कमरेड, भयो अब पार्टीलाई थप नपखाल्नोस् !

फरकमत

शुक्रबार, बैशाख १९, २०७७



- दीपेन्द्र पाण्डे

एउटा विचारक अमेरिकाको न्युयोर्क शहरमा रहेको एक भव्य भवनको एक सय तलामा बस्थे । एक दिन उनी अचानक झ्यालबाट खस्न पुगे । विचारक माथीबाट खसिरहेको समयमा तल्लो तलामा रहेका मानिसहरु उनलाई हेरिरहेका थिए । एक मानिसले झ्याल खोलेर तल तिर खस्दै गरेका विचारकलाई सोधे । तपाईलाई कस्तो छ ? तिब्र रफ्तारमा तलतिर खस्दै गरेका विचारकले झ्यालमा बस्दै प्रश्न गर्ने मानिसलाई जवाफ फर्काए । अहिलेसम्म ठिकै  छ । माथीको घटना घटयो वा घटेन । पङ्तीकार त्यता जान चाहदैन तर उल्लेखित सन्दर्भ नेपाली राजनीतिमा विचित्रसँग मेल खाएको मान्न विवश छ ।

अक्सर सर्वसाधारण मानिस मर्नु भन्दा पहिला नै मर्ने गर्छन् । विचारकहरु जीवनको अन्तिम समयसम्म आफूलाई ठिक सम्झन्छन् । वैश्य युगको राजनीतिमा विचारकका मान्यता छाँयामा पारिन्छन् । विचारकहरु सदैव सकारात्मक सोचले अघाएका हुन्छन् । तर सत्तासिनहरु सदैव भोका हुन्छन् । सत्तासिनहरु आफ्नो फाइदाको निम्ति जस्तो सुकै ‘अनुचित’कार्यलाई पनि उचित र अत्यावश्यक ठान्ने गर्छन् । सत्ताको नजरमा जनता केवल ‘भोट’ सिवाय केहि हुँदैन । मुलुकको महासंकट सत्तासिनको निम्ति अवसर बन्ने गर्दछ । सत्तासिनहरुले जनतालाई ‘प्राथमिकता’मा नराखेको पुष्टि कोरोना त्रासको महासंकटमा मुलुकको प्रधानमन्त्री ‘अध्यादेश’ को खेल खेल्न राजी हुनुले गरिसकेको छ । औपचारिक रुपमा गत वैशाख ८ गते देखी नेकपा बालुवाटार, खुमलटार, कोटेश्वर, भैंसेपाटीमा छरिएको छ । सर्वसाधारणलाई सडकमा हिँड्न निषेध गरिएको छ।  नेकपा नेताहरूको  निजी निवासमा भक्तहरुको भिड लाग्ने गरेको छ । ‘लकडाउन ‘ मा प्रौढ सांसदलाई लिन पाखुरा ठूला भएका सांसद भक्तपूरबाट महोत्तरी पुगेका छन । ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना व्यवहारमै लागू गर्न १७४ सांसद अपुग भएको छ । प्रधानमन्त्रीलाई अधिक शक्तिको भोक लाग्न थालेको छ । फलस्वरुप नेकपालाई सञ्चो छैन । अधिक शक्ति प्राप्त गर्ने प्रधानमन्त्रीको चाहनाको भुँग्रोमा नेकपा थलिएको छ । हतार हतारमा अल्पकालिन उपचार गर्दै अगाडी बढ्ने अध्यक्ष एवम प्रधानमन्त्रीको चाहना षडयन्त्र, कपट, छलछाममा छचल्किएका छन् ।

नम्र, भद्र, शिष्ट, इमान्दार कार्यकर्ता ओली कार्यकालमा ‘पाखे ‘ बन्न पुगेका छन् । पाखुरा ठूला भएका, अभद्र, अराजक, अशिष्टताले भरिपुर्ण कार्यकर्ता ‘ओली कथा ‘ले माग गर्दै छ । हजारौं शहीद र लाखौं कार्यकर्ताको खुन पसिनाबाट निर्मित पार्टी कमरेडको कार्यशैलीको कारण मुर्छित बन्दै छ । निर्वाचनपूर्व लेखिएको ‘तिलस्मी घोषणापत्र’ बेवारिसे बन्न पुगेको छ । नेकपा नामको पार्टी ‘कोमा’मा पुर्याइएको छ । प्रधानमन्त्री ओलीको अन्धो समर्थकहरु हस्तीनापुरमा राज गर्दै छन् ।

प्रधानमन्त्री ओली दातामा रुपान्तरित भएका छन् । उनी नेकपा सचिवालयको निर्णय पालना नगर्ने उदघोष गर्छन् । संविधान अनुरुप कमरेड वामदेवलाई सभासद मनोनित नगर्ने घोषणा गर्छन् । अनि कोरोना माहामारीपछि प्रधानमन्त्री बनाउने हवाई ‘आश्वासन ‘ सगौरव प्रस्तुत गर्छन् । उनी एउटै पद एकैपटक धेरै जनालाई दिन सक्छ्न । नेपालको राजा महाराजाले गरेको अभ्यास ‘दाम राखेर ढोग्ने ‘ को रिमिक्स गर्न हतारिएका छन् । तर विडम्वना ! यी सबै सपनालाई संस्थागत गर्न उनी असफल हुँदै छन् । जसको कारण नेकपा राजनीतिमा अनेकौं ‘कमल थापा’ अर्थात ‘मुसा प्रवृति’ जन्माउन तयार हुँदै हस्ताक्षर अभियान चलाउँछन् ।

कमरेड ओली दुरदर्शी बन्न चाहेनन् वा सकेनन् । पूर्व एमालेमा वामदेव र झलनाथलाई ‘अदृश्य लोभ ‘देखाउँदै माधवलाई पेले । नेकपामा प्रचण्डलाई साथ लिँदै माधव, वामदेव र झलनाथलाई खेलाईरहे । जब प्रधानमन्त्री ओलीका तमाम खेल सतहमा देखा पर्‍यो तब उनी पक्का गुटवादी बनेर उदाए । शान्ति, स्थिरता, समृद्धि, सुशासन केवल कुर्सी प्राप्तिको साधनमा सिमित गरिदिए । लोकप्रीय नारा, छलछाम, गठजोड गर्दै प्राप्त आवधिक सत्तालाई जनबल र कर्मबलको आधारमा थप शक्ति प्राप्त गर्नुको सट्टा खरिद बिक्री , ठोकठाक , धाकधम्की , आश्वासन, व्यक्तिगत कमजोरी माथी खेल्दै  ‘कुटिल ‘ खेलाडीमा सिमित हुन पुगे । आफ्ना समर्थक, विरोधी र प्रतिपक्षीलाई एकसाथ मिलाएर उन्नति, प्रगति र स्थिरताको मार्गमा हिडाउँनुको सट्टा पेल्ने, ठेल्ने र ठोक्ने मार्ग अवलम्बन गर्दै खुद अस्थिरताको कारक बनिदिए । लोकतन्त्रको सौन्दर्य इमान र नैतिकता हो । वर्तमान समय कमरेड ओलीको नेतृत्वमा नेकपामा नैतिकताको खडेरी लागेको छ ।

माओवादी र मधेश केन्द्रीत दलको अराजकताले मुलुक आक्रान्त भएको समयमा संघीयता, जातीयता, क्षेत्रीयता, आरक्षण, पहिचानको विरुद्ध सतिसाल झै खडा भएका कमरेड ओली आँखिर कुन बाध्यताले यस्तो अवस्थाबाट गुज्रीदै छन् । प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको करीब २७ महिना पार गर्दै गर्दा कमरेडले नदेखेका काण्डै – काण्डको बोझमा नेकपा कती दुब्लाएको छ ? आफ्ना विचारसँग असहमत हुने पार्टी भित्रका सहयोद्धा कमरेडहरुलाई हदैसम्म पेल्ने उनको कार्यशैलीले नेकपा राजनीति र संगठन कुन अवस्थामा पुगेको छ ? आर्थिक र कानूनी अराजकता मुलुकका सम्बन्धित निकायले गर्ने अनुसन्धानको प्रक्रियामा  प्रवेशै नगरी पवित्र बनाउने बाध्यताको पछाडी के त्यस्ता कारण छन् ? माथीका तमाम सवालको वस्तुपरक जवाफ दिनुको सट्टा राज्य संयन्त्र र पार्टी संयन्त्र कब्जा गर्दै अविछिन्न शासक बन्ने अभिलाषाले कमरेड र पार्टीको छवी धुलीसात बन्दै छ ।

महाधिवेशनबाट निर्वाचित अध्यक्षको वैधानिकता पूर्व एमाले र माओवादी केन्द्रको एकता भएसँगै समाप्त भएको कमरेडका भक्तले बुझ्न चाहदैनन् । निर्वाचनपूर्व साठी-चालिसको वाम गठबन्धन अनुरुप जनताले दिएको जनादेशको सम्मान गर्नुको सट्टा उल्टो तमासा देखाउँदै मुलुकवाशीसामू नेकपा राजनीति कुरुप बनाउन अग्रसर बन्दै छन् । पूर्व-प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले स्थापित गरेको बाटोबाट भडकिँदै देउवा पथमा सवार तपाइको शैली र कार्यकाल देख्दै गर्दा तपाईका समर्थक र शुभचिन्तकहरु विचित्रको निरासामा डुबेका छन् ।

सहि मानेमा गत निर्वाचनमा वाम गठबन्धनलाई जनताले अनुमोदन गरेका हुन् । जनताले पार्टीका एजेण्डा मन पराउँदै सांसद चुन्ने र संसदले प्रधानमन्त्री चुन्ने संवैधानिक व्यवस्था अनुरुप कमरेड ओली संसदको नेता चुनिएका हुन् । संसदीय लोकतन्त्रमा पार्टीले चुनाव लड्ने हो । पार्टीको एजेण्डा जनताले अनुमोदन गर्ने हो । यस अर्थमा कमरेड ओलीको नेतृत्वमा सम्पन्न निर्वाचनको म्यान्डेट तात्कालिन एमाले नेतृत्वलाई हो । पार्टी एकतापछिको कमरेडको कार्यशैली र कार्यक्षमता हेर्दै वर्तमान समयमा पार्टीले नेतृत्व परिवर्तन गर्न चाहे कमरेडको भूमिका बदलिने स्वभाविक प्रक्रिया नै हो । पार्टीले आफ्नो भूमिका परिवर्तन गरेको खण्डमा जनादेशको अपमान भएको मान्न सकिन्न भन्ने बुझेकै कारण कमरेड ओली अनेक जालझेल मार्फत सत्तामा टिक्ने कोशीस गरेका हुन् भन्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले आफ्ना असफलताहरु हटाउन सक्नु पनि भएन । आफ्नै मुर्छित सपना र समृद्धिको नारालाई समेत न्याय गर्न सकेनन् । उनले पार्टीलाई गति र उर्जा दिन सकेनन् । सुशासन, कानूनको सर्वोच्चता, भ्रष्टाचार विरुद्ध आफ्नो उपस्थिति समेत देखाउन सकेनन् । चौतर्फी असफलताको भारी बोकेर कमरेड ओली गुटको व्यवस्थापन गर्न लाग्दा नेकपा राजनीति तिब्र गतिमा विघटनतर्फ उन्मुख हुँदै छ । पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा पार्टी र मुलुकलाई निकास दिन चुकेको ओली शासनको कारण मुलुक थप समस्यामा फस्न पुगे इतिहासले नेकपालाई माफी नदिने निश्चित छ ।

अन्तमा, कमरेडको करिब २७ महिने कार्यकालमा घटे-घटाइएका असफलतालाई छोप्न पूर्वएमाले कालदेखी रहेको अन्तरपार्टी झगडालाई उजागर गर्दै कोरोना सन्त्रासमा जनताको ध्यान मोड्न गरिएको नाटक ‘कला विहिन’ बन्न पुगेको छ । सहयोद्धाबाट दाताको अवस्थामा पुगेका प्रधानमन्त्री ओलीको ‘स्क्रीप्ट’ अनुरुप नेकपा नेतृत्वले खेल्दै गरेको भद्धा नाटक जनताले अरुचीपुर्वक हेदै छन् । संविधानलाई ठाडै चुनौती दिने, हवाई कल्पना र जालझेललाई स्थापित गर्ने, पटक-पटक एउटै व्यक्तिको मानमर्दन गर्दै सभासददेखी प्रधानमन्त्रीसम्मको चारा फ्याक्ने कार्य स्वयम कमरेड ओलीको नेतृत्वमा हुनुले पार्टीको साख धुलिसात भएको छ । न्युयोर्कका विचारकले जस्तो खसेर मर्नै लाग्दा पनि अहिलेसम्म ठिकै छ भन्ने अवस्थामा पार्टी र सरकारलाई पुर्याउँदै प्रधानमन्त्रीले भद्धा मजाक जारी राखेका छन । जनताको चुलोसँग नगासिएको वर्तमान झगडाको समाधान जुनसुकैरुपमा गरिए पनि मुलुकवाशी भन्न बाध्य छन् । कमरेड, भयो अब पार्टीलाई थप नपखाल्नोस !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments