इच्छा शक्ति भए के गर्न सकिन्न र ?

बिहिबार, भदौ ७, २०७५



- सीता ओझा अध्यक्ष-  महिला अध्ययन केन्द्र 

शिक्षा आर्जन गर्ने र प्रदान गर्ने कुरालाई पूर्वीय सभ्यता समाजको विकास क्रमका आधारमा समाजको स्वरूप र आवश्यकतालाई केन्द्रमा राखेर मात्रै मानविय आवश्यकतासँग जोडेको देखिन्छ । त्यहीँ कारण समाजमा तोकिएका मानिसले शिक्षा लिन पाए । अरूले शिक्षा आर्जन गर्न पाएनन् । यसरी कसैका लागि अनिवार्य कसै प्रति प्रतिबन्ध गर्दा समाजमा विभेद जन्मियो ।

यसरी जन्मिएको विभेद पछिल्लो समयमा अधिकारको विषय बन्यौं । समाजका रहेका सबैको नागरिकको समाजका हर कुरामा चासो र सरोकार हुनुपर्दछ भन्ने विषयसँग अधिकारको कुरा जोडियो । समाजको विकासमा सबैको सहभागिता भन्ने कुरा विस्तारै अहिलेको समाजमा मानिसले सिक्ने सिकाउने, सहभागी हुने र आर्जन गर्ने कुरालाई जीविको पार्जनसगँ जोडेर हेर्ने थालियो । जीविकोपार्जनका लागि ज्ञान,सीप,क्षमता र दक्षता आदीको आवश्यकता गाँसिए पछि मानिसको लागि शिक्षा अनिवार्य बन्यो र बन्दै पनि छ ।

हिजोको समाजमा शिक्षा आर्जन गर्नका लागि निश्चित उमेर समुह हुने गर्थ्यो । एकाद व्यक्तिले तोकिएको उमेर समुह भन्दा फरक अवस्थामा पनि शिक्षा लिएको ऐतिहासिक तथ्यका किम्बदन्तीहरू पनि छन । मुर्ख भनिने कालिदास, डकैतीको नाइके भनेर चिनाउने वाल्मिकि जस्ता समाजले उदाहरण दिएर अरूले प्रेरणा प्राप्त गर्ने व्यक्तिले शिक्षा कै माध्यमबाट आफुलाई बदलेको यी र यस्ता जीवन्त उदाहरण थुप्रै छन । यिनीहरूले जीवनको मध्य अवस्था देखि शिक्षा लिएर पनि समाजमा आफ्नो ज्ञान प्रवाह गर्न सकेका कुराहरू पनि पुर्वीया सभ्यता सुन्न पाइन्छन ।

शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्छ भन्ने कुरा र त्यही समाज भित्र समान भुमिकामा रहेका महिलाले शिक्षा पाउने कुरा गर्दा नै समाजमा तिरस्कार हुनु पर्ने या गरिने प्रचलन थियो भन्नु आज अनौठो जस्तो लाग्छ । यस्ता प्रचलनहरू सबै मानिसले मान्नु पर्ने परिस्थिति सृजना भएको कुरा हो भनेर स्विकार्न समाज बनी सक्दा पनि बदलाव नदेख्ने पनि हाम्रै समाज हो । हिजोको समाजमा धर्म र कानुनसँग प्रचलनहरूलाई जोडेर हेरिएको कारण सामाजिक कानुन समाजको दैनिकी र न्यायसँगै व्यक्तिको सम्बन्धलाई जोडेर हेरियो । यसको रक्षा नगर्नेलाई पापी र रक्षा गर्ने धर्मात्मा बन्ने प्रचलनको प्रचार गरियो । यी र यस्ता कुरा समाजका आदर्श त बने तिनै कुरा समानताका बाधकका रूपमा विकास हुन सक्ने खतराको विश्लेषण गर्न सकेन । त्यहीँ संस्कारगत कुराले लामो समय सम्म समाजका अधिकांस नागरिकको सबैका लागि शिक्षा पाउने या बनाउने कुरामा पनि रोक लगाएको हो कि भन्दा पनि फरक पर्दैन होला ।

 पहिले म भन्ठान्थे मन्दिर भित्र जिउदै भगवान भए मानिसले के माग्थे होला । अहिले म सोच्ने गर्छु मन्दिर बाहिरका माग्नेहरू भन्दा मन्दिरैभित्र छिरेर माग्नेहरू बाहिरका माग्ने भन्दा निकै दरिद्र हुदा रहेछन !  मेरो विचारमा मानवतासँग धर्मको मर्म जोडेर हेर्ने हो भने – पाका उमेरका व्यक्तिलाई शिक्षा दिने कुरा धर्म र धर्मसगँ जोडिएका अधिकतम् कार्य भन्दा माथी देखेँ र हो पनि । सरकारले सञ्चालन गरेको अनौपचारिक शिक्षाको माध्यमबाट सबैलाई साक्षर गराउने अभियानको विकल्पमा होइन शिक्षीत बनाउने सहयोगी बन्न सफल भएको छ यो बैकल्पिक विद्यालय । हिजो शिक्षाको दिक्षाका लागि समाजले व्यवस्था गरेको गुरूकुल र राजकुलको विकल्पमा आएको कोठा,चोटा,चौतारा,पाटीको विकसित रूप विद्यालयले पनि समेट्न नसकेको उमेर समुहको सिकाइको इच्छा शक्तिलाई समय सन्दर्भसँग जोडिएर अहिले बैकल्पिक महिला विद्यालयले सम्बोधन गर्न पुग्यो । कामको हिसाब गर्ने हो भने सायद यो नाफामा छैन होला तर एउटा निश्चित उमेर समूह भित्रका विभिन्न उमेर समुह र विद्यालयबाट बाहिर रहेका समुहको भावनाको सम्बोधनको सरल र व्यवस्थित तरीका हो जस्तो लाग्छ ।

यसरी विद्यालय गइरहेकी मेरी आमा सरहकी विद्यार्थीलाई मैले एक दुइ पटक भेटेँ र सोधेँ -आमा कसरी पढ्न मन लाग्यो ? उनले हाँसेर भनिन् मर्ने बेलामा हरियो काक्रो , के गर्नु छोरी यसो केही सोध्यो भने यति पनि आउदैन, अस्ति सिकाएको होइन, कति सिकाउनु मेरो काम छैन, हरे शिव !  भन्छन । बोल्न हुन्न, हामीले तीनैलाई पढाउन लेखाउन सारा जीवन सक्यौ । छोराछोरीले जाने,सिके भने के के न होला भन्ठानियो । हामी हुर्कदा पाठशालाहरू नै थिएनन् । भए नि हाम्लाई कहाँ पढाउथे र । छोरी पढाउदा पोइला जान्छन भन्थें । हाम्रा रहरका कुरा गर्ने जवाना थिएन । खुसि र रमाइलो के हो जानिएन । अहिले यस्तो गर्छन भन्ने जान्या भए त स म उहिल्यै झगडै गरेर भए नि पढ्थेँ । समय यसरी फर्किएला भनेर ठानिएन । के गर्नु नानी , मैले त घर भित्र इज्जत जोगाउन पढेको बा ! एकै स्वरमा यति धेरै कुरा भन्दा म अचम्मै परें । अनि सोचेँ प्रत्येक परिवार भित्र हरेक मानिसको , हरेक उमेर समुहका आवश्यकताको पहिचान,योजना र व्यवस्थापन गर्न नसक्दा परिवार परिवार बन्न सक्दो रहेनछ । त्यसको विम्वको रूपमा यी आमाका उत्पीडनहरू आफैले सृजना गरेका र आफ्नै गाँस काटेर खुवाएकाहरूले परिवार भित्र रहदा गरेका व्यवहारका कारण अन्तर मनमा परेको पीडा आज यी ५५ वर्षीय आमाले बोलिरहेकी छन भने जस्तो लाग्यो ।

उनले घरको काम सकेर छोरा बुहारी र नाती नातीना स्कुल कलेज गइसकेपछि दुई तीन घण्टाको समय आफ्नो अध्ययनमा दिएको कुरा गरिन । उनको त्यो उत्साह देखेर मैले फेरि सोधेँ  आमा अब कति सम्म पढ्ने विचार छ ? उनले भनिन् नानी एस. एल‍. सी चाहिँ पास गर्छु नै , त्यो भन्दा माथी चाहिँ विचार गर्छु ! घरबाट के भनेर हिड्नु फेरि ! अहिले त म पढ्न आएको खास थाहा नै छैन । भजनमा जान्छु है दिउसो दिउसो भन्या छु । त्यहि पत्याछन  भनिन  । उनीसगँ भलाकुसारी गरिसके पछि मलै एउटा तस्विर लिऊ है आमा भने तर पटक्कै मानिनन् । अनि फेरि सोधेँ नानी घरमा बस्नु खानु हुन्न, केही जान्दिन भनेर हेप्छन । मेरो पनि मुवाइल छ । पहिले पहिले चलाउन पर्दैन थियो । अहिले एउटा छोरा र एउटी छोरीको परिवार विदेसमा छन । बोल्न मन लाग्छ । तर के गर्नु मन खुम्च्याएर बस्नु पर्छ । कसैले फुन लाइदिन्नन । त्यहि भएर लुकेर भए पनि पढेको नि नानी । फोटो नखिच्नु ल नानी ! तपाईंले त्यो फेसबुकमा राख्नु भयो भने कहि न कहिँ बाट थाहा पाउँछन् र मेरो यो पढ्ने इच्छाशक्ति मारिदिन्छन । एस‍.एल.सी सकेछी त म पनि भन्छु नि तिमीहरूले जस्तो मैले नि पढ्या छ ए फुर्ति नलगाउ  भन्छु । आफ्नो लेखाइ पढाइको काम गर्छु । धेरै किताब पढ्छु जस्तो लाग्छ नानी ।

वास्तवमा मानिसका हर उमेरमा मानविय आवश्यकता हुन्छन । हरेक मानिसले समय अनुसार चल्न खोज्छ तर समय र पारिवारिक वातावरण उ मैत्री छ या छैन भन्ने कुराले मानिसको जीवनको खुसिलाई सम्बोधन गर्दो रहेछ । मानविय आवश्यकता परिचान गर्न नसक्दा परिवार,समाज र राष्ट्रिय विकासका लक्ष्यहरू सफल हुदा रहेन छन ।

मानविय आवश्यकता पहिचान गर्न नसक्दा आत्म सम्मानमा ठेस लागेको कुराले बढेको अपत्यारिलो अन्तर विरोधले परिवारको विग्रह गराउन बेर लाग्दैन । साथै उमेरले मानिसको इच्छाशक्ति रोक्न सक्दो रहेनछ भन्ने कुरा यी र यिनी जस्तै धेरै आमा र विद्यालय उमेर समुहबाट विभिन्न कारणले बाहिरिएका उमेर समुहकाहरूले अध्ययन गरेर विद्यालयको शिक्षा पार गरिरहेकाहरूको यो उत्साहलाई हेरेर र सुनेर बुझ्न सकिन्छ । साथै राम्रो भौतिक संरचना , तालिम प्राप्त शिक्षक , प्रसस्तै पाठ्यपुस्तकले भरिभराउ अनेकौं शैक्षिक सस्थामा भन्दा अब्बल दर्जाका ठुला विद्यार्थीहरूलाई असल शिक्षा दिएर राष्ट्रलाई ठूलो गुण लगाए जस्तो लाग्छ ।

हरेक मानिसले इच्छाशक्ति भए के गर्न असम्भव छ र भन्ने अभिप्रायले सिक्ने र सिकाउने उद्देश्य सुरू गरेका यी विद्यालयहरूले जे जस्तो अबस्थामा काम गरेका छन त्यो समाजकालागि अतुलनीय छ । हरेक वर्ष समाचारमा सुन्नने गरिन्छ स ७० र ७५ वर्षका महिलाले एस ई ई पास गरे । यस्ता विद्यालयहरू प्रेरणाका श्रोत हुन , त्यसैले खोजेरै सम्मान गरौं ।

352 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank