सिद्धान्तको देहावसान !

फरकमत

मङ्लबार, जेष्ठ ७, २०७६



- दीपेन्द्र पाण्डे

अमेरिका निवासी जोन र बब कम्युनिस्ट पार्टीको सदस्य थिए । जोनले एक दिन अमेरिकाबाट सोभियत रुस जाने फैसला गरे । तत्कालिन समयमा सोभियत कम्युनिस्ट पार्टीको विरुद्ध अमेरिकी मिडियाले फैलाएका नकारात्मक हल्लाहरु  माथी जोनलाई विश्वास थिएन । तथापी सोभियत भ्रमणको दौरान सामान्य सावधानी अप्नाउने सोच बनाए । जोनले पानीको परीक्षण गर्नको लागी रुस जाने तयारी गरे । उनले सोचेको सोभियत कम्युनिस्ट पार्टी र सत्ता स्वर्ग जस्तो भए कालो मसी प्रयोग गर्दै बबलाई चिट्ठी लेख्ने छन । यदि अमेरिकी मीडियाले चित्रित गरेको स्थिति भन्दा खराव अवस्थामा सोभियत रुस देखा परेमा रातो रङ्गले चिट्ठी लेख्ने छन । जसबाट यो पत्ता लागोस कि पत्रमा लेखिएका कुरा झुट्टा मानिने छन ।

तीन महिनाको आसपास जोनले पहिलो रिपोर्ट बबलाई पठाए । यो कालो मसीमा लेखिएको थियो । जहाँ लेखिएको थियो । ” म यहाँ अति खुशी छु ! रुस एक सुन्दर देश हो, म पुर्णतया स्वतन्त्र ढंगले उच्चस्तरको जीवनको आनन्द लिंदै छु । अमेरिकी मिडियाले लेखेका कुरा सबै झुट थिए । यहाँ सबै सामान सजिलै  उपलब्ध छन ! केवल एक सानो कमी छ । त्यो हो रातो मसी । “

लेनिन र स्टालिनको सोभियत संघ अहिले अस्तित्वमा छैन । सोभियत कम्युनिस्ट पार्टी इतिहास भइसकेको छ । विश्व राजनीतिलाई तरङ्गीत पार्ने मार्क्सवाद र लेनिनवादको प्रभाव नेपालमा झनै फैलिएको छ । मुलुकमा शक्तिशाली कम्युनिस्ट पार्टी छ । छ वटा प्रदेश र केन्द्र सरकार कम्युनिस्ट पार्टीले हाँकीरहेको छ । स्थानिय सरकारमा कम्युनिस्टकै बोलवाला छ । कम्युनिस्ट पार्टीको नेतृत्व र प्रधानमन्त्री सुशासन, विकास, समृद्धिको चर्को भाषण र आश्वासन बाँडेको बाँडै छन । तर पनि सुशासनलाई चुनौती दिने अनेक नामका भ्रष्टाचार उजागर हुँदै छन । सरकार भ्रष्टाचारको विरोधलाई गायत्री मन्त्रकै  शैलीमा जप्ने  गर्दछ । तर एनसेलको कर उठाउन  सक्दैन । बाटो मै  हराएको सुन कहाँ  छ भन्न सक्दैन । 0४७ साल देखि हराएको जग्गा फेला पार्यौं  भन्छ  तर हडप्नेलाई समात्दैन । एनसेल करछली काण्ड, चिनी काण्ड, सुन काण्ड, वाइडबडी काण्ड पछी मुलुकलाई स्तब्ध बनाउने सरकारी जग्गा हिनामिना काण्ड आफुले गरेको होइन भन्दै आत्मरतिमा रमाउँछ । सरकारी जग्गा हिनामिनाकै अनुसन्धान गर्ने नेकपाकै सांसद अग्नी सापकोटाले औंल्याएको ” यस्तो भयावह स्थिति छ कि भ्रष्टाचार कहाँ छ भन्ने हैन । कहाँ छैन भन्ने अवस्था छ ।”  सत्य, न्याय, जनपक्षिय, वर्गिय, देशभक्त, न्यायपुर्ण समाज र समानताको वकालत गर्ने कम्युनिस्ट राजनीति मौलाएको देशमा यस्तो डरलाग्दो अवस्था कसरी र किन सिर्जना भयो ? यसको जन्मदाता को हुन ? के नेपालका कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व जिम्मेवार छैनन ? भन्ने पेचिलो प्रश्न नेकपा नेतृत्वतिर तेर्सिएको छ ।

सिद्धान्तको फेर समाउँदा जीवनको उर्जापुर्ण समय जेलमा बिताउन बाध्य भएको तर कुर्सी र सत्ता प्राप्त नभएको बुझ्ने वर्तमान नेतृत्वले कुर्सी र सत्ता प्राप्तीलाई सिद्धान्त मान्न शुरु गरेसँगै मौलाएको दलाल राजनीतिको कारण ‘शरिर मोटाएको दिमाग दुब्लाएको’ नेकपा कुन अवस्थामा छ भन्ने बुझ्न नेकपा सांसद घनश्याम भुसालको निचोड सटिक र तर्कपुर्ण रहेका छन् । “दलाल पुँजीवादले देशको निर्वाचन प्रणाली नै यस्तो बनाइदिएको छ । जित्नुपर्नेले होइन, जित्न सक्नेले टिकट पाउँछ । केन्द्रीय कमिटी, तलका कमिटीहरू त्यसैको चाँजोपाँजो मिलाउन लाग्छन् । यस्तो लाग्छ दिनकै सय जना दलाल पुँजीपतीसँग भेट हुन्छ । बिहान भन्सारको तस्कर आयो । कर छल्ने मान्छे आयो । दिउँसो आफ्नै पार्टीको नपढाउने प्रोफेसर आयो । साँझ भूमाफिया आयो । यो राजनीतिमा यति मान्छेसँग ठक्कर खाइन्छ, खाइन्छ ।”

मार्क्सवादले आत्तिन र मात्तिन दिंदैन तर सत्ता उन्मादमा मार्क्सवाद कसैले पढदैन । विश्व इतिहासले पुष्टी गरिसकेको छ । पढ्नेको पनि दिमागमा धुलो जम्ने गर्दछ । नेपाल अपवाद बन्ने कुरै भएन । राष्ट्रवादको लडाई लडदा लडदै ल्याइएको प्रजातन्त्र र लोकतन्त्र पछी सार्वभौम सत्ताले बसाँई रहेको कम्युनिस्ट नेतृत्वले वास्तै गरेन । शिक्षा, स्वास्थ्य, भाषा, धर्म, संस्कृति, शान्ति, स्थिरता , विकास, कर्मचारी प्रशासनमा सुधार कुनै कुरामा सकारात्मक परिवर्तन देखा परेन । विदेशी हस्तक्षेप र शिक्षित युवाको पलायन यती रफ्तारमा बृद्धी भयो कि मुलुकका कुनै पनि संस्था सग्लो र काम लाग्ने रहन दिइएन । रेमिटयान्सलाई अर्थतन्त्रको अभिन्न अंग मान्ने वाध्यतामा पुगेको मुलुकमा आर्थिक अनुशासन र मितव्ययिता मुसाको सिङ बन्न पुग्यो । विदेशनीति , कुटनीति मात्र हैन सवै नीति केवल कुर्सी नीतिमा परिवर्तन गराइयो । व्यापार घाटा र लगानीको वातावरण अर्थमन्त्रालयको गफको एजेण्डा बाहेक केही रहेन । महंगी, हिंसा, घृणा, चोरी, मुल्यबृद्धि, भ्रष्टाचारसँग प्रतिस्पर्धा गर्न तम्सिए ।

समाजवाद, न्यायपुर्ण समाज, आर्थिक, राजनीतिक, सामाजिक समानता र स्वतन्त्रता सहितको उन्नतशिल लोकतान्त्रीक समाज स्थापनाको निम्ति जीवनकै आहुती दिन तयार युवाहरु आज कुन स्थानमा पुगेका छन ? नेतृत्वले पछाडी फर्केर हेर्न नचाहे पनि राजनीतिले सुक्ष्म मुल्याङ्कन गरिरहेकै छ । बुर्जुवा शिक्षा बहिस्कार, धन, सम्पति त्याग्दै मार्क्सवाद, लेनिनवादको जगमा मुलुकको कायाकल्प बदल्न हिँडेका “लालकमरेड”हरु आफ्नै विगतका सम्पुर्ण पुँजी तिलाञ्जली दिँदै  “लालपुर्जावादी”  बन्न सफल भएका छन ।

सबैलाई थाहा छ । मुलुकमा बेथितिको सगरमाथा चुलिएका छन । राजनीतिक अस्थिरताको बहानामा गर्न सकिने काम समेत थाँती राख्दै मुलुक लुट्न तम्सिँदा थपिएका कुडाकर्कट रातारात सफा हुन सम्भव छैनन । राष्ट्रवादको जगमा जन्मेको कम्युनिस्ट सरकार भएको समय जनकपुरमा मोदी स्वागत गर्ने नाममा भारतीय सेनाको परेड कसरी सम्भव भयो ? होली वाइनको चक्करमा सरकार किन फस्न पुग्यो ? अनावश्यक र अनुपयुक्त झमेला किन आफै बेसाउन राजी भयो ? अन्तरपार्टी छलफल र सहकार्यलाई किन बोझ मान्न पुग्यो ? भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्री अनुसन्धान नै नगरी निर्दोष छन् भन्न किन हतारिए । सुखी नेपाली, समृद्ध नेपालको नारामा हिडेको सरकार यस्ता कुरामा आफै अल्झेको हो कि हैन ? भए भरका गडबडी सरकार र मन्त्रीबाट हुँदै गर्दा उनको सानो झुण्डले पैरवी गरेर वाम सरकार कसरी सफल हुन्छ ? ओली सरकार र उनको राजनीतिक सल्लाहकारको विषय भित्र कहिल्यै परेन ।

वर्गिय राजनीतिलाई चटक्क भुल्दै केवल समृद्धिको एजेण्डामा दौडिएको वर्तमान सरकार आधारभुत रुपमा गरीब जनता सम्म पुग्न असफल भएको छ । सामान्य जनताले दैनिक रुपमा सरकार फेला पार्ने निकायहरु भ्रष्टाचारको अखडा बनिरहेको कटु यथार्थ भुल्दै रामराज्य चलेको देख्दै छ । मिचिएको सुस्ता, कालापानी, कञ्चनपुर लगायत सीमा झगडाले पोल्न छाडी सकेको छ । युद्ध जितेको ढंगले प्रचार गरिएको इपिजी प्रतिवेदन वेवारिसे हुँदा कुनै चासो, चिन्ता र खोजखवरको हतारो छँदै छैन । प्रयाप्त वहस र छलफल पछी निर्णय गर्दै कम्युनिस्ट पार्टी हाँक्ने विगतको प्रचलन प्राथमिकतामा पर्दैन । ०४४ सम्म सरकारी पाहुना, ०५२ सम्म सुकुम्वासी नेता मात्र हैन कम्युनिस्ट उद्धोगमा लागेका कमरेडहरुको आर्थिक छलाङ सिद्धान्त बेच्दै प्राप्त भएको हैन भन्ने आधार फेला पर्दैन । योग्यता, क्षमता, लगनशिलता, तदारुकता, जिम्मेवारिता, वफादारिता र सिद्धान्तवादिताको स्थानमा पाखुरा र गुटगत भागवण्डा जस्ता सिद्धान्त हावी भएको नेकपामा कम्युनिस्ट उर्जा कती बाँकी छ ? भन्ने जाँगर कतै फेला पर्दैन ।

सोभियत रुसको ७३ वर्षे कम्युनिस्ट सत्ता ढलेसँगै मतपत्र मार्फत जनताको मन मन्दिरमा बस्दै वर्गिय राजनीति गर्ने मदन भण्डारीको जबज कार्यक्रम नेपाली माटोमा मौलिक मानिएकै हो । २०५० साल जेठ ३ गते रहस्यमय ढंगले भण्डारीको मृत्यु भएसँगै जबजको नाममा गुटगत राजनीति हाबी हुँदा कम्युनिस्ट सिद्धान्त दिन प्रतिदिन खिइदै गएको थप व्याख्या गरिरहनु पर्दैन । बिरालो कालो वा खैरो भएर कुनै फरक पर्दैन । मुसा मार्नु पर्छ भन्ने चिनियाँ नेता देङको सिद्धान्त गुटवाजहरुले चलाखी पुर्वक अभ्यास गर्दा कुर्सीको अगाडी सबै सिद्धान्त गौण भएको पछिल्लो प्रमाण एक वर्ष देखी बैठक बस्न जरुरी नभएको केन्द्रिय कमिटी सहितको नेकपा राजनीति काफी छ । जबजको जगमा प्राप्त पार्टी राजनीतिको सर्वोच्च स्थानको प्रयोग र दुरुपयोग एकसाथ गर्न सक्ने वर्तमान राजनीतिक नेतृत्वको अगाडी सिद्धान्तको कुरा गर्नु “भैंसीको अगाडी बिन बजाउनु” एकै रहेको मान्ने आधार पछिल्लो समय त्यस आन्दोलनसँग जोडिएका नेताले व्यक्त गरेको कटु र निर्मम विचारलाई मान्न सकिन्छ ।

नम्रता, भद्रता र धैर्यताको अभ्यास गर्ने पूर्व एमाले र रुष्टता, आक्रामकताको सफल अभ्यास गर्ने पूर्व माओवादीको अल्पकालिन सोचको कारण जन्मिएका संसदीय र हिंसागत राजनीतिको “बाई प्रोडक्ट” नेकपाको सिद्धान्त समाप्त गर्न सफल भएको छ । विचार र सिद्धान्तको स्थान ‘पाखुरा र गुटगत’ राजनीतिले कब्जा जमाएको नेकपामा सिद्धान्तवादीहरु ‘प्रतिक्रान्तिकारी’ मानिदैं छन् । विधि, विधान, नीति, प्रकृया, सहमति, सहकार्य, छलफल, सामुहिकता, कमिटी पद्धतिको कुरा गर्ने जती ‘समृद्धिको दुश्मन’ बन्न पुगेका छन् । विचार र सिद्धान्त त्याग्दा मौलाएको नेकपामा ओली छन् । प्रचण्ड छन् । भतभति मन पोलेका सात लाख कार्यकर्ता छन् । कमरेडहरुको जय जयकार गर्ने दलाल र भक्तहरु दिन रात सेवामा खटेका छन् । अमेरिकी जोनले लेनिनको देशमा फेला नपारेको रातो मसी जताततै छ । कालो मसीसँग कमरेड ओलीलाई घृणा छ । त्यसैले रातो लेखिन्छ । रातो बोलिन्छ । तर रातोपन कतै फेला पर्दैन । यती भन्न अमेरिकी जोन नेपाल आउनै पर्दैन !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata