गुरु पूर्णीमा , आधुनिक समाज र शिक्षा

शुक्रबार, साउन ११, २०७५



- सीता ओझा अध्यक्ष महिला अध्ययन केन्द्र

” गुरु ब्रम्हा गुरु विष्णु गुरू देवो महेश्वर
गुरु साक्षात परमब्रम्हा तस्मै श्री गुरूभ्ये नम:”

हामी सबैलाई माथीका यी दुई हरफ पढदा या सुन्दा  मनै पवित्र हुन्छ । हामी मन देखि नै निकै आनन्दित हुँदै आफ्नो जीवनको बाल्यकाल सम्झने गर्छौ । पुर्विय सव्यताको विकाससँगै मानव जीवनको सम्वृद्दीसगँ जोडेर या राज्यको सम्मुन्नतिका बारेमा राजकुल होस् या ब्रम्हाण या ऋषि कुलको ज्ञानको साधनाकालागि अति आवश्यक कुराको रूपमा  शिक्षालाई लिएको पाइन्छ । यो मानव सव्यताको विकाससँगै जोडिएको विषय पनि हो । मानिसले आफ्ना जीवनका हरेक भोगाइहरू भित्रका दुख र सुखका कुरा जस्तै हर क्षणका मानविय संवेगसँग सम्बन्ध राख्ने सबै कुरा मानिसको जीवनको सिकाइ भित्र नै जोडिएका  छन ।

जन्मेदेखि मृत्यु पर्यन्त सिकिरहने कुरालाई हामी शिक्षा भन्ने गर्छौ । शिक्षाले जिविकोपार्जन गर्न,जीवनलाई सव्य र सुसंगतिपूर्ण बनाउन,सहयोगी र सहकार्य मुखि बन्ने बनाउने प्रकृयाको सीप सिकाउन ,मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न भुमिका खेल्न सक्ने बनाउछ । आफ्नो मनमा लागेका कुरा स्पष्ट बताउन सक्ने क्षमता प्रदान गर्ने र  सरल उपाय दिने भएकोले नै शिक्षाको महत्व बढेको हो । शिक्षा मानिसको जीवन दर्शनमा साधना गर्ने विषय पनि हो । यसले मानिसको जीवनलाई मानविय आवश्यकताको सम्वृद्दीमा लैजान सहयोग गर्दछ ।  मानिसको व्यक्तिगत जीवन हुँदै सामाजिक दायित्व र राष्ट्रिय आवश्यकताको परिचय र पहिचान गराउन निकै सहयोग  गर्छ । यी र यस्ता सिकाइसँग जोडिएर ” गुरू ” शव्दको प्रयोग परापुर्व कालबाट नै सुरू भएको देखिन्छ ।  पछिल्लो अबधिमा शिक्षा मानविय आवश्यकतासँग विषेश रूपमा जोडिन थालियो ।अनि मानिसले शिक्षाकालागि विषेश लगानी गर्न थाले ।

मानवजातीको विकाससगै  मानिसले आफ्नो विकासका लागि शिक्षाको अपरिहार्यता बुझेर नै आफू र आफ्ना दर सन्तानका लागि शिक्षामा लगानी गर्ने वातावरण बनाउदै गए । सव्यताको विकासको प्रारम्भिक चरणमा शिक्षा र सिकाइ दुबै अनौपचारिक थिए । विस्तारै मानिसले  कामहरूको व्यवस्थापन गर्ने क्रममा शिक्षालाई औपचारीक बनाए ।शिक्षालाई  औपचारीक बनाउने क्रममा शिक्षा आर्जनका लागि निश्चित स्थानहरूको निर्माण गर्ने समय पनि आयो । विस्तारै शिक्षा ज्ञानकोलागि ध्यान र  अनवरत प्रयासहरू जारी हुन थालेको कुरा शिक्षाको बारेमा लेखिएका पुस्तकहरूमा पढ्न  पनि पाउँछौ ।

समयक्रमसगै विस्तारै शिक्षा सस्थागत हुन थाल्यो । यसरी सस्थागत हुने क्रममा राजकुल र गुरूकुलको संरचनाभित्र छिरेर शिक्षा आर्जन गर्ने परम्पराको सुरूवात भएको पाइन्छ । गुरूकुलमा पुगेपछि शिक्षा भित्र केही नियमहरू पनि जोडेर   शिक्षालाई  बुझ्ने र बुझाउने कुराहरू  आए । यश भित्र शिक्षा आर्जन गर्ने शिष्यहरूले गुरूले बनाएका केही विधिहरूको पालना गर्नु पर्ने सिमाहरू पनि बने । शिक्षा आर्जन गर्ने कुरा भन्दा अति सजिलो भए पनि व्यवहारमा निकै जटिल छ तर पनि शिक्षा आर्जन या ज्ञान प्राप्त गर्ने भएपछि निश्चित आचरणहरू पालना गर्नै पर्छ भन्ने कुरा ऋषिमुनिहरूको कालखण्डबाटै विकास भएका धारणहरू छन ।

घर,परिवार भित्र रहेको माया,मोह,लोभ आदि कुराले शिक्षा आर्जन र सिकाइमा पनि प्रभाव पार्छ भन्ने कुरालाई ध्यानमा राखेर हाम्रा अग्रजहरूले आचरण  र व्यवहारका कुराहरूलाई विधिको रूपमा  सुरूवात गरे । त्यस भित्र यस्ता कुराहरू जोडिएर आएका छन । शिक्षा आर्जनको आधारभूत आवश्यकतासगँ जोडेका यी पाँच कुरामा ध्यानाकर्षण गराएका छन । त्यसको लागि सिकारु या जिज्ञासुमा – कागको जस्तो चेष्टा ,बकुल्लोको जस्तो ध्यान,गृह त्याग, थोरै आहार,कुकुरको जस्तो निद्रा भएको खोज गर्न सक्ने बन्न सक्नु पर्छ  भनेर बताइएको भेटिन्छ । यो विधि त्यस समयमा आचरणको रूपमा  शिक्षालयहरूमा लागू गरिएको थियो । यो अवस्थामा  आफुलाई ल्याउन  नसक्ने मानिसले शिक्षा आर्जन गर्न पनि सक्दैन भनेर जोडियो । यसै बेला देखि  शिक्षा सक्ने र नसक्नेमा विभाजित हुन पुग्यो र शिक्षामा विभेदको सुरूवात पनि यहि समयबाट सुरूभएको हो भन्ने अनुमान गर्न सकिन्छ ।यो गुरूहरूले शिष्यहरूमा गरेको एकात्मक र क्रुर निर्णय हो भन्दा अहिले फरक पर्दैन ।

समाजको बदलाबसगैं  शिक्षा पनि आधुनिकता तर्फ उन्मुख भयो । हिजो  शिक्षा आर्जनको विषय गुरूको स्थापना गरेर दान गर्ने परम्परा भित्र बाधिएको अवस्थाबाट  आधुनिक समाजले  शिक्षालाई  विस्तारै सेवामुलक भावनासँग  जोड्न थाल्यो । वस्तु विनिमयकोको अवस्थाबाट पैसा या मुद्रा प्रचलन या  पुँजीको विकाससँगै मानिसले आफ्नो आर्जनको श्रोत या स्व रोजगारको  सरल आधार भित्र शिक्षालयको स्थापनाको कुरालाई बनाउन थाल्यो । यस्ता लचिला विधि र मान्यताले शिक्षालाई बजार सम्म पुर्यायो । दान र सेवाको भावबाट विकास भएको ज्ञान विस्तारै विस्तारै नाफा घाटाको  व्यापार र कम्पनीसगँ गाँसिएर  विशाल संरचनामा परिणत भएको अवस्थामा पुगेको छ ।

 हिजो दानको परिभाषामा  सुरूवात गरेको गुरु र शिष्यबीचको मानविय सम्बन्ध अहिलेको समाजमा हुने खानेको पद, पैसा र शक्ति केन्द्र भएकाहरूको पहुँचमा पुगेको छ । यसरी विकास भएको सम्बन्धमा गुरु  चेला विच चेला शक्ति सम्पन  र गुरूको दैनिक गुजरामा टिकेको जस्तो पनि देखिन्छ ।अहिले शिक्षक र विद्यार्थीको सम्बन्धमा मान र अपमान पनि गाँसिन पुगेको हो कि जस्तो देखिन्छ ।  गुरु र शिष्यको सम्बन्धको कुरा गरिरहदा यस्ता विषयमा अबको समाजले बहस गर्न सक्नु पर्छ होला !

हिजो शिक्षाको दानसँग जोडिएका कष्टकर शारीरिक यातनाहरू अहिले अपराध बनेका छन । अहिलेको शिक्षा र शिक्षालयहरूका व्यवहार भित्र अझै पनि  दण्डको नाममा अमानविय  व्यवहार गर्ने गरेको दृश्यहरू सामाजिक सञ्जालमा देख्न र पढ्न पाइन्छ । यसै साता सामाजिक सञ्जाल मार्फत देखेको र पढेको समाचार पुनः हेर्न र सुन्न नपरोस भन्दै  घटनाप्रति दुख व्यक्त गर्दै सो घटना यो गुरूदिनमा  उल्लेख गर्न चाहान्छु । यसै साता एक निजि विद्यालयका शिक्षकले विद्यार्थीलाई चरम यातना दिएको कारण उपचार गर्दै  गर्दा बालकको ज्यान नै गएको कुरा सामाजिक सञ्जाल आएको छ ।

कतिपय ठाँउमा  शिक्षक स्वयंले अन्धविश्वा भित्र रूमलिएर आफ्नै विद्यार्थीको अभिभावकलाई “बोक्सी “को अरोपमा कुटेर मारेको घटना पनि पुरानो भएको छैन । राजधानी काठमाडौ र आसपासका विद्यालयहरू मै बालबालिकाहरू माथि गरिएको  ” यौन दुर्ववहार ” का घटना पनि हामीले सुनी नै रहेका छौ ।  हाम्रो समाजमा जन्म दिने , कर्म / शिक्षा दिने र छोरी दिने (विवाहित सम्बन्ध ) या सम्बन्ध गाँसि दिनेलाई पनि मातापिताको  उच्चस्थानमा राखेको पाइन्छ  । यसरी हेर्दा पुर्विय सव्यताले शिक्षक या गुरु शव्दको मर्यादालाई उच्च स्थान दिएको देखिन्छ तर गुरूको भुमिकामा रहन गुरूले के कस्ता कुरामा हेक्का राख्नु पर्ला भन्ने विषयमा चाहिँ राज्य साथै शिक्षण पेसामै रहेर काम गर्ने पुर्व प्राथमिक देखि उच्चशिक्षा सम्म रहेका शैक्षिक सस्था र सस्थामा कार्य गर्नेहरूले अझै सोच्नु पर्छ कि !  यसरी हेर्दा यस्ता सस्थाहरूसँग मानविय सम्वेगसगँ जोडिएका खास ठोस अवधारणा छैन भन्दा फरक नपर्ला कि जस्तो अवस्था देखिन्छ ।

आधुनिक समाजमा गुरु को हो ?  र कस्तो हुनुपर्छ ? गुरूका लागि के कस्ता कुरा चाहिन्छ ? अब यस्तो  विषयमा पनि बहसको जरूरत छ  । त्यस्तै गुरूकालागि आवश्यक पर्ने आधारभुत कुरा जुन दैनिक सिकाइसगँ सम्बन्ध राख्छन ती बस्तुहरूको पहुँचमा शिक्षक अथवा गुरु पुगेको छ या छैन  /  पहुँच कसरी र कस्ले बढाउन भुमिका खेल्ने ?  एउटा सामान्य अथवा निम्न परिवारमा हुर्केको व्यक्ति शिक्षण पेसामा पसेर यी सब सिपहरू कसरी हाँसिल गर्ने ? न्युनतम मानविय आवश्यकता पूरा गर्न धौ धौ पर्नेहरूले यस्ता सुचना र प्रविधि सहितको ज्ञानलाइ कसरी ग्रहण गर्ने, यस्ता कुरामा पहुँच नभएका कारण सहकर्मी र विद्यार्थीहरूले व्यवहारमा गर्ने हेपाईबाट कसरी बच्ने आदि कुराका विषयमा पनि अब वहस र पैरवी जरूरत छ कि जस्तो लाग्छ ।

शिक्षालयमा देखिएका शिक्षक  , शिक्षक प्रशाशक, शिक्षक विद्यार्थी, शिक्षक अभिभावक, शिक्षक व्यवस्थापन र समुदायबीचको सम्बन्धमा मैत्रीपुर्ण व्यवहार कसरी विकास गर्न सकिन्छ ?  भन्ने कुरा  पनि अहिलेको समाजमा गुरूपुर्णीमा मनाइरदा सोच्नु पर्छ कि !  हिजोको समाजले धर्मलाई सामाजिक जीवनसँग जोड्यो।  त्यसैकारण हाम्रा कतिपय संस्कार र संस्कृतिहरू हिजैबाट मानिसको जीवनसंग जोडिएका छन । लामो समय पश्चात् शिक्षा पनि मानविय आवश्यकता हो भनेर पहिचान भएको छ ।

हिजो गुरूको निगाहमा दान गर्ने ज्ञान आज अधिकारको रूपमा स्थापित भएको छ । यो शिक्षासँगको मानवको सम्बन्ध पनि हो । त्यस्तै  सामाजिक वस्तुको विनिमयले बिस्तारै अर्थसगँ समाजको सम्बन्ध गाँस्यो ।  अब हामीले  राजनीतिक विषयलाई समाजसगँको सम्बन्धसँग जोड्न सक्यौं भने मात्रै आधुनिक समाजमा गुरूको स्थान र आवश्यकता महसुस गराउन सक्छौ ।  नत्र गुरु र शिष्यविचको सम्बन्ध कक्षा कोठासगँ मात्रै रहन्छ । हिजोदेखि हरेक आवश्यकता र योजनामा पारिवारिक सरसल्लाह माग्ने देखि आन्तरिक समस्यामा सरसल्लाह र सुझाव खोज्ने समुदायले बिस्तारै  गुरूहरूलाई विश्वासबाट  टाढा राख्न थालेका हुन कि जस्तो अहिले देखिन्छ । यस्तो हुनमा अरू धेरै कारण हुदाहुदै शिक्षक आफै पनि कारक हो कि सिंहवालोकन जरूरी देखिन्छ । गुरूपुर्णीमाको अवसरमा  यी र यस्ता कुरा सम्झनु पर्ला !

गुरूपूर्णीमाको सम्झना गरिरहदा आधुनिक शिक्षाका सिद्धान्तकार विद्दान  मास्लोको उत्प्रेरणको सिद्धान्तका बारेमा यहाँ चर्चा गर्न मन लाग्यो । उनले अभिप्रेरणा सम्बन्धि सिद्धान्तमा मानवीय आवश्यकताको श्रृङखलाका ५ तत्वको चर्चा गरेका छन ।  मानवका शारीरिक , सुरक्षात्मक, सामाजिक, स्वाभिमान र आत्मसन्तुष्टिका आवश्यकताका बारेमा सबै सरोकारवालाले सम्झदै, छलफल गर्ने वातावरण बनाउन सक्दा आजको समाजमा चिसिएको गुरु र शिष्यबिचको सम्बन्धमा सुधार ल्याउन सकिन्छ कि !

हाम्रा पारिवारिक संरचनाका नाता सम्बन्ध भित्र देखिने र नदेखिने गरि हुने  हिंसा,विभेद र हेपाइका कारण पनि अहिलेको समाजमा गुरु र शिष्यको सम्बन्धमा खालीपना (ग्याप) आएको हो कि ? पहिचानको जरूरत छ । यी र यस्ता विषयहरूमा राजनीतिले प्रवेश गर्न नसकेकै कारण आज शिक्षा नागरिकहरूको पहुँच बाहिर र महँगो बनेको कुरा जोडिन् आउँछ ।  गुरूपुर्णीमामा गुरूहरूलाई सम्झना गरिरहँदा अबको  गुरु र शिष्यको सम्बन्धभित्र हामीले मानविकी मूल्य र मान्यता जोडेर जीविकोपार्जन मुखि र सरल बनाउन सक्ने वातावरण बनाउने प्रयत्नमा लाग्न सक्ने भावनाको विकास होस । सबै आदरणीय गुरूहरूप्रति गुरूपूर्णीमाको उपलक्ष्यमा   शुभकामना  र भावनात्मक नमन !

 

428 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank