मधेशी दलको आपसी प्रतिष्पर्धा, ठूला दललाई मौका

सन्दर्भः तेश्रो चरणको स्थानीय तह चुनाव

आइतवार, भदौ २५, २०७४



संविधान संशोधनको माग गर्दै विगतमा संयुक्त आन्दोलन हाँकेका तराई मधेश केन्द्रित प्रमुख राजनीतिक शक्ति प्रदेश २ को स्थानीय चुनावमा तिक्ततापूर्ण प्रतिस्पर्धामा उत्रिएको देखिएको छ । 

असोज २ मा सम्पन्न हुदै गरेको प्रदेश २ का आठ जिल्लामा १ सय ३६ स्थानीय तहमा निर्वाचनमा तीन मधेश केन्द्रित दल र तीन ठूला दल पहिलो दल बन्ने चुनावी होडमा छन । आफूलाई मधेश मसिहा ठान्ने राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम शक्ति स्थापित गर्ने घरेलु मैदानमा छन । काँग्रेस, एमाले र माओवादी भने केन्द्रीय प्रभाव मधेशमा देखाउने प्रतिष्पर्धामा छन । तर रोचक कुरा के भने यसटकको चुनावमा सत्ता सहयात्री वा विपक्षी र मधेशी कुनै पनि दलले चुनावी सहकार्यलाई अघिल्ला चुनावमा जस्तो निरन्तरता दिन सकेनन ।

संविधान संशोधनको माग गर्दै विगतमा संयुक्त आन्दोलन हाँकेका तराई मधेश केन्द्रित प्रमुख राजनीतिक शक्ति प्रदेश २ को स्थानीय चुनावमा तिक्ततापूर्ण प्रतिस्पर्धामा उत्रिएको देखिएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताले आफ्नो दल ठूलो हुने दाबी गरेका छन्। उनीहरुले एकअर्कालाई चुनावी तालमेलको निम्ति महत्व समेत दिएको पाइएन । आफूहरुले नजित्ने अवस्थामा आन्दोलनका सहयात्रीभन्दा पनि अन्य ठूला दलले जितुन् भन्ने संकीर्ण मानसिकता उनीहरुमा देखिएको छ ।

मधेशी दलहरु बीच चुनावी तालमेल नहुँदा त्यसको राजनीतिक फाइदा तीन प्रमुख राजनीतिक दललाई पुग्ने निश्चित जस्तै छ । नेताहरुको दम्भ वा व्यक्तित्व टकरावले मधेशी दलहरुको आपसी वैमनश्यता चुनावमा सके आफै जित्ने नसके अरुलाई हराउनेमा केन्द्रीत रणनीति झैं देखिन्छ । मधेशी दलहरु एकले अर्कालाई परास्त गर्न खोजिरहदा मधेश र मधेशको मुद्दालाई ओझेलमा पार्दै लगेको मात्रै छैन, मधेशी दलको वर्चस्व मधेशमा नै नहुने त होईन भन्ने प्रश्न उठाएको छ ।
आफ्नो आंगमा भैसी नदेख्ने, अरुको आंगमा जुम्रा देख्ने रोगले ग्रसित मधेशी दलहरुले चुनावी तालमेलको निम्ति बाधक बनेको आरोप एक अर्कामाथि लगाएर ठूला दलका लागि सहज जीतको अवस्था बनाउदै लगेका छन । छवटा पार्टी मिलेर बनेको राजपामा त्यो अहम देखिएको आरोप अन्य दलको छ । राजपा सोही आरोप संघीय समाजवादी र लोकतान्त्रिक फोरमलाई लगाईरहेको छ ।

स्थानीय प्रभाव र आवश्यकता अनुसार तालमेलको सम्भावना पूर्ण रुपमा प्रयोग गर्न नसकेरचुनावी प्रतिस्पर्धामा आफूलाई आफैले कमजोर बनाउने भुमिकामा मधेश दलको प्रतिष्पर्धा देखिएको छ । मधेश आन्दोलनका पूर्वसहयात्री दलहरुको यो शैली भाई फुटे गवार लुटे झैं नबन्ला भन्न सकिन्न । उनीहरुमा आपसमा नै पोखिएको वैमनश्यता एकले अर्कालाई परास्त गर्न भन्दा पनि ठूला दल काँग्रेस, एमाले र माओवादीलाई मौकामा चौका बन्ने स्पष्ट प्रायः छ ।

३१ वैशाख र १४ असारमा भएका दुई चरणका स्थानीय तह चुनाव राजनीतिक दलहरुका अपवित्र चुनावी तालमेलका उदाहरण थिए । खासगरी काँग्रेस तथा माओवादी, एमाले तथा राप्रपा र संघीय समाजवादी तथा नयाँ शक्ति पार्टी वीच स्थानीय सत्ता हत्याउन भएका चुनावी तालमेल अराजनीतक, अप्राकृतिक र अस्वभाविक थिए । सिद्धान्ततः अमिल्दा र अस्वभाविक लाग्ने, वर्ग चरित्र र ईतिहासका पृष्ठभुमिहरुका कारण निकै पेचिला र गैर मूल्य मान्यताका वीच दलहरुका वीच भएका चुनावी तालमेललाई जनताको मतादेशले पनि स्वीकृत गरेन ।

काठमाण्डौंमा राप्रपा एमालेको तालमेलका बीच राप्रपा उपमेयरमा पराजित हुनु, पोखरा लगायत स्थानीय तहमा काँग्रेस माओवादी गठबन्धन हावा खानु र संघीय समाजवादी र नयाँ शक्तिको तुनावी तालमेल निष्प्रभावी देखिनुका कारणले यस पटक असोज २ को तेस्रो चरणको चुनाव भने दलहरु लगभग सिंगल सिंंगल रुपमा भिड्दै छन ।

एकै उदेश्यका साथ उही गन्तव्यका लागि भैरहेको भए पनि तेस्रो चरणको स्थानीय चुनाव यसैकारण दलहरुको आआफ्नो जनाधार मापनको असली चुनावी परीक्षाका रुपमा सम्पन्न हुदैछ । यसपट्क प्रदेश २ का ८ जिल्लाको चुनावमा सत्तारुढ काँग्रेस र माओवादी बीच १ सय ३६ मध्ये जम्माजम्मी २ स्थानीय तहमा मात्रै चुनावी तालमेल हुन सक्यो ।

मुलतः दलहरु वीचको आन्तरिक कलह र किचलो, उम्मेद्धवारका आकाँक्षीहरुको अत्याधिक भीड, दलहरु वीचको आन्तरिक अविश्वासको अवस्था, गठबन्धन संस्कृति र अभ्यासमा दलहरुको कमजोर संस्कार अनि पार्टी केन्द्रको गठबन्धन नीतिविरुद्ध उभिने दलीय कार्यकत्र्ताको प्रवृत्तिले नै यसपट्क दलहरुको चुनावी तामलेल प्रयाश पअसफल भयो । सत्तारुढ काँग्रेस र माओवादीले ६० र ४० प्रतिशतका आधारमा हुनेगरी गर्ने भनेको गठबन्धन लगभग बिफल भयो । राजपा र माओवादी तथा संघीय समाजवादी र राजपा तथा नेपाल लोकतान्त्रिक फोरम वीच हुन नसकेका चुनावी तालमेल यस्तै कारणहरुका उपज हुन ।

२ नम्वर प्रदेशमा करीब ३६ हजार स्थानीय उम्मेद्धवार चुनावी मैदानमा उत्रिरहदा एक्ला एक्लै दलहरु चुनावमा भीडनु नै दलहरुको असली जनाधार मापनको महाअवसर भएको छ । मुद्धा, विचार, चरित्र र जनाधारको आधार क्षेत्र समान भएका राजपा, संघीय समाजवादी र फोरम लोकतान्त्रिक वीच हुन नसकेको गठबन्धनले मधेशी दलहरुको हुनैपर्ने तालमेलमाथि दलीय दम्भको जालझेलको हदलाई पुष्टि गरेको छ ।

सत्तामा साझेदारी र चुनावी मैदानमा भीडन्त गर्ने सत्तारुढ दलको वाध्यताले उनीहरुलाई आआफ्नो जनसमर्थनको औकात नाप्ने मौका मिलेको छ । वास्तवमा अर्काको बुई चढेर स्थानीय सत्ताको वागडोर संहाल्ने दलीय उदेश्यमा व्रेक लागेको चुनावका रुपमा असोज २ को चुनावी भीडन्त सम्पन्न हुदैछ ।

मुलतः काँग्रेस, एमाले, माओवादी र तीन मधेश केन्द्रीत दल नै यो चुनावी प्रतिष्पर्धाका मुख्य खेलाडीका रुपमा देखिएका छन । 

यसैकारण २ नम्वर प्रदेशको चुनाव दलहरुको एक्लाएक्लै जनाधार नाप्ने अवसरमा बदलिएको छ । यो दलीय परीक्षा हो मुद्धा, विचार, स्थानीय नेता र नेतृत्व तथा उनीहरुका काम कारवाही र जनसेवाका कर्महरुको । यो दलहरुप्रति जनताको आस्था र विश्वासको परीक्षा त हुदै हो । तसर्थ यो चुनाव मुख्य रुपमा एक्ला एक्लै पार गर्नुपर्ने ठूलो चुनौति बनेको छ । यो चुनौतिमा कुन दल जनताको रोजाईमा पर्ने हुन अनि कुन दल पराईमा पर्ने हुन, त्यो भने असोेज २ को मतदानपछि नै स्पष्ट हुनेछ ।

असोज २ को चुनावमा दर्जनौ दलहरु चुनावी मैदानमा रहे पनि मुलतः काँग्रेस, एमाले, माओवादी र तीन मधेश केन्द्रीत दल नै यो चुनावी प्रतिष्पर्धाका मुख्य खेलाडीका रुपमा देखिएका छन । मुख्य प्रतिष्पर्धी यी दलको लागि यो स्थानीय सरकारमा हालीमुहाली जमाउने अन्तिम अवसर र चुनौति हो । सत्तारुढ काँग्रेस माओवादी केन्द्रको गठबन्धन, मुख्य विपक्षी एमाले र मधेश क्षेत्रबाट उदाएका दलहरु राजपा, लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमका लागि २ नम्वर प्रदेशको असोज २ को चुनाव राजनीतिक हैसियत मापनको महाकुम्भ नै हो । जसले जिते पनि हारे पनि सबै दल चुनावी समरमा उत्रनु र तालमेलको चुनावी झेलमा नअल्झिनुले उनीहरुलाई जनाधारको चुरो नाप्न भने राम्रै मौका मिलेको छ ।

1516 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank