काँग्रेस र कम्युनिष्ट कसरी छुट्टयाउने ?

फरक मत

मङ्लबार, असार १२, २०७५



- दीपेन्द्र पाण्डे

काठमाडौँ । २०७४ साल मंसिरमा सम्पन्न निर्वाचनपछि  पहिलो पटक ७७ जिल्लाको काँग्रेस सभापतिहरू बर्तमान सत्ताको राजनैतिक ट्याकल गर्न हेटौडामा भेला भए । सत्तामा बस्दा भए गरेका कामलाई भन्दा दुई वाम पार्टीको मिलनलाई काँग्रेस पराजयको एक मात्र कारण देख्ने बर्तमान नेतृत्व नयाँ बिषय बस्तुमा प्रबेश गर्नै चाहेन ।

काँग्रेसको बिरासतलाई चटक्क बिर्सदै कम्युनिष्टको फुटमा मात्र बर्तमान काँग्रेसको भबिष्य देख्ने काँग्रेस महामन्त्रीको उट्पटाङ निचोड पछी कम्युनिष्ट फुटाउने अराजनीतिक दल दलमा काँग्रेस नेतृत्व फस्ने खतरा झन झन बढदैछ । सुबर्ण सम्सेर र बीपी कालिन काँग्रेसको योजना , कार्यक्रम , बिचार , कृयाशिलता , कार्यकुशलता , जनपक्षीय कदमलाई चटक्क बिर्सिएको काँग्रेस बर्तमान संसदमा दया लाग्दो उपस्थीती पछी घुर्की देखाउन अग्रसर हुँदैछ ।

काँग्रेसको इच्छा ,शक्ती र योजनालाई नजिक बाट मुल्याङ्कन गर्दै संसदीय बल मिचईमा फसेको नेकपाको जबाफ दिने काँग्रेस नेता मिनेन्द्र रिजालको शैली टिठ लाग्दो देखिन्छ । पुर्ब एमाले र पुर्ब माओबादीको मिलन सँगै बनेको नेकपाको संसदिय अंकगणित सामु अत्यन्त गरीब काँग्रेसको उपस्थीती ५५ को बिरुद्ध २० र फिल्डमा २७ को बिरुद्ध २० आगामी दिनमा अझ ओरालो लाग्ने कारण बर्तमान काँग्रेस नेतृत्वको गतिबिधी र कार्यक्रमलाई लिन सकिन्छ । बिगतमा काँग्रेस सँग सिद्धान्त , बिचार , कार्यक्रम , त्याग , तपस्या , नेता , संगठन , जनता सबै थियो । २००३ देखी २०१७ सम्मको काँग्रेस क्रान्तीकारी थियो । इतिहासको निष्पक्ष बिश्लेषण गर्ने हो भने काँग्रेस राजनीति निर्णायक भएको समयमा नेकपा आफ्नो संगठन बनाउन अथक परीश्रम गर्दै थियो । प्रजातन्त्रको आगमन पश्चात सुस्ताउँदै गएको काँग्रेसको क्रान्तीकारी छबीलाई उछिन्दै हुर्किएको नेकपा अनेकौं टुटफुटको बाबजुद राष्ट्रीयता , जनजिबिका र लोकतन्त्रको निम्ती असंख्य त्याग , तपस्या सँगै संसदिय अनुभब र लोकतान्त्रीक आचरण कमाउँदै थियो ।

०४६ को राजनैतिक परिवर्तन सँगै अत्यधिक पञ्चहरु काँग्रेस पार्टीमा समाहित हुँन पुगे । पञ्चायतको सुरक्षित घर भत्किए पछी बिगत देखी खाईपाई आएको सुबिधा बचाउने नियतको साथ काँग्रेस रोजेको पञ्चहरु अन्तत काँग्रेस नेतालाई पञ्चायत कै बाटो हिडाउन सफल भए । तर आर्थिक र राजनैतिक रुपले दिन प्रतिदिन कमजोर हुँदै गइरहेको सामन्तबाद बिश्व पुँजीबादको सिकार बन्दै दलाल पुँजीबादमा रुपान्तरित हुँदै गइरहेको नेपाली कम्युनिष्टहरुले नबुझ्ने कुरै रहेन । अबसरबादको घोर बिरोध गर्ने तर अबसरबादी बन्न कुनै संकोच नमान्ने नेपाली वाम नेतृत्वको नयाँ सिद्धान्त सरुवा रोग झै कार्यकर्ता सम्म फैलिन जाँदा काँग्रेस र कम्युनिष्ट बिचको बैचारिक , साँस्कृतिक र आर्थिक दुरी घटदै थियो । गणतन्त्र र लोकतन्त्रको आबरणमा नेपाल प्रबेश गरेको दलाल पुँजीबादको असर नेपाली वाम नेतृत्वले थेग्न सक्ने कुनै नीति , कार्यक्रम र बिचार ब्यबहारमा ल्याउन नसक्दा आफै भौतिकबादी बन्दै काँग्रेस सँग दुरी घटाउन राजी भए ।

आज काँग्रेस कहाँ छ ? नेकपा कहाँ छ? घोत्लीने फुर्सत न काँग्रेस नेतृत्व सँग छ । न नेकपा सँग जिबनलाई राजनैतिक उधोग मानेका , देश बनाउँन सरकारी जागिर त्यागेका , पैतृक सम्पती इस्टमित्र मात्र हैन जिबन नै दाउमा राख्दै भुमिगत राजनीतिमा हाम फालेका , सम्पुर्ण देशबाशीको मुक्तीको निम्ती कठिन संघर्ष र जेल जिबन भोगेकाहरु ०४६ को परिवर्तन पछी कसरी भौतिकबादी हुन पुगे । केवल सामन्तबाद धर्मराएको अवस्थामा समाजबाद र साम्यबादको ब्यापार गर्नेहरु आफ्ना सन्तानलाई जसरी भए पनि पुँजीबादी शिक्षा दिन दलाल पुँजीबादको सामु भिख माग्न कुन शक्तीले प्रेरित गर्‍यो । गिरिजा देउवा शासन कालमा टेक्ने समाउने हाँगो नभएका कम्युनिष्ट नेताहरु कसरी नब एलिटमा दर्ज हुँन पुगे । देशका दुरदराज बाट काठमाण्डौं आएका केवल समाजबाद , साम्यबाद मात्र जानेका नेताहरु कसरी शेयर बजार जान्न पुगे। उनीहरुको सम्पतीको बैधानिक श्रोत र आधार के हो , कहिल्यै काम नगर्ने , घरबाट सुको नल्याउने , आम्दानीको नाममा रुपैया नकमाउने नेकपाका नेताको दैनिक खर्च कसरी चल्छ उनी हरुको घरभाडा कसले र किन तिर्छ आफु जनबादी बिबाहको वकालत गर्ने , सम्पती बिबरण पेस गर्दा बुहारीको माइतीबाट आएको भन्ने बिडम्बनापुर्ण स्थीतीले जन्म लिनुपर्ने कारण के हो ? जस्ता गम्भिर सवाल कम्युनिष्ट पार्टीको कुनै पनि फोरममा चर्चा हुँदैन ।

सत्ता दाउपेचको कारण अत्याबश्यक र निर्णायक कुरालाई थाँती राख्दै पुर्ब एमाले र माओबादी केन्द्रको मिलन पश्चात निर्मित भिमकाय पार्टी नेकपा केवल नेताहरुको ब्यबस्थापनमा समय खर्चिदै छ । निर्बाचनको माध्यम बाट जनअनुमोदित हुँदै पाँच बर्षको निम्ती सिंहदरबार पुगेको कम्युनिष्ट सत्ता कुहिरोको काग बन्दैछ । सम्भब असम्भब कुरा समटदै निर्माण गरिएको वाम घोषणापत्रलाई आलाकाचा युवा युबतीले बिबाहपूर्व लेखेको प्रेमपत्र कै स्थान ओली सरकारको बजेटले बनाई दियो । चरम आर्थिक असमानता र सुनियोजित गरिबीले मौलाएको राजनीतिको जगमा जन्मने सपनाहरू मुलुकले थेग्न नसक्ने गरी वितरण गर्दै सत्तामा बिराजमान ओली सरकार नेकपाको आर्थिक नीति कस्तो हुने ? घोषणापत्र , पार्टी सिद्धान्त र जनता सँग गरिएको औपचारिक अनौपचारिक बाचा कबुलको बारेमा पार्टीको कुनै पनि संगठन , मोर्चा , निकाय , कमिटीमा छलफल चलाईदैन । केवल सिंहदरबार र बालुवाटारको घेराको भरमा वा बिज्ञ अर्थमन्त्रीको भरमा नेकपाको सपना पुरा गर्ने शैली गिरिजा कालिन काँग्रेसको समान देखिदा काँग्रेस कम्युनिष्टको फरक केवल भाषणमा मात्र देखिन्छ भन्ने आरोप सत्य सँग नजिक मान्न करै लाग्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाउँने बिश्व पुँजीबादको गैरसरकारी रणनीतिलाई बेवास्था गर्दै उनीहरुको पैसा जसरी पनि आफ्नो झोलीमा पार्ने नेपाली कम्युनिष्टहरुको कृयाकलाप खुद बिश्व पुँजीबादलाई अनौठो लाग्दैछ । प्राकृतिक श्रोतको दोहन , शिक्षामा दलाली करण , जग्गाको प्लटिङ्ग ,यातायात क्षेत्रको सिण्डीकेट , मीलीमतोमा ठेक्का पट्टा , म्यान पावर एजेन्सी , झोलामा हाइड्रो , पानी देखी सुन बेच्ने सम्म पहुँच , लगायत असंख्य ठाउँमा काँग्रेस र कम्युनिष्टको फरकपन फेला पर्दैन । भट्टी देखी पार्टी प्यालेस , जुवा घर देखी क्यासिनो सम्म , टोले डन देखी राष्ट्रीय डन सम्म समान देखीने कार्यकर्ताको आर्थिक उपार्जन राजनैतिक आशिर्बाद बिना सम्भब देखीदैन । काँग्रेस जती गन्हाए पनि काँग्रेसलाई प्रिय, कम्युनिष्ट जती गन्हाए पनि कम्युनिष्टलाई प्रिय लाग्ने लोकतन्त्रको जग मनी , मसल र म्यानपावर हो भनी रहनु परेन । पैसाको निम्ती जे पनि गर्ने , नैतिक रुपले जती पनि गिर्ने अनि प्रजातान्त्रीक समाजबाद , जनबाद , साम्यबाद , पार्टी , झण्डा केवल देखाउनको निम्ती फरक रहेको अनुभब सर्बसाधारणले महशुस गर्नुलाई शिर्ष नेताको असफलता नभने के भन्ने ?

कार्यकर्ताको आनी बानी, ब्यबहार, उठ बस ,जिबन शैली, बैश्ययुगको समान समस्या, समान बैचारिक धरातल , किताब फोबिया पछी फरक पार्टीको अभ्यास केवल बहुलबाद र लोकतन्त्रको सौन्दर्य सिवाय केही रहेन । प्रस्ताबित सांगठनिक स्वरुपले जन्माउने बीस र सय रुपैंयामा पाउन सक्ने नेकपाको सदस्यता , आमा बाबु जता लागे छोराछोरी त्यतै लाग्ने परम्परालाई निरन्तरता दिंदै अगाडी बढने भिमकाय नेकपाले रोज्ने बाटो पनि बिगत भन्दा फरक नरहने निस्चित देखीए पछी भोलीको कम्युनिष्ट पार्टीको बैचारिक आधार कोटयाउनै परेन ।

देशैभर कम्युनिष्ट कार्यकर्ताले जनताको सेवा गर्ने स्थानमा पुग्ने तर बिकासको महशुस समेत गर्न नपाउने स्थीती पछी समाजबाद र साम्यबादको हवाई सपना हाँक्ने जमात राजनीतिमा हाबी हुँन पुग्दा आगामी नेकपाको गन्तब्य कता मोडीदैछ ?अनुमान गर्न नसकिने बिषय रहेन । सत्ता र शक्तीको निम्ती अत्यन्त सजिलो देउवा पथ संसदिय राजनीतिको अभिन्न अंग भइसकेको बर्तमान समयमा आफ्नाले जे गर्न पनि पाउने , जसो गरे पनि हुने , नेताको आशिर्बाद पाए पछी लुटने साइसेन्स पाउने लोकतन्त्रमा काँग्रेस र कम्युनिष्ट कसरी छुट्टयाउने ? करीब असम्भब बन्दैछ ।

684 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank