउन सकेका छैनन् । सोहि कारण श्रमिकका संगठनहरू राजनीति दलै पिच्छे जन्मेका छन् । यस्तो कुराले सरकारको फेरबदलसँगै कर्मचारी तन्त्र भित्र सरूवा र असुरक्षाको खैलाबैला मच्चाउछ ।  यी हेर्दा मसिना छन् तर  सेवा प्रवाहमा  निकै महत्व राख्ने विषय हुन् । राज्य र श्रम संगठनविचमा देखिएका समस्याहरूको मर्का पनि सेवाग्राहीलाई नै पर्न जान्छ ।

राजनीतिक आवद्धताको सरकार र ट्रेड यूनियनहरू बीचको समन्वयात्मक सहकार्यको अवस्था भएन भने कर्मचारीतन्त्र नै ठप हुन जान्छ । यस्तो अवस्थामा सरकार निरीह हुने या एक्सनमा जाने अवस्था आउन सक्छ । अहिलेकालागि यो दुवै राज्यकालागि अहितकर कुरा हुन् । त्यस्तै ट्रेड यूनियनकर्मिहरूको आचरण र  व्यवहारले पनि सेवाग्राही साथै श्रमिकहरूलाई असर गरिरहेको हुनसक्छ भन्ने कुराहरू यस्ता दिवस मनाइ रहँदा श्रमिकका संगठनले हेका राख्नु पर्ने विषय हो । राष्ट्रिय सञ्जाल र अन्तर्राष्ट्रिय सम्बन्ध भएका यस्ता संगठनहरूले आफ्ना कार्य सञ्चालन गरिरहदा राज्य र लगानीकर्ताहरूले सहयोग गर्ने वातावरण बनाउन सके श्रमिकका संगठनले संस्थाको संस्थागतविकासमा ‘दिलो ज्यान’ दिएको ईतिहास पाइन्छ । नेपालको सम्वृद्दिको नारालाई कार्यक्रमका रूपमा कार्यन्वयन गर्न राज्य, लगानीकर्ता र श्रमिकको त्रिपक्षीय सहकार्य हुन सकोस् ।

१३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबैलाई शुभकामना !!!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank