गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई किन हटाउने ?

बुधबार, भदौ २०, २०७५



- कमल चौलागाई

रामबहादुर थापा गृहमन्त्री ‘बादल’ बाट हटदैछन भन्ने खबर केही दिन देखि निरन्तर आइरहेको छ । केहीबर्ष अघि बादल रक्षामन्त्री हुँदा भएको ‘कटवाल काण्ड’मा पनि बादल माथिको प्रहारमार्फत सरकार ढालिएको थियो । अहिले पनि यहि नियती दोहोरिदै त छैन ? पुन बादलमार्फत नै सरकार अस्थिर बनाउने खेल दोहोरिन खोजेको त हैन ? इतिहासमा यदाकदा घटनाक्रमको पुनरावृत्ति हुने गरेको देखिन्छ नै ।

१. नेकपा नेतृत्वले बादललार्इ गृहमन्त्रीमा ल्याउनुको पछाडिको कारण शान्ति सुरक्षाको सम्भावित चुनौती सामना गर्ने उपयुक्त पात्र यिनै हुन भन्ने सोचिएको हुन सक्छ । शान्ति सुरक्षाको भावी २ चुनौतीमा विप्लव र सिके राउत देखिन्छन । विप्लवको हिंसा जन्य राजनीतिक गतिविधिले शान्ति सुरक्षा र स्थिरतालाई खलबल्याउन सक्ने र सिके राउतको विखण्डनवादी राजनीतिले त मुलुकको सार्भभौमिकतामा नै संकट निम्त्याउन सक्ने आकलन गरिएको हो। केही समय अघिसम्म मोहन बैद्य समुहमा रहेर अलग बाटो लिएका बादल र बिप्लव एक अर्कालार्इ नजिकबाटै भलिभाती बुझ्न सक्छन । ‘सर्पको खुट्टा सर्पले देख्छ’ भने झै विप्लवको चिन्तन र चाल बेसी बुझ्न सक्ने उपयुक्त पात्र बादल नै हुन भन्ने कुरा नेकपा नेतृत्वद्वारा सोचिएको होला नै ।
दक्षिण–पश्चिमा लवितिर पृय व्यक्ति गृह मन्त्रीमा रहदा जुन सहजता सिके राउतले पाउँछन् त्यो कुरा बादल गृहमन्त्री रहदा कठिन जस्तै हुन पुग्छ भन्ने पनि बुझ्न सकिने कुरा हो । नेपाललार्इ टेकेर चीनलाई प्रहार गर्ने पश्चिमा रणनीतिको मातहत नै नेपालमा ‘फ्री तिब्बत’ गतिविधि बढाएर यहाँ अस्थिरता सृजना गर्न खोजिन्छ । ‘एक चीन’ नीतिप्रति दृढ व्यक्तिले गृह प्रशासन सम्हालेको स्थितिमा नै बाह्य चलखेललाई निस्तेज गराउने कुरामा आश्वस्त हुन सकिन्छ । यश अर्थमा पनि बादल रहनुमा ‘ठिक मान्छे ठिक ठाउमा’ भन्ने बुझ्न सकिन्छ ।

२. नेकपाको सरकारको लक्ष्य ‘सुखी नेपाली, समृद्ध नेपाल’ हो । यस्को प्राप्तिको बाटो भनेको स्थिरता र सुशासन हो । शान्ति सुरक्षा कायम राखेर स्थिरता प्राप्त गरिन्छ भने सुशासनको माध्यमबाट नै सिमित स्रोत साधनको अधिकतम परिचालन गरि आर्थिक समृद्धिको लक्ष्य हासिल हुन सक्छ । यो सुशासन प्राप्तिको दिशामा बादल नेतृत्वको गृह मन्त्रालयले गरेका यातायात सिन्डिकेटमाथि प्रहार, ठेकेदारको मनपरीमाथि प्रहार, म्यान पावर एजेन्सीको मनपरी माथि प्रहार, सुन काण्डमा सशक्त कारवाही प्रयास, आइएनजिओको अनुचित गतिविधि नियन्त्रणको प्रयास आदि सबैले देखे सुनेका कुरा हुन । गृहमन्त्री बादललार्इ प्रोत्साहित गर्नुको बदला हटाउने हल्ला चलाइनुको पछाडि सरकारप्रति नै सकारात्मक सन्देश जादैन नै । यो कुरा विशेषत सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री केपी ओलीले नै बुझ्नु पर्छ कि सरकार विस्थापित गरी अस्थिरता ल्याउने कडिको रुपमा बादललार्इ हटाउन खोजिएको छ ।

३. गृह मन्त्रालयबाट केही बिवादास्पद काम भएको चर्चा गरिन्छ र यसमा निजी सचिवालयका केही व्यक्तिको विवादास्पद भूमिका तथा प्रहरी प्रशासनको अक्षमतालार्इ उल्लेख गरिएको छ । पार्टी नेतृत्व र विशेषत गृहमन्त्री स्वयंले यसलाइ सुधार्ने तर्फ गम्भीर भएर सोच्नु पर्छ । गृहमन्त्री रामबहादुर थापाले निजी सचिवालयमा बसेर विवाद र बदनामीको भुमरिमा हाल्नेहरू तथा चर्चित ‘निर्मला पन्त हत्याकाण्ड’ जस्ता केशमा अनुसन्धानमा गैरजिम्मेवार बन्ने प्रहरी अधिकृत र निकायमाथि कडाइका साथ कारवाही अगाडि बढाउनुपर्छ । अन्यथा बदमासहरूले बादलको सरल व्यवहार र भलादमिपनमाथि टेकेर असल नियतका साथ गरिएका कामलार्इ पनि धुमिल बनाउने छन।

पूर्वमन्त्री चौलागाई नेकपाका केन्द्रीय सदस्य हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank