अन्तराष्ट्रिय श्रमिक महिला दिवसको स्थापना र महत्व

नारी दिवस विशेष

शुक्रबार, फाल्गुन २४, २०७५



- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र

सन् १७८९ अक्टोबर ५ र ६ मा पेरिसका श्रमजीवी महिलाहरूले रोटी र महंगीको विरोधमा निकै ठूलो प्रदर्शन गरेका थिए । त्यो प्रदर्शनमा फ्रान्सेली क्रान्तिको प्रभावमा पर्सियन महिलाहरूले भातृत्व,समानता र स्वतन्त्रताको माग गर्दै दरबार अगाडि प्रदर्शन गरेका थिए । त्यो नै विश्वमा महिलाहरूले गरेको पहिलो विरोध र प्रदर्शन थियो।

सन् १८३२ मा हल्यान्डका महिलाहरूले असमान व्यबहार , असमान तलब भत्ताको विरोधमा आन्दोलनमा उत्रिए । त्यस्तै गरि सन् १८३५ मा बोस्टनका श्रमिक महिलाहरूले १२ देखि १४ घन्टाको कामको विरोध गर्दै १० घन्टा मात्रै काम माग गर्दै आन्दोलन शुरू गरे । त्यसको केही हप्ता अगाडि १० घन्टा कामको माग गर्दै फिलाडेल्फियाका सार्वजनिक र निजी क्षेत्रका श्रमिकहरूले गरेको आन्दोलनले सफलता पाएको थियो । माग त सफल भयो तर त्यस बेला परेको आर्थिक मन्दीको कारण सो अधिकार गुम्ने अवस्था सृजना भयो र गुम्यो । सन् १८३७ देखि सन् १८४१ सम्मको अवधिसम्म परेको आर्थिक मन्दीको प्रभाव सन् १८६० सम्म रह्यो । त्यहि मन्दीको कारण देखाएर श्रमिकहरूलाई कामको घण्टा बढाएर ११ घन्टा दैनिक काम गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरियो ।

सन् १८४८ देखि नै अमेरिकाका महिला श्रमिकहरूले महिला कामदारहरूलाई समान अधिकार साथै पुरूष द्वारा गरिने शोषणको अन्त्य,समान शिक्षा,पढाउने तथा कमाउने अधिकार र समान मताधसमानको माग गर्दै एउटा घोषणपत्र नै तयार गरे । सन् १८६४ मार्च ८ को दिन पारेर कामको समय घन्टा घटाएर ८ घन्टा मात्रै हुनुपर्ने विषयलाई उठाउँदै न्युयोर्कस्थित कारखानाहरूमा महिलाहरूले व्यापक प्रदर्शन गरे ।यसरी विरोधका साथसाथै सन् १८६४ मा अन्तर्राष्ट्रिय स्तरको श्रमिकहरूको संगठनको पनि माग राखे । अन्तराष्ट्रिय श्रमिक संगठनको स्थापना पछि त्यसको पहिलो अधिवेशनले महिलाहरूलाई घरभित्रको काममा मात्रै सिमित गराउने परम्पराको विरोध गर्दै महिलालाई पेसागत काममा प्रवेश गराउने विषयलाई पास गर्यो ।

त्यस बेला सम्म वेलायतमा १ जमिनदार मत बराबर ५ किसानको,५ पुँजीपति बराबर १५ मजदुरको मत मानिने अवस्था थियो तर महिलाको मताधिकारको ब्यवस्थाप नै थिएन । महिलाहरूलाई मानिसको रूपमा स्थान नै दिइदैन थियो । सन् १८६७ मा महिलाको मताधिकारको कुरा अमेरिकाको मेनचेस्टरमा जोडदार रूपमा उठ्यो र त्यसको सम्बोधन स्वरूप कार्यदल पनि बन्यो ।सो कार्यदलको सिफारिसको आधारमा सन् १८६७ मै अमेरिकी संसदमा महिला मताधिकारको विल दर्ता भयो ।यसरी दर्ता भएको विल अमेरिकी संसदबाट पास भएर सन् १८६८ मा संयुक्त राज्य अमेरिकाको छ वटा संघीय राज्य र अन्य धेरै शहरहरूमा आठ घण्टा कामको कार्य अवधीलाई स्विकार गरि कानून पनि पास भयो । यसरी व्यवस्था गरिएको कानुनी प्रावधानलाई कार्यन्वयन गर्न सजिलो र दवाव पनि सृजना होस भनेर आठ घण्टा कार्य अवधि अनिवार्य लागू गर्नु पर्ने विषयलाई प्राथमिकतामा पारेर राष्ट्रिय अभियान सञ्चालन गरियो त्यहि राष्ट्रिय अभियानबाट संकलन गरिएको हस्ताक्षरहरू अमेरिकी कंग्रेसमा पेस गरियो ।

परिणाम स्वरूप संघीय राज्यका श्रमिकहरूका लागि ८ घण्टा कामको कार्यअवधि तोकिएको छुट्टै कानूनको निर्माणका गरेका थिए । सो कानूनको कार्यान्वयन गर्न अनकनाएका र अरू बाँकी संघीय राज्यका लागि कानून र बनेको कानूनको अविलम्ब कार्यान्वयनका लागि अमेरिका र क्यानाडाका श्रमिक संगठनले व्यापक विरोध प्रदर्शन गरे । अमेरिकाको शिकागो शहरमा भएको सो प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपले सय भन्दा बढी सहादत भएका थिए । यस्तो निर्मम दमनको विरोधमा सन् १८८९ मा पेरिसमा श्रमिकहरूको ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन भयो । यस सम्मेलनबाट मे १ लाई अन्तराष्ट्रिय मजदुर दिवसको रूपमा घोषणा र श्रमिकको कामको कार्यअवधि ८ घण्टा तोकिनु पर्ने माग राख्दै संसार भरका मजदुरले यो मागलाई आफ्नु माग बनाएर आन्दोलन गर्न आव्हान पनि गरियो ।

महिला कामदार माथि श्रम क्षेत्रभित्र रहेको र हुने श्रम शोषणको विरूद्द सबै श्रमिकहरू सहित विषेश गरेर महिला श्रमिकहरू एक हुनु पर्दछ भन्ने मान्यता अनुरूप सन् १९९० मा महिला मताधिकार सम्बन्धि संगठनहरूले एक हुनुपर्ने आवश्यकता महशुस गरे । अधिकारका लागि कार्यरत तर भिन्न भिन्न संगठनको निर्माण गरि फरकफरक कार्य गरिरहेका यस्ता संगठनहरूले सहकार्यका लागि शक्ति आर्जन गर्न पर्दछ भन्ने महसुस गरि सन् १९९० मा महिला मताधिकार सम्बन्धि अधिकारलाई प्राथमिकतामा पारेर सहकार्य गर्न तयार भए । त्यस बेला विश्वको श्रमजीवी आन्दोलन पनि दुई खेमामा विभाजित भइसकेको थियो । यसरी आफुहरू विभाजित हुदा आफ्ना अधिकार प्राप्त गर्न कठिन हुन्छ भन्ने महसुस महिला संगठनहरूले नै पहिचान गरे र पुजीवादी तथा सर्वहारा सहित अन्य स्वतन्त्र रूपमा रहेका महिला संगठनहरू महिलाको मताधिकारको पक्षमा आन्दोलित भए । फलस्वरूप सन् १८९३ महिलाले मताधिकारको अधिकार प्राप्त गरे ।

सन् १८९२ देखि क्लाराजेट्किनको यस आन्दोलनमा सक्रिय भुमिका देखिन थाल्यो । क्लाराको नेतृत्वमा समानता नामक पत्रिका मार्फत महिलाहरूका अधिकारका विषयमा मागहरू राख्दै महिला श्रमिकहरूको आन्दोलन अगाडि बड्यो । सन् १८९७ मा महिलालाई उचित ज्याला र दैनिक १० घन्टा कामको माग गरियो । सन् १८८९ १९ जुलाईको दिन पेरिसमा भएको दोस्रो अन्तर्राष्ट्रियमा क्लाराजेट्किनले महिलाहरूको समस्याहरूको सम्बोधनको विषयमा सम्बोधन गरिन् । क्लाराले सो सम्बोधनमा महिलाको अधिकार,आमा र बच्चाको संरक्षणको अधिकारका साथै महिलाहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय क्रियाकलापमा सहभागिताको विषयमा पनि वकालत गरिन् । त्यहि समयमा जर्मनको स्टुटगार्डमा महिला श्रमिकहरूको दोस्रो सम्मेलन भयो । त्यो सम्मेलनले क्लारालाई महासचिवको जिम्मेवारी दियो । सन् १९०८, ८ मार्चको दिन पारेर पुनः मताधरकारको माग गर्दै सघर्ष शुरू भयो ।सन् १९०९ आट मार्चमा शिकागो शहरमा लाखौंलाख महिलाहरू प्रदर्शनमा उत्रिए । प्रदर्शनको विरूद्द व्यापक प्रहरी हस्तक्षेप र निर्मम दमन गरियो । झन्डै तीस हजार महिलाको कत्ले आम गरियो । यसको विरोधमा सन १९१० मा क्लाराको नेतृत्वमा समाजवादी महिलाहरूको दोस्रो सम्मेलन डेनमार्कको कोपनहेगनमा सम्पन्न भयो । १७ वटा समाजवादी देशका राजनीतिक महिलाहरूको सहभागिता सो सम्मेलनले आट मार्चलाई महिलाहरूको संघर्षबाट प्राप्त उपलब्धिहरूको ऐतिहासिक दिनको रूपमा घोषणा गरे ।

यसरी हेर्दा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र महिला अधिकारको विषय निकै महत्त्वपूर्ण विषय रहेकाे देखिन्छ। अधिकार कानूनी,सामाजिक वा नैतिक मुल्यमा भएको व्यक्तिको हक हो । यस्तो हक महिला र पुरूष दुबैका लागि समान अवधारणाको भावनाको विकास हुनु पर्छ भन्ने मान्यताबाट विकास भएको हो । महिला या अन्य पहुँच बाहिरको जनसख्या कम्जोर रहेको अवस्थामा समाज र देशको विकास हुन सक्दैन । शोषण र अन्याय रहे सम्म समाजले सामाजिक न्याय पाउन कठिन हुन्छ । त्यसैले असमानता र विभेदको अन्त्य गरि समाजमा महिलाहरूलाई समान बनाउनका लागि राज्यले सकारात्मक भमिका , नीति ,नियमको निर्माण र प्रभावकारी कार्यान्वयनमा ख्याल राख्नु पर्छ भन्ने कुराको ध्यानाकर्षण गरायो । साथै आम जनसमुदायमा यस्ता सकारात्मक सोचको अवधारणा विकास गराउन र महिलाहरूको क्षमता वृद्धि गर्न विषेश कार्यक्रमका रूपमा समावेशी समानुपातिक सहभागिताको विषयलाई संविधान मै व्यवस्था गर्यो । यी र यस्ता कार्यक्रमहरू राज्यको तल्लो निकाय सम्म पुग्न सके भने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्व बढ्नुका साथै लैंगिक समानताका लागि समान सोंच र व्यवहरको विकास भई महिलाहरूको समृद्धिको आधार पनि बन्नेछ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना !!!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata