बाँस्कोटाकोे गोकुल यात्रा, ओली सरकारको जात्रै जात्रा !

शुक्रबार, फाल्गुन ९, २०७६



- भूपेन्द्र शाह

शास्त्रले भन्छ सत्ता, शक्ति र समय क्षणिक हुने गर्दछ । मानिस अनेक पृष्ठभूमिबाट शक्तिमा पुग्न चाहन्छ । अनि रम्न चाहन्छ । जब उ शक्तिमा हुन्छ । तब उसले आफ्नो विगत बिर्सँदै सिंहको रूप धारण गर्न हतारिन्छ ।

समय परिवेश सधैँ एक नाशको रहँदैन । यी सबै कुरा क्षणिक छन् भन्ने जान्दा जान्दै मानिस सत्ता र शक्तिको निम्ति तमाम लक्ष्मण रेखा पार गर्न तम्सन्छ । फलस्वरूप वर्षौँ देखी कमाएको इज्जत, प्रतिष्ठा,नाम सबै माटोमा मिलाउन बाध्य हुन्छ ।

त्यसको ज्वलन्त उदाहरण नेपाली राजनीतिमा घट्दै गरेको घटनाक्रमहरूलाई लिन सकिन्छ । जसको पछिल्लो उदाहरण सेक्युरिटी प्रेस खरिद काण्ड रहेको छ । वर्तमान समयमा भिमकाया पार्टी र लाखौँ कार्यकर्ताको बलिदान र सघर्षबाट सत्तामा पुगेका नेकपाका मन्त्री देखी उच्च पदस्थ व्यक्तिहरू अनेक काण्डहरूमा धमाधम मुछिएका कारणले नेकपाको साख दिन प्रतिदिन गिर्दै छ भने, प्रधानमन्त्रीको समृद्धिको यात्रा र सुशासन लडखडाएको छ । आखिर तमाम कोसिसका बाबजुद किन सरकार बदनाम हुँदै छ ? प्रधानमन्त्रीले आफ्ना मातहतका सबै निकाय र व्यक्तिहरूलाई पटक पटक चेतावनी दिँदा पनि एकपछि अर्को घटना उजागर हुनुले प्रधानमन्त्रीको नियत माथि औला ठड्याउन बाध्य पार्ने पछिल्लो घटना आफैमा गम्भीर सवाल जन्माउन काफी छ ।

सुशासनको चर्को दवाई दिने प्रधानमन्त्री ओलीको दुई वर्षे कार्यकालमा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिकै कारण पद गुमाउन पुगे । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कारको अभियोगमा करिब ५ महिनापछि जिल्ला अदालतबाट सफाइ पाए । थुप्रै सांसदहरू भ्रष्टाचारको अभियोगमा निलम्बित हुन पुगे । त्यसका साथै गत बुधवार साँझ सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधि मन्त्रीको विवादास्पद अडियो टेप बाहिरीसँगै गोकुल बास्कोटाले पदत्याग गर्न बाध्य भए ।

प्रधानमन्त्रीका अत्यन्त भरोसा मन्द प्रिय पात्र गोकुल बास्कोटालाई हरेक स्थानमा काखी च्याप्दै पुलपुल्याउँदै स्वयम् प्रधानमन्त्री कहीँ न कहीँ चुकेको आरोप खेप्न बाध्य भएका छन् । करिब २५ वर्ष देखि निरन्तर प्रधानमन्त्री ओलीलाई सहयोग र साथ दिदैं आएको पुरस्कार स्वरूप राज्यमन्त्रीबाट मन्त्री पद पदोन्नति मात्र गरेनन् केन्द्रीय सदस्यको पुरस्कार समेत दिए ।

केपी ओलीकै आशीर्वादले मन्त्री बनेका बाँस्कोटा नेपाली मिडियामा हरेक कुरामा चर्चा परिचर्चामा रहिरहे । मन्त्री परिषद्ले सार्वजनिक गर्ने निर्णयमा पत्रकारहरूले राखेको जिज्ञासामा पत्रकारलाई प्रतिपक्षको दृष्ट्रिमा नियाल्दै ‘दुई तिहाइको सरकारलाई हेप्नी ?’ भन्दै सधैँ ठट्टा गरे जस्तो पारामा सरकारको आधिकारिक धारणा दिने गर्दथे । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री बाँस्कोटाले सत्ता र शक्तिको दुरुपयोग गर्दै ७० करोड कमिसनका लागि सेटिङ मिलाउँदै गरेको अडियो बाहिरिएसँगै सरकार थप बदनाम हुन पुग्यो । अडियोमा दुई जनाको दोहोरो संवाद सुनिन्छ ।

बालुवाटार जग्गा प्रकरणमा पूर्व मन्त्री देखी अख्तियारका पूर्व आयुक्त मुछिएको बखत झ्याली पिट्दै आफू निष्कलङ्क छु भन्ने भान देखाउन माहिर बाँस्कोटा सेक्युरिटी प्रेस खरिदका लागि स्विस बैङ्कका एजेन्ट भनिएका विजय मिश्रसँग अश्लील भाषामा चर्को आवाजमा देखिन पुगे । सरकारले संवेदनशील कागजातहरू नेपालमै छाप्नका लागि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गरेसँगै मन्त्री नै भ्रष्ट देखिएपछि सरकारले भन्ने गरेका बिचौलिया सिंहदरबार भन्दा बाहिर हैन भित्र नै बढी रहेका छन् भन्ने देखाउँदछ । उनले नैतिकताका आधारमा राजीनामा दिए पनि सामाजिक सञ्जाल देखि मिडियामा उनी माथि सूक्ष्म रूपमा छानबिन हुनु पर्ने सवालको जन्म भएको छ । राजीनामा दिदैंमा उन्मुक्ति दिनु उपयुक्त हुन सक्दैन । उनी माथि भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक अङ्गहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारको सार्वजनिक लेखा समितिले छानबिन गर्न जरुरी देखिन्छ ।

प्रधानमन्त्रीको निजी निवासमा डेरा जमाएर बस्न पाएका निवर्तमान मन्त्री बाँस्कोटालाई पुत्र समान प्रेम दर्साउँदै पुलपुलाएको पुरस्कार स्वयम गोकुलले प्रधानमन्त्रीलाई अलोकप्रिय बनाएर पदबाट बिदा लिए । आर्सिवादकै भरमा पत्रकारिताबाट मन्त्रीसम्म पुगेको धमास बाँस्कोटाले दिँदै आएको अप्रिय शैलीलाई प्रधानमन्त्रीले आँखा चिम्लिदिए । प्रधानमन्त्री भन्दा ढिलो पुग्ने, क्याबिनेटमा भइसकेको निर्णयलाई सच्याउन सक्ने, प्रधानमन्त्रीलाई कुनै पनि समय भेट्न सक्ने र आफ्नो ल्याकत भन्दा बढी शक्ति प्रदर्शन गर्न सक्ने अवस्थामा रहेका निवर्तमान मन्त्री बाँस्कोटाको बाध्यात्मक सत्ता वर्हिगमनले ओली सरकार जात्रै जात्रामा टिकेको आरोप खेप्दै छ । अनपेक्षित ढङ्गले आइलागेको कमिसन काण्डले गोकुलको राजनीतिक यात्रामा लागेको ठेसले सामाजिक सञ्जाललाई नयाँ नारा दिएको छ । ‘बाँस्कोटाकोे गोकुल यात्रा,ओली सरकारको जात्रै जात्रा !’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments