भुइफुट्टे नेता र दिल्लीको धाप

आइतवार, मंसिर २६, २०७३



- जनार्जन पौडेल

कुनै जाती बिशेषलाइ अप्ठेरो परेमा क्षमा चाहन्छु । तर यो यथार्थ हो, अहिले सम्म पनि काठमाडौका केही नेवार दाजुभाईहरु आपसमा झगडा गर्दा ‘तँ मनकामना कति पटक गएको छस मँ त यती पटक गएको छु भन्ने गर्दछन ।’ यसको अर्थ के रहेछ भने मनकामना दर्शन गर्नु भनेको उनीहरुका लागि गौरव को कुरा हुदोरहेछ । नेपाली राजनीतिज्ञहरु चाहिँ तँ दिल्ली दरबार कतिपल्ट गएको छस, चाइना दरबार कतिपल्ट गएको छस ? भन्न थालेका छन् । हिजोआज नेपालमा राजनीति गर्न दिल्लीले पत्याउनु पर्ने बडो अनौठो संस्कारको विकास भइरहेको छ । बिडम्वना नै भन्नुपर्ला तँलाई कुन देशले कतिपल्ट बोलायो ? मलाइ त यतिपल्ट बोलायो, मलाई त फलानोले एयरपोर्टसम्म लिन आउछ । यस्तै यस्तै दोहोरी चल्दो रहेछ हिजोआज नेपालमा राजनीतिज्ञहरुका माझ ।

यो सबै हुनुको मुख्य कारण नेपालमा राजनेताहरुको कमी हुनु नै हो । नेपालमा भुइखुट्टे नेताहरु त धेरै जन्मे तर राजनेताहरु भने कमै जन्मेका छन । जन्मेका केही राजनेताहरुमध्ये पनि धेरै जसोको निधन भइसकेको छ । राजनेताहरुको अभावका कारण नेपालको राजनिती विकृत बन्दै गएको छ । सबै नेताहरु विदेशीहरुप्रति लम्पसारवादमा लागेपछि सिंङ्गो नेपाली समाजमा नै राजनीतिप्रति असन्तुष्टि पैदा भइरहेको सहजै अनुमान गर्न सकिन्छ । आज जुझारु र जागरुक भनिने यूवा तथा शिक्षीत वर्गहरु राजनीति भनेपछि घिन मान्न थालेका छन ।

विद्यार्थी राजनीतिकै कुरा गर्ने हो भने पनि हिजोआज राम्रा विद्यार्थी राजनीतिमा लागेको कमै पाउन सकिन्छ । जो कक्षामा पढ्न नसकेर पटक पटक फेल हुन्छन, जो जहिले पनि अन्तिम बेन्चमा बसेर हल्ला गर्छन, जो बल्ल बल्ल चार पाँच पटक लगाएर उतिर्ण हुन्छन त्यस्तै खालका विद्यार्थीहरु मात्र राजनीतिमा संलग्न हुने गरेको पाइएको छ । वास्तवमा यिनैले धानिरहेका छन नेपालको विद्यार्थी राजनीति । जसले गर्दा बिद्यार्थी राजनीतिमा अनुशासनको अभाव देखिएको छ । यिनै विद्यार्थी नेताले नै भोलिका दिनमा राष्ट्र हाक्ने भएकाले उनीहरुबाट राष्टले के आशा गर्ने ?

मैले नेपालका ठूल्ठूला नेताहरुलाइ पनि भुइखुट्टे बाहेक अरु केहि देख्न सकिरहेको छैन । यो मेरो दृष्टी दोष हो वा भ्रम मलाई थाहा छैन ? म ति तमाम नेतागणहरुलाई एउटा प्रश्न गर्न चाहन्छु । के बिदेशीलाइ रिझाएर राजनिती गर्ने संस्कृतीको विकाश गर्नु राम्रो हो त ? यतिखेर कहाँ छ हाम्रो प्रतिष्ठा ? कहाँ छ हाम्रो स्वाभिमान ? आखिर कहिले सम्म हामी बिदेशीका भरमा निर्भर रहन्छौ ? वास्तवमा भन्ने हो भने यसमा हामीले बिदेशीलाइ मात्र दोष दिएर उम्कन कदापी मिल्दैन । यसका मुख्य दोषी हाम्रा तिनै नेतागण हुन जो हरहालतमा बिदेशीलाइ खुशी पार्नलाइ मात्र तल्लीन छन । आखिर कहिले सम्म हामी आफ्नो मातृभुमीलाइ बन्धक राख्न तल्लिन हुन्छौ ? आज आम नेपालीले यी प्रश्नहरुको उत्तर खोजिरहेका छन ।

नेपाली राजनितीज्ञहरुको बायोडाटामा जवसम्म दिल्ली दरबारको दौडलाइ अनुभव पत्र सरह मान्यता दिइन्छ तवसम्म नेपालको राजनिती र नेपाल राष्ट्र कहिले पनि आफ्नो खुट्टामा उभिन सक्दैन । जवसम्म राजनीति र राष्ट्रले नै आफ्नो खुट्टामा उभिन सक्दैन तवसम्म जनता आफ्नो खुट्टामा उभिन सक्ने त सम्भावना नै रहन्न । तसर्थ आज नेपाललाई माया गर्ने हरेक नेतागणहरुले राष्ट्रको इज्जत र प्रतिष्ठाको ख्याल गर्दै मुल्य मान्यताको राजनीति गर्न आवश्यक छ ।

वास्तवमा यो कुरालाई पनि नकार्न सकिन्न कि छिमेकीसँगको सम्वन्धलाइ प्रगाढ बनाउनु पर्दछ, अन्तर्राष्ट्रिय सम्वन्धहरु पनि सुमधुर बनाउदै लानुपर्दछ । तर हाम्रा नेपालका राजनैतिक दलका नेताहरुलाई छानीछानी बोलाएर दर्शन भेट गराउनुको कारण चाहि कारण के होला ? किन यहाँ प्रधानमन्त्री नियुक्त हुने बितिक्कै पहिलो बधाइ र निम्तो भारतबाट आउँछ ? एउटै पार्टीका नेतालाइ बोलाएको एक महिना पनि नवित्दै सोही पार्टीका अर्का नेतालाई बोलाउनुको अर्थ के ? खै यिनले बुझेका ? यो यिनको निमन्त्रणा, सद्भावना भ्रमण या यिनीहरुले जे जे नाम दिए पनि सामान्य जनताले बुझेका कुरा भने दिल्लीमा नेपालको रिपोर्टिङ बाहेक अरु केही होइन ।

अहिलेको संविधान संशोधन र मधेशका मागको बारेमा पनि पटकपटक दिल्ली र नेपालस्थित भारतीय राजदूतावासले मध्यस्थता गर्न खोजेको हामीले देखिरहेका छौं । वास्तवमा हामी नेपाली आफै निर्णय गर्न सक्छौ भन्ने कुरा यतिखेर भारतलाई नेपालका राजनीतिक दलहरुले देखाउनु पर्ने बेला आएको छ । जहिले पनि उनीहरुलाई मध्यस्थता राखेर दिल्लीमा निर्णय र सम्झौता भएकाले पनि भारतले हामीलाई यति सारो हेपेको हो । तसर्थ अव दलहरु मिलेर नेपालमा नै सम्झौता गर्न जरुरी छ । फेरि अर्को कुनै बुँदे दिल्ली सम्झौता भनेर नगरियोस ।

१२ बुँदे विराटनगर सम्झौता, ७ बुँदे रुकुम सम्झौता, ५ बुँदे हेटौडा सम्झौता भनेर सुन्न पाइयोस । हामीबीचका सहमतिका खवर पहिला हाम्रै नेपाली समाचार माध्यम मार्फत नेपालीले थाहा पाउन तत्पश्चात मात्र एन्डीटिभी र आजतकमार्फत सुन्नमा आओस् । हाम्रो देशमा भएका सम्झौता पहिले नेपालीले थाहा पाउन नकी कुनै गैर नेपालीले । तसर्थ, आज यसतर्फ सबै नेतागणले सोच्ने बेला भएको छ । यहाँहरुको स्वभाव एवं कार्यशैलीमा परिवर्तन गर्ने बेला भएको छ । अन्यथा भोलिका दिनमा हाम्रा बालबालिकाले नेपालको राजधानी कहाँ भन्दा नयाँदिल्ली नभनुन ।

हाम्रा भुँइखुट्टे नेताहरुले नेपालको राजनीतिलाई नै विकृत बनाउदै हुनुहुन्छ, तसर्थ म नेपालका नेतागणहरुलाई राजनीतिको परिभाषा एकपटक याद दिलाउन चाहन्छु । ‘राजनीति समाजको यस्तो अंग हो जसले सिंगो समाजलाइ निर्देशित गरेको हुन्छ, पथप्रदर्शित गरिरहेको हुन्छ । हरेक राजनीतिक व्यवस्थामा जनताको राजनीति र राजनेताहरुमा आस्था, आड, भरोसा र इज्जत हुने गर्दछ ।’ तर, जवजव देशको राजनीति विकृत बन्दै जान्छ जनताहरु सबैमा राजनीति प्रति वितृष्णा बढ्दै जान्छ । त्यस अवस्थामा सिंगो राजनैतिक व्यवस्था अनि मुलुकको शासन प्रणालीमै समस्या उत्पन्न हुनजान्छ ।

नेपालको राजनीति स्वच्छ र प्रतिस्पर्धात्मक बनोस । योग्यता क्षमता र कामको आधारमा मुल्याङ्कन गर्ने परिपाटीको विकास होस । शिक्षीत यूवाहरु पनि राजनीतिमा सहभागी होउन । दलभन्दा राष्ट्र ठूलो हो भन्ने संस्कारको विकास होस । राष्ट्रीयता दुवो मौलाएझै मौलाओस । सांच्चै नै सहमतीको संस्कार बसोस । भुइखुट्टे नेताहरु गर्भमै तुइउन राजनेता मात्र जन्मीउन ।

हाम्रा नेताहरुले नेपालको राजनीतिलाई नै विकृत बनाउदै हुनुहुन्छ, तसर्थ म नेपालका नेतागणहरुलाई राजनीतिको परिभाषा एकपटक याद दिलाउन चाहन्छु । ‘राजनीति समाजको यस्तो अंग हो जसले सिंगो समाजलाइ निर्देशित गरेको हुन्छ, पथप्रदर्शित गरिरहेको हुन्छ । हरेक राजनीतिक व्यवस्थामा जनताको राजनीति र राजनेताहरुमा आस्था, आड, भरोसा र इज्जत हुने गर्दछ ।’ तर, जवजव देशको राजनीति विकृत बन्दै जान्छ जनताहरु सबैमा राजनीति प्रति वितृष्णा बढ्दै जान्छ । त्यस अवस्थामा सिंगो राजनैतिक व्यवस्था अनि मुलुकको शासन प्रणालीमै समस्या उत्पन्न हुनजान्छ ।

1477 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank