कोरोना आतङ्कको आर्थिक प्रभाव

बुधबार, चैत्र १२, २०७६



- डा. गोन्दिबहादुर थापा

मानिसहरूले मानिसहरूकै लागि आर्थिक गतिविधि गर्दछन् । केही अपवादलाई छोडेर आर्थिक गतिविधिको किसिम र आकारको आधारमा त्यो गतिविधिको सम्पर्कको दायरा निर्धारित हुन्छ । यसै आधारमा कसैको सम्पर्क र कारोबार अन्तर्राष्ट्रिय स्तरमा व्यापक हुन्छ भने कसैको आन्तरिक बजारमा सङ्कुचित हुन्छ । त्यसैले जब मानिसहरू घर भित्रै रहन बाध्य हुन्छन् भने धेरै किसिमका र आकारका आर्थिक गतिविधिहरू खुम्चिनु स्वाभाविक हुन्छ । यतिखेर विश्वका धेरै देशमा यस्तै भएको छ । कोभिड—१९ को कारणले विश्व अर्थतन्त्र खुम्चिँदै गएको छ । तर यो कारणले अर्थतन्त्र कतिसम्म खुम्चिनेछ भन्ने कुरा अहिल्यै अनुमान गर्नु अलि हतार हुनेछ । किनभने यो भाइरस अहिले फैलिने क्रममै छ र चीन बाहेक अन्य मुलुकमा यो नियन्त्रणमा आएको समाचार आएको छैन । अमेरिकाका केही अर्थशास्त्रीहरुले यो भाइरसको प्रभाव सन् १९२९—३३ को महामन्दी, जुन ग्रेट डिप्रेसनको नामले प्रसिद्ध छ, को भन्दा गम्भीर हुने आकलन गरेका छन् । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको, विकसित र शक्तिशाली देश अमेरिकामा साना र मध्यम स्तरका कम्पनीहरू धमाधम बन्द भइरहेका छन् । शेयर बजार लगातार तल झरिरहेको छ, बेरोजगारी दर तीव्र रूपमा बढिरहेको छ । विगत दुई त्रैमासमा त्यहाँको गार्हस्थ्य उत्पादन लगातार घटिरहेकोले त्यहाँ मन्दीको स्थिति रहेको भनिएको छ र घट्ने गति झन् झन् बढिरहेको छ । युरोपको स्थिति अमेरिकाको जत्तिकै भयावह छ । साझा मुद्रा रहेका युरोपियन क्षेत्रका सीमाहरू धमाधम बन्द भइरहेका छन् । कोरिया, जापान, अस्ट्रेलिया आदि मुलुकमा पनि यसको प्रभाव गम्भीर हुँदै गएको छ ।
यतिखेर सबै कुरा छोडेर आफ्ना नागरिकहरूको ज्यान जोगाउनुमा नै सबै मुलुकको सम्पूर्ण ध्यान केन्द्रित भएको अवस्था छ, जुन जरुरी पनि छ । तर यसो भनेर देशको आर्थिक गतिविधिलाई मर्न दिनु नहुने बाध्यता पनि छ । नेपालको अवस्था पनि अरू देशको भन्दा भिन्न छैन । सरकारको ध्यान यो सङ्क्रमण रोक्नमै केन्द्रित भएको छ । त्यसैको लागि देशभरि ‘लकडाउन’ गरिएको छ र यसो गर्नु जरुरी पनि थियो । यो स्थितिमा अर्थतन्त्रको कुरा गर्नु नै अप्रासङ्गिक जस्तो देखिन गएको छ । तर पनि अर्थतन्त्र भनेको जस्तै परिस्थितिमा पनि उपेक्षा गर्न नहुने विषय भएकोले यो आपत्कालले समग्र अर्थतन्त्र र यसका विभिन्न क्षेत्रमा कस्तो असर पार्ला र त्यसलाई जोगाउन के गर्नु पर्ला भन्ने मोटामोटी आकलन यो आलेखमा गरिएको छ ।

नेपालको अर्थतन्त्रको २७ प्रतिशत अंश ओगटेको कृषि क्षेत्रका अधिकांश गतिविधिलाई न २०७२ को महाभूकम्पले खासै असर गर्‍यो न अहिलेको महामारीले नै पार्ने देखिन्छ । नेपालको कृषि क्षेत्र अधिकांश रूपमा ग्रामीण र निर्वाहमुखी भएकोले पनि यसो भएको हो । तर यसले दैनिक रूपमा बजारमा आउने अत्यावश्यक तर नाशवान् बस्तुहरूको पनि उत्पादनमा भन्दा पनि बजारीकरणमा केही अप्ठ्यारो अवश्य पारेको छ । यो बेला बिचौलियाहरूको सक्रियता नहुने हो भने उत्पादक किसानहरूले आफ्ना उत्पादनको राम्रो मूल्य पाउने बेला पनि हो । किनभने बजारमा ताजा तरकारीको मूल्य यतिखेर आकासिएको अवस्था छ । तर मौका ढुकेर बस्ने बिचौलिया र व्यापारीहरूको सदाबहार प्रवृत्ति हुने भएकोले त्यो मूल्यबाट बिचौलिया, थोक र खुद्रा व्यापारीहरू नै लाभान्वित भइरहेको हुनु पर्दछ । उत्पादक किसानलाई कौवाको लागि बेल पाके बराबर भएको हुनु पर्दछ ।

नेपालको अर्थतन्त्रमा ५.३९ प्रतिशत योगदान पुर्याईरहेको उत्पादनशील उद्योग क्षेत्र अन्तर्गत धेरै कामदार एकत्रित हुने ठुला उद्योगमा केही व्यवधान उत्पन्न भएको हुन सक्दछ । तर साना तथा मझौला उद्योग कमै मात्र प्रभावित भएको हुनु पर्दछ । ढुवानी सेवा सुचारु राखिएकोले उत्पादनको बजारीकरणमा खासै समस्या नहोला । तर बाहिरबाट आयात गर्नु पर्ने कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरूलाई समस्या परेको हुनु पर्दछ । तर लकडाउन भएपछि सबै किसिमका उद्योगहरू प्रभावित हुनु स्वाभाविक छ ।

यसरी यो भाइरसबाट कृषि र उत्पादनशील उद्योग क्षेत्रभन्दा सेवा क्षेत्र नै सुरुमै र बढी प्रभावित क्षेत्र भएको छ । त्यस अन्तर्गत पनि होटेल, रेष्टुँरा, रिपोर्ट, टुर्स र ट्राभल, हवाई सेवा र प्रबता रोहण क्षेत्र हदैसम्म प्रभावित भएका छन् । काठ्माण्डौका कतिपय पाँच तारे होटेल बन्द नै भएका छन् भने राजधानीका अन्य होटेल रेष्टुँरा र मोफसलका यस्तै सेवाहरूको अवस्था पनि फरक छैन । देशै लकडाउन भएपछि त बन्द गर्नुको विकल्प नै भएन । पर्यटन हबको रूपमा पहिचान बनाएका पोखरा, लुम्बिनी, चितवनको सौराहा र काठ्माण्डौको ठमेलमा सन्नाटा छाएको छ । हिमाल आरोहणको सिजनमा नै आरोहण रद्द गर्न सरकार बाध्य भएको छ । पदयात्राको अवस्था पनि त्यस्तै छ । सम्पूर्ण पर्यटन गतिविधि नै लगभग ठप्प भएपछि टुर्स र ट्रोभेल व्यवसाय सुचारु हुने कुरै भएन । हवाई सेवाको अवस्था झन् चर्को छ । बाह्य र आन्तरिक दुवै हवाई सेवा बन्द भएपछि यो सेवाको अवस्थाको कुरै गर्नु परेन । नेपालको मात्र होइन अन्तर्राष्ट्रिय हवाई सेवाको क्षेत्र नै डावाँडोल अवस्था छ र भनिएको छ कि आउँदो मई महिनासम्ममा पनि अवस्थामा सुधार भएन भने कतिपय विमान कम्पनीहरू टाट पल्टिने छन् । पछिल्लो लकडाउनबाट त यो सेवाको ढाडै भाँचिने भएको छ । यसरी विमान कम्पनीहरू जीवन मरणको अवस्थामा पुगेका छन् ।

तर यसमा यो पक्ष पनि छ कि अर्थतन्त्रमा पाँच प्रतिशतभन्दा कम योगदान पुर्‍याउने समग्र पर्यटन क्षेत्र जतिसुकै प्रभावित हुन पुगे पनि समग्र अर्थतन्त्रमा त्यसको प्रभाव सामान्य मात्र हुनेछ । तर यो क्षेत्र नेपालको सापेक्षिक लाभको क्षेत्र भएको र यसमा बैङ्किङ क्षेत्रको ठुलो लगानी हुनुको साथै उल्लेख्य रोजगारी पनि दिने आधुनिक क्षेत्र पनि भएकोले राज्यले यो क्षेत्रको लागि आकर्षक राहत प्याकेज ल्याउनु जरुरी छ । तर बैङ्कहरूलाई धेरै मर्का पर्ने गरी राहत दिँदा एउटालाई बचाउन अर्काको प्राण लिने जस्तो हुनु हुँदैन । यो दायित्व विमान कम्पनीहरू, बैङ्कहरू र राज्यले संयुक्त रूपमा बहन गर्नु बुद्धिमानी हुनेछ ।

अर्थतन्त्रको १३ प्रतिशतभन्दा केही बढी अंश ओगटेको सेवा क्षेत्र अन्तर्गतको महत्त्वपूर्ण खाद्य र औषधोपचार सामाग्री बाहेकको थोक तथा खुद्रा व्यापार क्षेत्र पनि यो महामारीबाट कम प्रभावित भएको छैन । लकडाउन पछि त यो क्षेत्रको पनि ढाड नै खुस्केको छ । मानिसहरू घर बाहिर ननिस्केपछि, सहरका सधैँ व्यस्त रहने बजारहरूमा सन्नाटा छाएपछि, सपिङ्गमलहरु बन्द भएपछि, धेरै व्यापार हुने काठमाडौँबाट ५,६ लाख मानिस गाउँ फर्किएपछि र लकडाउन नै भएपछि व्यापार त शून्यमा झरेको छ भन्नु पर्दछ । यहाँ रहने मानिसले मौज्दात राखेकाले नुन, चिनी, ग्यास लगायत अत्यावश्यक खाद्य सामाग्री बढी बिक्री भएको पक्कै होला तर यसबाट पछि कम बिक्री हुने हुन्छ । तर गाउँ फर्केका त्यत्तिका मानिसहरूले गर्ने खरिद त घट्यो नि १ साथै महिनौँदेखि उत्तरी नाका र अहिले दक्षिणी नाका बन्द भएपछि व्यापारमा गम्भीर धक्का लाग्ने कुरा स्वतः स्पष्ट छ । तर माग बमोजिमको आपूर्तिलाई सहज पार्ने र उपभोक्ताहरूलाई काला बजारियाबाट जोगाउने बाहेक यो क्षेत्रमा राज्यले केही गर्नु नपर्ला कि ।

केही समयलाई भए पनि धेरै मानिसले बसेको ठाउँ छोडेकाले अर्थतन्त्रमा ७.९७ प्रतिशत योगदान गर्ने यातायात तथा सञ्चार क्षेत्रमा सुरुमा खासै प्रभाव नपरेको भए तापनि लकडाउन सुरु भएपछि भने गम्भीर धक्का लागेको छ । सञ्चार क्षेत्रमा त सकारात्मक प्रभाव परेको अनुमान गर्न सकिन्छ । अर्थतन्त्रको तेस्रो ठुलो क्षेत्र रियल ई स्टेट (११.३७ प्रतिशत) केही प्रभावित हुनेछ । समग्र आर्थिक गतिविधिमा सङ्कुचन आएपछि त्यसको प्रभाव रियल ई स्टेट क्षेत्रमा पर्नु स्वाभाविक हुन्छ । तर यो प्रभाव उल्लेख्य भने हुने देखिँदैन ।

अर्को गम्भीर प्रभाव पर्ने क्षेत्र वित्तीय मध्यस्थता क्षेत्र हो । अर्थतन्त्रमा ६.३३ प्रतिशत योगदान गर्ने यो क्षेत्रबाट यो वातावरणमा नयाँ लगानी हुन नसक्ने र पुरानो लगानीबाट किस्ता असुली पनि हुन नसक्ने हुँदा यो क्षेत्रको मूल्य अभिवृद्धिमा ठुलै धक्का लाग्न सक्ने सम्भावना छ । त्यस्तै अर्थतन्त्रमा १०.१५ प्रतिशत अंश रहेको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खासै असर पर्ने देखिँदैन । स्वास्थ्य क्षेत्रमा त औषधोपचारको क्षेत्र भएकोले सकारात्मक प्रभाव पर्न सक्छ ।

यो आतङ्कको सबैभन्दा गम्भीर असर सरकारको राजस्वमा पर्नेछ । व्यापार व्यवसायमा व्यापक सङ्कुचन आउने भएकोले सरकारलाई प्राप्त हुने कर र गैर कर राजस्वमा ठुलो कमी आउने छ र पहिले नै कटौती गरिएको राजस्वको लक्षभन्दा यथार्थ निकै पछि पर्नेछ । तर आपत्कालमा सरकारले पैसा छैन भन्न नपाउने भएकोले विकास खर्चमा कटौती गरेर र ऋण लिएर भने पनि आवश्यक साधन जुटाउनु पर्नेछ । वैदेशिक रोजगारीमा जान रोकिएको र कतिपय वैदेशिक रोजगारदाता मुलुकहरूले विदेशी कामदारहरूलाई लामो समयसम्म पारिश्रमिक दिएर पाली राख्न नसक्ने भएकोले रेमिटेन्स आप्रवाह घट्ने भए तापनि विदेश भ्रमण नियन्त्रित भएकोले विदेशी मुद्राको खर्च घट्ने र नेपाली मुद्राको अमेरिकी डलर सङ्ग भारी मात्रामा अवमूल्यन भएकोले नेपाली मुद्रामा विदेशी मुद्राको संचितिमा खासै असर पर्ने देखिँदैन ।

यो आपत् काल कति लम्बिने हो भन्ने कुरा अनिश्चित भएता पनि अहिलेसम्मकै स्थितिमा पनि देशको अर्थतन्त्र यस आर्थिक वर्षमा ५ प्रतिशतको हाराहारी भन्दा माथि जान नसक्ने र लम्बिएमा अझ तल झर्ने जोखिम छ । यसो हुँदा यो कोरोना भाइरस आतङ्कबाट नेपालमा गरिबी र बेरोजगारी बढ्ने देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments