रणनीतिक रफ्तारमा कमरेड ओली !

फरकमत

बुधबार, कार्तिक २७, २०७६



- दीपेन्द्र पाण्डे

चाहेको जस्तो शरीर छैन उनको । अर्थात् उनी बिरामी छन् । विगत १२ वर्ष देखी नियमित औषधी सेवन गर्दै सक्रिय राजनीतिक जीवन बिताई रहेका उनी पछिल्लो समय डाक्टरहरूको निगरानीमा स्थिर स्वास्थ्य लिएर देश हाँक्दै छन् । यसको कुनै अर्थ छैन कि तपाईँ कहाँबाट आउनु भयो । त्यसले मात्र अर्थ राख्छ, तपाईँ कहाँ जाँदै हुनु हुन्छ ? भन्ने ब्रायन ट्रेसीको अनमोल विचार अकस्मात उनको कानमा पर्दै छ । आफैले देखेको र देखाएको सपनाबाट बरालिएका प्रधानमन्त्री ओली दार्शनिक ट्रेसीको विचार मनन गर्न राजी भएसँगै आधा बाटोबाट फर्केर हिडन सुरु गर्ने विषयमा घोत्लिँदै छन् । अदम्य साहस र दृढ इच्छा शक्तिका धनी प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य स्थिति प्रति मात्र हैन आफैले बिगारेको राजनीतिको स्वास्थ्य सपार्न दार्शनिक ट्रेसीको विचारलाई सम्मान गर्ने सङ्केत देखाएका छन् ।

साठी चालिसको फर्मुला अपनाउँदै ‘मिलेर जाने, मिलेरै खाने’ ओली रोडम्याप तत्कालीन समयमा अपत्यारिलो थियो । निर्वाचनपुर्व निरोगी मानिसको जस्तो आफूसँग सुविधाजनक समय छैन भन्ने कमरेड ओली व्यक्तिगत सपना पुरा गर्न कुनै निरोगी मानिस भन्दा कम खटेनन् । राष्ट्रवाद र समृद्धिको जगमा मलिलो खेती सपार्दै प्राप्त संसदीय अङ्कगणित पछि सत्ता र शक्तिको रोगी मानसिकता सापटी मात्र लिएनन् । कार्यान्वयन नै गर्न हतारिए । फलस्वरूप मुर्छित सपना जगाउने भन्दै गरिएका भाषणलाई ‘माई भिजन ‘ मान्ने र त्यसैको जगमा समृद्धिको महायात्रा शुरु गर्ने प्रधानमन्त्री ओली समृद्धिलाई टुहुरो बनाउँदै आफ्ना भक्तहरूको व्यवस्थापन गर्न हतारिए ।

जीवन नै राजनीतिमा खर्चिएका आफ्नै सहयोद्धा कमरेडहरूलाई केवल ‘गुटगत’ नजरले हेर्दै कहाली लाग्दो अवस्थामा छोड्दै अगाडि बढे । पार्टीका महत्त्वपूर्ण पदहरू, मुख्यमन्त्री, मन्त्री,समानुपातिक सभासद्, राजदूत, राजनीतिक नियुक्ति मात्र हैन सिंहदरबार र बालुवाटार सबैतिर एकछत्र राज गर्दै दुई वर्षको बहुमूल्य समय खेर फाले । मुलुकको कार्यकारी पदमा असीमित अधिकार केन्द्रीकृत गर्दै चौतर्फी नियन्त्रणका साथ गरिएको पार्टी र सरकारको सञ्चालन ठोस नतिजा पस्कन असफल भएको महसुस गर्न ढिलो गर्दै छन् ।

आफूले सोचेको र चाहेको जस्तो सरकारको कार्यकुशलता देखा नपरेको समयमा उनको पुरानो रोग बल्झिएको छ । उनी चाँडै गई हाल्छन् । त्यस पछि हाम्रै वा मेरै हाली मुहाली त होनी भन्नेहरूको सोच र सपनालाई पशुपतिको साँढेको अवस्थामा पुर्‍याउँदै शासन गरिरहेका प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा दुई पटक डाइलासिस गर्न मजबुर भएसँगै करिब १२ वर्ष अघिको अवस्थामा फर्किएका छन् ।

भारतमा सफल मिर्गौला प्रत्यारोपण पश्चात् नियमित औषधी खाइरहेका ओली औषधीको कारण बिच बिचमा सामान्य समस्या झेल्दै आइरहेका थिए । भारत र बैंककमा उपचार गर्दै आइरहेका उनी स्वास्थ्यकै कारण गत १८ साउनमा सिंगापुर पुगे । २७ साउनमा स्वदेश फर्किएका उनी डाक्टरहरूको परामर्श अनुसार नेशनल युनिभर्सिटी अस्पतालमा थप उपचार गर्ने तयारीका साथ नेपाल फर्किए । ५ भदौमा उनको रगतमा भएको ‘एन्टीबडी’ निकालियो।सिंगापुरमा सफल उपचार गराउँदै गत २० भदौमा स्वदेश फर्किएका उनी २ कात्तिकमा ग्राण्डी अस्पताल जान बाध्य भए । छोटो समयमा निरन्तर समस्या झेल्दै आएका प्रधानमन्त्री ओली अकस्मात डायलासिसको विकल्पमा पुगे । देखाउँन कै लागी हाँस्दै अस्पतालबाट बालुवाटार फर्किएका ओली बाध्यात्मक उपचारको निम्ति थप हतारोमा छन् ।

पछिल्लो उपचार पश्चात् गत कार्तिक २३ गते प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार टीमका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिए । सिंगापुर जानु अघि र ग्राण्डीबाट फिर्ता भएसँगै ‘बोल्ड’ निर्णय गर्न हतारिएका प्रधानमन्त्रीको पछिल्लो कदम प्रति सर्वसाधारण समेत उत्सुकता जाहेर गर्दै छन् । आराम गरेर बस्ने समयमा उनले एकसाथ सातै प्रदेशका प्रमुखलाई बिदाइ एवम् नयाँ नियुक्ति, मेडिकल काउन्सिल र टियुमा उपकुलपति नेतृत्व चयन किन गरे ? विगत लामो समय देखी मिडियामा ‘हट केक ‘ बन्दै आइरहेको समाचार प्रधानमन्त्री केही मन्त्रीसँग रुष्ट र छिट्टै मन्त्री परिषद् पुनर्गठन गर्दै छन् भन्ने हरूलाई चकित तुल्याउँदै आफ्नै भक्तहरूको विरुद्ध किन एक्सनमा उत्रिए ? मन्त्रीहरूको मार्कसिट बनाउने,फेल र पासको हल्ला चलाउने सल्लाहकारको कारण आफ्नै लोकप्रियता ह्रास आएको महसुस गरेका प्रधानमन्त्रीले गम्भीरता पूर्वक कदम चाल्ने अनुमान अब यथार्थ बनिसकेको छ । आफ्ना सेवकहरूलाई ‘अक्षम’ भन्न नरुचाएको तर प्रभावकारी नतिजाको अपेक्षा राखेको भन्ने दर्साउन पछि नपरेका प्रधानमन्त्रीको दुई वर्षे कार्यकाल उनको सपना अनुसार नचलेको खुद प्रधानमन्त्रीले स्वीकार गरेको पुष्टि उनको पछिल्लो एक्सनले गरिसकेको छ ।

सबैलाई थाहा छ । देश चमत्कारले बन्दैन । मुलुक निर्माणको बाटो कठिन छ । मुलुकमा केही पनि नभएको भने हैन । भएको के हो भने जनताले चाहेको जति नभएको मात्र हो । प्रधानमन्त्री ओलीको कार्यकालमा केही यस्ता काम भएका छन् ।जसको प्रतिफल मुलुकले सदियौँ सम्म लिनेछ । पाइप लाईनबाट पेट्रोलियम ढुवानी,नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक बनाउन चिनियाँ राष्ट्रपतिबाट पाएको वचन एवम् चीनसँग सम्पन्न व्यापार र बाटोको सम्झौता मुलुकले कहिल्यै भुल्ने छैन ।

सुशासन र पारदर्शिताको चर्को वकालत गर्ने प्रधानमन्त्री ओलीको दुई वर्षे कार्यकाल अत्यन्त निराशाजनक रहेको आम जनताको बुझाई छ। नेपालको उन्नति, प्रगति, विकास र समृद्धिको प्रमुख बाधक तत्त्व भनेको ‘भ्रष्टाचार’ हो भन्ने करिब प्रमाणित भइसकेको समयमा यसको फैलावट ‘क्यान्सर’को तहमा पुगेको छ ।राजनीतिक, आर्थिक, सामाजिक मात्र हैन नैतिक भ्रष्टाचारको जालोले मुलुकलाई खोक्रो पारिसकेको अवस्थाबाट पार पाउन कठिन र कठोर कदम निर्ममता पूर्वक चाल्न ओली सरकार चुकेको छ । आफ्ना तमाम कमजोरीको अपजस आफ्नै सेवकहरूको थाप्लोमा हालेर पानी माथिको ओभानो बन्ने प्रधानमन्त्रीको प्रयास ‘नुन बिनाको तरकारी’ भन्नेहरू काफी भेटिन्छन् । उखानबाट समृद्धि आउँदैन भन्नेहरूको आरोपलाई अप्रत्यक्ष ढङ्गले स्वीकार गर्न बाध्य भएको प्रधानमन्त्रीको पछिल्लो अवस्था दयालाग्दो देखिन्छ ।

योग्यता,क्षमता,स्वाभिमान, इतिहास भएका मानिसहरू तेल, धूप, परिक्रमासँग लगाव वा विश्वास जगाउँदैनन् । पार्टी , जनता र मुलुकको सेवा गर्न सदैव तयार यस्ता मानिसहरू आफ्नो भूमिका प्रति सधैँ सचेत रहने गर्छन् । राज्य र पार्टीले खोजेको खण्डमा मात्र सेवा गर्न तयार हुने मानिस फगत कुर्सी र पैसाको निम्ति सत्ताको गुलामी गर्न तत्पर हुँदैन । सत्ताले सधैँ गुलाम वा ‘एस म्यान ‘ रुचाउने, स्वाभिमानी र क्षमतावान् मानिसहरू सत्ताको चरित्रसँग सजग रहने हुँदा मुलुकले ‘राइट म्यान , राइट प्लेस’ कहिल्यै पाएन । मुलुकमा सदियौँ देखी चल्दै आएको माथिको समस्या प्रधानमन्त्री ओलीले पनि बदल्न चाहेनन् ।

राष्ट्रिय गौरवको आयोजना अलपत्र पारिएको, आयोजनाको लागत दिन प्रतिदिन बढ्दै गएको, वैदेशिक रोजगारीमा जानेको लर्को झनै बढेको, हरेक नेपालीको टाउकोमा रहेको ॠण घट्नुको सट्टा करिब सैँतिस हजार पुगेको, स्वदेशी उद्योग नाम मात्रको रहेको, नयाँ रोजगारीको अवस्था करिब ठप्प रहेको, वार्षिक पाँच लाखलाई रोजगारी दिने वाचा हावादारी गफमा बदलिएको, बेथिति, विकृति, ढिलासुस्ती, कालाबजारीको विरुद्ध फास्ट ट्रयाकबाट कानुन निर्माण गर्न अल्छी गरेको, निर्वाचन पूर्व जारी गरिएको पार्टी घोषणापत्र अलपत्र पारिएको, निजगढ विमानस्थल, फास्ट ट्रयाक निर्माण कार्यले गति लिन नसकेको, मेलम्ची खानेपानी आयोजना ठूलाबडा र कर्मचारी पाल्ने दुहुनो गाई बनाइएको अवस्थामा सरकार भने रेल र पानीजहाज बाहेक अन्य कुरा सुन्न नै नचाहेको कटु यथार्थ प्रधानमन्त्रीले घुमाउरो बाटोबाट स्वीकार गर्न पुगेका छन् ।

इसाई समिटमा चुकेका, नयाँ युगको सुरुवात गर्ने कार्यक्रमका नाममा भद्धा प्रचारमा उत्रिएका,पार्टीको केन्द्रीय समिति कोमामा पुर्‍याएको, भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा स्वागत गर्ने नाममा नराम्रोसँग चुकेका , भारतीय विषादी युक्त तरकारी, फलफूल खानबाट जनतालाई बाध्य बनाएका जस्ता कारणले उनको विगतको लोकप्रिय छवि खुइलिएको छ । चौध वर्ष जेल बस्दैमा र नाकाबन्दीको विरुद्ध कठोर तर बाध्यकारी कदम चाल्दैमा मुलुक समृद्ध नबन्ने रहेछ साथै लोकप्रियता पनि नबाँच्ने रहेछ भन्ने निचोडमा पुग्दै छन् ।

अन्तमा उनी कमजोर स्वास्थ्य र आफ्नै सपनाले थलिएका छन् । जीवनमा पाउन केही बाँकी नरहेका केवल राष्ट्रलाई दिन मात्र चाहेको अवस्थामा केही कदम चाल्नै पर्ने बाध्यता पछि उनको रणनीतिक रफ्तार, निर्णायक र अन्तिम हुने लख काटिएको छ । संयोगवश सन १९६२ देखी भारतीय सत्ताले मिचेको कालापानी , लिपीयाधुरा र लिपुलेकको माटो समेत फिर्ता ल्याउने अवसर उनको सामु आइपुगेको छ । प्रधानमन्त्री ओलीको रणनीतिक रफ्तार वाम आन्दोलन र मुलुक निर्माणको निम्ति कोशेढुङ्गा बनोस् भन्ने आम जनताको चाहना छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata