जताततै कोरोना सन्त्रास, सरकारको उपस्थिति न्यून

शुक्रबार, फाल्गुन २३, २०७६



- भूपेन्द्र शाह

काठमाडौँ । गत डिसेम्बर महिनाको अन्तमा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ को सङ्क्रमणले विश्व यति खेर आक्रान्त बनेको छ । कोरोना भाइरसको कारण हालसम्म ३ हजार ३ सय ८५ जनाले अकालमै जीवन गुमाउन बाध्य भएका छन् । पछिल्लो आँकडा अनुसार करिब एक लाखको हाराहारीमा यस भाइरससँग मुकाबिला गरिरहेको तथ्याङ्कहरू सार्वजनिक भइरहेका छन् । कोरोना भाइरसको उद्गम स्थल चीनमा मात्रै ३ हजार ४२ जनाले जीवन गुमाएका छन् भने, शुक्रवार बिहानसम्म विश्वका ८४ देशहरूमा यस भाइरसको प्रवेश भएको आँकडाले विश्व झन् झन् त्रसित बन्दै छ ।

कोरोना भाइरसको कारण चौतर्फी सन्त्रास फैलिए पनि यस भाइरसको सङ्क्रमणबाट सकुशल घर फर्किनेहरूको सङ्ख्या करिब ५३ हजार भन्दा बढी रहेको चीनले जनाएको छ । चीनमा पछिल्लो समय यस भाइरसको सङ्क्रमण घट्दो छ भने बाँकी विश्वमा यसको फैलावट नजानिँदो ढङ्गले बढेको कारण विश्व स्वास्थ्य सङ्गठनले हल्लाको पछि नलाग्न र आवश्यक सावधानी अपनाउन अपिल गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै विश्व स्वास्थ्य सङ्गठनको अपिललाई सम्मान गर्दै विश्वका अधिकांश देशहरूले सार्वजनिक सभा सम्मेलन बन्द गरेका छन् । पछिल्लो समय अधिकांश मुलुकहरूमा शैक्षिक संस्थानहरू बन्द गरिएका छन् । कोरोना कारण चीनमा नयाँ वर्ष मनाउन रोक लगाइएसँगै भारतमा पनि होली पर्व नमनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले अपिल गरेका छन् ।

कोरोनाको कारण चीन सहित,जापान ,इराक,साउदी अरब, फ्रान्स लगायतका देशहरूले विद्यालय बन्द गरिसकेका छन् । नेपाल सरकारले पनि सामुदायिक विद्यालयको परीक्षा आगामी चैत्र ५ गते भित्र सम्पन्न गर्न निर्देशन दिएको छ । साथै निजी क्षेत्रका विद्यालयले समेत उक्त निर्देशनलाई सम्मान गर्ने जनाएका छन् । नेपालको परम्परा अनुसार, गरिँदै आएको नमस्कारको आवश्यकता अकस्मात् चुलिएको महसुस गराउने गतिविधि देखा पर्न थालेका छन् । यसै सेरोफेरोमा मानिसहरूले हात मिलाउनुको सट्टा नमस्कार गर्न सुरु गरेका छन् । कोरोनाको कारण इङ्लिस प्रिमियर लिगमा ह्याण्डशेक गर्न (हस्त मिलन ) प्रबिन्ध लगाइएको छ ।

कोरोना भाइरसको चौतर्फी आतङ्क फैलिरहेको समयमा चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याएका १७५ जना नेपालीहरू विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्दै क्वारेनटाइमको समय सकिएर घर फर्किसकेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले यसको प्रकोपलाई आत्मसाथ गर्दै सार्वजनिक रूपमा सभा सम्मेलन नगर्ने बताएको छ । नेपालमा कोरोना सङ्क्रमणको कारण कसैको ज्यान नगए पनि यसको अफवाह फैलाएर सन्त्रासको वातावरण सिर्जना गरिएको छ । व्यापारीहरूले कोरोना भाइरसको कारण देखाउँदै दैनिक उपभोग्य साम्रगीहरु लुकाउँदै कृत्रिम अभाव सिर्जना गरिरहेका छन् । चर्को मूल्यवृद्धि सहित सामान बिक्री वितरण हुँदै गर्दा सर्वसाधारण मूल्यवृद्धिको आतङ्कमा बाँच्न विवश छन् । कृत्रिम अभावको सिर्जना देखाउँदै बजारमा पाइने मास्क, ग्याँस, चामल लगायतका उपभोग्य सामग्रीहरू लुकाउँदा पनि सरकार केवल वक्तव्य बाजीमै चित्त बुझाउँदै छ ।

बजारमा औषधीको अभाव हुन थालेको छ । यसै समयमा मित्र राष्ट्रबाट आइरहेका सामानहरूमा व्यापक मात्रामा कटौती गरिएको छ । सरकार आवश्यक सामानहरूको आपूर्तिमा ध्यान दिनुको सट्टा अभाव हुने छैन भनेर चित्त बुझाउँदै छ । आर्थिक मन्दीको कारण विश्व तेल निर्माता सङ्गठन (ओपेक)ले तेलको उत्पादनमा भारी मात्रामा कटौती गर्ने निर्णय गरेको छ । चीनबाट आउने सामानहरू करिब ठप्प भएका छन् । आर्थिक क्षेत्र र पर्यटन क्षेत्र नजानिँदो ढङ्गले थला पर्दैछ । कोरोनाको कारण  अर्थतन्त्रमा आएको गिरावटको असर कम गर्न सरकार चुक्दै छ ।

सुखी नेपाली समृद्ध नेपालको नारा कोरोना भाइरसकै कारण थला पर्ने अवस्था सिर्जना गरिएको समयमा सरकारले आम जनतालाई विश्वस्त तुल्याउने कार्यक्रम पस्कन सकिरहेको छैन । निकट भविष्यमा आइलाग्ने आर्थिक सङ्कटबाट पार पाउने अल्पकालीन र दीर्घकालीन नीति र कार्यक्रमहरू निर्माण गर्न खासै ध्यान दिइएको पनि देखा परिरहेको छैन ।केवल औपचारिकतामा  रमेको सरकारको पछिल्लो गतिविधिले उसको उपस्थिति हर क्षेत्रमा न्यून रहेको सर्वसाधारण समेतले महसुस गरिरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments