डा.गोबिन्द केसी-एउटा अथक आन्दोलन !

समय (सन्दर्भ)

बुधबार, असार २०, २०७५



- रोशन बाँस्तोला--त्रि‍‍.बि पूर्व उप -प्राध्यापक

जनताको गणतन्त्र भने पनि पीडा डा.गोबिन्द केसीले पन्ध्र पटकसम्म आमरण अनसन बस्दा सम्म पनि कुनै पनि सरकारले गोबिन्द केसीको मागलाई पुरा गरेर व्यवहारमा रुपान्तरण गर्नुको सट्टा जसरी भएपनि गोबिन्द केसीको हत्या गर्ने षडयन्त्रमा नेपालका गणतान्त्रिक सरकारहरु लागि परेका छन्।

चाहे कांग्रेसको सरकार हो वा माओवादीको अथवा एमालेको र राप्रपाको वा प्रचण्ड एमालेको – कुनै पनि सरकारले डा.गोबिन्द केसीको जायज मागलाई पूरागर्नुको सट्टा मेडिकल माफियाको पृष्ठपोषण हुने गरी मात्र कार्य गरिरहेको तथ्य जग जाहेर छ ! यथार्थमा मेडिकल माफियाको जालमा फसेका प्रधानमन्त्री र अन्य राजनीतिक पार्टीकानेताहरु जसले मेडिकल माफिया को रकमबाट आफ्नो पार्टी र आफै पनि देशको मेडिकल माफियातन्त्र संचालन गर्दैछ तीनीहरुले फेरि पनि डाक्टर गोबिन्द केसीलाई आमरण अनसनमा बस्न लगाएर दुनियाँलाई प्रहशन प्रस्तुत गरेका छन् । अझ त्यसमा पनि डाक्टर गोबिन्द केसीको बिरुद्धमा केही मेडिकल माफियाका पृष्ठपोषकहरुले कलम चलाएर नेपाली जनतालाई भ्रमित पार्न खोज्दै छन् ।

बस्तुत: जुन देशमा राजनीतिक पार्टीका नेताहरुले मेडिकल कलेजमा प्रत्यक्ष वा परोक्ष लगानी गरेका छन् । त्यस्तो राज्यमा नेपाली जनताका लागि नेता तथा राजनीतिक पार्टीहरुले कल्याणकारी राज्यको व्यवस्था गर्छन् भन्ने तथ्य केवल दिवा स्वप्न मात्र हुँदो रहेछ । तैपनि डाक्टर गोबिन्द केसी जस्ता राज्यका इमान्दार सपुतहरु आफ्नो प्राणको बाजी थापेर प्राणको अन्तिम धड्कन सम्म पनि लडिरहेका छन् । नेपालको स्वास्थ्य क्षेत्रलाई अझ धरासयी हुनबाट बचाउन प्रयत्न गर्ने डाक्टर केसीको आन्दोलनमा सचेत नेपाली सबैलॆ आफ्नो आफ्नो तर्फबाट योगदान गर्नु नै एउटा सार्थक सम्बल हुनेछ र मेडिकल माफियाको चंगुलमा परेका नेताहरुलाई एउटा गतिलो झापड पनि ।

आज पनि नेपालमा नेपाली मात्र कोहि त हुने गरी कार्य गर्ने व्यक्तित्वहरु नभएका होइनन। यसै परिवेशमा त्रिबिका पुर्व उपकुलपति केदारभक्त माथेमाले नेपालको मेडिकल क्षेत्रलाई सुधार गर्नको लागि बुझाएको प्रतिबेदनको आधारमा निर्मित चिकित्सा शिक्षा अध्यादेशलाई तोड मोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसीले पुन: अनसन बसेका हुन्।यथार्थमा प्रमुख राजनीतिकदलहरुको नियत नै देशमा स्वास्थ्य सेवा बिस्तार गर्ने भन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरागर्ने तर्फ़ उन्मुख भएकोले पटक पटक डा. गोबिन्द केसीले अनसन बसेर डा.केसीको मागहरु सम्बोधन भएपनि ब्यबहारमा कार्यान्वयन हुननसकेको हो भन्ने तथ्य कसैबाट छिपेको छैन।तर राजनीतिको रंगमा पोतिएका बौद्दिक वर्गहरु नै दिग्भ्रमित भएको अवस्थामा गोबिन्द केसीको आन्दोलनलाई नै गलत देख्ने मानसिकता समेत बिकसित भएको छ। यो कदापी नेपालराज्यको लागि शुभसंकेत होइन।यस्तै कुविचारहरु हावी रहेमा नेपालमा धेरै लेन्डुपदोर्जेका नवसंस्करणहरु पैदा रहने खतरा रही रहने छ।

डा. गोबिन्द केसी गरिब नेपालीका प्रतीक हुन्। आवाज विहीनहरुका आवाज।तर सरकार भने श्रमजीवि जनताको सरकारको नाममा सत्तामा विराजमा नभएपनि नवकुवेरहरुको पक्षपोषण गर्नमा ब्यस्तछ। बहुमतको अहंकारको आडमा जनताको भनिएको वर्तमान सरकारले एक्लो गोबिन्द केसीका विरुद्ध जुम्ला जस्तो ठाउमा निषेध आज्ञा जारी गरेर निरंकुसताको अभ्यास गरिरहेको अनुभूति नेपाली जनताले गरेका छन् ।यस्तो अवस्थामा जनता जाग्ने बेला फेरि आएको छ। बौदिक वर्गले पनि राजनीतिक दरिद्रता नदेखाई समाजको हितमा आफ्ना आवाजहरु बुलन्द गर्नमा अग्रसर हुन ढिलो गर्नु पर्ने कुनै कारण छैन। अन्यथा नेपाल र नेपालीले नेपाल आमाका होनहार सपुत र सत्यको आग्रहका लागि आफ्नो जीवन आहुति दिन पनि पछि नपर्ने डा.गोबिन्द केसीलाई गुमाउन बाध्य हुनु पर्नेछ । डा. गोबिन्द केसी एउटा अथक आन्दोलनका प्रतिमूर्ति हुन्।

अन्तत डा. गोबिन्द केसीको प्राण पखेरु उडेपछि उनलाई श्रद्धाञ्जली दिनुको सट्टा उनले उठाएको अभियानलाई निश्कर्षमा लैजान भूमिका निर्वाह गर्नु नै आजको सन्दर्भमा समिक्षा हुने देखिन्छ।

लेखक: रोशन बाँस्तोला त्रि‍‍.बि. का पूर्व उप -प्राध्यापक हुन् ।

214 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank