के उनीहरू फर्केलान् ?

आइतवार, बैशाख ७, २०७७



केही समय भयो वनमा पक्षीको चहलपहल थिएन । न त पहिला जस्तो जुरेलीले गीत गाउँथ्यो न काफल पाक्यो चरोले काफल पाक्यो भन्थ्यो । जङ्गल सुनसान थियो । टाढा टाढाबाट आउने पाहुना चरा पनि आउन छाडेका थिए । धेरै चराहरू आफ्नो वासस्थान छोडेर अन्यत्र गइसकेका थिए । कोही नयाँ वासस्थानको खोजीमा थिए । आफ्नो वनमा रमाएर बसेका रैथाने जातका चराहरूलाई भने पर्नु पिर परेको थियो । उनीहरू सङ्कटमा परेका थिए
त्यसै वनमा बस्ने धनेसका भाले पोथीलाई आफ्नो प्यारो वन छोडेर अन्त जाने पटक्कै मन थिएन । मन नभएर के गर्नु ? वनमा बस्न सकिने अवस्था पनि थिएन । त्यसै बिलखबन्दमा परेका थिए ।
रुखको हाँगामा झोक्राएर बसेको धनेस नजिकै आएर बस्दै लाहाँचेले भन्यो , “हैन हो धनेस दाजु बडो उदास छौ ? के भयो तिमीलाई ? सन्चो पो भएन कि ?” सुनौलो लाहाँचेले धनेस नजिकैको हाँगामा आएर बस्दै भन्यो ।
“खै के सन्चै भन्नु भाइ तन सन्चो भए पनि मन सन्चो छैन । ”
“किन र दाजु ?”
“ हेर न ऊ … भकाभक बुढा रुख काटेका काट्यै छन् । हामी बस्ने ठुला रुख यसरी मासेपछि हामी कहाँ बस्ने ? ” उसले अलि परतिर देखाउँदै भन्यो ।
परबाट एकतमासले रुख काटिरहेको ठ्वाक ! ठ्वाक आवाज आइरहेको थियो । ठुलठुला बुढा रुखहरू रोजेर काटिँदै थिए । सँगसँगै कता कता गीत पनि घन्किरहेको थियो ।
“ कहाँ गयो जुरेली किन गीत गाउँदैन ?
तिम्रोजस्ता माया त मायालु कसैको लाउँदैन …. ”
“हो त नि दाजु तपाईँले त मेरो मनको कुरो गर्नुभो । यी मान्छहरुले हामीलाई चैनसँग बस्न दिने भएनन् । हाम्रो वासस्थान मासेर के गर्न खोजेका होलान् है यिनले ? मैले त केही बुझ्नै सकिन ।” लाहाँचेले आफ्नो लामो चुच्चो ठोँडले काठमा ठुँग्दै भन्यो ,
, “त्यो के जाते हो … जहाज ग्राउन्ड बनाउने रे ! त्यै भएर भकाभक रुख काट्न थालेका नि । यी मान्छेले जैविक विविधता मासेर आफू मात्र बाँच्ने प्रयास गर्दै छन् । उनीहरू हाम्रो वासस्थान मासेर आफू मात्र उपभोग गर्न यस्ता गतिविधिमा लागेको छन् । यिनलाई के थाहा यो धर्ती सम्पूर्ण प्राणी वनस्पति र चराचर जगतको हो भन्ने कुरा । कसले बुझाउने यिनलाई ? ”
धनेस र लाहाँचेले आफ्ना दुःख पोखिरहेका थिए । लाहाँचेले आफ्ना पुराना दिन सम्झँदै भन्यो , “ केही दशक पहिलासम्म हाम्रा वरिपरि कति धेरै प्रकारका चरा र रुखहरू थिए । तिनप्रति मानिसको श्रद्धा भाव थियो । कति पशु पक्षीलाई पूजा गर्ने गर्थे । यही पर्सामा पनि विजयादशमीको दिन नीलकण्ठ चराको दर्शन “गर्ने परम्परा छ । यसो गर्नु भनेको जीवजगत प्रतिको प्रेमको भावना थियो । अव अहिले आएर विकास गर्ने नाममा पुराना रुख ढालेर रैथाने र पाहुना चराहरू घुमफिर गर्ने ठाउँ मासेपछि हामी कहाँ जानु ? ”
“ त्यै त वासस्थानको खोजीमा हाम्रा धेरै साथी बिदेसिए । कोही इन्डोनेसियातिर त कोही इन्डिया पसे । नेपालमा त केही जोडी मात्रै छौँ हामी अव । ज्यान जोगाउनै गाह्रो भयो । यस्तै हो भने हामी पनि यो जङ्गल छोडेर अन्तै जान पर्ने पो हो कि ? हाम्रो बाँच्न पाउने अधिकारलाई खोसेर मान्छेले कस्तो लोकतन्त्र मनाउँदै छ कुन्नि ? ” धनेसले दुःखी हुँदै भन्यो ।
“खै बर्मा गयो कर्म सँगै भन्छन् , जहाँ गए पनि आफ्नो दुःख आफैसँगै । अन्त पनि त्यस्तै त होला नि !” दुबैका कुरा सुनिरहेकी पोथी धनेसले भनी , “ अव हामी एक्ला एक्लै बस्नु हुन्न । समूहमा बस्नुपर्छ । समूहमा बसे सिकारीमाथि पनि जाई लाग्न सकिन्छ । एक अर्काको रक्षा गर्न सकिन्छ ।”
एक्ला एक्लै नबसेर समूहमा बस्ने र आपत् पर्दा एक अर्काको सहयोग गर्ने सल्लाह बमोजिम लाहाँचे र धनेसका भालेपोथीहरु सँगै निस्कने सल्लाह गरे । गुँड बनाउनको लागि उपयुक्त ठाउँको खोजीमा निस्के ।
“सुन, बुढा यसपालि त हामीले यस्तो ठाउँ खोज्नुपर्छ जहाँ कसैले पनि देख्न नसकोस् । ” पोथी धनेसले आफ्ना पखेटा फडफड पार्दै भनी ।
“ कसैले देख्न नसक्ने ठाउँ ? त्यस्तो ठाउँ खोजेर भरे मैले नै भेटिन भनेँ …….नि ? ” भाले धनेसले लाहाँचेतिर हेरेर हाँस्दै भन्यो ।
“ मैले त्यसो भन्न खोजेको कहाँ हो र ? शत्रुले नभेटाउने खालको ठुलो , अग्लो र टोड्को भएको रुख खोजौँ जहाँ कसैले हाम्रो प्रेममा बाधा नपारोस् पो भनेको त ! तिमीले नै भेटेनौ भनेँ त म मरिहाल्छु नि प्रिय ! ”
धनेसका जोडी एक अर्कालाई निकै माया गर्थे । भाले धनेस हेर्दा आकर्षक थियो । उसको पहेँलो र रातो रङ्ग मिसीएकोे लामो धनुषाकारको ठोँड, ठोँडमाथि अर्को ठोँड टाँसेको जस्तो र झट्ट हेर्दा हेलमेट लगाएको जस्तो देखिने ठोँड । हेर्दा अनौठो लाग्थ्यो । पोथी भन्दा भाले अलि ठुलो थियो । पोथीको रङ्ग अझ गाढा थियो । उसको ठोँडले जो कोहीको पनि मन तान्थ्यो । यो चरो देखेपछि मान्छे लोभिन्थे । यस चरालाई चोरी सिकारी गरेर यसको ठोँडको अवैध व्यापार पनि गर्ने रहेछन् ।
त्यसैले यो चराको चोरी सिकारी बढेको थियो । लोपोन्मुख यो चरोलाई जोगाउने अभियान एकातिर चलिरहेको थियो भने अर्कोतर्फ यही चराको चोरी सिकारी पनि बढ्दो थियो । यसका कैयौँ प्रजाति हराएर गइसकेका थिए ।
त्यसैले बचेका केही जोडी धनेस र लाहाँचेहरुलाई आफू सिकारीको फन्दामा परिने हो कि भन्ने डर थियो ।
धेरै वन चाहारे पछि उनीहरूले एउटा बाक्लो संरक्षित वन फेला पारे । त्यही वनमा टोड्को भएको बुढो रुख रोजे । लाहाँचेका जोडीले पनि आफ्नो छिमेकीको नजिकैको रुख रोजे ।
पोथी धनेसले अण्डा पार्ने बेला भैसकेको थियो । पोथी धनेस रुखको टोड्काभित्र पसी । निकै मेहनत गरेर भाले धनेसले थोरै थोरै गरेर गिलो माटो र घाँस झुस खोजेर ल्याइदियो र मिहिन ढङ्गले पोथीले टोड्कालाई पुर्दै लगेर सानो प्वाल बनाई । भित्रबाट पोथीको ठोँडमात्र बाहिर निकाल्न मिल्ने साँघुरो बनाई । त्यसपछि उसले त्यहीँ गुँडमा अण्डा पारी । यो गुँडमा करिब ९० दिनसम्म ओथारो बस्नु पर्ने भएकोले पोथी पूर्ण रूपमा भालेमा निर्भर हुनुपर्थ्यो । भालेले पोथी र चल्लाको खाना र सुरक्षाको काम गर्नु पर्ने भएकोले ऊ बढी जिम्मेवार थियो ।
“ल अब हाम्रो गुँड तयार भयो । म चारो खोज्न जान्छु । तिमी निस्फिक्री ओथारो बस । जबसम्म म आएर आवाज दिन्न तिमीले बाहिर ठोँड ननिकाल्नु ।”
“तिमी निस्फिक्री ओथारो बस भन्छौ ! म कसरी निस्फिक्री बस्न सक्छु ? तिमीलाई केही भयो भने म कसरी बाँचुँला ?”
“ चिन्ता नगर मलाई कहीँ हुँदैन । यस्तो बेलामा चिन्ता गर्न हुँदैन के । पोसिलो खानेकुरा खाने । राम्रो राम्रो सोच्ने गर्नु पर्छ । म तिमीलाई मिठो मिठो खानेकुरा खोजेर ल्याउँछु !’ सुन्दर सन्तान जन्माउने र सुन्दर संसार बसाउने सपना देखेको धनेस चारो खोज्न वनतिर उड्यो ।
“आफ्नो ख्याल गर है !” पोथी धनेसले ठोँड बाहिर निकालेर चिच्याई ।
धनेस हावामा कावा खाँदै पर पुगिसकेको थियो । ऊ पोथीको निकै ख्याल राख्थ्यो । आफ्नी प्रेमीकालाई पोसिलो खानेकुरा खोज्न दिनमा धेरै पटक पर परसम्म पुग्थ्यो । साना साना किरा फट्याङ्ग्रा , मसिना फलका दाना ल्याउँथ्यो र पोथीलाई खुवाउँथ्यो ।
गुँडभित्र आफ्नो ज्यानको बाजी थापेर पोथी धनेस बच्चा कोरल्न बसेकी थिई । ओथारो बस्दाका उसका दिन निकै पीडादायी थिए ।
बाहिर पोथीको स्याहार सुसारको लागि भाले धनेस पोसिलो खानेकुरा किरा ,पुतली , साना छेपारा , फल ल्याएर खुवाउँथ्यो । रातदिन, हुरीझरि ,घामपानी केही नभनेर कुरेर बस्थ्यो । चारो खोज्न गए पनि छिट्टै फर्कन्थ्यो ।
उसको यो स्याहार सुसार र प्रेम देखेर लाहाँचेले भन्ने गर्थ्यो ! “तिम्रो प्रेममा कसैको नजर नलागोस् । कति मिलेको तिमीहरूको जोडी !” सिकारीको फन्दामा परेर पोथी लाहाँचे मारिए पछि एक्लो बनेको लाहाँचे । उनीहरूको त्यो प्रेम देख्दा त्यसै त्यसै भावविह्लल हुन्थ्यो ।
बच्चा कोरल्न केही दिन मात्र बाँकी थियो । सुन्दर सन्तान देख्ने आशामा थियो भाले । सधैँ झैँ त्यस दिन पनि चारो खोज्न निस्केको धनेस फर्केन । चारोको पर्खाइमा बसेकी पोथीलाई भोक र चिन्ता दुवैले सताउन थाल्यो । निस्केर जाऊँ ओथारो बसेकी छे । छोड्न सकिन । ननिस्कूँ भाले फर्किएन । ऊ बडो मुस्किलमा थिई । उसले गुँडको प्वालबाट टाउको बाहिर निकालेर यताउता हेरी । रुँदै हार गुहार मागी । खोजिदिन लाहाँचेसँग आग्रह पनि गरी ।
लाहो साथीलाई खोज्न वन वन चाहार्यो । तर भेटेन । निराश भएर फर्क्यो ।
फर्केर आउला कि भनेर एक दिन दुई दिन हेर्दा हेदै दिन बित्दै जान थाले । पोथी धनेसको बिचल्ली हेरेर बस्न लाहाँचेको मनले मानेन । गुँड नजिकै गएर भन्यो, “ बैनी तिम्रा खसम आउलान् भनेको आएनन् । यदि तिमी अप्ठेरो मान्दिनौ भने म तिमीलाई सहयोग गर्छु ! ”
लाहाँचेको कुराले पोथी धनेसका आँखा रसाए , “उसले सुकाउँदासुकाउँदै भनी तपाईँको यो गुन मैले कैले बिर्सने छैन । ”
“आखिर मेरो पनि को छ र ? छिमेकीलाई आपत् पर्दा सहयोग गर्नु मेरो धर्म हो । तिमी बाहिर नआउन्जेल म तिमीलाई चारो दिन्छु चिन्ता नगर । ” लाहाँचेले पोथी धनेसलाई चारो ल्याइदिएर निकै सहयोग गर्‍यो । अन्ततः पोथी धनेसले एउटा सुन्दर चल्ला कोरली । ऊ बिस्तारै उड्न सक्ने भएपछि बाहिर निस्के । उसले चल्लालाई उड्न सिकाई । चल्लाले उड्न खोजेको प्रयास लाहाँचेले निकै प्रशंसा गर्‍यो ।
“स्याबास भान्जा ! अब तिमी मजाले उड्न सक्ने भयौ । तिम्रा बाबुलाई खोज्न जानु पर्छ ल !”
लाहाँचे मामाको कुरा सुनेर सानो धनेसले सोध्यो , “ आमा बाबा खै त ? !”
“ चारो खोज्न गएका फर्केनन् !” आमाले भनी ।
“ म बाबालाई खोज्न जान्छु । यति भनेर सानो धनेस बेगले उड्यो । !” छोरो धनेस उडेको आमाले आँखाले भ्याउञ्जेली हेरिरही । ऊ गएको पनि निकै दिन भइसक्यो । अझै फर्केको छैन । पोथी उनीहरूकै पर्खाइमा छे । सुनिन्छ अचेल धनेस चिडियाखानामा छ रे ! “ के उनीहरू फर्केलान् ? !”

मञ्जु ज्ञवाली-सानेपा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments