नेता सुध्रे सबै कुरा सुध्रन्छ

loading...

बुधबार, माघ १९, २०७३



यतिखेर २०६२/६३ को आन्दोलनका घोषित माग र त्यसपछि देशमा उजागर गरिएका थप राजनीतिक, आर्थिक, सामाजिक आदि ईस्युहरुलाई निकास दिन र व्यवस्थापन गर्न नेपालका राजनीतिक दलहरुलाई फलामको च्युरा चपाए जत्तिकै कठिन भईरहेको छ । त्यो आन्दोलन असफल पार्न दिलोज्यानले लागेका देखि आन्दोलनलाई अझ अगाडि लैजान खोजिरहेका शक्तिहरु समेत परिवर्तन व्यवस्थापन गर्ने क्रममा आ—आफ्ना माग र अडान लिएर सक्रियतापूर्वक लागिरहेकाले यो व्यवस्थापन यति कठिन भएको हो । त्यति मात्र होईन त्यो आन्दोलन पछिका विभिन्न प्रसङ्गमा नयाँ र जटिल विषयहरु पनि देशी विदेशी विभिन्न तत्वहरुले प्रत्यक्ष र परोक्ष रुपमा नेपालको राजनीतिक प्लेटफर्ममा प्रवेश गराईएकाले पनि यो व्यवस्थापन यति कठिन भएको हो । आन्दोलनको नेतृत्व गर्ने प्रमुख दलहरुबीच समझदारी कायम रहिरहेको भए निश्चित रुपमा यो व्यवस्थापन यति चुनौतीपूर्ण हुने थिएन । यहाँ त त्यसो नभई यी दलहरु स्वयम् नै अलग अलग बाटो हिड्न थालेपछि अवस्था यति जटिल बन्न गएको हो ।

आन्दोलन सफल भएपछि देशको राजनीति चौराहामा खडा भएको बेलामा वाह्य शक्तिहरुले नेपालको राजनीतिक व्यवस्था र त्यस अन्तर्गतका विभिन्न कडीहरुलाई आफ्नो अनुकुल वनाउने उद्देश्यले दलहरुवीचको समझदारी विगार्न सक्रियतापुर्वक लागिरहे र दलहरुले पनि उनिहरुलाई प्रश्रय दिए । प्रमुख दलहरु वीच संविधान निर्माण टुङ्ग्याउने वेलाको जस्तो समझदारी कायम रहिरहेको भए भित्रि बाहिरी कुनै पनि शक्ति नेपालको आन्तरिक मामिलामा भिड्किा पाउने थिएन र अहिलेसम्म धेरै कुरा मिलेर चुनाव समेत भईसकेको हुने थियो । त्यहाँ नेर दलहरुले र विशेषगरी नेपाली काँग्रेसले गम्भिर गल्ती गर्नाले प्रमुख दलहरु वीच असमझदारी बढ्यो र राजनीतिक गतिरोध देखा पर्यो, जुन कहिलेसम्म कायम रहने हो भन्न सकिने अवस्था छैन । यसमा वाह्य शक्तिको निर्णायक भूमिका रहेको कुरा सवैले थाह पाएको कुरा हो । नेपाली काँग्रेस जिम्मेवार नभई दिनाले नेपालले अहिले यो अवस्था भोग्नु परिरहेको छ ।

बर्तमानमा भएकै नेताहरुवाट देशले निकास पाउने छ, संक्रमण काल टुङ्ग्याईने छ र देश अगाडि बढ्नेछ भनेर आशा गर्नु बाहेक अरु बिकल्प छैन । छोरीका बाबुले कन्यादान गरेर छोरीलाई बिदा गर्दा ज्वाँईलाई ‘पाले पुन्य, मारे पाप’ भने जस्तो । तैपनि नेताहरुमा जिम्मेवारी र दायित्वबोध बढोस्, गम्भिरता र संवेदनशीलता पलावस् भनेर कामना गर्नै पर्ने हुन्छ ।

संविधान सभाले अत्यन्त प्रगतिशील, लोकतान्त्रिक र समाबेशी संविधान वनाएको थियो । त्यसले संघीयतालाई आत्मसात गरेको थियो र नेपालमा पहिलो पटक संघीयता जस्तो निर्माण र व्यवस्थापन गर्न अत्यन्त कठिन संरचनालाई स्थापित गर्न अनेक चुनौतीहरु थिए र छन् । यस्तो अवस्थामा प्रमुख दलहरु वीच सौहाद्र्धतापूर्ण समझदारीको आवश्यकता थियो । यो सवैले अनुभूत गरेको र चाहिरहेको कुरा थियो । तर नेपालको लागि दुर्भाग्य यहि भयो कि दलहरुवीच त्यस्तो समझदारी कायम रहन सकेन । फलस्वरुप अहिले संविधान कार्यान्वयन् नै हुन नसकि अलपत्र पर्ने हो कि भन्ने चिन्ता सर्वत्र व्याप्त भएको छ । यदि दलहरुले विवादै विवादका वीच संविधानलाई बचाउन सकेनन् भने देश कुन हालतमा पुग्ला, जनता गम्भिर चिन्तामा छन् ।

यो सम्पूर्ण राजनीतिक उहापोहबीच एउटा के कुरा महसुश भईरहेको छ भने यस्तो गम्भिर, दुरगामी र महत्वपूर्ण राजनीतिक परिवर्तनलाई सफलतापूर्वक व्यवस्थापन र संस्थागत गर्न आन्दोलनको नेतृत्व गरेको एउटा वा केहि टावरिङ्ग व्यक्तित्व वा व्यक्तित्वहरुको आबश्यकता थियो । २०४६ सालको परिवर्तनलाई गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्ण प्रसाद भट्टराई र मदन भण्डारी जस्ता ऐतिहासिक व्यक्तित्वहरुले सहज रुपमा व्यवस्थापन र संस्थागत गरेका थिए । २०६२/६३ सालको आन्दोलन र त्यस पछिको केही समय पुरानो पुस्ताका एक जना गिरिजा प्रसाद कोईराला थिए, उनि पनि संविधान बन्नु अगाडि नै विदा भए ।

अहिले देशमा सवैले नभएतापनि धेरैले मान्ने, सवै दलहरुलाई मिलाएर लैजान सक्ने, देश र जनता प्रति गम्भिर र जिम्मेवार भएर हेर्ने र अत्यन्त नभए पनि केही दुरदृष्टि भएको टावरिङ्ग व्यक्तित्वको अभाव देखिएको छ । अहिले अग्रपंक्तिमा रहेका नेताहरु सवै समवयका छन् । राजनीतिक संघर्ष र योगदानमा पनि मात्रात्मक मात्र घटीबढी होला । विलक्षण प्रतिभाका धनी कोही पनि छैनन् । त्यसैले उनिहरु देश, जनता, संविधान र व्यवस्थाको सवलीकरणको लागिभन्दा आफु र आफ्नो पार्टीको सवलीकरणको वारेमा बढी लागि पर्दछन् । त्यसैले बातै पिच्छे विवाद हुन्छ, अरुका राम्रा कुरा पनि स्वीकार गर्दैनन्, समझदारी बढाउने तिरभन्दा विगार्ने तिर लाग्दछन्, सम्हाल्ने तिरभन्दा भाँड्ने तिर बल गर्दछन् । आरोप, प्रत्यारोपमा उत्रन रमाईलो मान्छन् । सवै जना एक अर्काका प्रमुख प्रतिस्पर्धि छन् । अनि कसरी राजनीतिक गाँठो फुस्किन्छ ? कसरी राजनीतिक गतिरोधले निकास पाउँछ र संक्रमण काल टुङ्गिन्छ ?

नेता भन्नासाथ नागरिकहरु मुन्टो बटार्दछन् । अतः नेताहरुलाई हार्दिक आग्रह छ यसो गर्न आजैदेखि छोडी दिनुभयो भने हरेक नेपाली परिवारले तपाईको तस्बिर शयन कक्षमा सजाएर राख्नेछन् । यो पक्का छ । आगे यहाँहरुकै जो मर्जी ।

धेरै मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तन पछि यस्तै टावरिङ्ग व्यक्तित्वले परिवर्तनलाई व्यवस्थित रुपमा संस्थागत गरेको पाईन्छ । चीन, भारत, ईजिप्ट, सिङ्गापुर, दक्षिण अफ्रिका आदि त्यसका केही उदाहरण हुन् । तर नेपालमा नभएको कुरा खोजेर कहाँ पाउन सकिन्छ र ! बर्तमानमा भएकै नेताहरुवाट देशले निकास पाउने छ, संक्रमण काल टुङ्ग्याईने छ र देश अगाडि बढ्नेछ भनेर आशा गर्नु बाहेक अरु बिकल्प छैन । छोरीका बाबुले कन्यादान गरेर छोरीलाई बिदा गर्दा ज्वाँईलाई ‘पाले पुन्य, मारे पाप’ भने जस्तो । तैपनि नेताहरुमा जिम्मेवारी र दायित्वबोध बढोस्, गम्भिरता र संवेदनशीलता पलावस् भनेर कामना गर्नै पर्ने हुन्छ ।

नेपाली जनताले नेताहरुवाट आशा गरेको एउटा मात्र कुरा के हो भने कम्तिमा देशभित्र आपसमा जति विवाद र झगडा गरे पनि वाह्य शक्तिवाट प्रभावित नहुनोस् वा अप्रभावित रहनोस्, वाह्य शक्तिका कुरा सुनेर देश भित्र विवाद नगर्नोस्, प्रधानमन्त्री बनाई दिन्छु भन्दा—भैगो म आफ्नै प्रयत्नवाट हुन सक्दछु वा हुने कोशिश गर्दछु, तिमीले चलखेल गर्न थाल्यौ भने बरु म नहुन सक्दछु भन्ने आँट गर्नोस्, वाह्य शक्तिले म तिमीलाई प्रधानमन्त्री बनाई दिन्छु, प्रधानमन्त्री भएपछि हाम्रो यो माग पुरा गरी देउ भन्दा—यो सम्भव छैन भनेर ठाडै अस्वीकार गर्ने साहस् देखाउनोस् । तपाईहरुवाट यति मात्र हुन सक्यो भने नेपालमा सबै कुरा ठाउँमा आउने छ, राजनीतिक स्थिरता कायम हुनेछ, सरकार प्रभावकारी हुनेछ, विकासले गति लिनेछ र जटिल भन्दा जटिल समस्या पनि समाधान हुदै जानेछन् । यो ग्यारेण्टी छ ।

यहाँ कुरा विग्रेको र विग्रने कारण के हो भने वाह्य शक्तिले प्रधान मन्त्री बनाई दिन्छु (एकाध अपवादलाई छोडर) भन्दा तत्कालै र्याल काढी हाल्ने, लम्पसार परी हाल्ने र उसले मागेको जे पनि दिन तयार हुने । अर्थात विदेशीलाई देशको अस्मिता सुम्पेर भए पनि प्रधानमन्त्री बन्न तयार हुने । त्यसरी प्राप्त गरेको प्रधानमन्त्रीको पद ८, १० महिनाभन्दा बढीको हुदैन भन्ने कुरा बुझ्दा बुझ्दै पनि बन्न तयार हुने । अच्छा खासा ढङ्गले चलिरहेको सरकार ढाली आफु प्रधानमन्त्री बन्न वाह्य शक्ति गुहार्ने, प्रधानमन्त्री बनेको भोलिपल्ट देखि देश र जनताको लागि के गरौ भनेर लाग्ने भन्दा वाह्य शक्तिलाई कसरी खुशि पार्ने भन्ने तिर लाग्ने गरेकाले नै देशको यो हविगत भएको हो ।

यसो भएपछि वाह्य शक्तिले हाम्रा नेताको मन पेट थाहा पाउने नै भए, को कति पानीमा छ भनेर बुझ्ने नै भए । अनि हरेक पटक यहि हथकण्डा अपनाएर वाह्य शक्तिले नेपालको राजनीति र राजनीति मार्फत प्रशासन यन्त्रलाई आफ्नो ईसारा र निर्देशनमा चल्ने बनाएको छ । यो कुरा प्रत्येक सचेत नेपालीलाई थाहा भएको छ । त्यसैले नेता भन्नासाथ उनिहरु मुन्टो बटार्दछन् । अतः नेताहरुलाई हार्दिक आग्रह छ यसो गर्न आजैदेखि छोडी दिनु भयो भने हरेक नेपाली परिवारले तपाईको तस्बिर शयन कक्षमा सजाएर राख्नेछन् । यो पक्का छ । आगे यहाँहरुकै जो मर्जी ।

—000—

1154 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom