स्वास्थ्यमा आई. टि. (सूचना प्रविधि) को प्रयोग

शुक्रबार, साउन १०, २०७६



बदलिदो संसारमा आइ. टीको आगमनसँगै सबै क्षेत्रको पुनर्जीवन हुदै गएको छ । स्मार्ट बन्ने र बनाउने आइटीले वास्तवमै अहिले पुराना तथा अति जटिल पद्दतिलाई परिमार्जन गर्दै लगेको छ। वर्तमान समयमा आइटीसँग साक्षात्कार गर्न नसक्ने क्षेत्रहरुको अस्तित्व गुम्ने निश्चितप्राय छ । कोडाकले प्रविधिको विकाससँगै आफूलाई नढाल्दा नामेट नै हुनुपर्यो । त्यसैले स्वास्थ्य क्षेत्र पनि अछुतो हुने त कुरै भएन। नेपालको स्वास्थ्य क्षेत्रमा खासै प्रविधिको प्रयोग भएको देखिदैन। यो प्रविधिसँग अपरिचित कर्मचारीतन्त्र भएर हो वा पुरानै मानसिकताबाट अगाडी बढ्न नसक्ने बानीले गर्दा हो ? यसमा दुविधा देखिन्छ ।

प्रविधिको प्रयोग र अनिवार्यता व्यापक भइसकेको समयमा मुलुकमा हामीले कुनै विषयको बारेमा तथ्य र यथार्थपरक आकडा पाउन मुस्किल नै छ । किटानीका साथ् भन्ने हो भने तथ्यपरक आकडाहरु पाइदैन नै भन्न सकिन्छ । अझ स्वास्थ्य क्षेत्रमा आवश्यक आकडाहरुको बारेमा खोज्ने हो भने, एकाध रोगका बाहेक अन्य कुनै पनि रोगको निदान वा भनौ तिनको नेपाली जनतामा के कस्तो अवस्था छ भनेर हामी भन्न सक्दैनौ। यिनै कारणले पनि नेपाली माटोको रोग र नेपाली माटोमा हामीले प्रयोग गरिरहेको उपचार पद्दतिलाई संसारसामु चिनाउन सकिरहेको छैनौ। हामी कर्मकाण्डी तवरले नै पठनपाठन अनि त्यही तवरले कै उपचार पद्दतिमा लागिरहेको छौ।चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु अनवरतरुपमा खटिरहेको हुन्छन तर त्यसको लेखाजोखा कतै पनि भएको पाइदैन । हामी गधाको जस्तो दु:ख मात्र गरिरहेको छौ। हाम्रो देशमा सुहाउदो रोग निदान पद्दति र रोग सुहाउदो उपचार पद्दतिको खाँचो हुँदै गइरहेको देखिन्छ। केवल किताबको मात्र उपचार पद्दतिमा जाने हो भने पक्कै अगाडि गम्भीर दुर्घटनामा न होला भन्न सकिन्न। अमेरिका र बेलायतमा बसेर काम गरेर वा पठनपाठन गरेर मात्र बनाएका किताबले हाम्रो चिकित्सा शिक्षालाई हाम्रो जस्तो भूगोल अनुसारको रोग मैत्री बनाउदैन। हामीले हाम्रो देशको बिरामी र समस्याहरुलाई केन्द्रित गर्दै केही सुधार गर्नु पर्ने देखिन्छ ।

१. हामी कहाँ रोग निदान, रोग लाग्ने प्रवृति अनि कुन भूगोलमा कुन रोगको बढ्दो अवस्था छ भनेर स्पष्ट देखिने आकडाको कमि छ । कुनै जिल्ला वा प्रदेशमा हुने रोगको यकिन तथ्यांक हामी कहाँ छैनन्। नेपाल सरकारले स्वास्थ्य संस्था मा पठाउने HIMS फारम भर्ने तरिका त झन् अस्तव्यस्त नै छ। न त्यो HIMS फारममा लेखेको रोग हामी न धेरै भेट्छौ । न हामीले भेट्ने गरेका रोगको बारेमा त्यहाँ लेख्ने ठाउँ नै छ। यो नेपाल सरकार स्वास्थ्य मन्त्रालय, तथ्यांक विभागले आकडाको वर्गिकरण, आकडा संकलन गर्ने पद्दतिको समय सापेक्ष सुधार र प्रविधिको उपयोग गर्न अति आवश्यक देखिन्छ ।

२. नेपालमा NEPAL HEALTH RESEARCH COUNCIL (NHRC)को कार्य शिथिल देखिन्छ। अहिलेको समयमा देशमा भइरहेको रोगको अवस्थाको बारेमा सहि चित्रण गर्दै स्वस्थाकर्मी तथा चिकित्सक र आम जनतामा सन्देश प्रवाह गर्दै जानु पर्ने देखिन्छ। हाम्रो समुदायमा कुन समस्या बढ्दै गएको छ, कुन समस्यामा उपचार पद्दति सुधार्नुपर्ने वा परिमार्जन गर्नु पर्ने छ त्यसको बारेमा अनुसन्धान गर्दै अघि बढ्नु पर्ने देखिन्छ। हरेक समस्यालाइ स्वविवेक प्रयोग गर्दै उपचार गर्ने पद्दतिमा एकरुपता ल्याउन अबको समयमा खाँचो देखिन्छ। स्वास्थ्यमा कानुनी जटिलतालाई सुल्झाउन पनि यो पद्दतिको विकास हुनु अति आवश्यक भइसकेको छ। NHRC ले जिल्ला , प्रदेशका अलग अलग अनुसन्धान गर्दै त्यहाँ व्याप्त रोगको सहि आकडा प्रयोग गर्दै ति समस्याको बारेमा समय सापेक्ष उपचार पद्दतिको बारेमा updates गराउनु पर्ने देखिन्छ। NHRC ले webpage वा app मार्फत यी updates प्रयोग गर्दा नेपालका हरेक भागमा काम गर्नेहरु लाभान्वित हुन्छन।

३. रोग, उपचार पद्दिती र परजीवी तथा औषधिको सुक्ष्म अध्ययन: नेपाल जस्तो सानो क्षेत्रभित्र विविधता भएको भूभाग, अलग-अलग संस्कृति तथा गतिशील जनता भएको परिपेक्षमा समयानुकुल अनुसन्धान आवश्यक देखिन्छ। अहिले संसारको कुनै पनि भागमा नेपाली पुगिसकेका छन् र उनीहरु नेपाल फर्किदै फेरी जाँदै गरेका छन्। यस हिसाबले उनिहरुले आफूसँगै समस्या पनि लिएर आउने गरेका छन्। हामीकहाँ अध्यागमनमा रोग वा समस्या भएका अवस्थामा जाच्ने व्यवस्था नै छैन। कहिलेकाही कुनै महामारी फैलिएको अवस्थामा नाटकीय रूपमा केही टेबल राखेर मास्क र पञ्जा लगाईएका तस्बिर देख्न पाइन्छ। कतिपय समस्या त जटिल बन्दै गएका छन् – क्रस इन्फेक्सन तथा कतिपय सुपर इन्फेक्सनका कारणले। केवल पुरातन सोच र पद्दतिको मात्र प्रयोग गर्दै उपचार गर्दा झन् समस्या विकराल बन्दै गईरहेको देखिन्छ। रिसर्चमा आधारित उच्च वैज्ञानिक पद्दतिको विकासमा लाग्नु पर्ने देखिन्छ।

४. रोग निदान र रोगको वर्गिकरण: कम्प्युटरमा वा सफ्टवयर प्रणाली लागू गरेर हरेक रोगलाई वर्गिकरण गर्दै ति रोगलाई अंकमा वा कुनै सुलभ रुपान्तरण गर्दै परिमार्जन गर्न आवश्यक देखिन्छ। कम्तिमा पनि अहिलेको लागि जनस्वास्थ्य कार्यालय, प्रादेशिक तथा केन्द्रिय स्तरमा यो सिस्टमको विकास गरेर केहि समय पश्चात हरेक स्थानिय क्षेत्रसम्म नै बढाउन सकिन्छ। यसले गर्दा अनावश्यक कागजी झमेला तथा झन्झटिलो फारम पद्धतिलाई वैज्ञानिक तथा उपयोगी माध्यममा रूपान्तरण गर्न सकिन्छ।

५. समन्वय: नेपालमा स्वास्थ्य क्षेत्रमा खुलेका विविध आइटी क्षेत्रले स्वास्थ्य मन्त्रालय, तथ्यांक विभाग,प्रादेशिक तथा जिल्ला जनस्वास्थ्य कार्यालय र अन्य स्वास्थ्य क्षेत्रका समुहलाई जोड्ने काममा सहयोग पुर्याउन सक्छन् । तालिम तथा प्रविधि मैत्री बनाउने काममा सहयोग पुर्याउन सक्छन्।

६. औषधि तथा सरकारले लिएको नीति : सित्तैमा भनेर गरेको सरकारको औषधिको नाराले काम गर्ने चिकित्सकलाइ अप्ठ्यारो पारेको छ। रोगको प्रकृति र रोगको चक्र कहाँबाट कहाँ पुगिसक्यो । सरकार वर्षेनी एउटै नारा मात्र दिँदै आईरहेको छ। मैले काम गर्दा अनुभव गरेको यो समस्यालाई पनि यहाँ प्रस्तुत गरेको हु। कतिपय स्वास्थ्य संस्थामा औषधिको डङ्गुर हुन्छ तर त्यहाँ निदान हुने गरेका रोगको औषधि नै हुदैन। बिरामीले डाक्टरले औषधि बाहिरबाट किनाउनको लागि नभएको औषधि लेख्यो भन्ने दोष धेरै सुन्नु परिरहन्थ्यो। त्यसैले सहि आकडाको प्रयोग गर्दै जुन ठाउँमा जुन समस्याको बढी जोखिम छ त्यहिँ समस्याका औषधि तथा उपचार पद्दतिको समय सापेक्ष परिमार्जन गर्दै जानु उपयुक्त हुन्छ।

७. बदलिएको परिवेशमा स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई अनलाइन पोर्टल वा webinar हरू प्रयोग गर्दै दूर दराजमा रहेका ती स्वास्थ्यकर्मी हुन् वा सुगमका सबैलाई सूचना र CME हरू सञ्चालन गरेर समय सापेक्ष तालिम र ज्ञान बाँड्न सकिन्छ। यसतर्फ नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, स्वास्थय मन्त्रालय तथा अन्य सम्बन्धित् संस्थाहरुले पहल गर्नु पर्ने देखिन्छ।

हामी स्वास्थ्यकर्मीले पनि गरेको कामको सही रुपमा तथ्यांक रहने र आउदो पुस्ताले पनि हामीले गरेका अनुसन्धान र उपचार पद्दतिले आफूलाई अझै परिस्कृत गर्दै लान सक्ने छन्। “हिड्दै छ, पाइला मेट्दै छ” भन्ने उखान झैँ हामीले गरेको मिहेनतलाई बचाउन प्रविधिसँगै हिड्नुको विकल्प छैन।

डा. सन्तोष अधिकारी बाल रोग विशेषज्ञ हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata