विद्या तिम्रो निष्ठासँग जोडिएको जनसमर्थन र विजयलाई शुभकामना !!!

बुधबार, मंसिर १८, २०७६



- सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र

प्यारी नानी
विद्या
पदार्थलाई सृष्टिको आदित्यसँग जोडेर तथा चेतनाले  पदार्थको विशिष्ट गुणको आधारमा समय सापेक्ष समाज  बदल्न सकिन्छ भनेर  संसार बुझ्दै र विश्लेषण गर्दै निरङ्कुस पञ्चायती व्यवस्था  फालेर  बहुदलीय व्यवस्था प्राप्त गर्ने अभियानमा विद्यालयदेखि विश्वविद्यालयसम्मको नेतृत्व गरेर निर्भिक पुर्वक खडा भएकी तिमीमा भौतिकवादी सोच सिन्चिएको छ ।  अनेकौं यस्ता अन्धविश्वास र सांस्कृतिक जडतालई समय अनुसार बदल्नै पर्छ भन्ने मान्यता राख्ने तिमीमा, आफ्ना सहकर्मिको अप्रत्याशित र असमायिक दुर्घटनाको खबरलाई धैर्य पुर्वक समालिएर घर,परिवार र सिङ्गो पाटीलाई अगुवाइ गर्दै रवीन्द्रको राजनीतिक योगदानलाई जीवन्त राख्न अदम्य सहास रहेछ ।

त्यहि साहसिक कार्यका कारण आफ्नो विश्वविद्यालयको उप-प्राध्यापनको पेसाबाट नै राजीनामा दिएर  कास्केली जनताको अपार माया, स्नेह ,साथ र  रविन्द्र प्रतिको विश्वासलाई सम्मान गर्दै उपनिर्वाचनमा होमियौ । त्यहीँ कारण तिमीले  कास्केली जनताको साथ,सहयोग ,माया र स्नेह पाएर भारी मतले विजय हासिल गरिसकेकी छौ ।  अबका दिनमा त्यो माया, स्नेह र ममताको पुरापुर जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने छौ । तिमीले पनि यस बेला तिमी आबद्द भएको दलले तिमीप्रति देखाएको विश्वास  एउटा उच्च राजनीतिक संस्कार र प्राज्ञिक व्यतित्व भएकै कारण  गरेको निर्णय हो भनेर लिएकी छौ । साथै तिमी महिला पनि हौ  । प्रत्यक्ष निर्वाचनमा महिलाहरू निर्वाचनमा जान सक्दैनन् भन्ने मान्यतालाई तिमीले दिएको यो उम्मेदवारीले  राजनीतिक परिस्थिति मिलाउन सक्यो भने प्रत्यक्ष निर्वाचनमा महिलाहरू  पनि  प्रतिस्पर्धा गर्न सक्षम छन भन्ने कुरालाई पुनः स्थापित गरेको छ ।

अहिले दलहरूभित्र गतिशीलता कम भएर अवसरवाद हावी भएको अवस्था छ । यस्तो बेलामा दलभित्रको राजनीतिक काम हैन नेताको अघिपछि लाग्ने ,नजिक हुने,हेलो हाइमा  आफुलाई अब्बल बनाउने, नेतृत्वसँग नाता गास्ने , जन्मदिन पारेर उपहार लिएर नेताहरूलाई भेट्न जाने ,उपहार प्रदान गर्ने ,नेतृत्वहरूसँग भेट्ने वितिकै  सेल्फि या अन्य तरिकाले तस्विर  खिच्ने र हिड्ने,भेटेसम्मका कमिटीमा प्रमुख पद रोज्ने , कार्यक्रम झलक पुग्ने र आत्तिदै मेरो त हतार छ  भन्दै हिडि हाल्ने चलन फेसन नै बनिसकेकाे छ ।  विचार र सिद्धान्तसँग नमिल्ने अराजनीतिक कुरा गर्ने,काम गर्नेलाई अपमान,हेलाँ होचो र निषेध गर्ने,सकेसम्म आफू बाहेक अरूले अवसर पाएको देखि नसहने, अर्काको कुरा नकाटि बस्नै नसक्ने, नभएका कुराको कल्पना गरेर अनाहकमा अन्तरविरोध सृजना गरेर कमिटीहरूमा बखेडा सृजना गर्ने जस्ता प्रवृत्तिहरू हावी भएको छ । यस्ताे बेलामा  राजनीतिक रूपले दिक्षित,दक्ष,क्षमतावान र सदासर्वदा जिम्मेवारी प्रति बफादार व्यक्ति पाउनु राजनीतिक दलका लागि निकै गौरवको कुरा हो । तिमी अहिले त्यहीँ गौरव गर्ने ठाउँमा पुगेकी छौ ।

आफ्नो खसम चढेको प्लेन हरायो भन्ने खबर पाउँदा पनि  त्रिभुवन विश्वविद्यालयमा आफ्नो जिम्मेवारीलाई  धैयर्तापुर्वक टुङ्गयाउँदै आफ्नो परिचय दिएकी थियाै ।  सबै कर्मचारी साथीहरूलाई ”  म गएँ है ” भन्दै कार्यस्थलबाट निस्किएकी तिमीले प्लेन हराएको खवरले विचलित हुने सबैलाई ”  धैर्य गरौं , राम्रो खबर सुन्न पाइएला ” भन्दै  आतिएकाहरू प्रति सानत्वना प्रदान गर्ने सहास बटुलेकी थियौ । त्यसतो संकट र पिडामा पनि  जिम्मेवार  ,लगनशिल,सरलता देखाउन सक्ने क्षमता राख्ने तिमीमा घर,परिवार , नाता सम्बन्ध र समाजलाई बुझ्दै रविन्द्रले अघि सारेका विकास र आर्थिक समृद्धिका विषयहरूको योजना वद्ध कार्यान्वयन गर्न केन्द्रीय ,प्रदेश र स्थानीय सरकारसँग तालमेल गर्दै अनि बढ्न सक्ने नै छौ ।

पाटीभित्र सक्रिय रूपले काम गर्दा गर्दै व्यवहारमा टाढा गर्ने,कार्यक्षेत्रमा सृजना भएका द्वन्द्व व्यवस्थापन गर्न नखोज्ने,अरूलाई देखाएर  कामहरू पन्साउने, छि: छि ,दुरदुर जस्तो गर्ने,मन नपराउने ,कुरा नसुन्ने आदि व्यवहार पाटीभित्र मौलाउनु भनेको गुटबन्दी गर्नु हो । यस्ता अप्रजातान्त्रिक व्यवहार , चिन्तन ,परिपाटी र  दम्भ पालेका सयौं सहकर्मीहरू आन्दोलनमा सगैं हुनसक्छन् । यस्ता प्रवृतीका मानिसहरूले आफ्नो हित,पद,शक्ति र फाइदालाई आफ्नै वरिपरि भएको मन पराउछन्  ।  त्यस्तै कतिपय काम र कुरा आफ्नै कारण र आफुले नै गरिदिएको जस लिन आतुर हुन्छन् । यस्तो अवस्थामा आफुले गर्ने काम र   पाटीको संरचना आफ्नै कारणले कमजाेर हुन सक्छ । ख्याल राख्नु र आफ्नो कारण  संस्थागत क्षति हुनबाट जोगाउनतिर  ध्यान दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा सहकर्मीले नै अन्तरविरोध बढाएर पन्साउन खोजिरहेका हुन्छन् । काममा ढिलासुस्ती या बाधा भएको हो कि भन्ने ठानेर कामलाई अघि बढाउन खोज्दा त्यस्तो अवस्थामा पर्ने संकटलाई वुद्धि पुर्याएर कुटनैतिक तरिकाले समस्यालाई हल गरेर अघि बढ्नु पर्ने हुन्छ ।

  माथि उल्लेख गरेका समस्याहरू समस्या मात्रै होइनन् यी संसदीय राजनीतिका विकृति पनि हुन् । हेर्दा  झन्झट लाग्ने तर विस्तारै दलको गतिविधि र सक्रियता सखाप पार्ने एपेन्डिक्स प्रकृतिका रोगहरूले कहिलेकाहीँ  आफुलाई र धेरै जसो पाटीलाई सखापै बनाउछ । सामाजिक रूपमा सहिष्णुता,सद्भावना,सदाचार र सह-अस्तित्व कायम गर्न असहयोग पुर्याउने नकारात्मक सोचहरूकाे  तिमीले सामना गर्नु पर्ने हुन्छ ।   चुनौतीहरूसँग लड्दा तिमी हजारौं पटक एक्लै हुन सक्छौ र हुन्छौ । त्यस बेला पर्ने त्यस्ता समस्यालाई आन्तरिक जीवनका सामान्य घटनाका रूपमा लिएर कम बोल्ने,विचार पुर्याउने या सुन्ने र बिस्तारै सुल्झाउनेतिर लाग्ने छौ । समस्या हल गर्ने प्रयत्न गरिरहदा तिमी छुच्ची या नमिल्ने बनाउदै हेप्न ,देख्न नसक्ने र अपमानजनक व्यवहार गर्ने पनि हुन्छन् ।  तिमीप्रति गरिन सक्ने पुर्वाग्रहि आचरण  र व्यवहारको बेवास्ता गर्दै कामलाई अघि बढाउनु उत्तम हुनेछ  ।

तिमी अब प्रत्यक्ष रूपमा राजनीतिक कार्यकर्ता र विधायक भएकी छौ । हिजोको र आजको जिम्मेवारी र काम फरक परेको छ । हिजोको दिनमा जनसम्पर्क प्रमुख काम थिएन।  सहायकको रूपमा निभाउदा पुग्थ्यो तर अब दिवगत  रविन्द्रले निर्वाह गर्ने जनसम्पर्कका सम्पुर्ण काम तिमी एक्लैले पूरा गर्नुपर्ने परिस्थिति बनेको छ ।  विगतमा बुहारी र   छोराहरूकाे आमा थियाै भने  राजनीतिक यात्रा गरिरहदा अबका दिनमा परिवारभित्र तिम्रो नाता र सम्बन्धको आधारले राखिएका अपेक्षा पूरा नहुन सक्छन् । त्यस्तो बेलामा परिवारभित्र सृजना हुने अन्तरविरोधहरूको व्यवस्थापन गर्ने कुरा पनि निकै महत्त्वपूर्ण हुनेछ । नाता सम्बन्धभित्र  उमेर र आवश्यकता अनुसार व्यक्तिका विचार र चाहनाहरू फरक हुने गर्छन् । त्यस्ता कुराले कहिलेकाही तिम्रो कामलाई अल्मल्याउन र अन्तरविरोध सृजना गर्न सक्छन । त्यतातिर पनि तिमीले विशेष ख्याल राख्ने नै छौ ।

आफ्नै छोरो,दाइ र पिता गुमाएका परिवारका सदस्यहरूले आफ्नाे मान्छे गुमाउनु पर्दाको पीडा जसले भोगेकाे छ । उसलाई  जति अरूलाई थाहा हुन्न। अहिले राजनीतिक संस्कार तुहिएको अवस्था छ ।  पाटी र कास्केली जनताले  रविन्द्रप्रति देखाएको अगाध सम्मान , माया र आवश्यकताले तिमीलाई राजनीतिक यात्रातर्फ तानेको छ । भोलिका दिनहरूमा आज कै स्नेह र आवश्यकताले नहेर्ने  अवस्था पनि बन्न सक्छ । त्यस्तो अवस्थामा तिमीले  प्राध्यापन पेसाबाट दिएको राजिनामा र  राजनीतिमा प्रवेश गरेको विषयलाई विविध ढङ्गबाट टिप्पणी गर्न सक्छन। भाेलीकाे दिनमा परिस्थिती अर्कै बन्न पनि सक्छ ।   दलमा मात्रै होइन घरमै पनि आर्थिक सामाजिक संकट पर्न सक्छ ।  तिमीले यस्ता विषयलाई राजनीति भित्रका विविध विसंगतिहरू मध्यको यो पनि एउटा हो भनेर  सामान्यीकरण गर्न सफल हुनु पर्नेछ  ।

दुई सन्तान, घर,परिवार र आफुलाई समाल्दै  कास्केली जनताको जनभावना,हितैसी र राष्ट्रिय आवश्यकतालाई बुझेर रविन्द्र प्रतिको सम्मानको शोकलाई शक्तिमा बदलेर देश र जनताको लागि समर्पित हुदै राजनीतिको मुलधारमा समाहित हुनुपर्ने दायित्व थपिएकाे छ ।  तिमीप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट सहयोग र सद्भाव देखाएर राखेको निष्ठा र इमानदारिताकाे अपेक्षालाई पूरा गर्न तिमी अब्बल भएर उभिनेछौ ।

तिम्रो जितमा रविन्द्रकाे विगत जाेडिएकाे छ । कास्केली जनताले तिमीलाई परेको पिडाप्रति देखाएको  माया,आशा,बिश्वास र भरोसामा खराे उत्रनु तिम्राे दायित्व हुनेछ  । सोच्नै नसकिने पिडालाई सबै मिलेर सामना गरौं भनेर नै पाटी,हितैसी र  जनताले तिमीलाई साथ दिएका छन् । अबको  बिद्या भट्टराईको औपचारिक राजनीतिक  यात्राले देशको आर्थिक,सामाजिक समृद्धिको योजनाको कार्यन्वयनमा सहयोग पुर्याउने छ भन्ने आशा पनि राखिएको छ । राजनीतिक, आर्थिक र सामाजिक पक्षबाट मुलुकलाई  अग्रगमनतिर लैजान साथै नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्न तिमीले अहाेरात्र खट्न पर्नेछ । एक कर्तव्यनिष्ठ,जुझारू,मिहेनती,इमानदार , जनउत्तरदायी कुशल प्राज्ञिक व्यक्ति प्रतिनिधिसभा सदस्य विजयी गराउन कास्केली जनताले  गरेको योगदानलाई जाेगाउँदै तिम्रो  निष्ठासँग जोडिएको जनसमर्थन र विजयलाई  सधै अब्बल दर्जामा उभिएको देख्न पाउँ !  तिमीलाई जितको बधाई तथा शुभकामना !

तिम्री दिदी
सीता

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata