के सरकारले शिक्षामा गरेको लगानी प्रयाप्त छ ?

मङ्लबार, भदौ १७, २०७६



- पूर्णशोभा चित्रकार

एकदिन मलाई एउटा विद्यालयले छात्रवृत्तिमा सहयोग गरे वापत सम्मान गर्ने भनेर कार्यक्रममा बोलायो । उक्त कार्यक्रममा मैले काठमाडौंका एक जना वडाअध्यक्षले ‘सरकारले निशुल्क शिक्षा भनिरहेको बेला छात्रवृत्तिको कुरा मिले जस्तो लागेन’ भन्ने भाषण सुनेँ । भाषणले त म एकछिन आफै बुद्धु भएकी छु कि भन्ने बनायो ।

तर स्थिति वडा अध्यक्षले भने जस्तो छैन । सरकारले सरकारी विद्यालयको लागि नि:शुल्क शिक्षाको घोषणा गरेको छ । तर सरकारी विद्यालयहरु हम्मे हम्मे भएर चलिरहेको छ भन्ने कुरा त्यस वडा अध्यक्षलाई थाहा रहेन छ । अल्पशिक्षा र अल्पज्ञानको त्यस व्यक्तिले पनि भोटमा जित्दा रहेछन् भन्ने त्यो एक बलियो उदाहरण थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा सरकारको कुल बजेटको करीब १० प्रतिशत मात्र शिक्षामा लगानी रहेको छ ।  जुन आर्थिक वर्ष २०६६/०६७ भन्दा ७ प्रतिशतले कम रहेको छ । सरकारले शिक्षामा बजेट किन कटौती गर्यो भन्ने जवाफ सरकारसँग नै होला । मैले केहि विद्यालयहरुमा गएर शिक्षक र विद्यार्थीहरुसँग अन्तर्वाता लिएँ र केहि थप ज्ञान लिने मौका पनि मिल्यो । सरकारी विद्यालयको हालत कस्तो छ भने विद्यार्थीहरुको संख्या धेरै भएको ठाउँमा कक्षा कोठाको अभाव छ । अविभावकहरुलाई कक्षामा ठाउँ छैन भरना गर्न नसक्ने कुरा पत्याउन गाह्राे । कक्षा कोठा बढाउनको लागि विद्यालयसँग बजेट छैन । गुणस्तरीय शिक्षा चाहिन्छ भनेर मानिसहरुले भनिरहेका छन् । त्यसको लागि चाहिने भौतिक पूर्वाधार विद्यालयमा छैन । सरकारी विद्यालयको शिक्षाको स्तर नीजि विद्यालयको स्तर भन्दा कम रहेको तथ्यहरुले वताएको छ । उदाहरणको लागि गत वर्षको एसईई परिक्षामा उतीर्ण विद्यार्थीको अनुपात नीजि र सरकारीमा ६ बरावर १ रहेको छ ।

सरकारी विद्यालयको स्तर उन्नत गर्न थप कोर्स, थप पाठ्यपुस्तकहरु, योग्य र लगनशिल शिक्षकहरु थप्नु जरुरी छ।हिजो आज शिक्षाको क्षेत्रमा नीजि विद्यालयले आफू प्रतिको आकर्षण बढाउन नर्सरीदेखि नै अंग्रेजी भाषाको अनिवार्यता, बसको व्यवस्था, टाई, बेल्ट, टल्केको जुत्ता  लगाउनु पर्ने अनिवार्यता गरेको छ । त्यससित सरकारी विद्यालयहरुले प्रतिष्पर्धा गर्दा अर्को चुनौती थपिएकोछ । यी बाहेक कम्प्युटर कक्षा, गीत संगित कक्षा, आदिको व्यवस्था गर्न नसके सरकारी विद्यालय प्रतिको आकर्षण बढाउन मुश्किल बनेको छ । यति गर्दा पनि हिजो आज सरकारी विद्यालयमा गरीब परिवारका, घरेलु कामदार तथा कामदारका छोरा छोरीहरु, ईटाभट्टामा काम गर्ने वा अन्य सामान्य रोजगारीमा काम गर्ने श्रमिकहरुका छोराछोरीहरुको संख्या अधिकतम रुपमा पाईएको छ । जुन परिवारमा शिक्षाको कमि, श्रम र थकाईले आफ्ना छोराछोरीहरुलाई पढाईमा सघाउन प्रायः मुश्किल हुन्छ । छोराहरु नीजि विद्यालयमा र सरकारी विद्यालयमा छोरी पढाउने चलन पनि पाईएकोे छ । सरकारी विद्यालयका प्रशासन र शिक्षक शिक्षिकाहरुले प्रयास गर्दा गर्दै पनि पहिलेको तुलनामा धेरै वटा सरकारी विद्यालयहरुमा विद्यार्थीहरुको संख्या थोरै भएको पाएकी छु । विद्यार्थी संख्याको अभावमा कतिपय सरकारी विद्यालयहरु त बन्दै पनि भइसकेका छन् ।

सरकारले बेला बेलामा सवै कर्मचारीहरुले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भरना गर्नु पर्छ भन्दा भन्दै पनि यो सफल भएन । कारण सरकारी विद्यालयहरुको लागि चाहिने यथेष्ट खर्च सरकारले व्यहोर्न सकिरहेको छैन । भत्केको बेन्च, जमेको चर्पी, बाटाभरी फोहरको थुप्रो, पानीको अभावमा चर्पी पछि ढुँगाले पुछ्नु पर्ने अवस्था, फोहर कक्षा कोठा, खाजा खाने ठाउँमा झिँगाको संगीत भएको स्थितिले गर्दा कतिपय गरीब परिवारका व्यक्तिहरुले आफ्नो जीवनलाई दाउमा राखेर भए पनि सरकारी विद्यालयमा नभई नीजि विद्यालयहरुमा पढाई रहेको प्रशस्तै उदाहरणहरु छन् ।

जेहोस सरकारी विद्यालयका प्रशासन र शिक्षकहरुले विद्यालयलाई थाम्न वा निरन्तरता दिनको लागि कोशिश गरिरहेको देखिन्छ । उनीहरुले कतिपय नीजि विद्यालयका राम्रा नियमहरुलाई लागू गरिरहेको देखिन्छ । थप कक्षा संचालन, थप पाठ्यक्रम, खेलकुद, चित्र, वत्तृत्वकला, जिम आदिको प्रतियोगिता गरिरहेको देखिन्छ । विद्यार्थीहरुलाई पनि सफा पोशाकमा आउनु पर्ने अनिवार्यताको व्यवस्था गरेको छ । तर यो सब गर्नको लागि सरकारी ढुकुटीमा पैसा छैन भने विद्यालयहरु अविभावकहरुमा नै भर पर्नु भन्दा अर्को विकल्प रहेको छैन ।

विद्यालयहरुले अविभावकहरुमा भर पर्ने भनेको विद्यालयहरुले उनीहरुवाट केहि रकम असुल्नु हो । केहि रकम अविभावकहरुबाट उठाउने वित्तिकै समस्याहरु फेरि अर्कै रुपले खडा भैदिएको छ । त्यो  हो परिवारहरुमा दुखेसोको कथाहरुको शुरुआत, पढाई छोड्ने समस्या । विशेष गरी छोरीहरुले पढाई छोड्ने समस्या । मैले केहि छात्राहरुसँग कुराकानी गर्ने मौका पाएँ । कुराहरु सुन्न सहज थिएन । उनीहरु भक्कानिए पछि मेरो पनि आँखा रसाउने गरेको चाल पाएकी थिएँ । कथाहरु सुन्दै जाँदा लाखौंको संख्यामा मानिसहरु समस्यामा बाँचिरहेका होलान् भन्ने अनुमान लगाउन सकिन्छ ।

आठ कक्षामा पढ्ने रमाले भक्कानिदै एउटा कथा सुनाईन, “गाउँमा खान, लाउन मुस्किल भए पछि मेरो बाबा भारतमा कामको खोजिमा जानु भयो । समयमा पैसा आउन मुस्किल हुनाले आमा पनि अरबमा घरेलु कामदारको रुपमा जानु भयो । त्यो कुरा बाबालाई मन परेन । दुबैजना नेपाल फर्के । तर बाबाले अर्कीसँग विवाह गरी गाउँमा बस्नु भयो । बाबा र कान्छी आमाले म, दिदी, भाई र आमा चार जनालाई हेला गर्न थाल्नु भयो । खाने भाँडाहरु फाली दिने, लुगाहरु पोलिदिने, खान नदिने, झगडा गर्ने र पिट्ने गर्न थालेपछि हामी गाउँमा बस्न सकेनौं । आमाले हामीलाई काठमाडाै ल्याउनु भयो ।

उनले घरघरमा गएर घरेलु कामदारको रुपमा भाँडा माझ्ने, घर सफा गर्ने, लुगा धुने काम गर्न थाल्नु भयो । ज्याला थोरै, तर हामी छौं चार जना । त्यसमाथि हरेक महिनामा तिर्नु पर्ने घरभाडाले हामीलाई निकै सताउँछ । हरेक दिन हामीले अनेकौं मुस्किलको सामना गर्नु परिरहेको  छ । हामीलाई पढ्नको लागि फि, ड्रेस र कापी किताव किन्न सधै समस्या भईरहन्छ ।”

कमलाले अर्को कथा सुनाईन् “मेरो बाबा पहिला रिक्सा चलाउनु हुन्थ्यो र हामीलाई पढाउन, खान र लगाउनको लागि पु¥याउनु भएको थियो । तर बाबाको निधन भएपछि घरको रेखदेख र खर्चको सवै जिम्मेवारी आमालाई आइपर्यो । आमाको पनि २०७२ सालको भूकम्पमा परि खुट्टा भाँचियो । उपचार पछि पनि उहाँलाई लामो समय सम्म उभिन र हिड्न गाह्राे भयो । पूर्ण रुपमा खुट्टाको दुखाई निको भएन । गाहे भएर के गर्नु चार जनाको परिवार पाल्न र पढाउनको निम्ति आमाले घर बनाउने ठाउँमा ज्यामी काम गर्न थाल्नु भयो ।

सोही कामबाट आएको पैसाले हामीलाई खान, लाउन र पढाउन दिनु भएको छ । काठमाडौंको घरभाडाको बोझ सानो समस्या होईन हाम्रो लागि । समयमा पैसा दिएन भनेर घरधनीले सँधै कचकच गर्नु हुन्छ । ज्यामी काम पनि सधै पाईदैन । पाए पनि खुट्टाको समस्याले सधै गर्न सक्नुहुन्न । काममा गएको दिन ज्याला पाउनु हुन्छ । आमा एक्लोको थोरै कमाईले चारजनालाई पाल्नु, औषधी उपचार गर्नु र पढाउनु अति नै गाहारो भैरहेकोछ । आमाको चिन्ता र बढी कामले आमा थला पर्नु भयो भने के गर्ने भनेर हामीलाई सँधै चिन्ता भई रहन्छ । हाम्रो पढाई निरन्तरता दिन नसकेमा हाम्रो भविष्य पनि विग्रने डर सँधै भई रहने गर्दछ । ”

धेरैको कथा संकलन गरेकी छु । गरीबी र सरकारको शिक्षामा गरेको अपर्याप्त लगानीले बालबालिकाहरु शिक्षाबाट कसरी विमुख हुन पुग्छन् भन्ने बुझ्न सजिलो होस भन्नाको लागि मात्र दुईटा कथा अगाडी सारेकी हुँ । त्यसो त कन्चनाको कथा पनि कम मार्मिक थिएन । उनी पढ्न पाउनकै निम्ति विहान ६ बजे नै ईटा भट्टामा पुग्थिन् ।  नौ बजे सम्म ईँटा बोक्थिन् । विद्यालयबाट फर्केर फेरि ६ बजे सम्म ईँटा बोक्थिन् । सरकारले बालश्रम मुक्त नेपाल बनाउने घोषणा गरेको भए पनि कन्चनाको पढाईको भोकले घोषणा सफल नभएको देखियो । महिला विकास समाजको तर्फबाट सहयोग गरे पछि उनले ईँटा भट्टा छोडिन् र मन लगाएर पढ्ने अवसर पाईन् । मावि शिक्षा पछि अहिले उनीले कृषि पढेकी छिन् ।

संघीय सरकार बनेपछि शिक्षाको जिम्मेवारी केन्द्रबाट स्थानीय सरकारमा सरेको छ । यसतो बेला स्थानीय सरकारका प्रतिनिधिहरुले मनपरि र अत्यास लाग्दो पाराले भाषण गरेर समय विताउनु भन्दा शिक्षाका क्षेत्रमा रहेका समस्याहरुलाई सुक्ष्म ढंगले अध्ययन गर्नु, बुझ्नु, समाधानको लागि अघि सर्नु, सबैसँग हातेमालो गर्न सिक्नु र शिक्षाको पहुँच सवैमा पुर्याउनु आवश्यक छ । मेरो बुझाईमा व्यक्तिको हकमा होस या सरकारको हकमा शिक्षा नै सबैभन्दा प्रभावकारी र अमूल्य धन हो ।   शिक्षाको माध्यमवाट नै परिवार, समाज र देशलाई छिटो र सहि दिशामा परिवर्तन गर्न सकिन्छ । यसको लागि सरकारले शिक्षामा पुग्दो बजेटको व्यवस्था गर्नु पर्दछ ।

नोटः संविधानले दिएको गोपनियताको हकलाई सुरक्षित गर्दै यो लेखमा बालिकाहरुको नाम बदलेको छु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata