नेपालका कम्युनिष्ट पार्टी र सिद्धान्तको असङ्गति

बुधबार, माघ २६, २०७३

loading...


- घनश्याम भूसाल

नेकपा एमालेमा उपमहासचिव घनश्याम भुषाल एमालेका नेता मात्र होइनन् । नेपाली कम्युनिष्ट आन्दोलनलाई गारेटोबाट नयाँ मुलबाटोमा ल्याउने एउटा अध्यता वा ब्याख्याताका रुपमा पनि परिचित छन् । उनले पछिल्लो समय बहसमा ल्याएको नेपालका कम्युनिष्टहरुको सैद्धान्तिक आधार र आगामी कार्यदिशा एमाले मात्र होइन माओवादी केन्द्रले समेत आत्मासाथ गरेको छ । नेपालमा पुँजीवादको चरित्र: कम्युनिष्ट पार्टीहरुमाथि पछिल्लोपटक उपमहासचिव भूषालले आलोचनात्मक टिप्पणी गरेका छन् । केहीदिन अघि काठमाडौंको हार्दिक होटलमा नेपाल अध्ययन केन्द्रले गरेको नेपालमा पूँजीवादको चरित्र : कम्युनिष्ट पार्टीहरुको आलोचनात्मक टिप्पणी तथा अन्र्तक्रिया कार्यक्रममा पेश गरेको कार्यपत्रको सार संक्षेप ।

  • पर्याप्त अध्ययनविना नै पार्टीका सैद्धान्तिक घोषणाहरु तयार गरिएका छन् । जस्तो कि नेकपा मशाल, नेकपा माले, नेकपा माओवादी क्रान्तिकारीले नेपाली समाज अर्धसामन्ती–अर्धऔपनिवेशिक भन्छन् । तर सैद्धान्तिक र ऐतिहासिक हिसाबले त्यसको पुष्टी हुने गरी कसैले व्याख्या गर्दैन ।
  • नेपाली समाजको चरित्रबारे अरु कम्युनिष्ट पार्टीहरुभन्दा वस्तुगत निष्कर्षमा पुगेको नेकपा एमाले वा पुग्दै गरेका नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तजस्ता पार्टीहरुका लागि यो अध्ययनको महत्व/आवश्यकता छ ।
  •  सञ्चार माध्यमहरुमा मलुकलाई समृद्ध बनाउने नेता र संस्थाको खोजी भैरहेको देखिन्छ । त्यही मौकामा व्यक्ति र संस्थाहरुले आफुलाई समृद्धिका नयाँ–नयाँ देवदूतजस्तै देखाउन थालेका छन् । तर समृद्धिका लागि मूलभूत अर्थराजनीतिक समस्या वा चुनौति के हुन् भन्ने विषयमा भने आवश्यक छलफलसमेत भएको छैन ।

सन्दर्भ/महत्व
पछिल्ला वर्षहरुमा नेपालको माक्र्सवादी साहित्यमा, कम्युनिष्ट पार्टीहरुमा समेत, सामन्तवाद र पुँजीवादसम्बन्धी केही हदसम्म बहस–छलफल भएका छन् । यसैक्रममा नेकपा एमालेका आठौँ महाधिवेशनमा पेश गरिएको एउटा अलग दस्तावेजमा उल्लेख गरिएका सामाजिक चरित्र, क्रान्तिको चरित्र र कार्यभारजस्ता मुख्य सैद्धान्तिक निष्कर्षहरु त्यसै पार्टीको नवौँ महाधिवेशनले पारित गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले सन्दर्भ र कारणहरुको ब्याख्या नगरिकनै भए पनि त्यस पार्टीको हेटौँडा महाधिवेशनबाट ‘नेपाली समाज पहिलेजस्तो अर्धसामन्ती–अर्धऔपनिवेशिक रहेन’ भन्ने निष्कर्ष निकालेको छ । यसै क्रममा नेकपा संयुक्तले पनि नेपालको लोकतान्त्रिक क्रान्ति सम्पन्न भएको र नेपाली समाज पुँजीवादमा रुपान्तरित भएको निष्कर्ष निकालेको छ । यसरी कम्युनिष्ट आन्दोलनको मुख्य धारामा हाम्रो समाजको मूल चरित्र पुँजीवादी हो भन्ने निष्कर्ष स्थापित भएको छ ।

२००६ सालमा पार्टी गठन हुँदा नेपाल सामन्ती र पुँजीवादी दोहोरो शोषण भएको समाजका रुपमा व्याख्या गरिएको थियो (पुष्पलालले गर्नु भएको यो विश्लेषण मूलतः माओका रचनाबाट प्रभावित थियो) । पछि त्यही अवधारणालाई नेपाल अर्धसामन्ती–अर्ध औपनिवेशिक मुलुक हो भनेर सूत्रीकरण गरियो । समाज अर्धसामन्ती–अर्धऔपनिवेशिक भएको हुँदा नेपाली क्रान्तिको चरित्र नयाँ खालको पुँजीवादी जनवादी हुन्छ भन्ने मुख्य सैद्धान्तिक विश्लेषणका आधारमा अन्य सिद्धान्तहरु अगाडि सारियो । त्यही क्रान्तिलाई कसैले नयाँ जनवादी, कसैले लोकजनवादी, कसैले राष्ट्रिय जनवादी र कसैले जनताको बहुदलीय जनवादी भने । नेकपा एमालेको आठौँ महाधिवेशनमा अगाडि सारिएको दस्तावेजको मुख्य विषय यसप्रकार छ :ghanshyam-bhusal

अहिलेको नेपाल अर्धसामन्ती–अर्धऔपनिवेशिक होइन बरु यो पुँजीवादी हो; हामीकहाँ पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भैसकेको छ; अब नेपालको कम्युनिष्ट आन्दोलनको ध्येय समाजवाद हो; तर राष्ट्रिय पुँजीको विकास नभैकन समाजवाद सम्भव नहुने र नेपालको पुँजीवादीकरणको मुख्य चरित्र दलाल भएको हुँदा हाम्रो कार्यभार राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु हो ।

नवौँ महाधिवेशनले नेपाली समाजको चरित्र पुँजीवादी हो, जनवादी क्रान्ति सम्पन्न भयो, अबको कार्यभार राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु हो भन्ने निष्कर्षलाई ग्रहण ग¥यो तर राष्ट्रिय पुँजीको विकास गर्नु भनेको के हो ? अर्थात् ‘राष्ट्रिय पुँजीको विकास गर्ने’ किन भन्नु परेको हो ? अर्थात् ‘पुँजीको विकास गर्ने’ मात्रै भनिएको भए के हुन्थ्यो ? अर्थात् अब राष्ट्रिय पुँजीको विकास गर्ने हो भने अहिलेको पुँजीको चरित्र कस्तो छ त ? जस्ता प्रश्नमा प्रवेश गरेन ।

यो सानो-तिनो अस्पष्टता होइन बरु आधारभूत विषयमा रहेको सैद्धान्तिक अस्पष्टता हो । यो अस्पष्टताले भविष्यमा ठूला राजनीतिक र साङ्गठानिक विचलनहरु ल्याउँछन् ।अहिलेको पुँजीको चरित्र राष्ट्रिय छैन भन्ने बुझाइका आधारमा त्यो लेखिएको हो भने त्यसको चरित्र कस्तो हो त भन्ने प्रश्न स्वतः आउँछ । यदि पुँजीको चरित्रका बारेमा छलफल नै गर्नु पर्दैन भन्ने हो भने अहिलेकै पुँजीवादी प्रक्रियाबाट समाजवाद आउँछ भन्ने अर्थ हुन्छ । तसर्थ, नेपाली समाजको चरित्रबारे अरु कम्युनिष्ट पार्टीहरुभन्दा वस्तुगत निष्कर्षमा पुगेको नेकपा एमाले वा पुग्दै गरेका नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तजस्ता पार्टीहरुका लागि यो अध्ययनको महत्व/आवश्यकता छ ।

नेपाली समाज अर्धसामन्ती–अर्धऔपनिवेशिक हो भन्ने निष्कर्षमा अझै पनि रहिरहेका कम्युनिष्ट पार्टीहरुको व्याख्या अनुसार नेपाली समाजको पुँजीवादीकरण साम्राज्यवाद तथा भारतीय विस्तारवादद्वारा नियन्त्रित छ । यहाँको सामन्तवादसँग त्यसको लगनगाँठो जोडिएको हुँदा नेपाल अर्धसामन्ती–अर्धऔपनिवेशिक हो । नेपालको पुँजीवाद विदेशी पुँजीले बनेको हो, त्यसले नेपाली समाजलाई जतिजति पुँजीवादीकरण गर्दैछ त्यही अनुपातमा नेपाललाई उपनिवेश बनाउँदैछ भन्ने विश्लेषण कम्युनिष्ट पार्टीको गठन भएदेखि अहिलेसम्म स्थापित छ । कहिँ साम्राज्यवादी पुँजी, कहिँ एकाधिकारवादी वा विस्तारवादी वा नोकरशाही वा दलाल पुँजी वा औपनिवेशिक पुँजी जे भनिए पनि ती सबैको अर्थ एउटै हो । तर समाजको गतिशीलता, पुँजीवादीकरणको प्रक्रिया, पुँजीको चरित्रजस्ता प्रश्नको यथेष्ठ र वैज्ञानिक उत्तर खोेज्नेतर्फ ती पार्टीहरु, नेता वा तिनीसँग सम्बद्ध बौद्धिक हौँ भन्नेहरुको ध्यान गएको छैन । वस्तुतः अहिले पनि मुख्य सैद्धान्तिक प्रश्नमा समेत जसले जे भने पनि हुने अराजक अवस्था छ । पर्याप्त अध्ययनविना नै पार्टीका सैद्धान्तिक घोषणाहरु तयार गरिएका छन् ।

जस्तो कि नेकपा मशाल, नेकपा माले, नेकपा माओवादी क्रान्तिकारीले नेपाली समाज अर्धसामन्ती–अर्धऔपनिवेशिक भन्छन् । तर सैद्धान्तिक र ऐतिहासिक हिसाबले त्यसको पुष्टी हुने गरी कसैले व्याख्या गर्दैन । सामन्तवाद, पुँजीवाद, उपनिवेशजस्ता अवधारणाको परिभाषासमेत नगरिकन यत्र-तत्र प्रयोग गरिन्छन् । तिनका दस्तावेजहरु प्रायः कुनै धार्मिक सम्प्रदायका अनुष्ठान विधिजस्ता छन्, मानौँ ती उनीहरुका नीजी मामिला हुन् । ती दस्तावेज समाजको वास्तविक जीवनसँग सम्बन्धित छन् कि छैनन् वा तिनका दस्तावेजको महत्व पार्टीभित्र पाठ गराउने र कार्यकर्ताले ‘विश्वास गर्ने’ बाहेक अरु कुरामा छ या छैन भन्ने बारेमा पनि कसैले चासो राख्दैन । धेरैजसो दस्तावेजको मूल्य असाध्यै देखावटी हुन्छ, सामान्यतया ती पढिँदैन । तिनका सैद्धान्तिक निष्कर्ष र तिनको राजनीतिक तथा साङ्गठानिक दिशा र गतिविधिमा कुनै सङ्गति देखिँदैन ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीले एकातिर वर्तमान नेपालको राज्यलाई ‘पुँजीवादी’ भन्छ भने अर्कोतिर ‘सामन्तवाद, संशोधनवाद, अराजकतावाद, नवउदारवाद र साम्राज्यवाद’ का विरुद्ध ‘जनताको प्रजातन्त्र स्थापना गर्नु पार्टीको तत्कालको उद्देश्य हो’ भन्छ । वर्तमान राज्य पुँजीवादी हो भनेर मान्ने हो भने अबको सङ्घर्ष सामन्तवादका विरुद्ध हुनै सक्दैन, आज सामन्तवादका विरुद्ध सङ्घर्ष गर्नु पर्ने अवस्था छ भने समाज र राज्य पुँजीवादी हुनै सक्दैन । यी विषय ऐतिहासिक भौतिकवादका कखरा हुन् । तर नेपालमा यतिविधि असैद्धान्तिक विचारलाई झण्डा बनाएर पनि हामीले कम्युनिष्ट पार्टी चलाइरहेका छौँ ! अर्को उदाहरण, अहिले भर्खर जन्मेको नेकपा माओवादीलाई लिउँ, त्यसले नेपालको वर्तमान राज्यलाई ‘दलाल पुँजीवादी संसदीय राज्य व्यवस्था’ भनेर नामाकरण गरेको छ । त्यसको ठाउँमा ‘वैज्ञानिक समाजवाद स्थापना गर्न सङ्घर्ष सञ्चालन’ गर्ने उद्देश्यको घोषणा पनि गरेको छ ।

तर पार्टीको आर्थिक कार्यक्रममा ‘दलाल पुँजीलाई निरुत्साहित गर्दै…त्यसको ठाउँमा राष्ट्रिय पुँजीपतिलाई सहयोग पुगाउने कार्यक्रम सञ्चालन गरिनेछ’ भनेर लेखिएको छ । उद्देश्य र कार्यक्रमको यति विघ्न असङ्गति बोकेर पनि हामी कम्युनिष्ट पार्टी नै चलाइरहेका छौँ ! दलाल पुँजीवादका विरुद्ध राष्ट्रिय पुँजीपति वर्गलाई सहयोग गर्ने कार्यक्रम आफैमा समाजवादी कार्यक्रम हुन सक्दैन, यो पनि माक्र्सवाद वा ऐतिहासिक भौतिकवादको कखराकै कुरा हो । यदि राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमले समाजवादको तयारी गर्छ भनेर मान्ने हो भने त्यो नेकपा एमालेको कार्यक्रम हो, त्यसैका लागि अर्को पार्टी आवश्यक नै छैन । उदेक लाग्ने अर्को तथ्य के छ भने त्यस पार्टीले दलाल पुँजीको व्याख्यामा एउटा लाइनसम्म पनि लेखेको छैन । यी त असङ्गतिका केही उदाहरण मात्रै हुन् । सङ्क्षेपमा, अहिले यी कम्युनिष्ट पार्टीमा पुँजीवादको चरित्र सम्बन्धी मोटामोटी अध्ययनसमेत भएका छैनन् । नेकपा मसाल, नेकपा माले, नेमकिपा, नेकपा माओवादी जस्ता पार्टीहरु ठूला सैद्धान्तिक जडताबाट मुक्त हुन चाहान्छन् भने यो छलफल तिनीहरुका लागि पनि महत्वको/आवश्यक हुनेछ ।

  •  २०७२ सालमा जारी भएको नेपालको संविधानले राज्यको उद्देश्य समाजवाद हो भनेर किटान गरेको छ । सबै राजनीतिक पार्टीले त्यसलाई स्वीकार गरेका छन् । एक्काइसौँ शताब्दिको आरम्भमा नेपालजस्तो मुलुकका सबै राजनीतिक पार्टीहरुले समाजवादलाई कबोल गर्नु कम्ति महत्वपूर्ण छैन । तर संविधानमा कबोल गरेर मात्रै समाजवाद लागू हुने कुरा होइन, त्यसका लागि त्यही स्तरमा अध्ययन–छलफल चलाउनु पर्छ र अनेकौँ कार्यभारहरु निर्धारण गर्नु पर्छ । ती कार्यभारमध्ये आर्थिक कार्यभार सबैभन्दा मुख्य हुन्छ । त्यसैले आजको समाज, पुँजीवाद र यसको चरित्रको समझदारी जुनसुकै जिम्मेवार नेपाली राजनीतिक व्यक्तिका लागि आवश्यक वा महत्वको कुुुुुरा हुनेछ ।
  • नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो भन्ने सैद्धान्तिक निष्कर्ष स्थापित हुँदै गएपछि समाजको समृद्धि तथा आर्थिक विकासको चर्चा ह्वात्तै बढेको छ र अहिले ‘समृद्धि’ सबैभन्दा लोकप्रिय विषयहरुमध्ये एउटा बनेको छ । समाजमा आफ्नौ हैसियत देखाउन चाहाने सबैले समृद्धिका विषयमा चर्चा गर्ने होडवाजी चलाइरहेका छन् । समाजमा समृद्धिको भोक जागी सकेको छ त्यसैले त्यसको बजार राम्रो छ । सञ्चार माध्यमहरुमा मलुकलाई समृद्ध बनाउने नेता र संस्थाको खोजी भैरहेको देखिन्छ । त्यही मौकामा व्यक्ति र संस्थाहरुले आफुलाई समृद्धिका नयाँ–नयाँ देवदूतजस्तै देखाउन थालेका छन् । तर समृद्धिका लागि मूलभूत अर्थराजनीतिक समस्या वा चुनौति के हुन् भन्ने विषयमा भने आवश्यक छलफलसमेत भएको छैन । तसर्थ नेपालको आर्थिक विकासको बाटोका बारेमा चासो राख्ने सबैका लागि आज हामी बाँचिरहेको सामाजिक–आर्थिक भूमि कसरी बनेको छ भन्ने विषयको आधारभूत जानकारी, कम्तिमा वर्तमान नेपालको सामाजिक पुँजीको चरित्रको जानकारी आवश्यक हुनेछ ।

एमाले नेता भूषालले प्रस्तुत गरेको कार्यपत्रको बाँकी अंश पुँजीको चरित्र ः माक्र्सको पद्धतिका अवधारणा बिहीबारको अंकमा

4625 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv