राजनीतिमा राजनीतिक क्याटालिष्ट सहज कि असहज

सोमवार, असार ३२, २०७५



- डा.ज्ञानेन्द्रबहादुर कार्की

राजनीतिक मुद्दाहरु, राजनीतिक आन्दोलन तथा राजनीतिक उताव चढावमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भएर राजनीतिक परिवर्तनको गतिमा महत्वपूर्ण भूमिका निभाउने तर सहभागी भएको कारण आफ्नो भौतिक तथा अन्य कुनै गुण स्वभावमा परिवर्तन नहुने शक्तिलाई नै राजनीतिक उत्प्रेरक (Political Catalist) भनिन्छ ।

राजनीतिक क्याटालिष्टहरुले राजनीतिक परिवर्तनको गति, राजनीतिक गतिविधिको तापमानको मात्रा घटबढ गराउने काममा सक्रिय हुन्छन् तर अन्त्यमा राजनीतिकरुपमा भने उसलाई कुनै असर पर्दैन । खासगरी राजनीतिक क्याटालिष्टहरु आफ्नो स्वार्थ पूर्ति गर्न सकारात्मक तथा नकारात्मक रुपमा प्रस्तुत हने गर्दछन् । राजनीतिक क्याटालिष्टहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै किसिमका हुन्छन् र राजनीतिक गतिविधि संचालन हुने जुनसुकै ठाउँमा आवश्यकताको आधारमा गतिविधि बढाएर सक्रिय हुने गर्दछन् । सरकार बनाउने देखि लिएर सरकार गिराउने, पार्टी एकिकृत गर्ने देखि लिएर पार्टी फुटाउने, शान्ति स्थापना गर्ने देखि अशान्ति फिजाउने, राजनीतिक स्थिरता कायम गराउने देखि अस्थिरता कायम गराउने आदि विविध गतिविधिमा क्रियाशील हुन्छन् ।

सकारात्मक राजनीतिक क्याटालिष्टहरुले असल सोचका साथ राम्रो उपलब्धी हासिल गर्न एक जुट गराउने, सफलताको लागि आत्मबलको विकास गरिदिने, मध्यस्ताकर्ताको रुपमा काम गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नैतिक समर्थन जुटाई दिने जस्ता असल काममा सक्रिय भूमिका खेल्दछन् । जनताका पक्षमा भएका आन्दोलन हुन् वा जनताका हितमा रहेका राम्रा काम हुन, त्यसलाई सफल बनाउन सहयोग गर्ने क्याटालिष्टहरु नै सकारात्मक क्याटालिष्टहरु हुन् । ती क्याटालिष्टहरुले नै असल मित्रको भूमिका निर्वाह गरिरहेका हुन्छन्, चाहे ती राष्ट्रिय स्तरका हुन् वा अन्तर्राष्ट्रिय स्तरका हुन् । क्याटालिष्ट कतिपय अवस्थामा व्यक्ति, गुट, समूह र पार्टीको हितलाई अगाडि सारेर सक्रिय बन्छन् र अन्त्यमा देश र जनताको हित विपरीत मात्र परिणाम ननिकालेर तिनै व्यक्ति, गुट, समूह र पार्टीलाई वर्वाद पारिदिन्छन् । सुरुमा सकारात्मक क्याटालिष्टका रुपमा छिरेर अन्त्यमा नकारात्मक क्याटालिष्टको भूमिका पनि निभाउने गर्दछन् ।

यस्तै पार्टीहरुबीचको सम्बन्ध बिगार्ने, सरकार र प्रतिपक्षबीचको सम्बन्ध बिगार्ने, सरकारमा सहभागीहरुलाई फुटाउने, देशहरुबीचको कुटनीतिक सम्बन्ध बिगार्ने, आपसी भैइ झगडा गराउन सहयोग गर्ने, जनताका पक्षमा उठेका आन्दोलनलाई निस्तेज गराउने जस्ता विविध नकारात्मक काममा सक्रिय तत्वलाई नकारात्मक राजनीतिक क्याटालिष्ट भनिन्छ । पार्टीलाई टुक्राएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न पल्केका देशी तथा विदेशी क्याटालिष्टहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गुटहरुमा सक्रिय भई तिनीहरुलाई उक्साउने, विभिन्न प्रलोभन देखाउने, समाजदारीमा आउन नदिने वातावरण बनाएर पार्टी फुटाउने वा पार्टीलाई कमजोर बनाउने, नयाँ पार्टीहरु जन्माइदिने काममा सहयोग गरिरहेका हुन्छन् ।

नकारात्मक क्याटालिष्टहरुसँग बचेर काम गर्न सक्ने राजनीतिक शक्ति, सरकारले मात्र देश र जनतालाई शीरमा राखेर परिवर्तनको लहर ल्याउन सक्दछन् । क्याटालिष्टको इसारामा चल्ने कठपुतलीहरुले नै देश र जनतालाई वर्वाद पारिदिन्छन् । नकारात्मक क्याटालिष्टहरु भाइरस जस्तै हुन्, जसले जस्तोसुकै राजनीतिक समस्या पनि खडा गरिदिन सक्छन् ।

पार्टी सत्तामा बसेको समयमा सत्तामा प्रत्यक्ष रुपमा भाग लिएका, सत्तावाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाइदा उठाइरहेका र पार्टीमा नै काम गरिरहेका नेता तथा कार्यकर्ताहरुबीचको मन मोटावबाट फाइदा उठाएर क्याटालिष्टहरु सक्रिय भई सत्ताधारी पार्टीलाई नै फुटाउने गर्दछन् । त्यसैले अल्प विकशित देशहरुमा राजनीतिक संस्कारको विकास राम्रो नहुने, सत्ताधारीहरु भ्रष्टचारमा लिप्त हुने, सत्ताभन्दा बाहिर रहेका नेता तथा कार्यकर्तालाई समदूरीमा राख्न नसक्ने, आफ्नै पार्टीका अन्य गुटहरुलाई समाल्न नसक्ने जस्ता आन्तरिक क्षमताको कमी हुने तथा प्रतिपक्षमा रहेका पार्टीहरु पनि सत्तामा जान सधैँ क्रियाशील भएर रहने जस्ता कारणले पार्टी सत्तामा भएको समयमा पार्टीहरु फुट्ने गर्दछ । पार्टीहरु, मोर्चा, समूह तथा अन्य गठबन्धनहरुबीचको बन्धन अर्थात् समजदारी, सम्झौतालाई कमजोर पारिदिने र गठबन्धनलाई फुटाउने र नयाँ गठबन्धन बनाउने वा टुक्राउने काममा नकारात्मक क्याटालिष्टले महत्वपूर्ण भूमिका खेल्दछन् ।

राजनीतिक क्याटालिष्टहरु सहभागी भएर गर्ने गतिविधिका प्रक्रियाहरु पनि विभिन्न किसिमका छन्, यी प्रक्रियाको बारे पनि बुझ्न आवश्यक छ । राजनीतिक समीकरणमा समान राजनीतिक क्याटालाइसिस (Homogenenous Political Catalysis ) प्रक्रियामा राजनीतिक क्याटालिष्ट तथा राजनीतिक समीकरणमा भाग लिने सबै पार्टीहरु वा समूहहरुको अवस्था (Phase) एउटै हुन्छ । एउटै अवस्थामा रहेका हुनाले राजनीतिक प्रतिक्रियाको पहिलो चरणमा छुट्याउन गाह्रो हुन्छ तर परिवर्तनको अन्तिम चरणमा पुग्दा सबैको भूमिका तथा नयाँ परिवर्तन प्रष्ट देखिन्छ । यसमा एउटै विचारधारा बोकेका विभिन्न पार्टीहरु वा समूहहरुबीच, त्यही विचारधारा बोकेका अन्य कुनै स्वादेशी वा विदेशी पार्टी वा समूहले बीचमा बसी जुटाउने वा फुटाउने काममा क्याटालिष्टहरुले भूमिका खेल्दछन् । राजनीतिक संक्रमण अर्थात् तरलताको अवस्थामा यो प्रक्रिया बढी क्रियाशिल हुन्छ ।

असमान राजनीतिक क्याटालाइसिस प्रक्रियामा राजनीतिक पार्टीहरु वा समूहहरु राजनीतिक तरलताको अवस्थामा वा सहज आस्थामा रहेका हुन्छन् भने क्याटालिष्ट राजनीतिक तरलता भन्दा पृथक सहज अवस्थामा हुन्छ । यसलाई कन्टयाक राजनीतिक क्याटालाइसिस (Contact Political Catalysis) प्रक्रिया पनि भनिन्छ । यस प्रक्रियामा सहभागी पार्टी वा समूहहरु क्याटालिष्टको तहसम्म पुगी सम्पर्कमा आउँछन् र क्याटालिष्टले ठूलो राजनीतिक परिवर्तन ल्याइदिन्छ । यो प्रक्रियाले पनि जुटाउने वा फुटाउने कार्यमा नै भूमिका खेलिरहेको हुन्छ । अन्त्यमा राजनीतिक विभाजनको लागि भने यो प्रक्रियामा क्याटालिष्ट ज्यादै प्रभावकारी हुन्छ ।

क्याटालाइटिक (Catalytic) प्रतिक्रियाका विषेशताहरुमा खासगरी राजनीतिक प्रतिक्रियाको अन्त्यमा क्याटालिष्टको मास (Mass) र आन्तरिक बनावटमा कुनै परिवर्तन आउदैन, प्रायः असिमित राजनीतिक प्रतिक्रियाको लागि साधारणतय सानो मात्रामा क्याटालिष्टको आवश्यकता हुन्छ, अन्त्यमा राजनीतिक विभाजन नै गर्नुछ भने क्याटालिष्ट ज्यादै प्रभावशाली हुन्छ ।

कुनै एक राजनीतिक प्रतिक्रियामा काम गर्ने क्याटालिष्टले अर्को राजनीतिक प्रतिक्रियामा काम नगर्न सक्छ अर्थात् क्याटाष्लिटहरु प्रतिक्रियामा विशिष्ट (Specific) हुन्छन् । राजनीतिक क्याटालिष्ट आफ्नैले राजनीतिक प्रतिक्रिया शुरु नगर्ने र धेरै जसो अवस्थामा यसले राजनीतिक प्रतिक्रियाको प्रगतिको गति प्रदान गर्ने गर्दछ तर केही अवस्थामा अर्थात् क्याटालिष्टको स्वार्थ वा सहयागी राजनीतिक शक्तिको स्वार्थको लागि राजनीतिक क्याटालिष्टले राजनीतिक प्रतिक्रिया शुरु पनि गर्न सक्छ । राजनीतिक सन्तुलन कायम गराउने क्याटालिष्टले राजनीतिक सन्तुलनको अन्तिम अवस्थालाई असर नपारी केवल राजनीतिक सन्तुलन स्थापना गर्ने समय अवधि मात्र छोट्याउने काम गर्दछ । समनाताको आधारमा सम्झौता गरी दुई वा दुईभन्दा बढी पार्टी वा समूहहरुलाई सन्तुलनमा ल्याउन यस किसिमको क्याटालिष्टले महत्वपूर्ण भूमिका खेल्दछ । राजनीतिक क्याटालिष्ट आवश्यक पर्ने प्रतिक्रियामा पनि निश्चित राजनीतिक तापमान बढेको अवस्थामा भए विना क्याटालिष्ट पनि राजनीतिक प्रतिक्रिया सम्भव हुन्छ ।

राजनीतिक क्याटालिष्टको सक्रियता बढाउन थप साना राजनीतिक समूह, पार्टी वा व्याक्तिको संलग्न पनि हुन्छ तर राजनीतिक प्रतिक्रियामा तिनीहरुले क्याटालिष्टको काम नगरी केवल प्रोमोटर (Promoter) को काम गर्दछ । यस्ता प्रोमोटरहरु वास्तवमा स्वतन्त्र क्याटालिष्ट हुन्, जसले राजनीतिक प्रतिक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भाग लिने गर्दछन् ।

राजनीतिक क्याटालिष्टहरु सहभागी भएर निर्देशन, पुनः निर्देशन गर्ने, राजनीतिक प्रतिक्रियाको गतिलाई बढाउने काम गर्दछन् । यसको उपस्थितिमा कम सक्रिय शक्तिले नै राजनीतिक प्रतिक्रिया छिटो गराइदिन्छ । प्रतिक्रियामा सहभागी हुँदा पनि उनीहरुमा भौतिकरुपले वा वैचारिक तथा सैद्धान्तिकरुपले कुनै परिवर्तन हुँदैन ।

क्याटालिष्टको सानो मात्राले पनि ठूलो परिवर्तनको लागि प्रभाव पार्दछन्, थोरै स्वतन्त्र शक्तिले पनि संक्रमणको अवस्थामा पु¥याउँछ । क्याटालिष्टहरु राजनीतिक, आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रहरुको रुपान्तरणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी भइरहेका हुन्छन् । क्याटालिष्टको प्रभाव प्रतिक्रियामा सहभागीहरुको स्थितिले पनि फरक पार्दछ, क्याटालिष्टको प्रतिक्रियालाई निस्तेज बनाउने शक्तिको कार्यले क्याटालिष्टको गतिविधिलाई घटाउन सक्छ भने क्याटालिष्टलाई प्रोत्साहन गर्ने शक्तिले प्रतिक्रियाको गतिलाई बढाउँछ । केही त्यस्ता क्याटालिष्टहरु हुन्छन् जसले प्रतिक्रियामा सहभागी क्याटालिष्टलाई प्रतिक्रियामा निषेध गरिदिन्छ र निष्क्रिय गराइदिन्छ । विपरीत शक्तिशाली क्याटालिष्टले निष्क्रिय क्याटालिष्टलाई दबाउने तर त्यो सानो शक्ति भएको क्याटालिष्ट पनि भित्रभित्रै परिवर्तनको लागि अभ्यास्त रहने गर्दछ ।

कहिले काही क्याटालिष्टहरुको प्रतिस्पर्धाले राजनीतिक जटिलता पनि पैदा गर्दछन्, स्वतन्त्रसँग क्रिया र प्रतिक्रियामा भाग लिइराखेका राजनीतिक शक्तिहरुलाई क्याटालिष्टहरुले उठबस नै गराउँछन् । यस्तो अवस्थामा निर्णायक शक्ति क्याटालिष्टहरु हुने गर्दछन् । प्रतिक्रियामा भाग लिने राजनीतिक शक्तिहरुसँग क्याटालिष्टहको बारम्बार सम्पर्क र समन्वयको आधारमा क्याटालिष्टहरुको गति निर्धारण हुने गर्दछन् ।

क्याटालिष्टहरुलाई अन्य कुनै प्रक्रिया अपनाएर निषेध गर्ने, निष्क्रिय बनाउने वा ध्वस्त गर्ने काम गर्नुपर्दछ, अन्यथा क्याटालिष्टहरुले परिवर्तन गराएर नै छाड्छन् । त्यस्ता क्याटालिष्टहरुलाई घेराबन्धी गर्ने रणनीति कार्यान्वयनमा ल्याउनुपर्छ । क्याटालिष्टहरुले प्रतिक्रियाको बैकल्पिक बाटो अपनाएर कम शक्तिमा प्रतिक्रियालाई तिब्रता दिने नीति लिने गर्दछन् ।

545 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank