सँगै कार्यालयबाट आएर श्रीमान सोफामा लमतन्न सुत्ने, श्रीमतीले चाहिँ घरधन्दामै लतारिनु पर्ने ?

बिहिबार, मंसिर २३, २०७३



- जनार्जन पौडेल

शास्त्रमा भनिएको छ ‘यत्र नायौ प्रपुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीहरुको पूजा हुन्छ त्यहाँ देबताहरु पनि खुशी हुन्छन । तर शास्त्रका गलत ब्याख्या गर्नैहरुले भने भगवान विष्णुलाई लक्ष्मीले पाउ दवाइरहेको चित्र कोरीदिए । यो कस्तो विडम्वना ? वास्तवमा नारी पात्रका बारेमा यो समाज परापूर्व कालदेखि अहिलेसम्म कस्तो रह्यो भन्ने नै बुझ्न अलमल्ल भइरहेको छ ।

महिला हिंसाको शुरुवात सदियौ देखि भएको थियो तर शास्त्रमा बताइए अनुसार देवताका पालामा बढी भेदभाव थियो भन्ने कुरा भने विल्कुलै गलत हो । बेद पुराणमा बताइए अनुसार बैद्धिक कालमा नारीको धेरै इज्ज्त गरिन्थ्यो नारीलाई उच्च सम्मान गरिन्थ्यो भन्ने कुराका विभिन्न उदाहरणहरु पाइन्छन् । तर कलियुगका वेदव्यासहरुले शास्त्रलाई नै यतिधेरै बङ्गयाइदिए कि मर्यादा पुरुषोतम श्रीरामले समेत आफ्नी प्राणप्यारी सीतालाई रावणकहाँवाट फर्काएर ल्याउदा अग्नी परिक्षा दिनुपर्यो भन्ने अपव्याख्या गरियो  ।यसो भनेर नारीहरुको पवित्रता माथी प्रश्न गर्ने ठाउँ राख्ने यिनै पुरुषप्रधान सोच बोकेका व्यक्तीहरु हुन् । वास्तवमा सत्यता चाहिँ न कुनै सीतालाई हरण गरिएको थियो न अग्नीपरीक्षा नै दिइएको थियो ।  

यस्तो थियो रामायणको सत्यकथा
भगवान् राम त्रिकालदर्शी थिए उनी रावणको वध गर्न नै त्रेता युगमा यस धर्तिमा जन्मेका थिए ।उनलाई रावणले सीतालाई हरेर लान्छ भन्ने कुराको पहिल्यै  ज्ञात थियो । तसर्थ उनले पहिलै नै सक्कली सीतालाई अग्नी देवताको जिम्मा लगाएर मायाले अर्र्कै नक्कली सीता बनाएर राखेका थिए । जुन सीतालाई रावणले सक्कली सम्झेर हरण गरेर लग्यो । पछि रावणको बध गरि आफ्नो सम्पूर्ण कार्य सकेपछि अग्नी देवतासंग आपm्नी प्राण प्यारी सीतालाई फिर्ता लिएका थिए ।

अग्नीलाई जिम्मा दिएको सीतालाई रामले अग्नीबाट फिर्ता लिनुलाई अग्नी परीक्षा भनेर अपव्याख्या गरिएको हो । यसरी कथाको अपब्याख्या गरेर  हरेकयुगका  सीताहरुसँग अग्नीपरिक्षा लिन खोजिदैछ । यसका साथै सत्यवादी भगवान् रामलाई खल पात्रको रुपमा समेत ब्याख्या गर्न खोजिएको छ  । यी त भए वेद पुराणका कुरा । अहिलेको सामाजिक यथार्थलाई पनि एकपल्ट नियालेर हेरौं । हिजो आज भने हरेक तह तप्कामा चरमा नारी शोषण भएको पाइन्छ । घर,अफिस,समाज जताततै जुनसुकै बहानामा पनि नारीहरु अपहेलित छन् ।

आधुनिक भनाउदा पुरुषहरुको व्यवहार देखावटीमा मात्र सिमित छ । दिनभरिको अफिसको काम गरेर घर फर्केका नारी पुरुष श्रीमान् –श्रीमती मध्ये श्रीमान अफिसवाट आएर लमतन्न परेर सोफामा सुत्छ , श्रीमती चाहिँ जतिसुकै थकाई लागेको भएता पनि भान्छामा गएर खाना बनाउनु पर्दछ । अनि तिनैले हुंकारका साथ भन्छन हाम्रो घरमा त समानता छ ।

 भोली पल्ट बिहान उठ्दा पनि पुरुष जुरुक्कै उठेर मुखै नधोई पत्रिका पढ्न थाल्छ अनि घरधन्दा गर्न लागेकी श्रीमतीलाई भन्न थाल्छ “लौ लौ छिट्टै एककप वेड टि” लेराउ । त्यसमा पनि कमै मानिस छन जो आफ्नी श्रीमतीलाई तिमी भनेर सम्वोधन गर्दछन् । धेरै जसोले त तँ भनेर नै बोलाउछन् । श्रीमती  उठेर घर दैलो सफा गर्ने, खाना वनाउन, केटाकेटीलाई स्कुल पु–याउने सम्म सबैकाम गरिसक्दा पनि श्रीमानको उठेर अफिस जाने तयारी हुन्न । त्यसमा पनि जुत्ता मोजा टक्र्याउने देखि लिएर कसैकसैको त लुगा लगाउन समेत सघाउन पर्दछ । यसरी दुवैजना सँगै दिनभर काम गरेर आउने घरको काम चाहिँ सबै नारीले नै गर्नुपर्ने  पुरुष चाही नौ वजेसम्म ओछ्रयानमा पल्टीने घरहरु काठमाडौमा जताततै पाइन्छन् । तैपनि बिचरा महिलाहरु उफ नगरी धानिरहेका छन् ।

के यो चाहिँ महिला हिंसा हैन ? घरभित्रको सोषणलाई चाहि सोषण नभन्ने हो र ? यतिमात्र नभई थाकेर आएकी श्रीमतीले  पकाएर ठिक्क पारेको खाना खान पाउँदा पनि नमिठो भयो भनेर गाली गलोज गर्नेको समेत यहा कुनै कमी छैन श्रीमती कार्यालयमा जति सुकै ठुलो पदमा कार्यरत भएपनि घरमा भने बिहान श्रीमानले पत्रिका नहेरी श्रीमतीले पत्रिका हेर्ने अधिकार हुन्न । व्यवहारमा नारी पुरुष समानता यस्तै छ । यहि नै हो हाम्रो समाजको तितो यथार्थ । हाम्रा समाजका आधुनिक र शिक्षीत भनाउदा दुई चार जना पुरुषले नारीका भावनालाई बुझेका पनि होलान् तर अधिंकासमा भने माथी बताईएकै अवस्था विधमान छ ।

महिला  हिंसाबिरुद्ध १६ दिने अभियान मनाइरहँदा प्रश्न उठ्न सक्छ । के एउटी महिलाले आफुलाई जति गाह्रो भएपनि आफूलाई धर्ती भन्दा पनि सहनशिल वनाउनु पर्ने ? अनि पुरुषले चाहिँ आप्नो कर्तब्यवाट विमुख भए पनि कसैले प्रश्न खडा नगर्ने ? यो कस्तो पुरुष प्रधान समाज ? आखिर कति दिन चल्छ महिलामाथी यो पुरुष प्रधान समाजको थिचोमिचो ? एउटा महिला भएर जन्मेको मात्र कारणले समाजवाट महिलाहरु कतिदिन अपहेलित भएर वाच्ने ?

कतै यस्ता अभियान पनि नारा, गोष्ठी र भोजभतेरमा मात्र सिमीत भएको त हैनन ? महिला अधिकार कर्मीहरुले महिला अधिकारमा उल्लेख्य भुमिका निर्वाह गर्न नसकेको त हैन ? समाजमा नारी हिंसाका जिम्मेवार को–को हुन भनेर जवसम्म केलाइदैन तवसम्म  हिंसामा कहिल्यै कमी हुन्न । ‘नारी पुरुष एउटा रथका दुईपाङ्गा’ हुन भन्ने नारा जताततै सुनिन्छ । तर, व्यवहारमा भने कमै देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata