वाम गठबन्धनको औचित्य र काँग्रेसको प्रलाप !

शुक्रबार, मंसिर १५, २०७४

loading...


- डा. गोविन्दबहादुर थापा

देश यतिखेर चुनावी सरगर्मीले तातिरहेको छ । एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल गर्ने र चुनावपछि पार्टी एकीकरण गर्ने घोषणा गरेपछि चुनावी माहोलमा एकाएक नयाँ विषय प्रवेश गर्यो । आफुसँग सत्ता साझेदारीमा रहिरहेको माओवादी केन्द्र अकस्मात प्रतिपक्षसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्नसम्म पुगेपछि नेपाली काँग्रेस साच्चिकै छाङ्गाबाट खसे जस्तै भएको छ । प्रचण्डले केपी ओलीको सरकार छोडेर काँग्रेससँग मिल्न जानु अघि एमाले र माओवादी केन्द्रबीच यस बवषयमा केहि समयसम्म सम्वाद चलेको थियो र त्यसबाट मुलुकको राजनीतिमा केहि चलखेल हुन जाँदैछ भन्ने जानकारी जनताले पाएका थिए तर यस पटक त्यस्तो भएन ।

काँग्रेसले भारतले लगाएको नाकाबन्दीलाई नाकाबन्दी भन्न डराउनु, भारत भ्रमणको क्रममा भारतीय प्रधान मन्त्रीसंग संबिधान संशोधन गर्न कबुल गरेका कुरा पनि उत्तिकै आपत्तिजनक हुन् । 

त्यसैले माओबादीसँग मिलेर चुनाव लड्ने र एमालेलाई सकेजति भित्तैमा पुर्याउने दाउमा रहेको नेपाली काँग्रेस यो घोषणाबाट अत्तालिन पुग्यो । अर्को पाँच बर्ष सत्तामा ढलिमली गर्ने सपना देखिरहेका काँग्रेसीहरुको आशा र उत्शाहमा एकाएक तुषारापात भयो । यहि कारण हो काँग्रेसीहरुको अब नेपालमा कम्युनिष्ट साम्यवादी अधिनायकबाद आउने भयो, रुनसम्म नपाईने भयो, निजी स्वतन्त्रता र सम्पत्ति खोसिने भयो भन्ने बिलाप । तर किञ्चित मात्र राजनीतिक चेतना भएका नेपालीहरुले बुझेका छन् कि प्रथमतः यो जमानामा अब राजनीतिक अधिनायकवादको सम्भावना छैन र निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता पनि कसैले हरण गर्न सक्दैन । दोश्रो, एमाले र माओवादीले त्यो बाटो लिनै सक्दैनन् ।

अगाडिका कुरा नगर्ने हो भने पनि एमालेले बिगत २६ बर्षदेखि संसदीय राजनीतिको ईमान्दारिताकासाथ अभ्यास गर्दै आएको छ र उसका संस्थागत निर्णय र पार्टी दस्तावेजहरुमा यस बिपरितका कुनै कुरा छैनन् । लोकतन्त्र र मानवाधिकार प्रति उस्को प्रतिवद्धता पूर्ण (टोटल) छ र यसमा अरुले तलमाथि गर्न खोज्दा पहिले झम्टन जाने उ नै हुन्छ । उसले यहि मान्यता अनुरुप तीन वटा संसदीय निर्वाचन, दुई वटा संविधानसभाको निर्वाचन र पछिल्लो समेत गरी तीनवटा स्थानीय निकाय÷तहका निर्वाचन लडिसकेको छ । र, यहि बमोजिम अहिले चौथो संसदीय निर्वाचन लड्दैछ । ने

ताहरुको भित्रि बाहिरी अभिव्यक्तिहरुमा पनि कहि कतै बहुदलीय लोकतन्त्र प्रति अविश्वास झल्केको पाईदैन । त्यसैगरी माओबादी केन्द्र सशस्त्र द्वन्दबाट सत्ता हत्याउन सम्भव नदेखेपछि संस्थागत निर्णय नै गरी शान्ति प्रकृयामा आई बहुदलीय लोकतान्त्रिक राजनीतिमा सहभागि भएको छ र संबिधान सभाका दुई र एउटा स्थानीय तहको चुनाव लडेको छ । माओबादी केन्द्रले तीन पटक सरकारको नेतृत्व पनि गरिसकेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा त यो हो कि यी दुवै पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा हस्ताक्षर मात्र गरेका छैनन् यस्तो संबिधान निर्माण गर्ने कार्यमा निर्णायक भूमिका निर्वाह गरेका छन् । नेपाली काँग्रेस त बाह्य दवावमा संविधान घोषणा केहि दिन पर सार्ने पक्षमा रहेको कुरा जगजाहेर छ ।

यो पृष्टभूमिका पार्टीहरुको आपसी तालमेल हुँदा अधिनायकबाद आउने भयो, व्यक्तिगत स्वतन्त्रताको हरण हुने भयो भनेर कोकोहोलो मच्चाउनुले काँग्रेसको पराजित मानसिकताको संकेत दिन्छ । काँग्रेसको यो कोकोहोलो कति मन गढन्त, निराधार र असत्य रहेछ भन्ने कुराको परिक्षण हुन धेरै समय प्रतिक्षा गर्नु पर्दैन । चुनावपछि जब यी कुराहरु सर्बथा झुठो साबित हुनेछन् त्यस बखत काँग्रेसले कहाँ गएर आफ्नो अनुहार लुकाउला ? लाग्छ काँग्रेसले यो कुरालाई आफ्नो चुनावि मुद्धा बनाउन खोजि रहेको छ । यी कुराहरु उसको चुनावी घोषणा पत्रमा पनि उल्लेख गरिएबाट यो कुरा पुष्टि हुन्छ ।

जहाँसम्म वाम गठबन्धनको औचित्यको कुरा छ । यसो गर्नु ऐतिहासिक आवश्यकता नै थियो । किनभने अब राजनीतिक व्यवस्था परिबर्तनको लागि संघर्ष र आन्दोलन गर्नु पर्ने आवश्यकता छैन । 

वास्तविकता के हो भने काँग्रेस यस पटकको चुनाबमा मुद्धाविहिन थियो । उसंग जनताबीच लैजाने कुनै पनि सकारात्मक ईस्यु थिएन । माओवादी केन्द्रसंगको संयुक्त सरकार र आफ्नै नेतृत्वको सरकारको अहिलेसम्मको कृयाकलाप आँकलन गर्दा उसका कार्यहरु लोकतन्त्र, पद्दति, सुशासन र जनहितमा योगदान पुर्याउने खाल्का एउटै पनि रहेनन् । सबै पद्दति भत्काउने खालका मात्र रहे । बदनाम लोकमानलाई बचाउने, स्वच्छ छवि बनाएकी प्रधान न्यायाधिश सुशीला कार्की विरुद्ध महाभियोग लगाउने, प्रहरी महानिरीक्षक नियुक्तिमा जालझेल गरी हुनु पर्नेलाई पन्छाई नहुनु पर्नेलाई बनाउन जोरजुलुम गर्ने आदि उसका अनुचित कामका पछिल्ला केहि प्रतिनिधि उदाहरण हुन् । त्यसैगरी स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्बाचनलाई प्रभावित पार्ने गरी गरिएका गम्भिर प्रकृतिका आचार संहिता उल्लघंनका काम पनि लोकतन्त्रलाई कमजोर पार्ने काम हुन् ।

काँग्रेसले भारतले लगाएको नाकाबन्दीलाई नाकाबन्दी भन्न डराउनु, भारत भ्रमणको क्रममा भारतीय प्रधान मन्त्रीसंग संबिधान संशोधन गर्न कबुल गरेका कुरा पनि उत्तिकै आपत्तिजनक हुन् । छोटो अबधिमा भएका काँग्रेसका यस्ता कृयाकलापहरुबाट उसको साख रसातलमा गिरेको थियो, जसको परिणाम स्थानीय तहको निर्बाचनमा प्रतिबिम्बित भयो । यो हौवा फैलाउनु अगाडि उसले यो कुरा सोचेन कि यदि एमाले र माओवादी केन्द्रले यस्तो घोषणा नगरेको भए काँग्रेस के कुरा लिएर जनता सामु जान्थ्यो होला भनेर जनताले निश्चित रुपमा सोच्नेछन् । उ त रित्तो हात लिएर जनता सामु जाने अबस्थामा रहेछ । त्यहि भएर होला उसले केहि दिन अघिसम्म चुनाव टार्ने अनेक बहाना खोजिरहेको थियो ।

झुटको सहारा लिएर जनतालाई दिग्भ्रमित गरी भोट तान्न खोज्ने उसको खानदानी प्रबृत्ति नै हो । उसलाई यसो गर्नु पर्ने बाध्यता किन छ भने उसमा जनतालाई देखाउने र भन्ने सकारात्मक कुराहरुको ठुलो खडेरी छ । ठालु पन देखाई जनतालाई होच्याउने र बिदेशीसंग नेहोरा गर्ने उसको जन्मशिद्ध प्रबृत्ति हो । यस्तो प्रवृत्ति भएको पार्टीले सचेत मतदाताबाट भोट पाउने कुनै सम्भावना थिएन । त्यसैले उसको यस्तै मनोगत र हावादारी हल्ला फैलाएर मतदातालाई दिग्भ्रमित पार्ने बाहेक अर्को कुनै चारा छैन ।

साथै काँग्रेसलाई विगतमा जनताले पत्याएर एक पटक दुई तिहाई र दुई पटक बहुमत दिएका थिए । तर के काँग्रेसले त्यो जनमतको सम्मान गर्यो ? तिनै पटक उसले लोकतन्त्र जोगाउन सकेन । र, जनता पटक पटक सडकमा आएर लोकतन्त्र फिर्ता ल्याउनु पर्यो । यसरी काँग्रेसले जनताको घोर अपमान गर्यो, राजनीतिक अस्थिरताको सुत्रपात गर्यो, पटक पटक जनतालाई सडकमा आउन बाध्य पारेर दुख र शास्ती दियो र मुलुक पछाडि परिरह्यो ।

यी कुरा ईतिहासमा अंकित कुरा हुन । तसर्थ ऐतिहासिक तथ्य हुन् ? यसमा प्रतिबाद गर्ने कुनै ठाउँ छ ? त्यसैले उसले कुन मुखले जनतासंग फेरि भोट माग्दछ र जनताले उसलाई किन भोट दिनु पर्दछ ?

जहाँसम्म वाम गठबन्धनको औचित्यको कुरा छ । यसो गर्नु ऐतिहासिक आवश्यकता नै थियो । किनभने अब राजनीतिक व्यवस्था परिबर्तनको लागि संघर्ष र आन्दोलन गर्नु पर्ने आवश्यकता छैन । संविधान निर्माण गर्ने सवैभन्दा उत्तम, वैज्ञानिक र लोकतान्त्रिक पद्दतिद्वारा संघीय लोकतान्त्रिक गणतन्त्रको संबिधान निर्माण भई सकेको छ । स्वयम संघर्ष र आन्दोलनका सम्बाहक राजनीतिक शक्तिहरुले नै यो सम्बिधानलाई चिरस्थायी बनाउन लागि परेका छन् । त्यसैले अहिलेसम्म राजनीतिक अस्थिरताका सिकार भई कष्टकर जीवन बाँच्न बाध्य जनतालाई अब सुख सुबिधा नदिई भएको छैन । लोकतान्त्रिक गणतन्त्रको स्थायित्वको निमित्त पनि त्यसो नगरी भएको छैन ।

छिमेकीहरुको तुलनामा धेरै पछि परेको नेपाललाई अब यो स्थितिमा रहने सुबिधा प्राप्त छैन । यो अबस्थाले विश्व समुदायमा नेपालको छवि र साख धुमिल हुदै गएको छ । हाम्रा लाखौं युवाहरु रोजगारीको खोजीमा विश्वभरी छरिएका छन् । त्यसले नेपालको शासकीय क्षमतामा औला उठाउने मौका दिएको छ । यी सबै कुरा लामो सम्यसम्म चलेको राजनीतिक अस्थिरता, संघर्ष, द्वन्द र आन्दोलनका कारण भएका हुन । त्यसैले अब राजनीतिक संघर्षको चरण सफलतापूर्बक सम्पन्न भएपछि मुलुकमा राजनीतिक स्थिरता कायम गर्नु अपरिहार्य भएको छ ।

तर हामीले अख्तियार गरेको संबैधानिक व्यवस्था अनुसार हालका एउटै पार्टीले संसदमा सुबिधाजनक बहुमत ल्याई राजनीतिक स्थिरता दिन सहज नभएकोले सकेसम्म धेरै कुरामा समान दृष्टिकोण भएका पार्टीहरुकोवीचमा गठबन्धन गरी निर्बाचनमा जानु उत्तम उपाय हुन सक्दछ । त्यसको लागि एमाले, माओबादी केन्द्र र अरु साना बामपन्थी दलहरु बीच गठबन्धन हुनु हरेक दृष्टिले तर्कसंकत र उपयुक्त हो । यो गठबन्धनको मुख्य उद्देश्य यहि हो । यसमा अरु कुनै अर्थ खोज्नुको तुक छैन । वाम गठबन्धनकै परिणामस्वरुप गैह्र वामपन्थीहरु पनि आपसमा गठबन्धन गरी निर्बाचनमा जान उत्प्रेरित भएका छन् । यसले यो निर्बाचनमा दुई मध्ये एक गठबन्धनको बहुमत आउने सम्भाबना ह्वात्तै बढाएको छ । त्यो उद्देश्य हासिल भएमा देशमा पाँच वर्ष टिक्ने सरकार बन्नेछ ।

(तर काँग्रेस नेतृत्वको गठबन्धनको बहुमत आएमा २०४८ साल र २०५६ साल पछिको स्थिति दोहोरिने सम्भावना जिवितै छ ।) 

वाम गठबन्धनको बहुमत आएमा, जुन बढी सम्भाबना छ, देश राजनीतिक स्थिरताको चरणमा प्रवेश गर्ने सम्भाबना अत्यधिक छ । त्यसपछि त्यो सरकारको सम्पूर्ण जिम्मेवारी बिकासका गतिबिधिहरुलाई सक्रियतापूर्बक अघि बढाउनु बाहेक अरु केहि हुने छैन । यदि त्यसो हुन नसकेमा यो गठबन्धनले पनि अर्को निर्बाचनमा जनता कहाँ जाने बाटो गुमाउने छ ।

                                                                                                                          –000–

272 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank