नेपाली कम्युनिष्टको यात्रा : सामन्तवाद देखी सामन्तवाद सम्म !

फरकमत

बुधबार, कार्तिक १४, २०७५



- दीपेन्द्र पाण्डे

वामहरुको चुनाबी नारामा लोभिंदै मतादेश र जनादेश मार्फत जनताले तीन वटै सरकार नेकपाको झोलीमा राखी दिएका छन । जनता मार्फत प्राप्त अथाह शक्तीको कारण  स्थीरता , विकास र समृद्धिको ज्वरोमा रन्थनिएको सरकार जनताको परिक्षा लिन तम्सिएको छ । फलस्वरुप जनताको मतादेशको सम्मान वाम सरकारले र कार्यकर्ताको सम्मान नेकपाले नगरेको चर्चा चोक , गल्ली , चियापसल मात्र हैन सामाजिक सञ्जाल र मिडियाको मसला बन्दैछ ।

वामपार्टीको जन्म र कम्युनिष्टहरुको जीवनचक्र :

सामान्तवादको पतनसँगै विश्वभर दुई किसिमको राजनैतिक व्यबस्था सुरु भएको पाइन्छ । जसमा एक पुँजीवादी व्यवस्था र अर्को समाजवादी व्यवस्था हो ।वर्तमान विश्वमा यही दुई व्यवस्था समाज चलाई रहेका छन । समाजले आफ्नो राज्यसत्ता  बनाउने गर्दछ । जसलाई हामी सरकार भन्ने गर्दछौं । हरेक सरकार एक राजनैतिक पार्टी अन्तर्गत हुन्छ । जसको आफ्नो विचारधारा हुने गर्दछ । विचारधारा वर्गबाट जन्मन्छ । वर्गको अर्थ धनसँग जोडिएको हुन्छ । धनले वर्ग जन्माउँछ ।यस कारण मुख्य रुपमा दुनिँयामा दुई वर्ग हुने गर्दछ । एक पूँजीपति वर्ग, दोश्रो मेहनतकस वर्ग । दोश्रोमा मजदूर, किसान , दुकानदार, आमजनता र बहुसंख्यक मानिस पर्दछन ।

सन १७८९ को फ्रेञ्च रेभुलेसन पछी नेशनल एसेमब्लीमा राजालाई समर्थन गर्ने राइटमा र रेभुलेसनलाई समर्थन गर्ने लेफ्टमा बस्न सुरु गरे सँगै राजनीति धुर्बीकृत भएको मानिन्छ । सामान्यतया लेफ्ट र राइट भन्ना साथ उनीहरुले अप्नाएको आइडोलोजीलाई बुझ्ने गरिन्छ । लेफ्टहरुले स्वीकार गरेको आइडोलोजी अन्तर्गत स्वतन्त्रता , समानता , भातृत्व , अधिकार , प्रगती , सुधार र अन्तराष्ट्रीयवादलाई लिइन्छ । त्यसैगरी राईटहरुले अप्नाएको आइडोलोजी अन्तर्गत प्राधिकरण , अनुक्रम , आदेश , कर्तब्य , परम्परा , प्रतिकिया र राष्ट्रवादलाई लिइन्छ । यस आधारमा हेर्दा वामपन्थी र कम्युनिष्टमा केही समानता रहेपनि गहिराईमा धेरै फरक रहेको छ । कम्युनिष्टहरुको आइडोलोजी मार्क्सवाद , लेनिनवादमा आधारित रहेको पाइन्छ । सन १९१७ को अक्टोवर क्रान्ती पछी विश्व पुँजीवादले वामपन्थी र कम्युनिष्टलाई एकै मान्न थाले सँगै नेपालमा पनि वामपन्थी र कम्युनिष्टलाई एकै मान्ने गरियो ।

१५ सेप्टेम्बर १९४९ मा जहाँनिया राणा शासनको बिरुद्ध भारतको कलकत्तामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा जन्म लिएको नेकपा अनेकौं आरोह अवरोह पार गर्दै जनता माझ स्थापित हुन पुग्यो ।   रुसमा सन १९१७ को क्रान्ती सम्पन्न भएको ३२ बर्ष पछी साम्यवादी क्रान्ति गर्ने लक्ष सहित नेकपाले जन्म लिनु आफैमा क्रान्ति मानिएको थियो । सन १९५९ को निर्वाचनमा भाग लिएको उक्त पार्टीले तात्कालिन संसदको कुल संख्या १०९ मध्य ४ सिटमा बिजय हासिल गर्‍यो ।

 अशिक्षा , गरिबी , अन्याय , अत्याचार , अन्धविश्वास , कु-संस्कारले ग्रस्त तात्कालिन समयमा कम्युनिष्ट बन्नु आफैमा क्रान्ति गरे सरह मानिन्थ्यो । राजनीतिको निम्ती जीवन आहुती गर्नु गौरबको बिषय ठानिन्थ्यो । ब्यक्ती, समाज र मुलुकलाई परिवर्तन गर्न जन्मेको नेकपा सर्बसाधारण जनताको उत्सुकताको बिषय बन्दै थियो । सम्पुर्ण जनताको मुक्तीदाता बन्न हतारिएको कम्युनिष्ट पार्टीमा सिद्धान्त र लक्षको बारेमा कुनै बिबाद नरहे पनि कार्यनीति र रणनीतिको बारेमा चर्को बहसले अनिष्ट निम्त्याउँदै थियो । सन १९५७ – १९६२ को रायमाझी कार्यकालबाट बिग्रीन शुरु भएको नेकपा सन १९६२ पछी नेतृत्व समालेका तुल्सीलाल अमात्यले चुस्त दुरुस्त राख्न नसक्दा आफ्नो जीवनको पहिलो खण्ड अनिस्चित भबिश्य निम्त्याउँदै पुरा गर्‍यो । 

पदिय भोक , सिद्धान्तको रोग  र तात्कालिन पञ्चायती सत्ताको घुसपैठले टुक्रा टुक्रा भएको नेपाली वाम आन्दोलन झापा आन्दोलन सँगै नयाँ आसा र भरोषा जगाउँदै जनता माझ देखा पर्‍यो । बिक्रम सम्वत २०२८ देखी २०४६ सम्म भुमिगत राजनीति मार्फत सबै खाले तप्का , वर्ग र मोर्चालाई प्रयोग गर्दै जनताको घर आँगन पुगेको वाम आन्दोलन तमाम न्याय प्रेमी जनताको आषाको केन्द्रबिन्दु बन्न सफल भयो ।यही कालखण्डमा नेपाली वाम नेताले गरेको त्याग , तपस्या , संघर्ष र जनसमर्पणले निर्माण गरेको संगठन र जन भरोषा नै वर्तमानको उपलब्धी हो ।

२०४६ को राजनैतिक परिवर्तन सँगै संसदिय राजनीतिमा होमिएको नेपाली वाम आन्दोलन अन्तत संसदिय राजनीतिको सबै खाले बाइप्रोडक्टलाई स्वीकार गर्न बाध्य भयो । राजकिय सुबिधा जुनसुकै मुल्यमा प्राप्त गर्ने एकमात्र उदेश्यको कारण सिद्धान्तबाट भडकिन सुरुभएको नेपाली वाम आन्दोलन नेतृत्वले पत्तै पाएन वा वास्तै गरेन । कम्युनिष्ट सिद्धान्त र पार्टीलाई केन्द्र भागमा राखेर राजनीति गर्नुको सट्टा केवल राजकिय सुबिधा र कुर्सी प्राप्तिको निम्ती सबै मानिसको निम्ती ढोका खोल्दै साझा चौतारी बनाइयो । बर्ग संघर्षको सट्टा संसदिय प्रतिस्पर्धा र सैधान्तिक प्रतिस्पर्धाको सट्टा गुटगत प्रतिस्पर्था स्थापित गरिएको वाम आन्दोलन रुपमा ठुलो गुण रित्तिएको नेतृत्वले वास्तै गरेन ।

 साम्यवादको सपना बाँडेर जनताको घर दैलो पुगेका नेपाली वाम नेताहरु सामान्तवादले खडा गरेको सम्पुर्ण कुसंस्कार , परम्परा र सिमालाई भत्काउने वकालत गर्दथे । जनवादी बिबाह , दाइजो प्रथाको घोर बिरोध , सर्बसुलभ स्वास्थ्य , शिक्षा , सामुहिकता जस्ता कुरा वाम नेताको पुँजी मानिन्थ्यो । सामान्तवादको चर्को बिरोध गर्दै बिगतमा जनप्रिय नारा दिने वाम नेताहरु पछिल्लो कालखण्डमा आफ्नो बिगत बिर्सन मरिहत्ते गर्दैछन । फलस्वरुप सामान्तवादको बिरोध गर्दै बनाएको छबी सामान्तवादको अभ्यास गर्दै ध्वस्त बनाउँदै छन । नम्र , भद्र , शिष्ट , मितब्ययी , साधारण जीवनशैली जस्ता कुरालाई प्रतिगामी मान्दै छन । नेपाली वाम आन्दोलन स्वर्णकालमा प्रबेश गरेको वर्तमान समयमा बिगतमा आफैले उठाएका , बोलेका , गरेका काम बोझ मान्दैछन ।

 कम्युनिष्ट नैतिकता :

विश्व कम्युनिष्ट आन्दोलनको जन्मदाताहरु मार्फत स्थापित केही मुल्य र मान्यतालाई अत्यन्त कडाईको साथ स्वीकार गर्नु कम्युनिष्ट नैतिकता भित्र अनिवार्य मानिएको छ । समाज परिवर्तन गर्दै क्रान्ती सम्पन्न गर्न हरेक कम्युनिष्ट नेता तथा कार्यकर्ताले आफुलाई समाजमा स्थापित गर्न सामाजिक एवम व्यक्तिगत जीवनमा परिवर्तन गर्नु अनिवार्य मानिन्छ । कम्युनिष्टहरुले अप्नाउने आनी बानी , उनीहरुको व्यहोरा , दृष्टिकोण , संस्कार र संस्कृतीले उनीहरुको नैतिकतामा महत्वपुर्ण प्रभाब पार्दछ । परिवार , नीजि सम्पती ,जात , वंश , नश्ल , गोत्रले कम्युनिष्ट नैतिकतालाई बिचलित गरिरहेको भेटिन्छ ।

बिचारधारा , दर्शन , शिक्षा, मुद्रा , विनिमय , चिकित्सा , न्याय , सुरक्षा , सञ्चार , यातायात , व्यापार , कला , संस्कृती , साहित्य , सेवा , मनोरञ्जन , प्रबन्धन जस्ता बिषय वस्तु माथी जानाकारी राख्दै समाज परिवर्तन गर्न गहिरो अध्ययनको आबश्यकता सहितको कार्यकर्ता तयार गर्न नेतृत्वले किन बुझ पचाई रहेको छ ? शास्त्रीय क्रान्तिकारी साहित्य , परस्पर एकजुटता र मजबुत बिचारधारात्मक आधार सहितको पार्टी कार्यकर्ता निर्माण गर्नुको सट्टा फेसबुक , आइएमविथ , दाई , बा जस्ता शब्दलाई पछ्याउँदै कम्युनिष्ट बनेका कार्यकर्तामा भबिश्य देख्नुको मतलब नेतृत्व बर्ग जानाजान सामन्तवादको जबर्जस्त अभ्यास गर्न मरिहत्ते गरेको पुष्टी हुँदैछ ।

सत्ता संघर्षमा गणिका , बिषकन्या , गोपनिय गुप्तचरको प्रयोग , शशक्त , महत्वपुर्ण  र विश्वसनीय मान्ने सामन्तवादी चरित्र पछिल्लो कालखण्डमा नेकपा नेतृत्वको मुल सिद्धान्त बनेको हेर्न यसको वर्तमान संरचना र काम गराई काफी छ । बिगतमा सामन्तवादको नेतृत्व गरेको राजतन्त्रको बिरुद्ध जिहाद छोडने मुल नेतृत्व आज सेना , प्रहरी वा कर्मचारीलाई दोष दिएर गल्ती छोप्दै अनुहार जोगाउने काइदा गरीबको च्यातिएको कपडा जस्तै भइसकेको छ । झुट , कपट , धोका , अबिश्वास , अधिक सम्मानको लालसा , उपहार लिने दिने सोख , नोकर चाकर राख्ने इच्छा , सुरक्षा घेराको आबश्यकता , पुजा , पाठ , दान , दक्षिणा , आशिर्बाद दिने भोक जाग्नुलाई सामान्तवादको भूत सवार भएको मान्नु उचित हुनेछ ।

पार्टी खुकुरी ,सिद्धान्त धार :

कम्युनिष्टहरु पार्टीलाई खुकुरी र सिद्धान्तलाई धार मान्ने गर्दछ्न । खुकुरी बिना धार सम्भब नहुने र धार नभएको खुकुरीले मार गर्न नसक्ने सर्बस्वीकार्य तथ्य वर्तमान नेकपामा जम्न सकिरहेको छैन । राज्यको श्रोत र साधनको दोहन गर्ने , पार्टी प्यालेस , होटल , रेष्टुरेण्टमा नेतालाई भोज खुवाउने , बिबाह , ब्रतबन्ध , पास्नी , जन्मस्मृती मनाउन भब्य पार्टी दिने , नेतृत्वलाई परिक्रमा गरेर पार्टीमा स्थापित हुने , बुधवार , जनआस्था , साँघु , चक्रपथ डटकम पढेर कम्युनिष्ट हुने नयाँ शैलीले नेकपा धार बिनाको खुकुरी सिबाय केही रहेन भन्नु बाध्यात्मक बनिसकेको छ । 

वामहरुको आगामी बाटो :

अन्याय , अत्याचार , भ्रष्ट्राचारको बिरोध गर्दै गास , बास र कपास सहितको न्यायपुर्ण , प्रगतिशिल र समृद्ध नेपालको स्थापना गर्ने नारा दिँदै राष्ट्रबाद , लोकतन्त्र र जनजिबिकाको निम्ती गरिएका हरेक आन्दोलनको पुरस्कार नेपाली वामहरुले पाइरहेका छन । सामान्तवादलाई पछार्दै भष्ट्राचार र दलाल पुँजीबादसँग सम्झौता गर्न लालायित वाम आन्दोलन पछिल्लो समय जीवनको कठिन मोडमा उभिएको छ । संसदिय लोकतन्त्र र सत्ताको नसामा मस्त नेकपा जनपक्षिय काम गर्न चुक्दै छ । कम्युनिष्ट सिद्धान्तबाट बरालिएको बर्तमान नेतृत्व तत्काल सच्चिदै बर्गिय राजनीति गर्नु अनिवार्य भइसकेको छ । अन्यथा वाम आन्दोलन सामान्तवाद देखी सामन्तवाद सम्म पुगेर टुङ्गिने छ ।

1493 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank