सवारी दुर्घटनाको न्यूनिकरण कसरी गर्ने ?

शुक्रबार, पुस १३, २०७५



- पूर्णशोभा चित्रकार

माइक्रोबस यात्रा गर्दाको कहाली लाग्दो त्यो रात सम्झिंदा अहिले पनि मेरो मन सिरिंग हुने गर्दछ । सोह्र वर्ष अगाडीको कुरा हो, म नारायणघाटबाट काठमाडौं फर्कनको लागि एउटा माइक्रोबस पक्रें । साँझ छ बजे हिड्ने भनेको त्यो बस यात्रुहरु नभरेको कारण आठ बजे मात्र नारायणघाटबाट हिँड्यो । रातीको समय लोड सेडिङको कारणले बाटामा घरहरु धिपधिपे मैन र टुकीको भरमा रहेका देखिन्थे । सिमसिम पानी परिरहेको थियो ।

जब जब गाडी अगाडि बढ्दै गयो, तव तव बसको ड्राईभर नसालु, सन्काहा, पागल, गैरजिम्मेवारी लाग्दै जान थाल्यो । बसमा बजाईएको क्यासेट फूल भोलुममा बजाईएको थियो । उसले बसको स्पीड एक सुरले बढाईरहेको थियो । बसले गरेको दायाँ र बायाँ मोड्दा यात्रुहरुले सिट्को डील समात्न पनि सकिरहेका थिएनन् । बेला बेलामा यात्रुहरुले ड्राईभरलाई केहि विस्तारै हाँक्न अनुरोध पनि गरे । तर त्यसपछि त बस झन हुईक्याउन थालेको अनुभव ग¥यौं ।

हरेक मोडमा यात्रुहरुले डरले चिहिल विहिल आवाज गर्न थाले । ड्राईभरले यात्रुहरुको अनुरोध नटेरेको देखेर मैले यात्रुहरुलाई चुप लाग्नु बेस भन्ने सल्लाह दिएँ । सल्लाह मानेरै होला सवै चुप भए । बाटो अँध्यारो थियो । यतिकैमा बस रोकियो । ड्राईभरले तीन जना थप यात्रुहरुलाई चढायो । यात्रुहरु चिनिया मुलका थिए । केहि समय पछि बसको अनिमियत तथा बेढङ्गको स्पीड पछि ती चिनिया यात्रुहरु ठुलठूलो स्वरले चिच्याउन थाले । त्यो चिच्याहटले डरको कारणले शान्त बसेका अन्य यात्रुहरुलाई थप त्रास पैदा गर्न थाल्यो । नारायणघाटबाट शुरु भएको त्यो त्राशदी यात्राले काठमाडौंको सीमा छोएपछि केहि राहत मिलेको अनुभव भयो । यात्रुहरुको आतंकित अनुहारहरु केहि उज्यालिए र भन्न थाले “आज काठमाडौं जिउँदै पुगौंला जस्तो लागेको थिएन ।” त्यो कहाली लाग्दो यात्रा पछि मैले अहिले सम्म पनि लामो यात्रामा माईक्रोबस चढ्ने आँट गर्न सकेको छैन । हिजो आज हरेक दिन सुन्ने दुर्घटनाहरु र हुने मृत्युका खवरहरुले त्राशदीपूर्ण त्यो रातको सम्झना बारम्बार गराईरहन्छ ।

मैले राजधानी दैनिकमा छापिएको एक तथ्याङ्क हेरें । जसमा आर्थिक बर्ष ०६७/०६८ देखि ०७४/७५ भित्रमा सडक दुर्घटनाबाट १३ हजार ९ सय ३१ जना मानिसहरुको मृत्यु भएको रहेछ । हालसालै मात्र दाङ जिल्लामा शैक्षिक भ्रमण गएका बसको दुर्घटनाबाट २३ जना किशोर किशोरीहरुको मृत्युको खवरले हृदयलाई क्षत विक्षत गरेको अनुभव हुन्छ । म एकजना आमा हुँ । आफ्नो सन्तान जन्माए देखि हुर्काएर किशोर अवस्था सम्म पुर्याउन एक जना आमाले कति त्याग, दुःख झेल्नु पर्दछ । हरेक मिनेट उनको लागि कति महत्वपूर्ण बन्छ । त्यसरी बच्चाहरुलाई हुर्काउँदाको भावनाका छालहरु, शव्दविहिन उत्साहहरु, मायाहरु, सपनाहरु कल्पनाहरु जीवन संचालनमा कति महत्वपूर्ण छन् । ठूला भइसके पछि छोराछोरीहरुको सपना, योजना, दृढता, विश्वास, कल्पना आदि आदिमा आमाबाबु निर्धक्क बन्छन् । कल्पनाका छालहरु कसरी उर्लन्छन् आमाबाबुलाई मात्र थाहा होला । तर एउटै दुर्घटनाले सवै स्वाहा गरिदिन्छ । त्यसपछि मृत्यु, रोदन क्रन्दन, शोकसभा, श्राद्ध र विस्तारै विस्मृतिमा ओझेल । बाँचेकाहरुको स्थिति पनि अपांगता र जिन्दगीभरको लागि दुःख भोगाई । कतिपयको पारिवारिक विचलन त कतिपयको दरिद्रतामा बास ।

विभिन्न दुघर्टनाहरुले मेरो मनमा विभिन्न प्रश्नहरु तेर्सिरहन्छ । के यो मैले भोगेको त्रासदी रात जस्तै ड्राईभरहरु सन्काहा, गैर जिम्मेवारको कारणले दुर्घटनाहरु भैरहेका छन ? के दुघर्टना पछि प्रायः ड्राईभहरुले भन्ने गरेका जस्तै बे्रक फेलका कारण हुनः या नक्कली लाईसेन्स बोकेका कच्चा ड्राईभरहरुको कारण हुन ? या बाटोका खराबी, प्रतिकूल मौसम यसका कारण हुन् ?

जापानमा मेरो एउटी साथी छिन् । उनी नेपाल आउँदा खाना खाने बेलामा एकजना नेपाली  ड्राईभरले बिना हिच्किच्याहट रक्सी खाएको देखेर उनले आफ्नो कथा सुनाईन् । एकदिन उनले एक गिलास रेडवाईन पिएर गाडी चलाएको बेला ट्राफिकले समात्यो र उनको लाईसेन्स खोस्यो । मदिरा पिएर गाडी चलाएकाले उनले आजन्म डुप्लिकेट लाईसेन्सको भरमा गाडी चलाउनु पर्यो । फेरि त्यो गल्ती दोहर्याएमा त्यो लाईसेन्स पनि खोसिने र जिन्दगीभर लाईसेन्स नपाउने त्यहाँको कानून रहेछ ।

मेरो छिमेकी रविको अनुभव बेग्लैछ । उनले अमेरिकामा धेरै बर्ष विताए । एक दिन उनी गाडी चलाईरहेको बेला उनले सुनसान त हो नि भनेर राती गाडी कुदाएछन् र कन्ट्रोल गर्न नसक्दा रातो बत्ति बलेको बेला जेब्राक्रसमा छोएछ । भोली विहान घरमै जरिवानाको बिल आईपुगेछ । त्यसपछि बिमा कम्पनीले उनले तिर्नु पर्ने रकम बढाएछ । महँगो कम्पनीको बिमा रद्द गरी अर्को बिमा कम्पनीमा जाँदा त्यहाँ पनि उनले बढी नै तिर्नु परेछ । पछि उनले थाहा पाए जेब्राक्रसिङमा पांग्राले छोएको गल्तीको सूचना सवैतिर पुगिसकेको रहेछ । जसको सजाँय आजन्म भोग्नु पर्दो रहेछ । तर नेपालमा यसतो कानून छ र ? मैले पढेको छैन ।

मानव अधिकार घोषणापत्रको धारा ३ मा जीवन बाँच्ने अधिकारको व्याख्या गरिकोछ । नेपाल मानव अधिकार घोषणापत्रको एक हस्ताक्षरकर्ता हो । यो हिसाबले पनि मानिसको बाँच्ने अधिकारलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर ध्यान जानु जरुरी छ । सोच्ने जरुरी भैसकेकोछ कि नेपालमा यतिका धेरै दुर्घटनाहरु किन हुन्छन् र त्यसको न्यूनिकरण कसरी गर्न सकिन्छ ? सोच्ने बेला आएको छ कि नेपालमा लाईसेन्स पाउने तरिका के हो? कि कानून र नियम भन्दा फरक तरिकाले अयोग्य व्यक्तिले पनि लाईसेन्स पाउने गरेकाछन्? गम्भीर प्रकृतिका गल्ती गरेका ड्राईभरहरुको लागि गरिएको सजाँयको व्यवस्थामा पुनराबलोकन गर्नु जरुरीछ कि? या ड्राइभर र सहयोगीहरुलाई आवश्यक शिक्षा वा तालिमको व्यवस्था नभएर पो हो कि? वा पैसा उठाउने काम डिजिटल सिस्टम मार्फत पो गर्नु पर्ने हो कि, जसले पैसाको बार्गेनिङमा बसका कर्मचारीहरु र यात्रुहरु बिच तनाव पैदा नहोस ।

लामोदुरीका यात्राहरुमा मात्र होइन छोटो दुरीमा पनि निकै धेरै दुर्घटनाहरु भैरहेकाछन् । मैले भोगेका कटु अनुभवको आधारमा बोल्दा यो लेखमा बेसी ड्राइभरले गर्ने कमजोरीहरुको बारेमा अलि केन्द्रित भएको छ । तर दुर्घटनाका अन्य पक्षहरुमा पनि त्यतिकै ध्यान जानु जरुरी छ । के मानिस हिड्ने पेटी, साईकल र मोटर साईकल हिड्ने लेनको व्यवस्थाको निम्ति कहिले सम्ममा योजना बनाउने? पेटी राखेको सडकमा मानिसहरु तरकारी, फलफूल या जुत्ता पसलहरु राखिएको देखिन्छ । सडकको पेटी मिच्ने र मानिसहरु सडकमा हिँडेको टुलुटुलु कसरी हेर्न सकिरहेका होलान ती पसलेहरुले । जेब्राक्रस अनुपयुक्त स्थानमा राखेका हुन्छन्, जेब्रा क्रसिङको रङ बिल्कुल खुईलिएका छन् । जेब्रा क्रसिङछ तर यात्रुहरु त्यसमा ध्यान दिंदैनन् । उनीहरु जताबाट मनलाग्यो त्यताबाट बाटो काट्छन् । जेब्रा क्रसिङनेर बाटो काट्नको लागि मानिसहरु उभिएका छन् । तर गाडी, मोटरसाईकलहरुले वास्ता गर्दैनन् । गल्ली गल्लीमा ठुलठूला ट्रकहरु छिराईरहेका हुन्छन् । बाटो नै बन्द हुने गरी जथाभावी पार्किङ गराएर लाखौं कमाउने उद्देश्य बोकेका मानिसहरु, समितिहरु वा संस्थाहरु पनि हुँदा रहेछन् ।

बाटो जाम, हुँईकिएर आउने मोटर साईकल दुर्घटनाका अर्को कारणहरु हुन् कि? स्थानिय बस ड्राईभरहरुले त कहिले काहिँ यात्रु पाउन उछिना पाछिन गरेर कैयौंको ज्यान लिएको उदाहरणहरु पनि कम छैनन् । कतिपय बसको झ्यालहरुमा सिसा हुँदैन, बाँगिएको सिटहरु तारले बाँधेर तानेको हुन्छ, स्टेरिङ, गेयर सवैमा खिईसकेको फलाम, बसको यात्रुहरु उभिने भुईँले सडक दौडेको देखिने गाडीमा “गाडी है जर्मनी कच्चा मत सम्झो, ड्राईभर है नेपाली बच्चा मत सम्झो” लेखेर दौडिने गाडीहरु यात्रुहरुको असुरक्षाको कारण बन्न सक्छन् ।
मैले जर्मन लगायत कैयौं यूरोपका मुलुकहरुमा अविभावकहरुले सडकमा हिँड्दा वा बाटो काट्दा आफ्ना नानीहरुलाई सडकको अनुशासन सिकाईरहेको देखेकि थिएँ । पछि मलाई थाहा भयो युरोपका मुलुकहरुमा ठूला मानिसहरुले जथाभावी बाटो काटेको या ट्राफिक नियम उलंघन गरेको कुनै बच्चाले देखेको भन्ने अनुमान ट्राफिकलाई भएछ भने नियम उलंघन गर्ने यात्रुलाई सिधै हतकडी लगाएर जेल चलान गर्न पाउने रहेछ । त्यसकारण ठूला मानिसहरुले ट्राफिक नियम उलंघन नगर्ने मात्र होइन उनीहरुले आफ्ना नानीहरुलाई बच्चै देखि ट्राफिक अनुशासन बारे सिकाउँदा रहेछन् ।

जे होस अनाहक दुर्घटना र त्यसबाट हुने मानव र भौतिक क्षतिको न्यूनिकरणको लागि सवै सम्बन्धित पक्ष र क्षेत्रहरुले विस्तृत विचार विमर्श गर्न नितान्त जरुरी भैसकेकोछ । व्यवस्थित ट्राफिक अनुशासनको निर्माण र नागरिकहरुले त्यसको पालना गर्दा मुलुकमा मानव र भौतिक क्षतिमा कमि आउने मात्र होईन मुलुक व्यवस्थित, सभ्य, सुन्दर र समृद्ध मुलुकको रुपमा समेत परिचित हुन सक्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank