अवसरवादी मुसा राजनीतिक प्रवृत्ति अवसानको अन्तिम उदाहरण

कमल थापाको सत्तारोहणः

आइतवार, अशोज २९, २०७४

loading...


ताक परे तिवारी नत्र गोतामे भने झै राप्रपाका अध्यक्ष कमल थापा फेरि हिन्दू राष्ट्रको नारा उरालेर आगामी मंसिरमा हुने चुनावलाई यस विषयको जनमत संग्रह बनाउन माग गरिरहेका थिए । उदेक लाग्दो कुरा के छ भने पार्टी सिद्धान्तबाट बिचलित भएको भन्दै जीवनभर राजावादी , हिन्दूवादी भएका रियल राजावादीहरुले मरेको मुसालाई उपियाँले छोडे जस्तो थापाको दललाई छोड्ने क्रम निरन्तर छ । डा. प्रकाशचन्द्र लोहनीबाट पार्टी छोड्न सुरु भएको क्रम पशुपति शम्शेरको पार्टी बिभाजनदेखि कोमल ओली र दिपक मनांगेहरुको एमाले प्रवेशसम्म पुग्दा पनि क्रमभंग भएको छैन ।

तर जसै देशमा वाम गठबन्धन बलियो हुदै गयो, १८० डिग्रीको उल्टाफेरि गरेर उनै कमल थापाले असोज २८ मा राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उपप्रधानमन्त्रीको शपथ लिए, त्यो पनि बिना बिभागिय । उनी सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिए । उपप्रधानमन्त्रीका रुपमा कमल थापा तथा मन्त्रीका रुपमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले शपथ पनि बिना बिभागिय मन्त्रीका रुपमा लिए । शुक्रबार प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारको सिफारिश गर्दै पत्र पठाए पनि राष्ट्रपतिले निर्वाचन आयोग र कानुनविज्ञसित परामर्श गर्ने खबर सार्वजनिक भएको थियो । सोही अनुसार शनिवार दिउँसो निर्वाचन आयुक्तहरुसितको परामर्शमा मन्त्रिपरिषद् विस्तारले निर्वाचनको काममा असर नपर्ने नाटकीय र निरीह जानकारी गराएपछि साँझका लागि शपथ ग्रहणको कार्यक्रम शितल निवासले मिलाएको थियो ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त चार राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त बिना विभागीय राज्यमन्त्री कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइयो । मन्त्री बन्ने र बनाउनेलाई भन्दा हेर्ने देख्नेलाई लाजमर्दो यो प्रसंगले संसदको अन्तिम बिदाई वैठकमा पनि पेचिलो बिबाद ल्यायो । विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले कुस्ती खेल्न वा मन्त्रीको जुलुश गर्न मन्त्री नबनाउन सरकारलाई आग्रह गरे । तर प्रधानमन्त्रीले उल्टै ओलीको आग्रहलाई लत्याईदिए । यसरी सत्तामा जान पाए गणतन्त्रवादी कहलिने र राजतन्त्र तथा हिन्दूत्व नचिन्ने र आफै संविधान कार्यान्वयनकत्र्ता हुने र सत्तामा जान नपाए सडकबाट असली राजावादी, हिन्दूवादी मसिहा बन्ने कमल थापाको अवसरवादी चरित्रको नौंटंकी फेरि सत्तामा गएर विलय भएको छ । भलै कमलको यो दोहोरो चरित्र अब डेट एक्सपायर औषधि जस्तै साबित भैसकेको छ । खासगरी देश वाम तथा गैर वाम धु्रवीकरणमा गएपछि त साँच्चै कमल थापाका दिन सकिएका सन्देश बदलिदो राजनीतिक परिवेशले दिएको छ ।

त्यसैले फेरि हिन्दूत्व र राजतन्त्रका लागि मंसिरको चुनावलाई जनमत संग्रह बनाईयोस भन्ने राप्रपाको माग सुन्ने र संवोधन गर्ने फुर्सदमा ठूला दल वा जनता कोही पनि देखिएका छैन्न । काग कराउदै गर्छ, पिना सुक्दै गर्छ भने जस्तै हो यो माग कम्तिमा अहिले । त्यसमाथि आफ्नै माग बिपरित उनै सरकारमा सामेल भएर आफ्नै मुद्धामा उनले धोका दिईसके । सिद्धान्तच्यूत भैसके । उनको जनमत संग्रहको माग सत्ताको वार्गेनिंगका लागि नक्कली सौदावाजीको अस्त्र भएको आफैले प्रमाणित गरे । गजबकोे कुरा त बिना बिभागिय मन्त्रीका रुपमा ७ थान मन्त्री लिएर यस्तो बेलामा थापा सरकारमा गए, जसको औचित्य र आवश्यक्ता पुष्टि गर्ने कुनै आधार नै थिएन, छैन । प्रान्तीय तथा संसदीय चुनाव आउन करीब एक महिना १२ दिन बाँकी हुदा सत्तामा गएका कमल थापाले यस अघि राप्रपा प्रजातान्त्रिक तेस्रो चरणको स्थानीय चुनाव अघि सरकारमा जाँदा निर्वाचन आयोग र सरकारकै कटुु आलोचना गरेका थिए । तर अहिले आफै सत्तालोलुप भएर त्यही सरकारमा गए ।

यस अघि संसदको बिदाई संवोधनमा उनले गरेको संवोधनमा पार्टीको नीति हिन्दूवाद र संवैधानिक राजतन्त्रबारे एक शव्द पनि उच्चारण गरेनन् । केवल पार्टीको मुद्धाका रक्षाका लागि संघर्ष गरेको भनेर पानी माथिको ओभानो हुने कोशिस गरे । गणतान्त्रिक संसदको महिला गाउन उनले कुनै कसर बाँकी राखेन्न । आफू बाहेकका अरु राजावादीलाई राजाको भजनमण्डली भन्ने थापाले आफूले गणतन्त्रको राम्रै भजन गाए अन्तिम संसद वैठकमा । हो, पछिल्लो राजनीतिक एकताको सुनामी म ताक्छु मुढो बन्चरो ताक्छ घुडो भने जस्तै भैरहेको थियो कमल थापा नेतृत्वको राप्रपालाई यतिबेला । केही महिना अघि मुख्य सत्तारुढ दल काँग्रेसले आफ्नो पार्टी फोडिदिएको आरोप सहित विपक्षी एमालेको गठबन्धनमा सामेल भए कमल थापा । आफ्ना पार्टीका साँसद सहित पार्टी फोडेर राप्रपा प्रजातान्त्रिक बनाएका पशुपति शम्शेर राणासंग पानी बाराबारको राजनीतिक संवन्ध छ कमल थापाको ।

तर जसै वामदलहरुको एकता अभियान सुरु भो, तब कमल थापा फेरि उनै पशुपति शम्शेर राणा समेत सम्मिलित काँग्रेस नेतृत्वको गठबन्धनमा नै सामेल हुन विवश भए । फलतः उनले पार्टीका नेता वुद्धिमान तमांगलाई काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसंगको चुनावी कार्यगत एकताका लागि बनेको कार्यदलमा सदस्य बनाए । पार्टी फुटाउन सत्ता दुरुपयोग गरेको आरोप लगाएका काँग्रेस र सो दलका नेता विमलेन्द्र निधिकै संयोजकत्वको कार्यदलमा आफू बस्न नमिल्ने नैतिक संकटले थिच्यो अध्यक्ष थापालाई । अघिल्लो प्रचण्ड सरकारका पालामा उपप्रधानमन्त्रीको वरियता बिबादमा उनै विमलेन्द्र निधिसंग नाँगो लडाई लडेका थापा अहिले उनै निधिसंग टासिनु परेको छ, एउटै मोर्चामा । अझ रमाईलो त निधि मन्त्री नहुदै निधिकै नेता देउवाको मन्त्रीमण्डलमा उनी उपप्रधानमन्त्री पड्काउन सफल भए । उता आफैबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकमा हार मिलाएर चुनावी तालमेल गर्न सहमति गर्नुपर्ने वाध्यता पनि उत्तीकै सहजै पचाए उनले । के गर्छस मंगले आफ्नै ढंगले भने झैं उनले मुटु माथि ढुंगा राखी सो सत्तापक्षिय लोकतान्त्रिक मोर्चामा सामेल भई सत्ता यात्रा गरे ।

तर मन त्यो पनि कमल थापाको । निकै अस्थिर छ । काँग्रेस नेतृत्वको गठबन्धनसंग सरकारमा गएपछि अब उनै ठूला राजनीतिक पण्डित बनेका छन, सत्ताका भान्छे बनेका छन । पार्टीको विधानमा राजावादी र हिन्दूवादी अनि सत्तामा गणतान्त्रिक संविधान कार्यान्वयनको कसम खाएर राजावादी गणतान्त्रिक सत्तामा भत्ता खाएर गरेको सत्तासुखका निरन्तरताको अन्तिम रुपमा अहिले उनले गरेको सत्ता यात्रा उनको सत्तालिप्साको अन्तिम उदाहरण हो । सत्ताका लागि सिद्धान्तलाई तिलान्जली दिएको अन्तिम अवसरवादी चरित्र हो । तथापि वाम तथा गैर वाम र मधेशी दलको नाटकीय मोर्चाबन्दी त कमल थापाको फुटपरस्त अवसरवादी सत्तायात्री दलका लागि त पार्टी नैै जनमतमा स्वाटै बढारिने खतरनाक सुनामीका रुपमा प्रमाणित हुने लगभग पक्का छ ।

गत फागुन पहिलो साता राजधानीमा एकता महाधिवेशन गर्दै गर्दा प्रतिष्पर्धी दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरु कमल थापाको दललाई वैकल्पिक राजनीतिक दल बन्नका लागि शुभकामना दिन होडबाजी गरिरहेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सकेसम्मका भारी शव्दावलीहरुका साथ थापा नेतृत्वको राप्रपालाई वैकल्पिक शक्ति बन्न शुभेच्छा दिएका थिए । प्रचण्डले थापासंग मिलुँ मिलु लाग्ने गरेको प्रसंग उल्लेख गरेसंगै हौसिएका थापाले प्रत्युत्तरमा राजावादीलाई गणतन्त्रवादीसंग र राजावादीलदाई गणतन्त्रवादीसंग नतर्सन सुझाएका थिए । गणतन्त्रमा राजतन्त्रपन्थको फ्यूजनका लागि उनले सम्वद्र्धनवादको नयाँ राजनीतिक लाईनको व्याख्याताका रुपमा आफूलाई उभ्याउदै थिए । तर यी सबै उनका राजनीतिक हर्कत अब निरर्थक साबित भैसकेका छन ।

गत साउन २२ मा राप्रपा फुट्यो, एकताको औचित्यमा प्रश्न उठाउदै । पार्टीको ठूलो हिस्सा नयाँ पार्टी बनाएपछि राप्रपा प्रजातान्त्रिक नै मुलधारको राप्रपाका रुपमा सत्तासिन हुनु अनि विपक्षी मोर्चामा रहेको कमल थापा राप्रपा चांहि उनै राणा नेतृत्वको मोर्चामा शरणार्थी बन्नुपर्ने विवशता वास्तवमा कमल थापाको राजनीतिक जीवनकैै सवैभन्दा ठूलो धक्का हो । राप्रपाको बिभाजनका बाबजुत वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र उनका छोरा जयन्त चन्द अहिले पनि कमल थापा नेतृत्वकै राप्रपा रहे पनि उनीहरुको समेत भद्र राजनीति अब समाप्त हुने मोडमा पुगेको छ । चन्द राप्रपका एक जीवित संस्थापक मात्रै होईन्न, भद्र छवीका उच्च नेता लोकेन्द्र बहादुर चन्द समेतहरुको राजनीति कमल थापाको शति गएकै कारण बिघटनको दोसाँधमा पुग्नु साच्चै राजनीतिको टीठलाग्दो परिघटना हो । नेता चन्द जस्तै रोशनकार्की, भुवन पाठक जस्ता नेताहरुको पनि कमल थापासंगै राजनीतिक भविष्य निकै संकटमा धकेलिएको छ । पुराना नेता बालाराम घर्तीमगरदेखि वुद्धिमान तमांगहरु ह्ुन की टंक ढकालहरु व युवा नेता राजेन्द्र लिंग्देन पनि कमल थापाका संकटका सारथीका रुपमा देखा परेकै कारण राजनीतिक परिदृश्यबाटै बिलिन हुने खतरनाक मोडका यात्री हुन विवश भएका छन ।

बेमौसमी सत्ता यात्राका साथ, औचित्यहिन सत्ता सुखका साथ अध्यक्ष थापा कमजोर र प्रतिकुल राजनीतिक परिस्थितिका कारण संकटको शिखरमा पुगेका छन । त्यसैले त आगामी मंसिरको चुनावी समर कमल थापाका लागि राजनीतिक आत्माहत्याको कहर बन्ने खतरा बढेको छ । उसै पनि राजनीतिमा मुसा प्रवृत्तिका जीवन्त पर्याय हुन कमल थापा । उनको यो मुसा प्रवृत्तिको अन्तिम सत्तालिप्साको अवशानको मुखमा छ । यसले राजावादी हिन्दूवादी कित्ताको राजनीतिलाई समाप्ती वा पुर्नगठनको नयाँ धक्कापूर्ण सन्देश दिएको छ । निर्वाचन आचार संहिता विपरित, संसदीय जगहसाईको पराकाण्ठा नमुना बनेको उनको सत्तायात्रा गणतन्त्रकै पनि धज्जी हो । त्यो भन्दा बढी यो उनको राजनीतिक आत्माहत्या साबित हुने नै छ मंसिरको चुनावपछि ।

1466 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv