मधेशी जनताको मतादेशः दलहरुलाई नयाँ हैसियत र सन्देश

आइतवार, अशोज ८, २०७४



मधेशलाई आफ्नो पकड सरह ठान्ने काँग्रेसका लागि अन्य दलको तुलनामा मधेशी जनताको मतादेश संतोषप्रद देखिदैछ भने एमालेका लागि निराशाजनक । मधेशी जनमन र भूगोलको एक्लो मसिहा दाबा गर्ने राजपाका लागि स्तरको हुने सकेन ।

२ असोजमा सम्पन्न तेस्रो तथा अन्तिम चरणको स्थानीय तहको चुनावी परिणाम समाप्तीउन्मुख भैरहदा सार्वजनिक भैरहेका मत परिणमहरुले राजनीतिक दलहरुलाई नयाँ सन्देशका रुपमा आएका छन । जित्नेका लागि विजयोत्सवको दशैं र हार्नेहरुका लागि महादशा साबित भैरहेको देखिदैछ । मतदान अघिसम्म अन्तिम चरणको स्थानीय चुनावमा सबै दलले पहिलो हुने हुंकार दिएका थिए । खासगरी काँग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादीको पहिलो हुने हुंकार मधेशी मुलका मतदाताको कठघरामा भने स्वीकृत हुन सकेन ।
मधेशलाई आफ्नो पकड सरह ठान्ने काँग्रेसका लागि अन्य दलको तुलनामा मधेशी जनताको मतादेश संतोषप्रद देखिदैछ भने एमालेका लागि निराशाजनक । मधेशी जनमन र भूगोलको एक्लो मसिहा दाबा गर्ने राजपाका लागि स्तरको हुने सकेन । संघीय समाजवादी फोरमका लागि बरु केही उत्साहजनक देखिदै गरेको अन्तिम चुनावी परिणाम माओवादीका लागि हैसियत थाहा पाउने राम्रो मौका बन्यो । एमालेका लागि केही महंगो सबक बन्यो यही चुनाव ।

कांग्रेसः भत्कियो गढ, जोगियो साखः

हालसम्म सार्वजनिक मतपरिणाममा काँग्रेसले ३५ स्थानीय तहमा जितेको छ ।६ स्थानमा उसको अग्रता छ ।१३६ मध्ये एक तिहाई स्थानको जित उसको पहिलो भएको सुनिश्चितताको अवस्था हो । कम्तिमा १०० स्थानमा काँग्रेस विजयी हुने दाबी गर्ने नेता विमलेन्द्र निधि भने आफ्नै गृह गाउ मुखियापटीनुसहरनीया गाउँपालिकामा एमालेसंग वडामा नै पराजित भएर कमजोर साबित भैसकेका छन । अघिल्ला दुई चरणका स्थानीय चुनावमा एमालेको पछि पछि पछयाउन विवश काँग्रेस २ नम्वर प्रदेशमा अरुलाई पछि पछि लगाउन सक्षम भएको छ । काँग्रेसलाई चुनौति दिन मूलतः राजपा र संघीय समाजवादी तथा माओवादी र एमाले फरक फरक स्थानमा फरक फरक शैलीमा बलियो देखिए । कांग्रेसले पुरानो साख मुश्किलले जोगाएर आफ्नो लाज ढाक्यो र २ नम्वरको मात्रै भए पनि पहिलो दल बन्यो । तर यो उसको मधेश पकड भत्कदै गएको महंगो परिणाम हो ।

एमालेलाई समीक्षाको सबकः

करीब दर्जन सिटमा हासिल गरेको जितले २ नम्वर प्रदेशमा एमालेलाई पाचौं दलमा खुम्च्याईदियो । मधेशको २ नम्वरमा यो एमालेका लागि चक्कर लगाउने ठक्कर हो । २ नम्वर प्रदेशका चुनावी मतपरिणमको प्रारम्भिक मतपरिणामको संकेतले पार्टी पहिलो हुने छनक नदेखेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमालेले सोचेजस्तो परिणाम ल्याउन नसक्ने स्वीकार गरे । उनले सोमवारको मतदानको परिणाम आउन थाल्दा विक्तिकै वुधवार नैे एमालेले २५ देखि ३० प्रतिशत मत ल्याए राम्रो हुने भन्दै अघिल्लो वर्षको साउनमा सरकार छाड्नु एमालेको ठूलो गल्ति भएको स्वीकार गरे ।

माओवादीलाई प्रधानमन्त्री दिएर एमाले सत्तामै रहिरहेर चुनाव गराउनु पर्नेथियो भन्ने नेता नेपालको निष्कर्ष थियो । त्यसो भएको भए २ नम्बर प्रदेशमा एमालेले मधेश बाहुल्य २ नम्वरमा ५० प्रतिशत स्थान जित्न सफल हुन्थ्यो भन्ने उनको निष्कर्ष थियो । पार्टीकोजनवर्गिय संगठन नेपाल लोकतान्त्रिक अदिवासी जनजाति महासंघको १२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालले २ नम्बर प्रदेशमा पहिलो पार्टी हुन पहिलो धेरै कोसिस गरे पनि नसक्नुका कारण खोज्दै गर्दा एमाले मओवादी सत्तागठबन्धन टुटनुलाई मुख्य कारक कमजोरीका रुपमा स्वीकारेका छन ।

माधव नेपाल नै २ नम्वर प्रदेशका चुनावी मोर्चामा कमाण्डर नतोकिएरै पनि कमाण्डर कै रुपमा रातोदिन खटिएका थिए, राजपा लगायतका दलको अवरोधका वावजुत । तर पार्टी अध्यक्ष केपी ओली धेरै समयसम्म तराई मधेश झर्दै झरेन्न । राजपा नेता राजेन्द्र महतोले राजनीतिक स्टन्टवाजी गर्न भने जस्तै एमालेबिहिन २ नम्वर प्रदेश हुन संभव थिएन । नतिजाले पनि त्यो देखाएन । तर पहिलो हुने एमाले सपना चकनाचुर भएको छ । यो एमालेका लागि मधेशप्रतिको पार्टी नीतिमा नै पुर्नविचार गर्नुपर्ने मतादेश नै हो ।

एमालेलाई अझै कुल ७ सय ६६ स्थानीय तह मध्ये पहिलो स्थान कायम राख्ने गरी भने २ नम्वरको जनमत मिल्न सक्यो । समग्रमा स्थानीय सत्ताको पहिलो दल बन्दै उसको ईज्जत बाँचेको छ । 

भलै नेता नेपालले भने जस्तै एमालेले माओवादीसंगको वामसत्ता गठबन्धनमा पार्टी अध्यक्ष केपी ओलीको दम्भका कारण लगाएको व्रेकको मूल्य चुकाउनु परेको पनि हो नै यो कमजोर परिणामको संकेत । पहिलो र दोस्रो चरणको चुनाव ४९ सिटले अग्रतासहित पहिलो भएका कारण एमालेलाई अझै कुल ७ सय ६६ स्थानीय तह मध्ये पहिलो स्थान कायम राख्ने गरी भने २ नम्वरको जनमत मिल्न सक्यो । समग्रमा स्थानीय सत्ताको पहिलो दल बन्दै उसको ईज्जत बाँचेको छ ।

एमाले नेता नेपालले चुनावी दौडदौडका वीच रौतहटको गौर नगरपालिका २ स्थित आफ्नै वडामा राजपाका उम्मेद्धवारसंग भोगेको पराजयको सबकले नै उनको व्यक्तिगत र पार्टीगत कमजोरीलाई उजागर गरिसकेको छ । ठूला नेताको वडास्तरीय पराजय राजनीतिक र रणनीतिक अर्थमा पनि शर्मानक पराजय हो, मतादेशको फरक धार नै हो ।

माओवादीको जग बिस्तारः

चुनावी प्रचारका दौरान पहिलो हुने हुँकार दिएका माओवादी अध्यक्ष प्रचण्डले मतदानको वरपर ५५ स्थानमा पार्टी विजयी हुने पूर्वानुमान गरेका थिए । मतगणनाको जारी सार्वजनिक ट्रेन्डले माओवादीको मधेशमा जग बसेको र बलियो पकड देखिने स्पष्टै पारेको छ । माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा अन्य दलका असंतुष्टहरुलाई रातारात क्रान्तिकारी विल्ला भिराएर समर्थक संख्या थपे पनि शक्ति बटुल्न अझै मेहनेत गर्नुपर्ने मधेशी मतादेश देखियो । उसले पाएको १९ स्थानको जीत र ३ स्थानको अग्रता माओवादीको बीऊ मधेशमा पनि रोपिएको र उ राजपा तथा संघीय समाजवादीको प्रतिष्पर्धी रहेको स्पष्ट भएको छ ।

माओवादीले अघिल्ला २ चरणको चुनावमा भारी मतान्तरका वीच पनि तेस्रो स्थानमा पाएको मत उसले मधेशमा जोगाएर प्रचण्डको मधेश मिस सफल भएको देखाएको छ । किन भने एमाले भन्दा बढी र राजपा र संघीय समाजवादीको बराबर सीट माओवादीका लागि ठूलै उपलव्धी हो ।

संघीय समाजवादीको नयाँ पौरखः

पहिलो र दोस्रो चरणका स्थानीय तहका चुनावमा पनि भाग लिएको कुरा अन्य मधेशी दलका लागि पाच्य नभएको भए पनि त्यसले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीलाई लाभ मिल्न पनि सक्ने पूर्वानुमान थियो । नभन्दै जारी मतगणनामा संघीय समाजबादी एमाले, राजपा र माओवादीकै हाराहारीमा केही सीटले अघि आईरहेको छ । २४ सीटको उसको जीत दोस्रो हुने सफलता हो ।

अघिल्ला दुई चरणका चुनावमा नयाँ शक्तिसंग मिलेर चुनाव लडे पनि एक्लो बलमा नै ९ स्थानीय तह जितेर चौथो भएको संघीय समाजवादी अहिले अन्तिम चरणमा पनि चौथो स्थानमा नै टिकीरहन सक्ने संभावनालाई जोेगाएको छ । चौथो स्थानमा टिक्नु र उसले राजपालाई जित्न सक्नु संघीय समाजवादीको चुनावी समरको विजयोत्सव नै हो । जनयुद्ध कालमा पूर्व माओवादी रहेका उपेन्द्र यादवको टक्करमा माओवादीले धक्का खानु यादवको अर्को राजनीतिक पौरख पनि हो ।

राजपाः लाज ढाक्ने विजय

राजपा २ नम्वर प्रदेशमा तेस्रो दल त भयो नै । करीब २ दर्जन स्थानीय तहमा उसको जित लाज ढाक्ने उपलव्धी हो । तर मधेशको एक्लो मसिहा ठान्ने राजपाको दम्भ भने यो परिणामले गलत सिद्ध गरिदिएको छ । तेस्रो चरणको स्थानीय तह चुनावको मुख्य राजनीतिक सौन्दर्य यही हो की यो चुनावमा राजपा पनि सामेल भयो । यसको राजनीतिक र रणनीतिक अर्थ जति धेरै छ, त्यही अनुसार उसले त्यही अनुसार विजय गाथा बनाउन भने सकेन । उ मुश्किलले मात्रै तेस्रो हुन सक्यो त्यही नै उसको ठूलै चमत्कारीक उपलव्धी दरियो ।

उसले अघिल्ला दुई चरणका चुनाव बहिष्कार गर्नुको घाटा र असोज २ कै चुनावमा पनि अन्तिम समयमा मात्रै भाग लिने गरी गरेको ढिलो निर्णयको महंगो चुनावी मूल्य उसले चुकाउनु परेको परिणमले देखायो । राजपाकै नेताहरु अन्य दलमा गएर टिकट लिएर जित्दै गरेको रमिता हेर्नुपर्ने खालको चुनावी नतिजा राजपाका लागि पार्टी केन्द्र्रमा मात्रै ठूलो र स्थानयि तहमा भद्रगोल रहेको उदाहरण पनि हो ।

राजपाले आन्दोलन अवधिको साझेदार संघीय समाजवादीसंग चुनावी तालमेल गर्न नसक्दा होस वा पार्टीभित्रैका असंतुष्टहरुलाई चिक्त बुझाउन नसक्दाका दुष्परिणामका रुपमा मतादेशमा पछारियो । संघीय समाजवादी र राजपाले पाएको मतादेशको कुल अर्थ चाहि मधेश मुद्धाप्रतिको मधेशी मतदाताको एक्यवद्धता त हो । तर चुनावी प्रतिष्पर्धामा उनीहरुको हुन नसकेको सहकार्य उनीहरुले माल पाएर पनि चाल नपाएको महंगो चुनावी सबक हो भन्ने प्रमाणित भयो ।

वीऊ जोगाएका साना दलः

यो परिणमले विजय गच्छेदारको लोकतान्त्रिक फोरमको वीउ २ नम्वर प्रदेशमा जोगिएको छ । तर उसले ६ स्थान जितेर पहिलो र दोस्रो चरणमा कायम गरेको पाचौं स्थान निरन्तर जोगाउन सकेन । राजपाले उसलाई पुछारतिर धकेलिदियो । उसले राजपा र संघीय समाजवादीसंग चुनाव अघि सुधार गरेको संवन्धलाई चुनावी तालमेलमा बदल्न नसकेको परिणमतः राजपा र संघीय समाजवादी भन्दा पनि धेरै तल झर्नुपरेको देखियो ।

यसबाहेक कमल थापा वा पशुपति शम्शेर राणाका दुई राप्रपा वा साझा बिबेकशील दल वा अन्य कुनै पनि दल यो क्षेत्रमा बढारिएको स्तरमा नगन्य केही वडास्तरीय जीत हासिल गरे ।काठमाण्डुमा संविधान जारी गरेर त्यही संविधानको विरोधमा २०७२ असोज ४ देखि मधेश दौडाहा गरेका नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईको पनि मधेशमा नगन्य प्रभाव नरहेको चुनावी परिणामले प्रमाणित गरिदियो । जनता दलको विजय पनि सामान्य रहयो ।त्यसैले तेस्रो तथा अन्तिम चरणको स्थानीय चुनावी परिणाम साना र नयाँ दलका लागि मतादेशमा बढारिने अन्तिम श्रृखला हो भन्ने नै सकिदै गरेको मतगणनाको चुनावी सन्देश रहयो ।

जे होस ,जसै जसै बर्षको बडा दशैंको पर्वोत्सवमा जनमनहरु रमाउदै गएका छन उसैगरी ताजा चुनावी मतपरिणमहरुले राजनीतिक दलका नेता कार्यकत्र्ताहरुका लागि राजनीतिक दशैं र दशाका माहौल पनि थप्दै गएका छन । यसले मंसिर १० र २१ का संघीय र संसदीय चुनावका लागि भने बलियो जग र आधार खडा गरेको छ ।

690 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank