कमरेडको सोच र मुलुकको दुर्दशा !

फरकमत

शनिबार, जेष्ठ ३, २०७७



- दीपेन्द्र पाण्डे

सामान्य मानिसलाई समेत थाहा छ। मुलुकको अवस्था भयावह छ । विश्व नै ‘कोरोना युद्ध’मा होमिएको यस कठिन घडीमा नेपाल अपवाद बन्ने कुरै थिएन । आजको मितिसम्म कोरोनाले मुलुकमा मानवीय क्षति नभए पनि मुलुकको ‘आर्थिक कारोबार र अवस्था’ जर्जरता तर्फ लम्किँदै छ । यस विषम परिस्थितिको सामना कसरी गर्ने ? भन्ने सवालमा बालुवाटार (सिंहदरबार हाल बालुवाटर बसाई सरेको छ)अनभिज्ञ छ । पछिल्लो समय मुलुक मात्र हैन नेकपा र प्रधानमन्त्री समेत बिरामी छन । सुखद नै मान्नु पर्छ, प्रधानमन्त्री द्रुतगतिमा स्वास्थ्यलाभ गर्दै छन् तर मुलुक र नेकपाले तमाम समस्याबाट कहिले र कसरी पार पाउला ? आजको मितिसम्म संकेत समेत देखा परेको छैन । अझ दुर्भाग्य नै भनौं । प्रधानमन्त्री र मुलुकको अनन्य मित्र भारतबाट मुलुक प्रताडित बन्दै छ ।

कमरेडको उदयको प्रमुख कारण राष्ट्रवाद, समृद्धि र सुशासनको नारा हुन् भन्दा गलत भइदैन। विडम्बना ! आज तीनै नारा कमरेडलाई बोझ बन्दै छन्। कोरोना आतंकको यस घडीमा आम मानिस प्रधानमन्त्रीलाई पोखरा पुगेको रेल कुस्मा र बेनी कहिले पुग्छ ? भन्ने सवाल गर्न चाहदैनन । नयाँ युगको शुरुवात भइसकेको मुलुकमा बिजुली बसले अति राम्रो सेवा दिएको र मोनोरेल, स्मार्ट सिटी, पानीजहाजको मज्जा लिन हतारिए कमरेडलाई असहयोग गरेको आरोप लाग्न सक्ने छ ।

विश्व अर्थतन्त्रले ८८ खर्ब डलर गुमाउने एडिबीको अनुमान पछि नेपालको अर्थतन्त्र कस्तो होला ? डाक्टर अर्थमन्त्रीले भन्ने नै छन्। गरीबीको पराकाष्टा देखी ‘केक संस्कृति’सम्मको अनुभव बटुलेका प्रधानमन्त्रीलाई देशवासीको अवस्था अवगत नहुने कुरै भएन । नेपाली शब्दलाई तास फिटे जस्तो फिट्न सक्ने ल्याकतका धनी प्रधानमन्त्री कमरेडसँग टोपी कसले, कसरी लगाउँछ भन्नेसम्म ज्ञान छ भने मुलुकका समस्या र समाधान थाहा छैन भन्ने कसरी मानौं ? सर्वज्ञाता कमरेडलाई पार्टी, जनता र विदेशले समेत स्वीकार र सम्मान गरेको अवस्थामा तुच्छ सल्लाह सुझाव दिनु मुर्खता नै हुनेछ ।

फलामखानी, तेलखानी, तामाखानी आफ्नै मुलुकमा सञ्चालन गर्ने, विदेशमा श्रम बगाउन बाध्य युवायुवतीलाई मुलुक भित्रै बस्ने वातावरण मिलाउन लगानी सम्मेलन गरेकै हो । २०४५ सालसम्म विदेशीले बनाइदिएका तमाम उद्धोगधन्धा बन्द गराउन विगतमा खेलेको भूमिका परिवर्तन गर्न ‘कुर्सी’ बाधक बनेको कमरेडले बताइ रहनु परेन। फेरि पनी मुलुकमा नयाँ व्यवसायको स्थापना नगरी नहुने अवस्थालाई मध्य नजर गर्दै कुर्सीमुखी विधेयक पाइप लाईनमा रहेको छँदै छ । यी सबै उपलब्धिहरुले सुशासनलाई साथ र सहयोग गरिरहेको हामीलाई लागेकै छ । वाइडबडी घोटालाको अनुसन्धान गर्न नियुक्ति तयार नै छ ।कर्मचारी साथीहरुले दिन नभ्याएका मात्र हुन भन्ने जनताले बुझी सकेका छन ।

लिपुलेक , लिम्पियाधूरा , कालापानी हाम्रै हो । नक्सा जाबो के नै होर र ? एक इञ्च जमिन कसैलाई छोडिदैन । नेपाली सेना बाटो खन्न , द्रुतमार्ग निर्माण गर्न , कोरोनाको औषधी ल्याउन दिन रात एक गरिरहेको अवस्थामा जनपद र शसस्त्र जवानलाई कालापानी भन्दा १२ किलोमिटर नजिकै पठाई सकिएको छ । मेरो अनन्य मित्र मोदीजी सही भए पनि भारतको नियत ठिक छैन। मलाई साथीहरुले समयमा बाटो निर्माण गरेको कुरा ओम्नीसँगको सम्झौता जस्तै बनाइ दिए छन । अब तत्काल कुटनीतिक पहल गरिन्छ । मित्रहरुलाई कन्भिन्स गरिन्छ । मुलुकको रक्षामा कुनै कम्प्रोमाइज गरिने छैन । ढुक्क हुनुस । सबै काम विधि र प्रक्रीयाबाटै गरिने छ भन्ने प्रधानमन्त्रीको आसय,मनसाय , विचार , धारणालाई सर्वसाधारण मुलुकवाशीले अविश्वास गर्न पनि मिलेन !

सिगमन्ड फ्रायड भन्ने गर्थे ,’मानिस झुट बिना बाँच्न सक्दैन्’ । लक्ष्य बिहिन मानिसले समेत ‘झुट’लाई अनन्य मित्र बनाएको यस वैश्य युगमा राजनीतिले झुटलाई त्याग्नु कसरी सम्भव हुन सक्ला र ? नीजि स्वार्थ प्राप्तिको निम्ति झुटको लेपन सहित चम्किएको ओली राजनीति सर्वसाधारण मानिसले बुझेकै छन । २०७५ साल जेठ ३ गते तात्कालिन एमाले र माओवादी केन्द्रको मर्ज गर्दै गर्दा ओली-प्रचण्डले भनेका थिए । आगामी दुई वर्ष भित्रमा एकता महाधिवेशन सम्पन्न गरिने छ । दुई वर्षको महत्वपुर्ण समय झुटमा बिताएका ओली- प्रचण्डले महाधिवेशन गर्नु त परको कुरा स्थायी समिति बैठक समेत स्थगित गर्दै फ्रायडको विचारलाई संस्थागत गर्दै छन । ‘बिग मर्जर ‘ पश्चात झण्डै तीन सय पटक भेटघाट गरेका ओली-प्रचण्डले पार्टीमा ‘झुट’लाई संस्थागत गर्न सफल भएका छन । नितान्त आफ्नो स्वार्थको निम्ति वाम आन्दोलन र नेकपा राजनीतिलाई ‘कोमा’मा पुर्याउने ‘ओली-प्रचण्ड’ खेल ‘तँ कुटे जस्तो गर , म रोए जस्तो गर्छु ‘ भने जस्तै बनाइएको छ ।

चुरोटको अम्मली भएपछि गन्हाउने डोरी काटेर पिउन थाल्छ भन्ने अवस्थामा ओली-प्रचण्ड राजनीति पुगेको छ । चरम सत्ता लिप्साको अम्मली बनेका कमरेडहरु कुर्सीको निम्ति हरेक काम जायज र अनिवार्य देख्न राजी हुँदै भन्दै छन । हाम्रो पार्टी जेट विमान हो । ट्याम्पो होइन । ट्याम्पो जस्तो सजिलै जता पनि घुस्न सक्दैन। हाम्रो शरिर भिमकाय छ । यसको उडान र  अवतरण गर्न विमानस्थल ठूलो चाहिन्छ । रन वे पनि लामो चाहिन्छ । हाम्रो कार्यवाहक कमरेडले मात्र विमान उडाउन सक्नु हुन्न । आठ लाख पार्टी सदस्यको सवाल छ । त्यसैले विधानमा लेखिएको प्रत्येक ६ महिनामा केन्द्रीय कमिटी र तीन महिनामा स्थायी कमिटी बैठक राख्नुपर्ने प्रावधान लागु गर्न कठिनाई भएको हो । साथीहरुले बुझ्नु भएकै छ । केही साथीहरुले बुझेर पनि बुझ पचाएकै भरमा बैठक बसाई हाल्न समयले साथ दिएको छैन । हालसम्म एक पटक बसेर केन्द्रीय कमिटी बैठकमा नेता कमरेडबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएकै हो । कम्युनिष्ट पार्टीको स्थापना कालदेखी जनतालाई देखाइएको तमाम सपनाहरु पुरा गर्न मर्ज गरिएको दुई कम्युनिष्ट पार्टीमा कमरेड ओली-प्रचण्डको लेनदेन र दिर्घकालिन स्वार्थ ‘सिमेण्टेड’ हुनासाथ सबै काम सम्पन्न हुने बुझ्न विचारक रजनिशको प्रवचन सटिक लाग्दै छ ।

जाडो याममा एक कुकुर र बिरालो रुख मुनी आराम गरिरहेको थियो । आँखा चिम्लेर रमाइरहेको बिरालोलाई कुकुरले सोधेछ। किन तिमी आनन्दित भइरहेका छौ ? कारण के हो ? बिरालोले जवाफ दियो । मैले एउटा सपना देखें । निकै अनौठो सपना । वर्षा भइरहेको थियो । पानी चाँही परेको थिएन । तर मुसा खसिरहेका थिए । कुकुरले बिरालोको कुरा सुने पछि भन्यो । मुर्ख, अबुझ बिरालो । न शास्त्र पढेको, न पुराण पढेको, न इतिहास बारे केहि थाहा छ । शास्त्रमा यस्तो कुरा कहिँ कतै उल्लेख छैन । कहिलेकाही वा कथम कदाचित वर्षा भइहाले पनि मुसाको हुँदैन । भइ हालेछ भने सुख्खा हड्डीको चैं हुनेछ । वास्तवमा ‘शास्त्र र सपना’, ‘कुकुर र बिरालोको’ एकै हुँदैन । उनीहरुको शास्त्र अलग अलग हुने गर्दछ । कुकुरले सुख्खा हड्डीमा रस  फेला पार्छ  भने बिरालोले मुसामा । उल्लेखित सन्दर्भ नेकपा राजनीतिसँग ठयाक्कै मेल खाँदै छ । सत्ता लिप्सामा आफ्नै विगतलाई पखाल्दै लाज र सिद्धान्तका तमाम बन्धन चुँडाउन हतारिएका कमरेडहरुबाट मुलुकले समृद्धिको मार्ग मुर्छित सपनामा मात्र फेला पार्ने छ ।

अत्यन्त बहुमुल्य समय र सुन्दर अवसर फालेकै समयमा आइलागेको पार्टी समस्या र कोरोना आतंक पछि भगवान बुद्धको सटिक विचार ‘तिमीले बाहिर खोज्नै पर्दैन, आफ्नै मन भित्र खोज’ को मर्म चुलिएको छ । वास्तवमा कमरेड प्रधानमन्त्रीले मुलुक र पार्टी भित्र मौजुद समस्याको जड आफ्नै मन भित्र खोज्नु पर्ने हो। समस्या केहि नदेख्ने र कसैले देखाई दिए आफूले थाहा नै नपाएको सगौरव बताउने कमरेडको शासनमा जनताले थप आशा केहि पालेका छैनन् । विश्व भ्रमणमा निस्किएको कोरोना महामारी आँगनमा आइपुगेको र ढोकै भित्र छिर्न लागेको समयमा कम्तिमा दैनिक पाँच हजार पिसिआर टेस्ट, पाँच लाख पिसिआर किट स्टक राखिएको, मुलुकभित्र रहेका सम्पुर्ण मेकानिकल भेण्टिलेटर सहि सलामत राख्न कमरेड प्रधानमन्त्रीले आदेश दिएको जनताले बुझ्दै छन् । ‘लकडाउन’ बाटै कोरोना समाप्त गर्न तम्सिएको सरकारले कोरोना आतंक भयावह हुनासाथ ‘ओम्नी र लिपुलेक’कै शैलीमा प्रधानमन्त्रीको गुनासो सुन्न नपरे मुलुकवाशीले राहतको सास लिने छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments