सिकेहरुको वौद्धिक लेपमा विखण्डनपथको राजपा ताण्डब

आइतवार, असार ४, २०७४



( विजुक्छेको गहन कुरा नेपाली मुलधारे मिडियाको बिकाउ खबर थिएन, तर उनको त्यो गंभिर तथ्यलाई चरितार्थ गरे राजनीतिक विश्लेषक सिके लालले । पेशाले काविल ईन्जिनियर र नेपालका जानेमानेका विद्धान सिके लाल शुक्रबार अपरान्ह माइतीघर मण्डलामा केही मधेसी युवाका साथमा तराई मधेशमा बल्नै थालेको स्थानीय चुनाव विरोधी आगोमा घिऊ थप्दै थिए ।  )

सानो दलका ठूला र अग्ला अनि वेदाग छबीका ईमानदार नेता हुन नारायणमान विजुक्छे रोहित । भक्तपुर बाहेका उनको लामो विशाल लालकिल्ला पनि छैन । सुदुरपश्चिमको आफ्नो दल नेपाल मजदुर किसान पार्टीको किल्ला अन्य वाम कित्ताबाटै खत्तम गएिकोमा उनी निराश छन तर पराजित महसुस गर्दैनन् । तै पनि आजीवन सत्ताबिहिन प्रतिपक्षी नेता विजुक्छे निकै कठोर र तितो सत्य बोल्छन अक्सर । उनले अघिल्लो साता नेपालै रहने वा नरहने अवस्था आएको र त्यसमा वुद्धिजीविहरुले ख्याल नपुर्याए देशको एकता गभिर संकटमा पर्ने खबरदारी गरे । उनको खबरदारी नेपाल भित्रको मधेशले स्थानीय तह चुनावमा नजान खोजीरहेको बान्की बान्कीका निहुँ र त्यसमा दोगला चरित्रका वुद्धिजीविहरुको समर्थनविरुद्धको कटाक्ष नै थियो ।

विजुक्छेको गहन कुरा नेपाली मुलधारे मिडियाको बिकाउ खबर थिएन, तर उनको त्यो गंभिर तथ्यलाई चरितार्थ गरे असार २ को दिनमा, राजधानीकै माईतीघर मण्डलामा राजनीतिक विश्लेषक सिके लालले । पेशाले काविल ईन्जिनियर र नेपालका जानेमानेका विद्धान सिके लाल शुक्रबार अपरान्ह माइतीघर मण्डलामा केही मधेसी युवाका साथमा तराई मधेशमा बल्नै थालेको स्थानीय चुनाव विरोधी आगोमा घिऊ थप्दै थिए । स्थानीय चुनावको विरोधमा मधेसी युवाद्वारा आयोजना गरिएको विरोध प्रदर्शनमा सहभागी हुन पुगेका विश्लेषक सिकेले स्थानीय चुनावको विरोध गरेर यसको वैधानिकतामाथि प्रश्न उठाउनुपर्ने भन्दै उनले यसको विरोधमा आफ्नो पनि ऐक्यवद्धता रहेको बताए । चुनावको विरोधमा जुटनेहरुको संख्या थोरै भए पनि यसलाई दीपको संज्ञा दिँदै लेखक सिके लालले थोरै संख्या हुँदैमा हतास नहुन युवाहरुलाई आग्रह गरे । माइतीघर मण्डलामा सीकेले मधेश आन्दोलनको आगो फुक्दै गर्दा मधेशमा राजपाका कार्यकत्र्ताहरु रिक्सा चलाएर गुजारा गर्ने रैथाने मधेशी मजदुरमाथि कान समातेर उठबस गराउने मधेशी पञ्चायती ईन्साफको सडक तमाशा गरिरहेका थिए ।

राजपा अध्यक्ष मण्डलका एकजना सदस्य महेन्द्र यादवले राजपाकै समर्थनमा देउवा सरकारले ५ नम्वर प्रदेशकोे चुनाव सारेको स्पष्ट पारिसके । सरकारले तेस्रो चरणको चुनावको मिति तोक्नुपूर्व राजपाका महन्थ ठाकसर, महेनद्र यादव र शरतसिंह भण्डारी नै सत्तापक्षको समझदारीका वार्ताकार थिए भन्ने दिनको घाम जत्तिकै छर्लंग तथ्य हो । तर मधेशका विद्धान सिके त्यो नाँगो सत्यलाई हत्केलाले छेक्ने कोशिस गर्छन । उनले सत्ताधारीले दुई नम्बर प्रदेशको निर्वाचत त स्थगित गरे पनि मधेसका १ नम्बर प्रदेश र ५ नम्बर प्रदेशमा अहिलेसम्म निर्वाचन स्थगित नगरेको कडा विरोध गरे । उनले भने त्यसैले यसप्रकारको विरोध कार्यक्रमको महत्व बढ्छ । किनकि संविधानको संशोधनविना आधा जनसंख्या रहेको मधेसमा निर्वाचन गराउने जो सत्ताको जुन हठ छ, त्यो अघि बढिरहेको छ । यसको विरोध विभिन्न स्तरमा हुन्छ, हुनुपर्छ ।’

विश्लेषक सिकेले चुनावको विरोधले यसको बैधानिकतामाथि प्रश्न उठ्ने भएकाले विरोध जारी राख्नुपर्ने सुझाव दिए । उनले भने, ‘मधेसमा जो राजनीतिक कार्यकर्ताहरु छन, उनीहरुले विरोध गर्छन, हामी जो काठमाडौंमा छौं, यहाँबाट पनि आवाज यदि बुलन्द गर्यौं भने यो प्रमाण रहने छ कि यो निर्वाचन विरोधका वावजुद पनि गराइयो । तब, यसको बैधानिकता स्थापित हुँदैन । यदि यिनीहरुले निर्वाचन गराए भने पनि यो रेकर्ड हुन्छ, दसी रहन्छ कि यसको व्यापक विरोध भएको थियो, काठमाडौंमा पनि विरोध भएको थियो । राजधानीको हृदयमा पनि विरोध भएको थियो । यो विरोधको महत्व सांकेतिक छ, संकेत धेरै ठूलो हुन्छ ।’‘यहाँ धेरै मानिसहरु हुन जरुरत छैन । अँध्यारोमा तपाई एक दीप जलाउनुहुन्छ भने त्यो काफी हुन्छ’

माइतीघर मण्डामा चुनावको विरोध गर्दै भेला भएका सीमित युवाहरुमा उत्साह भर्दै सिकेले भने, ‘तपाईहरु दीपक हो, जसले सारा मधेस, जनजाति, दलितलाई शान्त्वना मिल्छ, उत्साह मिल्छ । उर्जा मिल्छ । त्यसैले कहिल्यै तपाईहरु नआत्तिनोस् कि हाम्रो संख्या थोरै छ । यहाँ राजधानीमा जुन दीप जल्छ, मधेसमा‘ यसको उर्जा जरुर पुग्छ ।’ लेखक सिके लालले थपे, ‘म यसमा ऐक्यवद्धता जनाउन चाहन्छु, जो तपाईहरुले राम्रो काम गरिरहनुभएको छ ।’

तत्कालिन काँग्रेस सभापति गिरीजा प्रसाद कोईराला बाचुन्जेल गिरीजा गाथा गाएका र गीता पाठ गर्ने गरेका सिकेलाल खै गिरिजापछि देउवाले नपत्याएका वा रामचन्द्र पौडेल र शशाँक कोईरालाहरुको रोजाईमा पर्न नसकेका कारण पनि हुन सक्छ अचेल बनेका छन, खाँटी मधेश मसिहा । राजेन्द्र महतोहरुलाई पनि छायाँमा पार्नेगरी सिकेलाल नै मधेशमा विद्रोहका मसाल बोक्न सडकमा ओर्लेपछि उत्साही छन, मधेशको अशान्ती र द्धन्दमा डलरको खेती हुर्काउन अहोरात्र खटिएका चरमपन्थी मधेश विज्ञ र विश्लेषकहरु । जयप्रकाश प्रसाद गुप्ता मन्त्री हुदाका पिए तुला नारायण शाह अहिले करोडौं कारोवारको मधेश एनजिओका मालिक छन । यस्ता द्धन्दजीविहरुको लर्कोमा अनिल झा की श्रीमति साँसद डिम्पल कुमारी झाको डलरको डकार सडकदेखि संसदसम्मै छ । अरु पनि कति छन कति । अधिवक्ताको कालो कोटमा दीपेन्द्र झाको वा विज्ञका नाममा प्रशान्त झाको चुरीफुरी र मधेश वकालतको चरमपन्थी अभ्यासको त कुरा गरिसाध्य छैन ।

डा. सिके राउतहरुको खुल्लमखुल्ला मोर्चा ओपन सेक्रेट नै छ मधेश आजादीको व्यानरमा । यस्ता कैयन पात्र र प्रवृति मधेशमा चुनाव हुन नदिने, द्धन्द्ध चर्काउने र कमाउको रोटी सेकाउन अहोरात्र व्यस्त छन । यी त केही प्रतिनिधि पात्र मात्रै हुन । पुराना वाम नेता विजुक्छेको खबरदारी र सिके लालको माइतीघर मन्डलको संविधान विरोधी विद्धान विरोधको श्रीगणेश बनमा बाघ कराउनुर खोरबाट बाख्रो हराउनुको संयोग मात्रै थिएन । भारतले नेपालमाथिको बक्रदृष्टि कहिले, कसरी, कुन पात्र र माद्यमबाट पुरा गर्छ भन्ने हेक्का राम्ररी छ नेता विजुक्छेलाई । त्यसैले उनले कथित मधेश विद्रोहको चुनाव विरोधी ताण्डवको पूर्वानुमान भरपर्दा सूत्रहरु मार्फत पाएर नै यो गहकिलो बोली बोलेको हुनुुपर्छ, जसलाई सिकेलालले चरितार्थ गरेका छन ।

हो भारतको धेरै कार्डहरु छन, नेपालविरुद्ध । अहिले उ मधेश कार्ड खेल्दैछ र मधेशलाई स्थानीय तह चुनावबाट टाढा गर्न उद्धत छ । भारतीय र खासगरी भारतीय खुफिया संस्था रअका लागि नेपालमा स्थानीय सरकार गठनको अभ्यासमा भाँजो हाल्ने मुकुण्डो पात्र बनेको छ, राजपा अर्थात राजेन्द्र महतो एण्ड कम्पनी । अनि राजेन्द्र महतोहरुका आड भरोसा बनेका छन विद्धान कहलिएका सिकेलालहरु ।
प्रयोगसिद्ध तथ्य हो की डा. बाबुराम भट्टराईलाई प्रयोग गरेर भारतले नेपालको राजतन्त्र माओवादी मार्फत सिध्यायो । अनि माओवादीलाई सिध्याउन पनि उनै आजीवन दोस्रो नहुने बाबुरामको विद्धता भारतीय डिजाईनमा प्रयोग भयो । अहिले सिकेहरु भारतीय रुचि बिनाबनेको संविधान असफल पार्ने मुद्धामा मोहरा बनाइएका छन ।

हो, यहीनेर छ नेपाली वा मधेशी आवरणका देशपवरोधी वा देशघाती तत्वहरुको बिगबिगि रोक्न नेता विजुक्छेले भने जस्तै सचेत वर्गले ईमान्दारीपूर्वक खबरदारी गर्नुपर्ने मुख्य मुख्य दायितव । पहिलो चरणको चुनावमा आफूले भोट नहालेको कुरोसहित खरो र दरो रुपमा मिडियामा अक्षर र आवाजसहित सधै खडा हुने सिके लाल हुन वा मधेश आजादीका नाममा मधेशमा अर्को विखण्डनको खेती गरिरहेका डा. सिके राउत अन्ततः नेपालको संविधानको खारेजी, लोकतान्त्रिक अभ्यासको धज्जी उडाउने तथा जनताको मतदानको अधिकारको अपमान गर्न फरक फरक मोर्चाबाट अघि बढेका छन । सिके राउत शैलीमा सिके लालहरु सडकमा ओर्लनुले स्पष्ट पार्छ की नेपालमा रअले अब विद्धान वर्ग, मिडिया र समाजमा पत्याइएका पात्रहरु मार्फत मधेशमा आगो बाल्दैछ ।

जसरी जनयुद्धमा डा. बाबुरामहरुको प्रयोग गरयो भारतले । उपेन्द्र यादवले नै भारतीय हुन भनेर प्रमाणित गरिसकेका नाथे राजेन्द्र महतोहरु त केवल हात्तिका देखाउने दाँत हुन, खासमा मधेशलाई नेपालै रहन नदिने दीगो खेलका खेलाडीहरु अब सिके लाल , झा वा अरु अरु पात्र हुन थालेका छन । के सिके लालले सोध्नु र सोच्नुपर्दैन, स्थानीय चुनाव स्थानीय सरकार गठनको जनताको सबैभन्दा ठूलो अवसर हो । के चुनाव बहिष्कार गर्ने हक छ भन्दैमा जनतालाई उनीहरुको सार्वभौम अधिकार मतदानबाट बन्चित गर्ने हक सिकेलालहरुले वकालत गर्ने कथित लोकतन्त्र हो ? अहिल्यै सिकेहरु जनतालाई भोट हाल्न नदिने मोर्चामा छन भने भोलि उनीहरु नेपालको मधेशमा बसेर बन्देमातरम गर्न तयार हुने छैनन भनेर कसरी विश्वास गर्ने ?

यो स्रतमा बहस नै हुुनुु नपर्ने हो स्थानीय चुुनावमा मधेशी दल राजपाको सहभागिताबारे । यो स्तरमा विरोधको हर्कत देखाउने छुट नै नदिनुपर्ने राजपालाई सरकारले । किन भने संसारमा चुनावी अभ्यास बाहेकको लोकतन्त्रको जग अरु हुन सक्दैन । तर सरकार जसो जसो राजपा उसै उसै स्वाहा गर्दै जाने अनि राजपा सरकारले औला दिदा हातै निल्न खोज्ने अतिवादी तालिवानी शैलीमा प्रश्तुत हुने त्यो पनि सिकेलालहरुको भेषमा भने अब संविधान जारी गर्दा एक भएका काँग्रेस, एमाले र माओवादीहरु सत्तापक्ष र प्रतिपक्षमा मात्रै बिभाजित नभई संविधान कार्यानवयन र देशभित्रको मधेश रक्षाका लागि बदलिएको परिवशेमा नयाँ मिसन र भिजनका साथ प्रश्तुत हुन ढिलो गर्नु हुदैन । किन भने यहाँ कोही चुनावमा नजाने कुरा ठूलो हैन, तर चुनावै हुन नदिने नाममा भैरहको ताण्डब भने सबैका लागि खतराको घण्टी हो । यो बेला अब सबैभन्दा माथि देश, सबैभन्दा पहिले देश र देशको एकता हो भन्न र गर्न सक्नुुपर्ने भैसकेको छ । सिके लालहरुको विद्धता बिक्ने देशमा भोलि मधेश बिक्ने खतरा आउनु अघि नै टार्नु सबैको कर्तव्य हो ।

906 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank