भारतलाई शिक्षा दिन खोज्दा मैले दुःख पाएँ

शुक्रबार, मंसिर १७, २०७३



- पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाल–भारत सम्बन्ध विगत, वर्तमानमा कस्तो रह्यो र छ । भविष्यमा कस्तो रहला । नेपाली राजनीतिको पहिलो पुस्ता, पूर्व प्रधानमन्त्रीहरु र युवा राजनितिज्ञ, नेपाल भारत सम्बन्धका विभिन्न पाटाका विषयमा जानकार विज्ञहरुको दृष्टिमा नेपाल भारतसम्बन्ध कस्तो छ भन्ने विषयमा खोजमुलक आलेख सहितको किताब तयार भएको छ । युवा राजनीतिज्ञ डा विजयकुमार पौडेलले तयार पारेको नेपाल भारतसम्बन्धका पाटाहरुलाई मसिनोगरि केलाइएको पुस्तक ‘नेपाल–भारत सम्बन्धः विगत, वर्तमान र भविष्य’ बिहीबार काठमाडौंमा सार्वजनिक हुँदैछ । त्यही किताबबाट लिइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले लेखको सम्पादित अंश ।

नेपाल–भारत युगौं पुरानो छ । एकै खालको र सहज भौगोलिक अवस्थिति रहेका कारण मानव सभ्यताको उषाकालदेखि नै यस हिमाली उपमहाद्वीपका मानिसहरुमा परस्पर सम्पर्क, अन्तरघुलन र अन्तरभुक्ति हुँदै आएको देखिन्छ, जुन स्वाभाविक छ । समाजमा वर्गको उत्पत्तिसँगै राज्य व्यवस्थाको उत्पत्ति भएपछि पनि निरन्तर रुपमा नेपाल र भारतका बीचमा विविध खाले सम्बन्ध रहँदै आएका छन् ।

नेपाल र भारतका बीचको राजकीय वा दुईदेशीय कूटनीतिक सम्बन्धको इतिहासलाई तीन चरणमा विभाजन गरेर हेर्नु सान्दर्भिक हुन्छ–१. राज्य व्यवस्थाको सुरुआतदेखि सुगौली सन्धिसम्मको काल, २. सुगौली सन्धिपछि नेपालको गणतान्त्रिक संविधान जारी हुनुपूर्वको काल र ३. नेपालको वर्तमान गणतान्त्रिक संविधान जारी भएपछि विकसित हुन खोजेको सम्बन्धको नयाँ युग ।

मधेशीलाई बढी सुविधा
संविधानमा केही कमजोरी रहेका छन् भन्ने हामीलाई पनि लागिरहेको छ । खासगरी, नागरिकतामा हामी धेरै नै खुकुलो भयौं भन्ने आवाज उठिरहेको छ । वास्तविक मधेशीहरु भारतीय पक्षबाट हुने सीमा अतिक्रमणका विरोधी छन् र त्यहाँ हुने अतिक्रमणले सबैभन्दा बढी असर मधेसी जनतालाई नै पारिरहेको छ । नागरिकता वितरणका सम्बन्धमा पनि यस्तै भइरहेको छ ।

मधेसमा रहेका नागरिकता समस्या एकपटक नागरिकता वितरण गरेर टुङ्ग्याऔं भनेर शान्ति सम्झौतापछि प्रयास गरियो । त्यसबाट पनि समाधान भएन । आज समाधान हुन्छ, फेरि भोलि त्यही समस्या खडा हुन्छ । यसबाट त्यो समस्यामा बाहिरी कारणहरु छन् भन्ने बुझिन्छ ।

वास्तविक मधेसी जनतालाई यस संविधानले ठूलो सम्मान दिएको छ । विदेशीले नागरिकता लिन नपाऊन् भन्ने नसोचिएको होइन । तर, मधेसको केही संवेदनशीलतालाई विशेष ख्याल गरेरै हामीले संविधानमा नागरिकतासम्बन्धी खुकुलो प्रावधान राखेका हौं । त्यसबाट सबै कुरा बिग्रिन्छ जस्तो लाग्दैन । आवश्यक कानुन बनाएर वास्तविक नेपालीलाई नागरिकता दिने र बाँकीका हकमा कडाइ गर्ने व्यवस्था गर्नुपर्छ ।

नेपाल–भारत सम्बन्धको नयाँ आयाम
अब नयाँ मानसिकताका साथ नेपाल–भारत सम्बन्ध सञ्चालन गर्नुपर्दछ । त्यसका लागि नयाँ परिभाषा चाहिन्छ । हामीले धेरै लामो समयदेखि एक प्रकारको सम्बन्ध विकास गर्दै आएका छौं । नयाँ परिघटनाले हामीलाई धेरै कुरा सिकाएको छ । नेपाल र भारत दुवैले अब नयाँ सिराबाट सोच्नुपर्छ ।

नेपाल–भारत सम्बन्धको सकारात्मक पाटोका चर्चा गर्दा हाम्रो सम्बन्ध मौलिक छ । धेरै किसिमले दुई देशमा नजिकको सम्बन्ध छ । सरकारी वा राजकीय स्तरको सम्बन्ध छँदै छ, जनताबीच प्रगाढ सम्बन्ध छ, कुनै समस्या छैन । दुई देशको उस्तै प्रकारको भूगोलले पनि हाम्रो सम्बन्धको मौलिकतालाई प्रतिबिम्बित गरेको छ ।

पछिल्लो समयमा दुई देशवासीको सम्बन्ध सहज किन बनेन ? बिग्रेको सम्बन्धको समीक्षा भारतीय शासक वर्गले नै गर्नुपर्दछ । हामीलाई खुसी लाग्छ, भारतीय राजनीतिक नेतृत्वमा पनि नेपालको स्वतन्त्रतालाई सम्मान गर्ने प्रणाली विस्तारै विकसित हुँदैछ । पत्रकार, जनता, बुद्धिजीवी, लेखक, आदिले नेपालको अवस्थालाई राम्ररी बुझ्न थालेका छन् । नेपाल सानो र कमजोर देश छ भन्ने संवेदनशीलतालाई ध्यानमा राख्नुपर्छ भन्ने धारणा उनीहरुमा विकास भइरहेको पाइन्छ । यसको प्रभाव भारतीय शासक वर्गमा पनि पर्नुपर्छ भन्ने लाग्छ ।

दुई देशका बीचमा पक्कै पनि बढी नै संवेदनशीलता छन् । हाम्रा बीचमा लामो खुला सिमाना छ । यसलाई व्यवस्थित गर्नुपर्छ । सीमापार आपराधिक गतिविधि नहोऊन् र दुवै देशको राष्ट्रिय सुरक्षामा त्यसबाट नकारात्मक प्रभाव नपरोस् भन्नेमा ध्यान दिनैपर्छ । एकैपटक सबै सीमा सिल गर्न नसकिएला, तर नियमनचाहिँ गर्नुपर्छ ।

भारतले नेपाली नेताहरुलाई प्रयोग गरेका कुराहरु सुन्छिन् । मलाई यति भन्न कुनै गाह्रो छैन, यो ‘ओपन सेक्रेट’ कुरा हो – हामी बेला–बेलामा भारतीय पक्षबाट प्रयोग हुने गरेका छौं । तीन तीता अनुभवबाट सिकेर राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय एकता बनाउनुपर्छ ।

इतिहासका अनुभवहरुबाट शिक्षा लिएर अगाडि बढ्नेबाहेक हामीसँग नयाँ विकल्प छैन । हामीले जे बनाउन खोजेका छौं, त्यसलाई अगाडि बढ्ने दायित्व हाम्रै हो, हाम्रो भावी पुस्ताको हो । हामी जति छिटो देशलाई आत्मनिर्भर बनाउन लाग्छौं, त्यति छिटो अरुको थिचोमिचोबाट मुक्त छौं ।

2624 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank