“”

‘खसी खै, खसी !’

मङ्लबार, मंसिर ५, २०७४



केहि दिनयता सामाजिक सञ्जालमा ‘खसी खै ?’ भन्ने छोटो वाक्यले बजार लिएको छ । सामाजिक सञ्जालमा यसै पनि बेला बेलामा यस्ता छोटा लामा वाक्यहरुले मनोरन्जन दिईराखेकै हुन्छन् । त्यसैलाई लिएर यसरि ब्लग नै लेखिहाल्नुपर्ने त थिएन । अस्तब्यस्त समयमाझ पनि यसरि केहि लेख्न बस्नु पर्नाका मेरा केहि आफ्नै कारणहरु छन् । तिनको खुलासा लेख अगाडि बढ्दै जाँदा पक्कै पनि हुने नै छ ।

कुरा आज भन्दा सात वर्ष जति अगाडिको हो । म लगायत मेरा केहि साथीभाइहरुमा सँगै मिलेर कृषि क्षेत्रमा केहि गर्नुपर्छ भन्ने मत थियो । के गर्ने त भन्ने प्रश्नको हामीले तत्काल निश्कर्ष निकालेनौं । बरु कुन क्षेत्रमा पाईला राख्ने भन्ने विषयमा आफ्नो आफ्नो ठाउँबाट सानोतिनो ‘रिसर्च’ गर्ने कुरो भयो । केहि समयको माथापच्ची पछि हामी सबैजना बाख्रापालन गर्ने निधोमा पुग्यौं । यसका केहि खास कारणहरु थिए, जुन हाम्रो सानोतिनो रिसर्चको निश्कर्षको रुममा आएको थियो । सो समयमा हामी त्यसबेला स्थापित भैसकेका भनिएका केहि फार्महरुमा पुग्यौं । धादिङमा ‘वागमती बाख्रा प्रजनन केन्द्र’ संचालन गरेर बस्नुभएका कृषकको अनुभव हामीलाई निरुत्साहित गर्ने खालको थियो । हाइवेमा रहेको चल्तीको होटल बेचेर १५ वर्ष परम्परागत जातको वाख्रा पालेर उपलब्धीशुन्य भएपछि खोर रित्याएर उनी कहाँनिर गल्ति भयो भनेर हिसावकिताव गरेर बसेका रहेछन् । अवको योजनामा उनले साउथ अफ्रिकन जातको ‘बोयर’ बोको झिकाएर उन्नत जातको बोका उत्पादन गरेर बोकै विक्री गर्ने सुनाए । (आज उनी सफल बाख्रापालकको रुपमा परिचित छन् । एउटा १०० प्रतिशत बोयरको पाठो प्रतिकेजी ३००० देखि ४५०० सम्ममा विक्री गर्ने गर्दछन् । ) त्यस अलावा हामी बन्दीपुर, मकवनपुर देखि महुली सम्म पुग्यौं ।

त्यस समय सम्ममा पोल्ट्रीमा नेपाल आत्मनिर्भर भैसकेको भन्ने खालका समाचारहरु आइसकेका थिए । त्यसैले त्यतातिर हाम्रो चासो खासै थिएन । तरकारी खेतीमा उति चासो, हाम्रो कसैको थिएन । बरु हरेक दशैंमा लाखौंको संख्यामा भित्रिने खसीले हाम्रो ध्यान तानिरहेहो थियो । त्यसबाहेक बाख्राको बडकुँला अग्र्यानिक मलको रुममा विक्री गर्न सकिने, कुखुराको तुलनामा रोग कम लाग्ने, दानापानी गाउँघरमै उपलब्ध सामाग्रीहरुबाट तयार हुने आदि कारणले हाम्रो ध्यान बाख्रा पालनतर्फ आकर्षित भएको थियो । त्यसबेलाका केहि अध्यनहरुले के पनि देखाईरहेक थिए भने नेपालमा परम्परागत रुममा घरघरै पालिने बाहेक ब्यवस्थित रुपमा एकीकृत बाख्रापालन अत्यन्त न्युन थिए । भएकै मध्ये पनि उन्नत जातका बाख्रापालन छँदै थिएन भन्दा पनि फरक पर्दैनथ्यो ।

हाम्रो ‘विजनेस प्लान’ मा बाख्रापालन मात्र नभएर मासु विक्रि समेत आफैं गर्ने थियो । अर्थात् उत्पादन र वितरण दुवै गर्ने । त्यसो गर्दा उत्पादनको उचित मुल्य पनि पाईंने र वेलाबेला हुने अभावबाट विक्री कार्य पनि प्रभावित नहुने । त्यसबेला सम्म खसी वध गर्ने ब्यवस्थित वधशाला नेपालमा थिएन । अहिले पनि छँदै छैन भन्दा पनि अत्यूक्ति नहोला । हामीले आफ्नो उत्पादन नभईन्जेल सम्म आयातित खसी नै प्रयोग गर्ने र विस्तारै आफ्नो उत्पादनले आयतित खसीको प्रयोग घटाउँदै लैजाने योजना बनाएका थियौं ।

यस्तो समयमा दैनिक पत्रिकाहरुमा ६२–६३ को आन्दोलनबाट युवाहरुको मनमा डेरा जमाउन सफल युवा नेता गगन थापाले तराजु अगाडि बसेर मासु जोखिरहेको तस्विर सहितको समाचार छापियो । सो समाचारले हाम्रो ध्यान नतान्ने कुरै थिएन । एक त जल्दोबल्दो युवा नेताले हामीले योजना बनाएको क्षेत्रमा हात हालेको रोमाञ्चकता, अर्को, उनको स्लटर हाउसमा खसी बध गर्ने भनिएको पृथक तरिकाले हाम्रो ध्यान आकर्षित गर्यो । अव हामीलाई उनको मासु पसल, स्लटर हाउस र फार्म नपुगी भएको थिएन । आफू धापासी बस्ने भएकोले गोल्फुटार टाढाको कुरा पनि थिएन । साथीहरु भेला भई शनिवार विहानै लाग्यौं हामी जल्दोबल्दो नेता अनि तिनको ‘हाई प्रोफाईल’ मासु पसलको दर्शन गर्न ।

गोल्फुटार चोकबाट धुम्बाराही निस्कने लिंकरोडमा बास्केटबल कोर्ट छेउ ‘एच एण्ड एच’ मिटशप थियो । सानो टहरामा रहेको उक्त पसल सफा थियो । ग्राहकहरुलाई बस्न सोफा थियो । भित्तामा मुल्य सुची पनि । हामीले खसी वध गर्ने भनिएको नयाँ विधि, २४ घण्टा चिस्याउने ठाउँ अनि फार्मको बारेमा पनि जनाकारी लिन आएका बतायौं । त्यहाँ रहेका ब्यक्तिले हाल खसी वध पुरानै विधि अर्थात खुकुरीले मार हानेरै गर्ने गरिएको र चिस्याउने ठाउँ नरहेको जानकारी दिए । तर भित्र जान भने दिएनन् । साथै भविष्यमा भने ती सबै कुराहरु हुने भन्न चैं भ्याए । गगनजी र उनका पार्टनर हरुलाई भेट्न सकिन्छ ? भन्ने हाम्रो जिज्ञाशामा तिनले ‘वहाँहरु फार्ममा रहनुहुने यहाँ भेट्न नसकिने’ जानकारी दिए । फार्म कहाँ छ ? लोकेशन पाउँ न त भन्यौं । फार्म भ्रमण गर्न काठमाण्डु देखि महुली पुग्ने हामीलाई नुवाकोट जानु कुनै आईतबार पर्खनु पर्दैनथ्यो । तर विडम्बना ! तिनले हामीलाई त्यो पनि दिएनन् । गगनको बहुचर्चित फार्म हेर्ने हाम्रो धोको आजपर्यन्त पुरा हुन सकेको छैन ।

गगनको बाहेक आधा नेपालका ठूला भनिएका फार्महरु हेरिसकेपछि हामीले बाराको कोल्हवीमा फार्म शुरु गर्यौं । दोस्रो इनिङ अर्थात मासु पसल भने हालसम्म शुरु गरेका छैनौं । ०६९ मा ३० वटा बख्राबाट शुरु गरिएको हाम्रो फार्म आज देशकै ठूलो र ब्यवस्थित फार्मको रुपमा परिचित छ । जिल्ला पशु सेवा कार्यालयलाई हामीले ब्याडे बोका तथा घाँसका वीऊ दिने सम्झौता गरेका छौं । त्यहाँका कर्मचारीहरु केन्द्रबाट जिल्ला आउने हरेकलाई फलानो फार्म पुग्नुभो ? पुग्नुस् है भनेर थाक्दैनन् । ‘प्याक्ट’का तत्कालीन प्रमुख, कृषिमन्त्री आदि जस्ता हाई लेभलले भ्रमण गरिसके । तर, हामीलाई अनुदान ? भो कुरै नगरौं । यो अनुदान भन्ने कुरो कृषि कर्म गर्नेले पाउने कुरो हैन रहेछ भन्न अब कम्तिमा म र मेरा साथीहरुलाई दोस्रोपटक सोच्नु पदैन । अनुदान नआए पनि अनुदान मिलाईदन्छौं आधा दिनुपर्छ मिलाइदिनेलाई भन्न चाहिँ बग्रेल्ती आउँछन् । जिल्ला स्तरबाट पाउने स–साना कार्यक्रम नपरेका हैनन् । ती पर्छन, किनभने तिनले हाम्रो मेहनत देखेका छन् । तर विडम्बना त्यहाँबाट आउने अनुदानले प्याक्ट वा सो सरहका कार्यक्रमहरुको लागि ‘प्रपोजल’ लेखाउन पनि पुग्दैन ।

सामाजिक संजालको ‘खसी खै ?’ भन्ने प्रश्नले अव त सायद अरुहरुले पनि बुझे होलान्, अनुदान कसलाई पर्छ भनेर । यहाँ म गगनले अनुदान पचाए भनेर ठोकुवा गरिरहेको छैन । तर पारदर्शिता र जवाफदेहिताको राग अलाप्ने नेता आफू पनि पारदर्शी र जवाफदेहि हुनुपर्छ भन्न कसैको अनुमति लिनु नपर्ला । उनले अनुदान लिएका हुन् भने सोको हिसाव र लिएका छैनन् भने चित्तबुझ्दो जवाफ दिनैपर्छ ।

‘मौनं स्वीकृति लक्षणम्’ त्यसै भनिएको होला र ! चत्रपथ डटकमबाट

806 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank