इटावाको ‘घोडाछाप चाय’ र नेपाली लोकतन्त्र !

फरकमत

मङ्लबार, बैशाख १७, २०७६



- दीपेन्द्र पाण्डे

भारतको इटावा रेल स्टेशन बाहिर ‘घोडा चाय’ नामको एक चर्चित चिया दोकान छ । ६५ वसन्त पार गरेका अनिल कुमार गुप्ता उक्त दोकान चलाई रहेका छन् । प्रति कप भारतीय रुपैयाँ एघारमा पाइने ‘घोडा चाय ‘ इटावामा अत्यन्त लोकप्रिय छ । दोकानको नाम ‘घोडा चाय ‘ किन राखियो भन्ने सवाल सुन्नासाथ गुप्ता मन्द मुस्कान सहित जवाफ दिन्छन् । सन् १९९४ मा चिया बनाउन शुरु गर्दा उनलाई लाग्थ्यो कि गधा र घोडाको बीचमा अन्तर छ । उनलाई लाग्थ्यो कि उनको चिया घोडा बन्दै इटावामा नाम कमाउन दौडिने छ । उनी थप्छन । नतिजा अगाडी छ । उनी उम्लिँदै गरेको दुध तर्फ इशारा गर्दै भन्छन् । आम मानिस ४० रुपैयाको दुध लिन्छन् । म ५५ रुपैयामा दुध लिँदै चिया बनाउँछु । म दावाको साथ भन्न सक्छु हाम्रो घोडाछाप चाय नपिउने मानिस इटावामा को बाँकी होलान र ! लोकसभा चुनाव लडिसकेका गुप्ताले भारतीय निर्वाचनलाई लिएर नक्कली चुनावको नाममा एक किताब समेत लेखेका छन । उनले इटावामा चाय पिलाउनमा क्रान्ति मात्र हैन इन्दिरा सरकारले लगाएको संकटकालको विरुद्ध विद्रोह गर्दै जेलको अनुभव समेत संगालेका छन् ।

गधा र घोडाको बीच पक्कै फरक हुन्छ भन्ने सोच गुप्तामा मात्र सिमित रहेन । पञ्चायतको एकदलीय शासन भन्दा प्रजातन्त्र , राजा ज्ञानेन्द्रको बन्द समाज भन्दा लोकतन्त्रमा पक्कै फरक हुन्छ भन्ने सोच जनतामाझ जाग्दा विभिन्न नामको ‘राजनीतिक चिया ‘ नेपाली समाजले स्वीकार गरेको थप चर्चाको जरुरत पर्दैन । भारतीय लोकतन्त्रमा कुलिन वर्गले मात्र जित्ने गुप्ताको कटु अनुभव सरुवा रोग बनेर फैलिएको पछिल्लो अवस्था आवधिक निर्वाचन हुने, बोल्न पाइने, सबै अराजकतालाई जनताले विरोध नगरे सम्म सरकारले लुटन छुट दिनुलाई नयाँ नेपालमा ‘लोकतन्त्रको’ नाम दिइएको छ । चुनावमा भाग लिँदै मतदान गर्ना साथ पाँच वर्ष आफ्नो काम सकिएको महशुस गर्ने लोकतान्त्रिक जनता मुलुकमा मस्तसँग लोकतन्त्रको उपभोग गर्दै छन् । धेरै पैसा तिरे राम्रो हुने र सरकार बदलेपछी सबै काम सकिने सोचबाट ग्रस्त जनता अर्को निर्वाचन कुर्दै लोकतन्त्रको अभ्यास गर्दै छन । राजनीतिक बदलाव असंभव हुनुमा राजनीतिक नेतृत्व जती जिम्मेवार हुन्छ त्यसको कारण जनताको असावधानीलाई मान्न सकिन्छ । प्रोफेसर जिल्स वर्नियरले आफ्नो अनुसन्धानबाट निचोड निकालेका छन कि दक्षिण एसियाको राजनीतिमा हरेक परिवर्तन पछी एक राजनीतिक कुलीन वर्गले जन्म लिन सफल भएको छ ।

०४६ को परिवर्तनसँगै पञ्चायतका खराब पात्रलाई कांग्रेसले काखी च्याप्दै ‘सुनपानी’ छर्किदै प्रजातान्त्रीक बनाएको सजाय मुलुक र प्रजातन्त्रले छिट्टै पायो । कांग्रेस भएपछी सात खुन माफ दिने कांग्रेसी सिद्धान्त वर्तमान समय कम्युनिष्टले सापटी लिएको छ ।०६२ – ०६३ को परिवर्तन पछी दलीय सहमतिको नाममा मुलुकले भोग्न बाध्य पारिएका तमाम विकृति र विसंगतिको नतिजा भटाभट देखिन थाल्दा दुई तिहाईको सरकार विगतको सरकारलाई दोष दिएर चोखो बन्ने असफल कोशीस गर्दै छ । जनता माथी निर्मम दमन गर्ने तप्का, क्षेत्र र व्यक्ति माथी कानुनी कार्बाही सहित किटान गरिएका आयोगको रिपोर्ट थन्काउँदै तीनै खराव पात्र र प्रवृतिलाई प्रजातन्त्र र लोकतन्त्रले पुरष्कृत गर्दै संवैधानिक अंगमा पुर्याइयो । जीवनभर खुराफात र गुलामी गर्न मात्र जानेका व्यक्ती पुरष्कृत हुनासाथ देश र जनतालाई कसरी धोका दिन सकिन्छ ? भन्ने शिक्षा ‘गुरु भेटी’ स्वरुप तीनै पात्रबाट प्राप्त गर्दै मुलुक चलाउँदा अख्तियार, सर्वोच्च अदालत, प्रहरी प्रशासन, कर्मचारी प्रशासन ध्वस्त हुन पुग्यो । सिंहदरबारको ढोका समेत नदेखेका राजनीतिक व्यक्तिहरु पुरष्कृत पात्र र कर्मचारीको गुलियो र रकमी भाषामा मन्त्रमुग्ध हुँदै लोकतन्त्रको ‘चिरहरण’ गर्न तम्सिए । फलस्वरुप नेता, कर्मचारी र व्यापारीको मिलीभगतमा मच्चाइएका आर्थिक अपराधहरु दिन प्रतिदिन जनता माझ आइपुग्दा राजनीतिक नेतृत्व र लोकतन्त्रको जग हल्लिएको छ ।

बदाम बेच्ने, हरिया मकै पोलेर बेच्ने, पाकेट मार्नेले सजाय पाउने तर राज्यको संवैधानिक निकायमा बस्दै गरेका तमाम अपराधहरु राजीनामा दिएसँगै सकिने लोकतन्त्र कसरी जनताले जोगाउँछ ? सवाल गम्भिर छ । सामान्य कर्मचारीले हजार रुपैयाँ घुस खाँदा तुरुन्त जागिर चट हुने, अख्तियार कै आयुक्तले लाखौं खाँदा पर्खिन पर्ने कस्तो न्याय प्रणाली स्थापित गरिदै छ ? राज्य आफै आर्थिक अपराधमा मुछिने, मिडियामा कुरा चुहिए पछी कारबाहीको नाटक गर्ने विचित्रको लोकतन्त्र लाज छोप्न नसक्ने अवस्थाबाट गुज्रीदै छ । शान्ति , स्थिरता, समृद्धि बाहेक सुन्न पनि नचाहने वाम सरकार कता बरालियो ? सोच्ने फुर्सत कसैलाई छैन । प्रधानमन्त्रीको सिको गर्दै धमाधम तिथी र मिती नै तोकिएका काम र कुरा बेवारिसे बन्दा नेकपा र सरकार मध्य ‘को छिटो’ अलोकप्रिय हुने आन्तरिक प्रतिस्पर्धा चलेको मान्न सकिन्छ । निर्मला केसमा रक्षामन्त्री, मेलम्चीमा पानी मन्त्री, सिण्डीकेटमा गृहमन्त्री, खाल्डा खुल्डीमा भौतिक पुर्वाधार मन्त्री , काठमाण्डौको धूलोमा पार्टी अध्यक्ष नै चुक्दा पार्टी र सरकारको विश्वसनियता कहिले र कसले नाप्ने ? कतै बाट जवाफ मिल्ने छैन ।

तामझाम साथ एउटा गोबरग्यास उदघाटन गर्नासाथ ग्यास सिलिन्डर बोक्ने जमाना गयो भन्दै प्रधानमन्त्री र भक्तहरु रमाउँछन् । एउटा स्याटेलाइट उडाउने बित्तिकै नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्यो भन्छन् । दुई चार वटा खुला मन्चको छाप्रो भत्काउने बित्तिकै अब अतिक्रमित युग सकियो भन्छन् । उहाँले त छैटौंबाट किन्नु भएको रहेछ । पहिलो दोश्रोलाई भए पो कारबाही गर्ने ? उहाँको जग्गा चोखो हो भन्दै अलाप बिलाप गर्छन । चिनी व्यापारीले ओली जस्तो चतुर प्रधानमन्त्रीको कानमा चिनी हाल्न सफल हुने लोकतन्त्रमा पार्टी महासचिवले पुर्व प्रधानमन्त्री माधवलाई के के गरे होलान? निर्वाचित महासचिवलाई किनारा लगाउँदै वामदेव र प्रचण्डको मन पगाल्न सक्ने बक्सिस महासचिवले आफ्नो भविष्य जोगाउन नेकपा त के लोकतन्त्र समेत बन्धकी राख्न सफल हुनेछन भन्ने गाँई गुँई लोकतन्त्रको कान सम्म पुग्दै छ ।

राजाको शासन देखी गणतन्त्रसम्म प्रिय हुन सक्ने पात्र र प्रवृतिले मौका र सम्मान पाउने लोकतन्त्रमा भाषण, आश्वासन र शासन मात्र जनताको भागमा परेको छ । गाउँ खाली गराउने, शहर भराउने, अनि गाउँ गाउँमा सिंहदरबार पुर्याउने संघीय लोकतन्त्रमा मुलुक दुब्लाउने राजनीतिक अनुहार मोटाउने विचित्रको उपलब्धि संविधानमा अंकित गरिएको छ । हामीले खोजेको लोकतन्त्र अमेरिका, रुस र चीन जस्तो हैन, थिएन । सहभागिता मुलक , सहअस्तित्व र सामुहिकता , बिधी , प्रकृया , कानुनको सर्वोच्चता चल्ने जन उत्तरदायी , पारदर्शी लोकतन्त्र हो । तर सत्ता उन्मादमा जनताको इच्छा , चाहना र आवश्यकता सबै धुलीसात बनाउने राजनीति मुलुकमा हाबी हुँदै छ । विगतमा भएका तमाम खराबीलाई रोक्दै सर्वसाधारण जनताले महशुस गर्न सक्ने लोकतन्त्र फेरी पनि राजनीति, व्यापारी , दलाल र कर्मचारीको ‘रखैल ‘ बन्न राजी भएसँगै उनीहरुको काला कर्तुत मिडियाले पस्केको पस्कै छन ।

मुलुकमा पञ्च छाप , काँग्रेस छाप , कम्युनिष्ट छापका प्रजातन्त्र देखी लोकतन्त्र सम्म आइपुग्दा पनि ‘जनता छाप’ लोकतन्त्र आउन सकेन । काँग्रेस देखी कम्युनिष्ट सम्म , कृष्णप्रसाद देखी खडगप्रसाद सम्म आइपुग्दा बेथीतीहरु घटनुको साटो सगरमाथा बन्ने कारण राजनीतिक दलहरुले आज पर्यन्त खोज्ने जमर्को समेत गरेका छैनन् । काँग्रेस देखी कम्युनिष्टहरुले पारम्परिक कुलिनहरुको सेवामा लोकतन्त्र बिसाउँदा उनीहरुले कुर्सी पाउने र कुलिनहरुले आफ्ना बैध अबैध धन्दा मार्फत लोकतन्त्रको असली स्वाद लिन सफलता प्राप्त गरेका छन । फलस्वरुप आवधिक निर्वाचन मार्फत जनताले व्यक्ती बदलेर केही प्राप्त गर्ने छैनन् । फगत कुर्सीको निम्ति सबै त्यागेका राजनीतिक दलहरुको जनताको हित र सिद्धान्तसँग नाता टुटिसकेको छ । तपाँई सुक्ष्म अध्ययन गर्नुस । थाहा पाउनु हुनेछ । राजनीति विचारबाट अनुहारतिर आकर्षित भइसकेको छ । भारतमा मोदी र नेपालमा ओली पछिल्लो उदाहरण हुन । निर्वाचनमा उम्मेदवार गौण भए पनि मुलुकको संसाधन माथी नियन्त्रण र विस्तार प्रक्रियामा व्यक्ती महत्वपूर्ण बन्दै लोकतन्त्रको धज्जी उडाएको वर्तमान लोकतन्त्रले कम्तिमा विगतको शासन सत्तालाई माथ नगरोस भन्ने अवस्थामा इटावाको ‘घोडाछाप चाय ‘ र नेपाली लोकतन्त्र ! एकै बन्न पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank