त्यति बेला सम्म रहयो भने !

फरकमत

सोमवार, अशोज ८, २०७५



- दीपेन्द्र पाण्डे

पञ्चायती कालमा बेनिघाट गाबिस हालको बेनिघाट रोराङ्ग गाउँपालिकाको बेनिघाटमा रहेको तोरी मिलमा घ्याल्चोक निवासी एक महिलाको दुर्घटनाबाट मृत्यु हुन पुग्यो । तात्कालिन समयमा गाउँको राजा मानिने प्रधानपञ्चलाई खोज्न बेनिघाट चौकी प्रमुख हवल्दारले प्रहरी जवानलाई आदेश दियो । सधैँ झै सजिलै भेटन सकिने स्थान भट्टी पसलमा नसाले मातेर झुम्दै गरेका प्रधानपञ्चलाई जवानले दुर्घटना बारे अवगत गरायो । जवानको कुरा पश्चात घटना स्थलमा पुग्दै प्रधानपञ्चले मिलको फिताले काटेर दुई टुक्रा भएको महिलालाई नजिकबाट नियाल्दै भने । ” कठैबरा आँखा चै जोगाई छ्यौ ” ।

उल्लेखित घटना र सन्दर्भ वर्तमान समयमा नेकपासँग ठयाक्कै मेल खाँदै गरेको मान्न आम मानिस तयार हुँदैछन । शान्ती , स्थिरता र समृद्धिको ‘मृगतृष्णा’ मा रहेका जनतालाई अंसख्य सपना देखाउँदै मतपत्रबाट सिंहदरवारको कुर्सी प्राप्त गर्न सफल वाम गठबन्धन कुर्सीकै निम्ती नेकपामा बदली सकेको छ । गत जेठ ३ गते माओवादी केन्द्र र एमालेलाई मिलाउँदै दुई पाइलट सहितको भिमकाय जेट विमान बनाउँदै धुँवा मात्र छोडी रहेको नेकपा रुपी जहाज ग्यारेजबाट रन वे मा पुग्ने सुरसार देखिदैन । भेडी गोठ कै रुपमा थपिएका नेकपाका केन्द्रीय सदस्यहरु काम बिनाको भाले माहुरी बनेर बसिरहन बाध्य छन । केवल मानसिक सन्तुष्टीको निम्ती बनाइने पोलिटब्युरो कहिले बन्छ ? बनाउनेलाई समेत थाहा छैन ।

 नौं सदस्सीय सचिवालयको हरेक निर्णयको साक्षी स्थायी कमिटी पाइलट र को – पाइलटको उर्दी कुरेर बस्नुको विकल्प छैन । विचार , नीति , कार्यक्रम , सिद्धान्तलाई बिभाग र कमिटीहरुमा ब्यापक छलफल गराउँदै सम्बन्धित कमिटीमा पुर्याउँदै चलायमान कम्युनिष्ट पार्टी आम जनताको घरदैलोमा पुग्नु पर्नेमा सुतेर दिन बिताउँदै छ । पार्टी एकताको चार महिना पछी बल्ल बल्ल सात प्रदेशले इन्चार्ज , अध्यक्ष , सह इन्चार्ज र सचिब पाउन सफल भएको घटनाले तल्ला कमिटी कहिले घोषणा हुन्छन ? कसैले भन्न सक्ने अवस्था छैन । दुई पाइलटको रणनीतिक भागबण्डामा बन्ने अनुपयुक्त कमिटीले उर्जा थप्न नसक्ने वर्तमानको अवस्था पछी झनै अपाङ्ग बन्न जाने जिल्ला र स्थानिय पार्टी कमिटीको कारण जीवनभर पार्टी र जनता भन्दै हिड्ने नेता तथा कार्यकर्ताको ” राजनैतिक कोतपर्ब ” सम्पन्न हुनेछ ।

काँग्रेसको कमजोरी , भारतीय नाकाबन्दीको युरिया , अन्तर पार्टी नेतृत्वको लाचारीपन र परिवर्तन प्रती जनताको तिब्र आका‌क्षालाई टपक्क टिपेर जनताले बुझ्ने टिपिकल नेपाली भाषाको प्रयोग गर्दै लेनदेनमा आधारित वाम एकतापछी सरकारले लिनु पर्ने रफ्तार आम जनताले देख्नै पाएनन । अत्यन्त छोटो समयमा गर्नु पर्ने धेरै काम जनता माझ छरेको सरकार ‘रहस्यमय रोगले’ थलिएको छ । जनताको चाहना , इच्छा, आवश्यकता सँगै मुलुकको वास्तविक समस्या , चुनौती र अवसरको पहिचान गर्दै अगाडी बढ्न जनताद्वारा प्राप्त जनादेशको अधिकतम उपयोग गर्न चुकेको वाम सरकार बहुमुल्य समय खेर फाल्दै गन्तब्य हराएको चरा जस्तो बनिरहेको छ ।

सुशासन , स्थीरता र शान्ती सुरक्षामा नसुहाउँदो पाराले चिप्लिएको सरकार आफ्नो उपस्थीती देखाउन असफल बन्दै छ । नियमन विनाको निजीकरण कति घातक हुन्छ भन्ने पछिल्लो प्रमाण हर क्षेत्रमा सरकारको असफलता हेरे बुझ्न सकिन्छ ।  मुलुकी अपराध संहिताको बिरोध गर्दै सरकारलाई घुँडा टेकाउने नाममा आम नागरिकलाई दुख दिने अनेक नामका व्यवसायी र पेशागत संगठनहरुको अराजकताको सामु लाचार बन्दैछ । लोकतन्त्रको सामान्य नैतिकता समेत भुल्दै जनता चुस्ने र दुख दिने तप्का , क्षेत्र र संगठनलाई तह लगाउन पार्टी र जनताको सहयोग लिन चुकेको सरकारले शान्ती , स्थिरता र समृद्धि कुन तागतमा टेकेर ल्याउँछ ? भन्ने गम्भिर सवालले जन्म लिएको छ ।

केवल छिमेकीलाई खुशी बनाएर सत्तामा टिक्ने चालमा फसेको राष्ट्रवादी वाम सरकार बिम्स्टेक सम्मेलनको बहानामा भारतीय पक्षको कुटिल खेल संयुक्त सैन्य अभ्यासमा सहभागी हुन राजी भएको घटनालाई लिन सकिन्छ । भारतीय प्रस्तावलाई अनौपचारिक ढंगले जनाएको सहमती मिडियामा चुहिना साथ रक्षात्मक बनेको राष्ट्रवादी सरकार संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने निर्णय पछी भारतीय सेनापति बिपिन रावत मार्फत “भौगोलिक बाध्यता ” को कारण नेपाल चाहेर पनि भारतबाट टाढा जान नसक्ने भनाईको औपचारिक खण्डन नगर्नुलाई गम्भिरता पूर्वक लिन सकिन्छ ।

अथाह शक्तीले लर्बराएको वर्तमान सरकार बिचित्रको घेराबन्दीको सिकार बन्दै छ । समयको महत्व सँग बिल्कुल कुनै नाता साइनो नरहेको असंख्य प्रमाण छापाहरुमा नाम नबताउने सर्तमा चुहिन थालेका छन । प्रधानमन्त्रीसँग भेट पाउनै मुस्किल , पाइ हालेमा आफ्नो कुरा राख्नुको सट्टा उनकै कुरा सुन्न बाध्य पारिने समस्या , पाँच मिनेटको कुरा गर्न दुई घण्टा कुर्नु पर्ने , पाँच मिनेटमा सकिने कुरा दुई घण्टा सुन्दा पनि नसकिने , हरेक सवालको रेडिमेड जवाफ सुन्नु पर्ने अवस्था पछी पुरै पार्टी पर्खने स्थीती दिन प्रती दिन घातक बन्दैछ । मुलुक सञ्चालनको निम्ती राज्यले कल्पना गरेका असंख्य पदहरु महिनौं देखी खाली हुनु , चर्को मोल मोलाई हुँदै गरेको सुनिनु , सुशासनलाई घाइते बनाउने निर्णय आफै मार्फत गरिनु , छोटो समयमा विना आधार सोही निर्णय दोह्र्याउने काइदाले देश भित्र ‘ पहुँचदार व्यापारिक शक्तीले ‘ अघोषित सरकार चलाई रहेको महशुस गरिदै छ ।

मतपत्र मार्फत प्राप्त अभुतपुर्ब सफलता सँगै कम्युनिस्ट सरकार आएको आम जनताले महशुस गर्ने कार्यक्रम दिन चुकेको अर्थमन्त्रालय अझै परम्परागत काममा सन्तुष्ट बन्दैछ । केवल करको दर बढाउने र राजस्व बृद्धीलाई प्रमुख लक्ष मान्ने अर्थमन्त्रालयको कर्मचारी सोचले वामसत्ता थला परेको कारण वाम घोषणापत्र टुहुरो बन्दै छ । फलस्वरुप निर्बाचन पुर्ब अत्यन्त हौसिएका भोटर , समर्थक , सुभेच्छुक र वाम कार्यकर्ता  जिब्रो बिहिन बन्दै अमिलो मन बनाउन बाध्य छन ।

मानव अधिकार , नीजिकरण पछी पहिचानको वकालत गर्ने पश्चिमी सहयोग , लगानी र दवाबको एक मात्र उदेश्य सिंहदरवारको एकलौटी शासन समाप्त गर्ने र सडकबाट आफ्नो अघोषित सत्ता सञ्चालन गर्ने थियो भन्ने भर्खरै बुझ्दै गरेको दुई तिहाईको वामसत्ता बिगत देखी बर्तमान सम्मको साँवा ब्याज तिर्न बाध्य हुँदैछ । फलस्वरुप राष्ट्रीयता ,जनजीबिका , साँस्कृतिक एकता , विकास , लोकतन्त्र र समृद्धिमा आसलाग्दो र भरपर्दो नतिजा पस्कन चुक्दै छ । ठिक समयमा सामान्य संकेत समेत देखाउन नसकेको बर्तमान सत्ताको कारण नेतृत्वले नदेखेको खतरा सामान्य सुभेच्छुक र कार्यकर्ताले महशुस गर्न भ्याई सकेका छन ।

झापा आन्दोलन देखी माओवादी बिद्रोह सम्म आइपुग्दा जनवादी केन्द्रियता सहितको जनवाद र समाजवाद प्राप्तीको निम्ती बगेको रगत , मानवीय , आर्थिक , सामाजिक , साँस्कृतिक क्षती , हजारौंको वलिदानी र लाखौंको खुन पसिनाको फाइदा केही सिमित पद खोरहरुले मात्र पाइरहेको कारण जीवनभर राजनीति भनेर हिडेका थुप्रै सम्भाबनाको राजनैतिक भबिश्य खतरामा पर्दै गरेको कारण निकट भबिश्यमा अर्को राजनैतिक अस्थिरता थपिने आधार वर्तमान पार्टी नेतृत्व र सरकारबाट हुँदै गरेको पक्षपात पुर्ण व्यबहारलाई मान्न सकिन्छ ।

अन्तमा सोभियत सत्ताको पतन सँगै जबजवादी बनेको पुर्ब एमाले र गणतन्त्र , लोकतन्त्र प्राप्तीसँगै सामाजिक पुँजीवादी बन्न पुगेको माओवादी केन्द्र मिलाउँदै बनेको नेकपामा समाहित भुतपुर्ब कम्युनिस्टहरु पार्टी प्यालेस , होटल र सवारी साधन विना नचल्ने जीवन शैली नेकपाको ‘ ट्रेडमार्क ‘ बनीसकेको छ । पुँजीवादको पोखरीमा चुर्लुम्म डुबेर समाजवादको रुमानी सपना बाँड्दै हिडेको बर्तमान नेतृत्वले गुमाएको अबसरको कारण सबैभन्दा ठुलो क्षती दोश्रो दर्जाको वाम नेताले बेहोर्ने निस्चित छ । शरिर मात्र ठुलो गुण रित्तिएको भिमकाय नेकपाको हालत घाँटी छिने पनि आँखा जोगाएको जस्तो हुन पुगेको वर्तमान अवस्थामा आचरण , व्यबहार र सिद्धान्तबाट च्युत भइसकेका ट्रेडमार्क वाला कम्युनिस्टहरुको सत्ता स्वार्थ र उन्माद रोक्न नसक्ने दोश्रो दर्जाको नेताहरुले नेपाल बनाउँछन भन्नेहरुलाई सटिक जवाफ  ‘त्यती बेला सम्म पार्टी सग्लो रहयो भने ‘ भन्ने नै हुनेछ ।

768 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank