कास्केली जनतालाई अग्रिम शुभकामना !!!

बुधबार, कार्तिक २०, २०७६



- सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र

अहिले नेकपाले कास्कीको क्षेत्र नम्बर दुईका लागि जीवन र जगत, पदार्थ र चेतना, प्रकृति र समाजको अन्तरसम्बन्ध बुझेर राजनीति र समाजका बारेमा बहस गर्न सक्ने विश्व विद्यालयको अध्यापकलाई प्रतिनिधि सभा सदस्यको रूपमा छनौट गरेको छ । राजनीतिभित्र निष्ठा र आदर्श हराएको अवस्थामा यस्तो दलीय तथा राजनीतिक निर्णयले राजनीति दलमा इमानदार, राजनीतिक सुझबुझ भएका, क्षमता र दक्षताले अब्बल पार्टीका कार्यकर्तालाई पाटीले आवश्यकता पर्दा सम्मान गर्दो रहेछ भन्ने अवस्था निर्माण भएको छ ।

राजनीतिक दलभित्र लैङ्गिक समानता, समावेशीकरण जस्ता विषयमा जनसङ्ख्यालाई आधार व्यवहारिक प्रयोग गर्न नसकेको अवस्था, दृष्टिकोणमय कमजोरी र पितृसत्तात्मक सोच हाबी भइरहेको राजनीतिक तरलतामा गुटबन्दीको संकिणता भन्दा उठेर निर्णय गर्न पुगेको देखिन्छ । शीर्ष नेतृत्वले जे जसरी छनौट गरे पनि यो निर्णय राजनीति हिसाबले एउटा इमानदार महिलाको प्रत्यक्ष सहभागिता र सक्रियताको विषयलाई निर्विवाद र सम्मानपूर्ण तरिकाले निर्णयार्थ प्रस्तुत गरेर नै निकास निकालेको देखिन्छ । नेकपाले विकल्प विहीन बनाएर निर्णय गर्नु पर्ने अवस्थामा पुर्‍याउने रविन्द्रको योगदानलाई विद्या भट्टराईसँग जोड्ने प्रयत्न गर्ने शुभचिन्तक, साथीभाइ, हितैषी, कार्यकर्ता र सिङ्गो कास्की जिल्ला कमिटीको महत्त्वपूर्ण भूमिका देखिन्छ । यसरी गरिएको निर्णय प्रक्रियाले दलका संरचनाहरूलाई लोकतान्त्रिक, निर्विवाद बनाउने गर्दछ ।

पाटीले निर्वाचनको मैदानमा उम्मेदवारको योग्यताको छलफल, बहस गर्दा पुरुष कार्यकर्ता र महिला कार्यकर्तालाई उनीहरूको राजनीतिक लगाव, निष्ठा, नियमितता सँगै उसको राजनीतिक कार्य क्षमता र जन भावनालाई पनि समेट्दै राजनीतिक र गुटगत स्वार्थ भन्दा माथि उठेर सामाजिक मुद्दासँग सम्बन्ध र भूमिका खेल्न सक्ने व्यक्तित्व चयन गर्नु पर्दछ । यो उपनिर्वाचनको क्रममा नेकपाको शीर्ष नेतृत्वले त्यही धरातलमा बसेर रविन्द्रको राजनीतिक जीवनलाई जीवित गराउन विद्या भट्टराईलाई प्राध्यापन सेवाबाट राजीनामा गराएर राजनीतिक माहोलमा प्रवेश गरायो छ । यस्तो पद्धति र प्रक्रिया देशका अन्य क्षेत्रको उप निर्वाचन र उम्मेद्वारीमा पनि लागू गर्न सफल भएको छ । अहिलेको राजनीतिक परिवेशमा यो निकै प्रशंसनीय कार्य पनि हो ।

यसरी हेर्दा विद्या भट्टराई एक्कासि राजनीतिमा आएकी होइनन् भन्ने कुरा उनको विगतको राजनैतिक पृष्ठभूमिले प्रष्ट्याउछ । उनले बाल्यकालदेखि रविन्द्र अधिकारीको राजनीतिक जीवन, पद र प्रतिष्ठा प्राप्तिको अवस्थासम्म कहिल्यै पद, प्रतिष्ठालाई शक्ति केन्द्र बनाएर पदीय धोहोन गर्न जानिनन् र गरिनन्। हरेक पटकको राजनीतिक उतारचढाव र निर्वाचन केन्द्रीकृत अवसरमा राजनीतिलाई पद, पैसा, शक्ति भन्दा पृथक् राख्नु पर्दछ भन्ने मान्यता बनाएर पति रविन्द्रलाई सहयोग गरिन् । घरपरिवारभित्रको आर्थिक व्यवस्थापनका लागि पारिवारिक जिम्मेवारी र पेसागत सम्बन्ध विकास गरेर इमानदारीपूर्वक आफ्नो क्षमताले खारिइन ।

महिलाहरूको हरेक काम या पेसा र जीवन विवाह भएपछि पति र घरसँग जोडिने गर्दछ । त्यसमा आफ्नो प्रेमपूर्ण सम्बन्धलाई वैवाहिक नातामा ढालेका राजनीतिक सहकर्मी र सहधर्मीले दुवै क्षमतावान् हुँदाहुँदै पनि पुरुष सहकर्मीलाई सहयोग गर्नु, घरपरिवारको व्यवस्थापन गर्दै आर्थिक सामाजिक दायित्व निर्वाह गर्नु पर्ने बाध्यतालाई विद्याले सृजना कामको रूपमा ग्रहण गरिन् । त्यही चुनौतीपूर्ण त्यागले रविन्द्रको राजनीति कामलाई सहयोग गर्ने र एकअर्काविच विश्वासिलो आधार बन्यो । त्यहीँ विश्वासिलो आधारले दाम्पत्य जीवनलाई अघि बढाउन मद्दत गर्‍यो ।

विद्यार्थी राजनीतिबाट भूगोलको राजनीतिक कामको जिम्मेवारी पाएका सहधर्मिसँगै विद्याले काठमाडौँको अध्यापन पेसा छोडेर पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापन गर्दै रविन्द्रको राजनीतिक कामलाई सहयोग गर्न थालिन् । त्यस बेला काठमाडौँमा जन्मिएकी विद्यालाई जन्मिएको भूगोल, पेसा, राजनीति काम, नाता सम्बन्ध र साथीहरू सबै नयाँ अनि तरल भए र थिए । त्यहीँ नयाँ र चुनौतीपूर्ण अवस्थालाई बिस्तारै सबैसँग घुलमिल हुँदै नयाँ तर दिगो सम्बन्ध विस्तार गर्न सफल भएर सबैकी प्रिय भाउजू, बुहारी र प्राचार्य बनिन् । पेसागत दक्षता सँगसँगै अध्ययन अनुसन्धानको काममा लागेर ज्ञानको श्रोतलाई विस्तार गरिन् र वि. स. २०५८ देखि विभिन्न अनुसन्धानात्मक काममा नेतृत्वदायी भूमिका खेलिन् । घरपरिवार, अध्ययन र पारिवारिक जिम्मेवारीको व्यवस्था गर्न विद्या पुनः काठमाडौँ आइन् ।

नेपालीको राजनीतिमा पछिल्लो अवधिमा राजनीतिभित्र अपराधीकरण हाबी भएको अवस्था छ । झन्डै ०४६ को दलीय व्यवस्थाको आगमन पश्चात् मूलकमा स्थायी सरकारको स्थायित्व देखिएको अहिले दोस्रो पटक मात्रै हो । पहिलो पटक नेपाली काङ्ग्रेसको बहुमतको सरकारको नेतृत्व स्वर्गीय गिरिजाप्रसादले गरेको अवस्थामा उनीहरूकै अन्तरविरोधले सरकार ढल्यो । त्यसपछि बहुमतको सरकार बनाउन राजनीतिभित्र थुप्रैपटक माननीयहरूको तोलमोल र किनबेच भयो । किनमेलसँग सुरा-सुन्दरी पनि जोडिए । ती र त्यस्ता अप्रजातान्त्रिक र आपराधिक गतिविधिको प्रभाव राजनीतिकर्मी र राजनेताहरूमा पनि दोछाया जस्तो गरी देखियो । त्यस्ता प्रकृतिका नानाथरी टीकाटिप्पणी गर्नेहरू नै अवसरलाई केन्द्रमा राखेर सबै दलमा प्रवेश गरे । यस्ताहरूले दल र दलका नेतालाई दोहन गरे अवसर पाए/लिए । त्यही कारण दलका इमानदार कार्यकर्ता पाखा परे । कतिपयले योग्यता र क्षमताको प्रदर्शन गरेर फरक परिस्थिति बनाएर पेसा रोजे । त्यस्तै परिस्थिति भित्र बाँचेकी विद्या भट्टराईले पनि उच्च अध्ययन सकेर प्राध्यापन पेसा रोजिन् तर कुनै न कुनै रूपमा राजनीतिलाई नियमित बनाएर राजनीतिक जिम्मेवारीलाई पुरा गरिरहिन् । उनी पेसाभित्र प्रवेश गरेपछि अवसरको होडमा होइन गुणस्तरीय राजनीति बनाउनु पर्छ भन्ने बहसतिर लागिन् । यसो भन्दैमा उनी कहिले नआउने भन्ने थिएन । समय र राजनीतिक आवश्यकताले जुनसुकै जिम्मेवारी लिनुपर्ने हुन्छ / हुनसक्छ भन्ने मान्यताको पक्षपोषण गरिन् । त्यसो गर्नु राजनीतिको विश्राम होइन बहस थियो ।

पदार्थलाई सृष्टिको आदित्य तथा चेतनालाई पदार्थको विशिष्ट गुणमा बदल्न सकिन्छ भनेर संसार बुझ्ने र विश्लेषण गर्दै निरङ्कुश पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था प्राप्त गर्ने अभियानमा निर्भरता पूर्वक खडा भएकी भौतिकवादी सोचकी धनी विद्या भट्टराईलाई निर्वाचनको सन्दर्भसँग जोडेर गरिने चुनावी टिप्पणीले कुनै असर पार्दैन । यस्ता अराजनीतिक टीकाटिप्पणीलाई कस्केली जनताको अपार माया, स्नेह, साथ र रविन्द्रप्रतिको विश्वासले निस्तेज बनाइदिने छन् । अहिले कास्केली नागरिक आफूले सम्मान र माया गरेको आदरणीय नेताको अभावको पूर्तिको लागि जे जस्तो आवश्यकता पर्छ त्यही अनुसारको योगदान गरेर जिम्मेवारी र उत्तरदायित्व पूरा गर्न कम्मर कसेका छन् । एउटा उच्च राजनीतिक र प्राज्ञिक व्यक्तित्व साथै महिलालाई उम्मेदवार बनाएर पठाएको यस्तो बेला बौद्धिक दरिद्रता देखाउँदै सामाजिक सञ्जालमा अभद्र प्रस्तुत हुनेहरू देख्दा निकै दया जागेर आउँछ । यो सचेत व्यक्तिको राजनीतिक, सामाजिक र बौद्धिक चरित्र होइन । यस्तो दरिद्र प्रस्तुतिले प्रस्तुतीकरण गर्नेलाई अझै गरिब र नाङ्गो बनाउने छ ।

आफ्नो परिवारको आफै नाता जोडेको मान्छे गुमाउनु पर्दाको पीडा जसले भोगे छ उसलाई जति अरूलाई थाहा हुन्न। विद्या भट्टराईले अहिले स्थायी प्राध्यापन पेसाबाट राजीनामा गरेर यस्तो पिडामा, रविन्द्रले काखमा छोडेका दुई सन्तान, घर, परिवार र आफूलाई समाल्दै शोकलाई शक्तिमा बदलेर देश र जनताको लागि समर्पित हुन खोज्नु चानचुने कुरा होइन । यो देश र जनता प्रतिको असीम आशा, विश्वास र भरोसा हो । यस्तो साहसिक कार्य र लक्ष्यमा सबैले मिलेर सहयोग र समर्थन गरौँ । विद्या भट्टराईको औपचारिक राजनीतिक यो यात्रा देशको आर्थिक सामाजिक समृद्धि र निकासकालागि अनन्तकालसम्म जनभावना अनुरूप अघि बढ्दै जाओस् । नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्न सक्ने एक कर्तव्यनिष्ठ, जुझारु, मेहनती, इमानदार, जनउत्तरदायी प्रतिनिधिसभा सदस्य विजयी गराउन कास्केली जनतालाई अग्रिम शुभकामना !

सीता ओझा
अध्यक्ष
महिला अध्ययन केन्द्र

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata