नेकपाले जारी गरेको आचारसंहिता कति आवश्यक?

मङ्लबार, माघ १४, २०७६



- - निर्मल भट्टराई

समाज गतिशील छ । यो गतिशील समाजले पुराना कतिपय मान्यतालाई अङ्गीकार गर्न छाड्छ भने नयाँ मान्यतालाई जबरजस्त अँगाल्नु पर्ने बाध्यता सिर्जना हुन्छ । पुरानो मान्यता छोडेर नयाँ मान्यता अँगाल्न सङ्घर्ष र सङ्क्रमणबाट गुज्रनु अनिवार्य छ । आदिम साम्यवादभन्दा दास युग प्रगतिशील थियो र दासयुगभन्दा सामन्तवाद बिछट्टै प्रगतिशील । पूजावाद वा समाजवादी समाजका जनताले कुनैबेला प्रगतिशील ठानिएका दास युग र सामन्तवाद सम्झँदा जिब्रो काट्दछन् । पूजीवादकोे सुरुवातसँगै मजदुर सर्वहारामाथि भएको शोषणका कारण तिनबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा कार्ल मार्क्सले ऐतिहासिक, दार्शनिक र राजनीतिक व्याख्या गरे । उनले तत्कालीन विश्व समाजको आधारमा व्याख्या गरे, वर्तमान विश्व परिवेशको आधारमा होइन । मार्क्सले भनेजस्तो गरी न रुस न चीनमा परिवर्तन भयो । मार्क्सवादमा लेनिनले थप व्याख्या नगरी रुसमा क्रान्ति सम्भव भएन । मार्क्सको शब्दकोशमा नभएको नयाँ जनवादी मोडल विकसित गरेर मात्र माओ चीनमा सत्ता कब्जा गर्न सफल भए ।

ठिक त्यसै गरी नेपालमा क्रान्तिका रुसी वा चिनिया मोडल प्रयोग गर्न सम्भव थिएन । पुष्पलालले नौलो जनवादी कार्यक्रम अगाडि सारेर २०१० सालको काठमाडौँ नगरपालिकाको चुनाव र २०१५ को संसदीय चुनावमा भाग लिने विषय,सशस्त्र झापा विद्रोहबाट जन्मेर भूमिगत राजनीति गरिरहेको तत्कालीन नेकपा(माले)ले पञ्चायती निर्वाचनमा भाग लिने विषय र आफ्नो मूल सिद्धान्त माओवाद बनाएर दीर्घकालीन जनयुद्धमार्फत् सत्ता कब्जा गर्न रणनीति बोकेको तत्कालीन नेकपा(माओवादी)ले एकाएक हतियार बुझाएर चुनावमा भाग लिने विषय नेपालको कम्युनिस्ट आन्दोलनका मौलिक विषय हुन् । त्यतिमात्र होइन,तत्कालीन नेकपा(एमाले)को नेतृत्वमा सञ्चालित नेपालको शान्तिपूर्ण आन्दोलनको दौरानमा मदन भण्डारीको अगुवाइमा विकास भएको जनताको बहुदलीय जनवादी सिद्धान्त र तत्कालीन नेकपा(माओवादी)को नेतृत्वमा सञ्चालित सशस्त्र विद्रोहको दौरानमा कमरेड पुष्पकमल दाहालको नेतृत्वमा विकसित एक्काइसौँ शताब्दीको जनवाद निक्खर स्वदेशी सिद्धान्त हुन् । विश्व कम्युनिस्ट आन्दोलनका अनुभव र नेपालको धरातलीय यथार्थबाट बनेका हालसम्मकै उत्कृष्ट रसायन हुन् ।त्यस कारण आफ्नो देशको परिवेश अनुरूप राजनीति गर्न छोडेर अरू देशको भिन्न परिवेशमा विकसित भएको सिद्धान्तमा मात्र टाँसिनु मूर्खता शिवाय केही होइन ।

नेपाली कम्युनिष्टहरुले आफूलाई नौलो जनवादी भने पनि जनयुद्ध र जनविद्राहका पक्षधर भने पनि वा एकीकृत क्रान्तिको अभियन्ता भने पनि वा बहुदलीय जनवादी भने पनि संसदीय वा अन्य चुनावलाई आफ्नो राजनीतिक आन्दोलनको सबभन्दा महत्त्वपूर्ण अङ्ग बनाएका छन् । चुनावमार्फत नै सत्तामा पुग्ने हो भने चुनावी विज्ञानको वस्तुवादी प्रयोग र त्यस मार्फत सामाजिक रूपान्तरण गर्दै समाजवादको तयारी गर्नु उनीहरूको साझा एजेन्डा बन्नु पर्ने हो । समाजवादको निर्माण विगतमा अभ्यास गरिएको जस्तो हुन सक्दैन भन्ने सबै प्रमुख वाम पार्टीहरूको निष्कर्ष आइसकेको अवस्थामा आगामी समाजवादको मोडल विषयमा विहंगम बहस शुरु हुनु पर्ने हो । तर त्यसो हुन सकेको छैन ।

वर्तमान विश्व परिवेशमा लागू हुन सक्ने मार्क्सवाद वा एक्काइसौँ शताब्दीको चेतनासँग मिल्ने गरी मार्क्सवादको हुनु जरुरी छ । अनि मात्र संसारका कम्युनिष्टका लागि गतिलो मार्गदर्शन र वैचारिक हतियार हुन सक्छ ।आधुनिक नेपाली समाजलाई वर्ष पुरानो दृष्टिकोणबाट हेर्न पनि सकिँदैन र व्याख्या पनि गर्न । आधुनिक समाजको व्याख्या र रूपान्तरण गर्न आधुनिक विश्व दृष्टिकोण आवश्यक पर्दछ । त्यसका लागि मार्क्स, लेनिन र माओका विचारहरू सन्दर्भ सामग्रीहरू मात्र बन्न सक्दछन् । नयाँ थेसिसको निर्माण गर्न पुराना थेसिसहरुको अध्ययन गर्ने हा, हुबहु नक्कल गर्ने होइन । अबको नेपाली समाजले सहजै ग्रहण गर्न सक्ने मौलिक सिद्धान्तको निर्माण गर्न राजनीतिकर्मी, दर्शनका अध्येता र सामाजिक अभियन्ताहरूले सामूहिक प्रयत्न गर्न ढिलो भइसकेको छ ।

मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद वा नेकपाको अन्तरिम वैचारिक खाका जनताको जनवाद अनुसरण गर्नुको अर्थ हजारौँ वर्ष पहिले लेखिएका भजनहरू पुरोहितले भट्ट्याएको जस्तो हुन सक्दैन । त्यसको सिर्जनात्मक र समय सापेक्ष प्रयोग गर्नु चाहिँ क्रान्तिकारिता हो, संशोधनवाद वा दक्षिणपन्थता होइन । नेपालका केही आपूmलाई मूर्धन्य ठान्ने कम्युनिस्ट नेताहरूले मार्क्स, लेनिन र माओका विचारहरूलाई गायत्री मन्त्र जस्तो बनाइ दिनाले नेपालको कम्युनिस्ट आन्दोलन सम्पूर्ण रूपमा अझै एकीकृत हुन सकेको छैन । आपूmले बुझेको जति मार्क्सवाद मात्र सही हुने र अरूले बुझेको मार्क्सवाद चाहिँ सबै संशोधनवादी र दक्षिणपन्थी हुने रोगबाट ग्रसित नेताहरूको ह्यांगओभरबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गरेर मात्र यसलाई जोगाउन सकिन्छ । मोहन विक्रम सिंह, मोहन वैद्य किरण, विप्लवलगायत केही नेताहरूको सोच्ने तरिकाबाट नेपालको कम्युनिस्ट आन्दोलनले कुनै उल्लेख्य लाभ प्राप्त गर्ने लक्षण छैन । युद्ध मोह र अव्यवहारिक राजनीतिक एजेन्डा बोकेर समाजलाई आतङ्कित पार्ने क्रियाकलापबाट अब कसैको राजनीतिको रोटी सेकिने सम्भावना देखिँदैन ।

त्यस कारण स्वास्थ्य बहसको माध्यमबाट आजसम्म विकसित मानवोपयोगी सैद्धान्तिक आधारहरूलाई अन्तिम रूप दिएर त्यही विचारको आधारमा पुनर्गठित भएको नेपाल कम्युनिस्ट पार्टीलाई थप सङ्गठित गर्नु पर्ने आवश्यकता छ । यसले नेकपालार्ई मात्र बलियो बनाउने छैन, समग्र देशलाई नै सही दिशा प्रदान गर्ने छ ।आफू पनि केही नगर्ने अरूले सैद्धान्तिक वैचारिक क्षेत्रमा गरेको योगदान पनि सहन नसक्ने प्रवृत्तिलाई सबै क्षेत्रबाट दुत्कार्नुपर्दछ । मदन भण्डारीको जनताको बहुदलीय जनवाद र शताब्दीको जनवादले समेत देख्न नसकेका थुप्रै विषयहरूलाई समेत सम्बोधन गर्ने नयाँ सैद्धान्तिक अवधारणा र सो बमोजिमको राष्ट्रव्यापी साङ्गठनिक सञ्जाल बनाउन सकिए त्यही शक्ति नेपालको अजेय शक्ति बन्ने निश्चित छ ।

सांगठानिक एकता लगभग टुङ्ग्याएको नेकपाले भर्खरै सबै नेता कार्यकर्ताको लागि ११ बुँदे आचारसंहिता जारी गरेको छ । त्यो आचारसंहिता अत्यन्त राम्रो भए पनि त्यसको कार्यान्वयन हुँदैन कि भन्ने सर्वत्र चासो र चिन्ता देखिन्छ । आचारसंहिता अरूले पालन गर्छन् कि गर्दैनन् भन्ने वास्ता नगरी नेकपाका प्रत्येक नेता कार्यकर्ताले आफूले पालन गर्न शुरु गरे यसको पालना गर्न गराउन कुनै आइतबार कुर्नु पर्दैन ।

प्रस्ट विचार, फलामे अनुशासन र आचारसंहिता, सामूहिक सांगठानिक शैली र सबै नेता कार्यकर्ताको जनउत्तरदायी कार्यशैलीले मात्र सत्तारुढ नेकपाको भविष्य सुनिश्चित गर्न सकिन्छ । नेकपाको सिङ्गो पङ्क्ति विचार, व्यवहार र कार्यशैलीले अरू पार्टीभन्दा फरक हुनु अनिवार्य छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments