दासढुंगा हत्या काण्डको रजत जयन्ती

बिहिबार, जेष्ठ ३, २०७५



- कपिलदेव ढकाल (अधिवक्ता)

२०५० साल जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठक जिवराज आश्रितको दासढुंगामा रहस्यमय हत्या भयो । कानूनी रुपमा हत्या ठहरीनको लागि हत्या गर्ने मनसाय र तथ्य स्थापित हुनुपर्छ । यस्तो खालको जघन्य अपराधलाइ मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ नम्बरले सर्वस्व सहित जन्मकैद गर्ने व्यवस्था गरेको छ ।

दासढुंगा हत्याकाण्डको तथ्य मृत शरिरले पुष्टि ग¥यो तर हत्या गर्नु पर्ने मनसाय आजसम्म पनि खुल्न सकेको छैन । घट्नाको सबैभन्दा ठुलो प्रमाण अमर लामाको हत्या काठमाडांैको व्यस्त स्थानमा दिनदहाडै भयो । अमर लामा हत्याका हत्यारा कानूनको दायरामा आउन सकेका छैनन् । तत्कालिन समयमा प्रतिपक्षमा रहेको एमाले देशको मुख्य शक्ति बनेको छ तर दासढुंगा रहस्यमय हत्याको अनुसन्धानका लागि ठोस पहल गरेको अनुभुती जनताले महशुश गर्न सकेका छैनन । जब जेठ ३ गते आइपुग्छ एमाले बोल्छ मदन भण्डारी र आश्रितको हत्या भएको हो ।

जनता प्रश्न गर्छन् हत्या हो भने अनुसन्धान कत्ता पुग्यो ? सम्पूर्ण राज्यसत्ता आफ्नै हातमा र भण्डारी पत्नि राष्ट्रपति हुँदा समेत एमालेले जनतालाइ उत्तर दिन सकेको छैन । यसले गर्दा दासढ्रुगा हत्या र अमर लामाको हत्याका पात्र र प्रवृती एउटै हुन भन्न बल मिलेको छ । भण्डारी र आश्रितका सारथीहरु पटक–पटक प्रधानमन्त्री बन्दा पनि हत्याको मनसाय कानूनले पत्ता लगाउन सकेको छैन । समय र घट्नाक्रमहरुले दासढुंगा तथा राजदरबार हत्याकाण्ड नेपाललाइ कमजोर बनाउने मनशायले गरिएको थियो भन्ने देखाएका छन् । तर नेपालको प्रचलित कानून यस विषयमा बेखबर छ । कानूनले अनुसन्धानको गोरेटो पनि बनाउन सकेको छैन ।

राष्ट्रियताको सवालमा राजासंग घाँटी जोडिएको छ भन्ने विपि कोइराला, राजालाई राष्ट्रवादी शक्ति मान्ने भण्डारी र देशको हित रक्षाका लागि जनतासँगै सम्झौता गर्ने स्वर्गिय राजा विरेन्द्रको विरुद्धमा लागेको शक्ति नै हत्याको पछाडीको मुल कारण हो भन्ने विश्लेषकहरुको बुझाइ छ । विश्वमा भएका कतिपय ठुला हत्याकाण्डको अनुसन्धान सफल हुन सकेको छैन । सायद यहि ठुला हत्याकाण्ड मध्येको एउटा काण्ड दासढुंगा हत्याकाण्ड पनि होला । त्यसैले दासढुंगा हत्याको मनसाय पत्ता लगाउन नसकिएको हुनुपर्छ । तर एमाले नेतृत्वसँग सादर अनुरोध छ कम्तीमा अमर लामा हत्याकाण्डको त हत्यारा पत्ता लगाइदिनुहोस् । दासढुंगा हत्याकाण्डका दोषिलाई लाग्ने सर्वस्व सहित जन्मकैदको सजाय अमर लामाका हत्याराहरुलाई पनि लाग्छ । कम्तीमा नेपालको कानुन जागै रहेछ भन्न त पाइयोस ।

मदन आश्रित हत्या काण्डको रजत जयन्ती:

दासढुंगा हत्याकाण्ड भएको पनि २५ बर्ष पुगेछ । यी २५ बर्षमा शशस्त्र जनयुद्ध, राजदरबार हत्याकाण्ड,गणतन्त्र घोषणा, संविधान सभामार्फत संविधानको घोषणा, संघिय शासन प्रणाली जस्ता नकारात्मक तथा सकारात्मक कार्यहरु भएका छन् । २०७५ जेठ ३ गतेले यि तमाम विषयहरुको समिक्षा गर्दै दुइ ठुला पार्टीहरुविच एकताको घोषणा गर्दैछ । यसर्थ जेठ ३ तीन शोकलाइ शक्तिमा बदलेको दिन हो । सामान्यतया जयन्ती कुनै प्राकृतिक वा कानूनी व्यक्तिको जन्म भएको २५ औं बर्षगाँठमा हर्षको रुपमा मनाउने गरिन्छ । तर २०७५ जेठ ३ गतेले रजत जयन्ती मनाउने विम्ब परिवर्तन गरेको छ ।

मृत्युमा हर्षको रजत जयन्ती मनाएर । राजनीतिमा नजिर भन्ने शब्द त्यति विकाउ त होइन तर २०७५ जेठ ३ गते नेपाली राजनीतिमा बलियो नजिर बन्ने पक्का छ । दासढुंगाको रजत जयन्तीको रुपमा । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकिकरणको घोषणा गरेको दिन मदन भण्डारी र आश्रितको हत्या भएको दिन हो । तर यहि दिन नै यी दुवै कमरेडहरुको विचारले थप सार्थकता पाएको दिनको रुपमा चित्रित हुदैछ । तसर्थ यो दिन हर्षको दिन हो । विश्व कम्युनिष्ट आन्दोलनमा जनताको जनादेश मार्फत शासन व्यवस्था हातमा लिन सकिन्छ भन्ने विचारको अगुवाइ गर्ने भण्डारीले यो विचार सुन्नै नचाहने वर्गमा सुनाए, विचारले प्रशिक्षित गरे र व्यवहारले पुष्टि गरे । काठमाडाै‌को खुला मंचबाट तत्कालिन राजालाई नेता बन्ने भए श्रीपेच फुकालेर चुनावमा आउनुहोस ताकि प्रतिस्पर्धा गर्न सकियोस भन्ने उनको उद्घोष विश्व कम्युनिष्ट आन्दोलनको नयाँ ज्योति थियो ।

उनको ज्योतीको प्रकाश यति टाढा सम्म फैलियो कि कार्लमाक्स नेपालमा जीवित छन् भन्न विश्वशक्ति विवश भयो । आज भन्दा २५ बर्ष अगाडि भौतिक शरिर गुमाएका नेताद्धयले बोकेको विचारले २५ बर्ष पछाडि थप सार्थकता पाएको छ । त्यसैले यो दिनलाइ लोकतन्त्र बलियो भएको दिनको रुपमा लिनु पर्छ । जनताको सार्वभौमसत्ता मजबुत भएको दिनको रुपमा लिनुपर्छ । विचारको मृत्यु नहुने भएकाले जेठ ३ लाइ स्मृती होइन जयन्तीको रुपमा मनाउनु पर्छ । तर जयन्ती मनाउदै गर्दा भण्डारी र आश्रितको शरिर हत्या गर्नेहरुको खोजी गर्ने कार्यमा पुर्ण विराम नलागोस । अनुसन्धानमा पूर्णविराम लागेको हो कि भन्ने आशंका जनजनमा छ । सरकारलाइ कमजोर ठान्ने नागरिकहरु कानूनी शासनको दृष्टिकोणबाट राज्यको लागि चुनौतीका विषय हुन । आज पनि करोडौ नेपालीहरु दासढुंगा हत्या काण्डको रहस्य जान्न लालयित छन् तर मेरो अनुरोध छ सरकार अमर लामाको हत्यारा पत्ता लगाइ दे !!

जेठ ३ रजत जयन्तीका चुनौति :

दुई ठुला पार्टी विचको एकताले समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य बोकेको देखिन्छ । यो लक्ष्य हासिल गर्न विश्वलाइ हेर्ने नेपाली दृष्टि पनि परिवर्तन भएको छ । भौगोलिक राजनीति फरक विन्दुमा उभिएको छ । यि परिवर्तित विम्बहरुलाई अनुसरण गर्नसक्नु नै पार्टी एकिकरणको सफलता हुनेछ । परिवर्तित विम्बहरु बुझेर पनि बुझ पचाउने केहि पात्र र प्रवृतिहरु हिजो र आज पनि छन, भोली पनि रहनेछन् । त्यस्ता पात्रहरुले एकिकृत पार्टीलाइ चोइट्याउने खेल खेल्नेछन् । त्यो चोइट्याइको सिकार नेपाल कम्युनिष्ट पार्टी नबनोस । जेठ ३ समृद्ध नेपाल सुखी नेपाली को लक्ष्य हासिल गर्न सफल बनोस । दासढुंगा रजत जयन्तीको हार्दिक मंगलमय शुभकामना ।

लेखक : कपिलदेव ढकाल (अधिवक्ता), युवा संघ नेपाल केन्द्रिय सदस्य हुनुहुन्छ

248 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank