मै झाडु पोछाका काम करती हुँ !

बुधबार, बैशाख २५, २०७६



- पूर्णशोभा चित्रकार

एक दिन मैले सोनी च्यानलमा सुपर डान्सर हेर्ने मौका पाएँ । आफुलाई डान्सको बारेमा जीरो आईडिया भए पनि अरु नाचेको हेर्न सोँख हुँदो रहेछ । बाल डान्सरहरुको प्रतियोगिता थियो त्यो सुपर डान्सर । प्रतियोगिले डान्स गरेपछि निर्णायकहरुले अभिभावकलाई केहि बोल्न भनियो । एकजना आमाले आफ्नो काम वयान गर्ने सिलसिलामा ‘झाडु पोछाका काम’ करती हुँ भन्दै बरर आँसु झारिन् । लाग्छ ‘झाडु पोछाका काम’ गर्ने दौरानमा उनले निकै दुःख झेलेकी होलिन् । भारत, नेपाल, बंगलादेश लगायत दक्षिण एशियाका र अल्पविकसित देशहरुमा ‘झाडु पोछाका काम’ लाई तुच्छ ठानिन्छ। त्यस्तो काम गर्ने व्यक्तिलाई दुःख दिइन्छ र सम्मान दिईदैन । ‘झाडु पोछाका काम’ सानो होईन र ‘झाडु पोछाका काम’ ले देश स्वास्थ्यको क्षेत्रमा कुन दिशातिर लम्किरहेछ वा सभ्यताको उचाई कति सम्म छ भन्ने कुराको मापन हुन्छ ।

केहि वर्ष पहिलेको कुरा हो म फारइष्ट ओभरसिज एशोसियशन(FEONA) का साथीहरुसँग भेट्न हङकङ पुगेकी थिए । त्यहाँ काम गरिरहेका धेरै नेपाली साथीहरुसँग भेट्ने मौका पाएँ । एकदिन एकजना महिला साथीले उनको घरमा खान बस्नको लागि दिईएको निम्तो स्वीकार गर्दै म उनको घर गएँ । घर एकदमै सफा चिटिक्क थियो । भर्याँंग, झ्याल, सिसाको टेवल लगायतका सवै ठाउँहरुमा धुलोको  कण पनि पाउन मुश्किल थियो । ‘झाडु पोछाका काम’ कति सुन्दर तरिकाले एक नेपाली महिलाले गर्न सक्छिन् भन्ने एक उदाहरण थियो त्यो ।

शसस्त्र द्वन्दको बेलामा द्वन्दबाट खुट्टा गुमाएकाहरुको लागि केहि गर्न सकिन्छ कि भनेर म पोखराको हरियो खर्क अस्पताल तथा पुनस्र्थापना केन्द्र पुगेकी थिएँ । अस्पतालका मुख्य मान्छेसंग भेटें, नक्कली खुट्टा बनाउने प्रयोगशालाहरु हेरें । नेपालमा पनि त्यस्तो कारखाना चलिरहेको देखेर खुशी लाग्यो । दिउँसो खाजा खाने बेलामा त्यहिँ भित्र रहेको विदेशीहरुले खाने एउटा क्यान्टिनमा केहि विदेशी कर्मचारीहरुको टोली संगै पसें । क्यान्टिन सानो टहरोमा थियो । क्यान्टिनको एउटा कुनामा चुलो, अर्को कुनामा सामानहरु राख्ने तख्ता, एउटा कुनामा भाडा माझ्ने ठाउँ र अर्कोे कुनामा टेबुल र मेच । तर मलाई खुशी लागेको के कुरामा थियो भने ती सबै कुनाहरु सफा देखिन्थे । खाजा भरेर ल्याएको रिकापी, गिलास, चम्चाहरु सफा र टलक्क टल्किएका थिए । ‘झाडु पोछाका काम’ को कमाल यहाँ पनि देखें । ठाउँ नेपाल कै, काम गर्ने मान्छे नेपाली । सफा चैंं उस्तै विदेशको जस्तो । ‘झाडु पोछाका काम’ कामले नेपाललाई पनि त सफा देखाउन सक्ने रहेछ नि ।

केहि वर्ष अगाडिको कुरा हो, विद्युत प्राधिकरणमा मेरो एकजना साथी थिईन् । उनलाई भेट्न म उनको कार्यालयमा पुगिरहन्थें । अफिसको कुना कुनाको फोहर, फोहर चर्पी र हेर्नै नसक्ने भर्यांगको फोहर देखेर मैले उनलाई सफा गर्ने मजदूरहरुको बारेमा सोधेकी थिएँ । उनको भनाईमा त्यहाँका मजदुरहरुले जिम्मा लगाएको ‘झाडु पोछाका काम’ गर्ने भन्दा फाईलहरु वसार पसार गर्ने, कुन कुन फाईलहरु सदर या बदर गर्ने भनेर सल्लाह दिने, क्यान्टिन खोलेर चिया, खाजा बेच्ने आदि काम गर्न मन पराउँथे । यसै शिलशिलामा मैले केहि मन्त्रालयहरु चहार्ने मौका पाएकी थिएँ । मन्त्रालयहरुमा मन्त्री र उच्च ओहदाका कर्मचारीहरुले प्रयोग गर्ने शौचालयहरु बाहेक सर्वसाधारणहरुले प्रयोग गर्ने शौचालयहरु हेरी नसक्नुको थियो । जताततै फोहरको थुप्रो, कुनाहरुमा पान थुकेको, भईहरु काला, कटकटिएको आदि । सवभन्दा अनौठो र दिक्क लाग्ने कुरा त के थियो भने ज्ञानको ज्योती छर्ने शिक्षा मन्त्रालयको जस्तो चर्पीमा पुग्दा त झन त्यहाँको भुई मात्र होईन भित्ताहरु समेत कट्कटिएको, माकुरोका जालोहरु तथा धुलो फोहरले भरिएकोे पाएँ । ‘झाडु पोछाका काम’ को कामलाई कति हद सम्म अवमूल्यन गरिएको रहेछ नेपालमा । शायद यहि स्वभाव, आनि बानीले गर्दा होला हामी प्रति अन्तराष्ट्रिय जगतले हेर्ने दृष्टिकोण फरक भएको । उनीहरुको दृष्टिकोणमा हामी नेपालीहरु गरीब, फोहरी, अदक्ष्य, अशिक्षितको रुपमा बुझ्दै आएका होलान् र हामीले जुन मुलकमा पाइला टेके पनि सम्मान कमै पाउँछौं ।

एकचोटी मैले लेवनानमा भएको एउटा अन्तराष्ट्रिय बैठकमा भाग लिने मौका पाएकी थिएँ । त्यहाँ अरब मुलुकहरुका सरकार प्रमुखहरुसंग पनि भेट्ने मौका पाएँ । अरु प्रतिनिधिहरुले जस्तै मैले पनि एक पछि अर्को संग हात मिलाउँदै आफ्नो परिचय दिंदै गएँ । पालो बहराईनका परराष्ट्र मन्त्रालयका प्रतिनिधिसंग परिचय गर्ने थियो । मैले मेरो र मुलुकको नाम लिने वित्तिकै उनले अरव मुलुकहरुमा ‘झाडु पोछाका काम’ गर्ने थुप्रै नेपालीहरु भएको बताए । उनको कुरा र हाउभाउबाट तिमी गरीब मुलुकको नागरिक भनेर अवमुल्यन गर्न खोजेकोे हो कि भन्ने आभाष पाएँ ।

सत्य कुरा पनि हो नेपालीहरु ‘झाडु पोछाका काम’ का लागि बिदेशिनेको संख्या कम पनि छैन । तर मैले आफ्नो शीर झुकाउन मनले मानेन र आफैलाई सान्त्वना दिनको निम्ति भए पनि मैले उनलाई केहि भनेँ । नेपालीहरु ‘झाडु पोछाका काम’ मात्र होईन, अरव मुलुकहरुमा सडक बनाउने, अग्ला र आधुनिक घरहरु बनाउने, कृषि फार्महरु र होटलहरु चलाउने आदि काममा पनि नेपाली युवाहरुको ठूलो योगदान छ । खासमा भन्ने हो भन्ने अरव मुलुकहरुको विकास र आधुनिकीकरणमा नेपाली युवाहरुको ठूलो भुमिका छ । कुनै दिन तपाईले अरव देशहरुको विकास तथा सभ्यताको ईतिहास लेख्नु पर्दा महत्वपूर्ण भुमिका खेल्ने नेपालीहरुको नाम लेख्न नछुटाउनु होला । उनले यसलाई कसरी बुझे भन्ने बारेमा मैले कुनै चासो राखिन ।

एकदिन म क्यानाडाको भिसा लिने सिलसिलामा भारतको बसन्त विहारबाट दिल्ली रेलवे स्टेशनतिर आउँदा विचबाटोबाट एकजना पंजाबी महिला म चढेको अटोरिक्सामा चढिन् । एकछिन पछि ती महिलाले क्यानाडाको प्रशंसामा कुरा झिकिन् । अटोरिक्सा ड्राईभरलाई उनको विदेशी प्रशंसा चित्त बुझेनछ क्यारे उनले भने, “भारतबाट क्यानाडा, अमेरिका, जापान, अष्ट्रेलिया जानेहरु ‘झाडु पोछाका काम’ गर्न जाने त हुन् नि । काम गरेर खानेलाई जहाँ पनि काम छ । मैले अटोरिक्सा चलाउँछु र परिवारको गुजारा भैरहेकोछ ।” पंजावी महिलाले हार मानिन र उनले भनिन्, “क्यानाडामा गाडी चलाउने ड्राईभरलाई साहुहरु सर भनेर सम्वोधन गर्दछन् । काम गर्ने मान्छे भनेर हेप्दैनन् । उनीहरु ड्राईभरसंग पनि हात मिलाएर कुरा गर्छन् । तर यहाँ यस्तो छ त? तपाईलाई अटोरिक्साका साहुले, यात्रुहरुले तपाईको कामको कदर गरेकाछन् त? वा तपाईलाई इज्जत र सम्मान दिएको छ त ? हो यहि छ फरक भारत र क्यानाडाको । यो फरकले गर्दा भारतका युवाहरु विदेशमा काम गर्न खोज्छन् ।”

नेपालमा पनि करीब करीब यहि स्थिति रहेको छ । काम गर्ने मानिसहरुलाई हेला र अपमान कम छैन । काम प्रति ईज्जत, सम्मान र काम अनुसारको ज्याला पाउने हो भने नेपाल मै पनि महिला होस या पुरुष ‘झाडु पोछाका काम’ गर्न दुखः मान्ने छैनन् । नेपालमा ‘झाडु पोछाका काम’ लाई मात्र व्यवस्थित र मर्यादित बनाउन सक्दा पनि लाखौंको संख्यामा रोजगारी श्रृजना हुन सक्छ । काममा जाँगर, इमान्दारीता र काम गर्नेलाई उपयुक्त ज्याला र ईज्जत दिन सक्दा युवाहरुलाई देशमा नै काम गर्न हौसला मिल्न सक्छ ।

यस्तो रोजगारीले देशको विकास गर्न मद्दत पुग्छ, नेपाललाई अति कम विकसित देशको ठाउँबाट विकासोन्मुख देशको अवस्थामा पुर्याउन सक्छ । यसले देशमा सभ्यताको ईतिहास कोर्न मद्दत मिल्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank