कसले बचाउँछ नेकपा ?

फरक मत

मङ्लबार, असार २६, २०७५



- दीपेन्द्र पाण्डे

सन् १९१७ को अक्टोबर क्रान्तिदेखि शितयुद्ध अन्तसम्म विश्वभर साम्यवादी आन्दोलनको करिव एक मात्र नेता सोभियत रुस आज अस्तित्वमा छैन् । मार्क्सवादी सिद्धान्तलाई लेनिनवादी संगठनात्मक ढाँचामा ढाल्दै साम्यवादको अभ्यास गर्ने सोभियत कम्युनिष्ट पार्टी, उसका लाखौ कार्यकर्ता, अर्वौँको सम्पती र कठिन संघर्षबाट निर्माण गरिएको इतिहास आज केवल रोमाञ्चक कहानी सिवाय केही रहेन । सिद्धान्त एकातिर व्यवहार अर्कोतिर हुँन जाँदा देश, जनता, पार्टी भनेर नथाक्ने कम्युनिष्ट कार्यकर्ताहरू रुसी सत्ता बचाउन सडकमा आएनन् । रुसी कमजोरीबाट पाठ सिक्दै जनता र कार्यकर्ता समर्पित पार्टी बनाउनुको सट्टा कमजोरीमा रमाउँदै दुई कम्युनिष्ट पार्टीका मुखियाहरू बाँडीचुँडी खान भिमकाय नेकपा जन्माउन तम्सिए । ठुला नेतालाई कुर्सी र संसदीय सुख, कार्यकर्तालाई अनेक नामको पद र जनतालाई सपना बाँडेर जन्माइएको नेकपा मस्त अघाएको भैंसी जस्तो सुत्दैछ । जनताको माया, समर्थन र समर्पण बिनाको कुनै पनि सत्ता अथाह सम्पती, लाखौं कार्यकर्ता र रोमाञ्चक बिगतको भरमा नटिक्ने रुसी कम्युनिष्ट पार्टीको बिगतले ओली सत्तालाई पोल्दैन । साम्यवादको सुन्दर सपनामा जन्माइएको नेकपा अनेकौं कमी कमजोरीलाई चिर्दै देश र जनताको सेवा लोकतन्त्रको जगमा गर्नेछ भन्ने आशा ओली सत्ताको कारण ॠणात्मक बन्न जाँदा शुभचिन्तकहरू कसले बचाउँछ नेकपा भन्न बाध्य भएका छन् ।

नवनिर्मित नेकपाभित्र बढदैछन आर्जिमोन म्याक्सिकाना
बैज्ञानिक नाम आर्जिमोन म्याक्सिकाना भारतीय नाम सत्यानाशी झट्ट हेर्दा सर्स्यु वा तोरी जस्तै देखिन्छ । अमेरिकाको वस्टर्न पार्ट र मेक्सिकोमा जन्मेको आर्जिमोन म्याक्सिकाना पछिल्लो समय फिजी, साउथ अफ्रिका र इण्डियामा ब्यापक मात्रामा पाइएको छ । सर्स्यु वा तोरी जस्तै देखिने आर्जिमोनको दाना अधिक मुनाफाको निम्ती प्रयोग गर्ने मिसावटकारीको फन्दामा पर्दा सन १९९८ पछि भारतमा अत्यधिक प्रयोगमा ल्याइयो । विशेषज्ञको भनाई अनुसार मानव स्वास्थ्यको निम्ती अत्यन्त हानिकारक आर्जिमोन मिसिएको तेल ल्याब परिक्षण बिना थाहा नलाग्ने मानिन्छ । हेर्दा तोरीको तेल जस्तै देखिने आर्जिमोन मिसिएको तेल प्रयोग गर्दा शरिर सुन्निने, लिभर र मृगौलामा नराम्रो असर गर्ने र अधिक प्रयोग गरे मानब जीव नै समाप्त हुने मानिन्छ ।

मेक्सिकोदेखि भारत आउन सफल, तोरी वा सर्स्युको तेलसँग सजिलै मिल्ने आर्जिमोन म्याक्सिकाना पछिल्लो कालखण्डमा आफुलाई अनेक रुपमा परिवर्तन गर्न सफल भएको पुष्टि राजनीतिक पार्टीभित्र फेला परिरहेको विकृति र विसंगति हेर्दा थाहा लाग्छ । विगतमा जनताको निम्ती अनेक दुःख, कष्ट मात्र हैन जीवन नै त्याग गर्न तयार कम्युनिष्ट नेताहरू प्रजातन्त्र देखि लोकतन्त्रसम्म आइपुग्दा अनेक खाले आर्जिमोनको खतरनाक प्रभावमा परिसकेको बुझ्न उनीहरुको रहनसहन, चालढाल, तर्क बितर्क र कुतर्क सुन्दा थाहा लाग्छ । कम्युनिष्ट नेताको विगत र बर्तमानलाई राम्रोसँग बुझेका आर्जिमोन म्याक्सिकानाहरू पछिल्लो समय उनीहरूको शैली नक्कल गर्दै नवनिर्मित पार्टी, सिंहदरबार र बालुवाटारको किचेनमा हालीमुहाली गर्दैछन् । आर्जिमोनको प्रभावले गति लिन नसकेको दुई तिहाईको ओली सरकार र जनताले कम्युनिष्ट ठानेका आर्जिमोन मिसिएको नेकपाको सेवन जनताको निम्ती महँगो बन्न सुरु भएको चर्चा हवात्तै बढ्दैछ ।

तोरीमा कोदो मिसिएको संगठन
पदको निम्ती सँधै फुटन मात्र जानेका जुटन नजानेका नेपाली कम्युनिष्ट पार्टीहरू जनताको सेवा गर्ने नाममा सत्ता स्वाद लिन गत जेठ ३ गते मिलेर देखाईदिए । २००६ सालदेखि जनतालाई देखाएको सुन्दर सपनालाई साँचो अर्थमा पुरा गर्ने सुन्दर अबसर खेर नफाल्ने सोचको साथ एक भएका दुई ठुला कम्युनिष्ट पार्टी अन्तत भेडीगोठ शैलीको ४४१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्दै पद विनाको एकता औचित्यहिन हुने पुष्टि गरिदिए । दुई जना पाइलटले हाँक्ने भिमकाय नेकपा रुपी विमानको सात सदस्यीय सचिवालयको राम्रा नराम्रा कामको साक्षी स्थायी समिति बोल्नु भन्दा नबोल्नुमा भविश्य देख्दैछ ।

पूर्व माओवादी केन्द्रभित्रको रोग प्रचण्डको परिक्रमा गरेर आफ्नो भविश्य बनाउने तौरतरिका र पूर्व एमालेमा ओलीले चलाई रहेको गुटगत राजनीतिको फ्याक्ट्री नेकपाको निर्माणसँगै हाईब्रीड बनेर निस्किएको छ । काम गर्ने ज्यामी माहुरी घटदै गएको नेकपाभित्र बसीबसी खाने भाले माहुरी अत्यधिक भइसकेको पुष्टि अस्तब्यस्त संगठन नै काफी छ । संसदीय राजनीतिको बाध्यतामा नराम्रोसँग बिटुलिएको दुई वामपन्थी पार्टीभित्र विगतदेखि मिसिएका तोरी र कोदो नयाँ ढँगले घुलमिल हुँन जाँदा पार्टी संगठन नराम्रो दलदलमा फस्ने करिव निश्चित नै छ । कोदो पिने पिठो बन्ने र तोरी पेले तेल निस्कने दुई पदार्थलाई एकै ठाँउमा राखेर मिस्दा वा पेल्दा न पिठो निस्कने न तेल नै भन्ने अवस्था नेकपाको बनिरहेको तितो यथार्थ दुई पाइलटले बुझेर बुझपचाइरहेका छन ।

विद्रोहको आधार तयार पार्दै ओली सरकारका मन्त्रीहरू
अधिक सपनाको वितरण गर्दै जन्म लिएको ओली सरकार आम जनताको इच्छा, चाहाना र आवश्यकताको पहिचान सही ढंगले गर्न सफल भएन । चुनावी घोषणापत्र, नीति तथा कार्यक्रम हुँदै बजेटसम्म पुग्दा ओली सरकार गन्तब्य हराएको यात्री जस्तो हुन पुगेको छ । चरम राजनीतिक अस्थिरता, भ्रष्टाचार , ढिलासुस्ती र कर्मकाण्डी प्रशासनको कारण रोगी बनेको नेपाली अर्थतन्त्रले डाक्टर मन्त्री पायो भन्दै खुसी भएको निजी क्षेत्र मात्र हैन सर्वसाधारण जनता समेत निराश बन्दैछन् । अधिक आषा गरिएको विज्ञ अर्थमन्त्रीले उठाउन नसकेको आर्थिक क्रियाकलापको असर ओली सरकारको छवी धुमिल्याउने कारण बनिसकेको छ ।

घरजग्गा ब्यवसायी र शेयर बजारको लगानीकर्तालाई व्यवसायी नै नमान्ने सोचको कारण क्रुद्ध लगानीकर्ताको मन भाँचिएको छ । विना तयारी गिजोल्ने र विकल्प दिन नसक्ने ओली मन्त्रीहरूको कारण सरकारप्रतिको मोह भङ्ग हुँदैछ ।

लालबाबुको टयाँउ टयाँउ, रविन्द्रको फुर्मासी, महासेठको पौठेजोरी, गोकुलको धमास, बिज्ञ अर्थमन्त्रीको गन्तव्यहिन यात्रा, गोकर्णको अंग्रेजी, प्रदिपको गुमनामीले ओली सरकार रक्षात्मक अवस्थामा पुगिसकेको छ । राम्रो कामको उठान गर्ने र बिचैमा छोडिदिने, विना तयारी निर्णय गर्ने र स्वार्थ समुहको चर्को दबाद थेग्न नसक्दा फिर्ता लिने, भावना र लहडको भरमा प्रचलित कानुनलाई अन्देखा गर्दै निर्माण व्यवसायीमाथि धरपकड र हमला बोल्ने, कर्मचारीलाई हतोत्साही बनाउने , सामान्य ब्यवसायी माथी अनुपयुक्त कर लादने, अनियन्त्रित मुल्यवृद्धिले अन्जान मै विद्रोहीको परिस्थिति निर्माण गरिरहेको संकेत मिल्दैछ ।

लगाम रुचाउने नेतृत्व
जसरी भएपनि सबैभन्दा ठुलो कम्युनिष्ट पार्टीको अध्यक्ष बन्ने महत्वकांक्षामा घटदै गएको माओवादी केन्द्रको आकार र शक्तिले रन्थनिएका प्रचण्ड र जतीसुकै लोकप्रिय भए पनि संसदीय राजनीतिको निम्ती अनिवार्य अंकगणितलाई बुझेका ओलीको बाध्यतानै नेकपा निर्माणको प्रमुख आधार मान्नु सत्यसँग नजिक हुन जान्छ । चालिसको दशक देखि निरन्तर पार्टी प्रमुखमा रहेका प्रचण्ड र माधव, झलनाथको शासनकालमा लगातार गुटगत राजनीति गरेका ओली बीचको समानता भनेको पद प्राप्ती र त्यसको असली तागतको महत्वलाई बुझ्नु हो । आवश्यक पर्दा अत्यन्त लोकतान्त्रिक र अन्यथा लेनिनवादी संगठनात्मक शैलीको प्रयोग निर्मम ढंगले गर्ने दुई हस्ती नेकपाको पाइलट बन्दा निर्माण गरिएको सचिवालय हेर्ना साथ उनीहरूको इच्छा, चाहाना र लक्ष्य खुलिसकेको छ । पार्टी र सरकारमा एकलौटी हाली मुहाली चलाउने, भद्धा र अनुपयुक्त कमिटी निर्माण गर्दै सम्पुर्ण अधिकार आफुमा सिमित गर्ने , आफ्नो विरोध सुन्न नचाहने, कसैले हिम्मत गरेमा पार्टीमा जगेडा बन्ने बनाइने, परिक्रमा र भक्ती भावमा रमाउने ओली शैलीको कारण पार्टी कमिटी र सार्वजनिक फोरममा कसैले चुँ नबोल्ने स्थिति बढदै जाँदा ओली सत्ता मात्र हैन नेकपाको भविश्य अन्धकार देख्नेहरू बिस्तारै बढदै छन् ।

अन्तमा,
अपबादमा बाहेक मुलुक बिगार्ने मामिलामा निर्णायक हात नभएको मान्ने जनताले कम्युनिष्ट आइडोलोजीको नाममा भएको झापा आन्दोलनको हिंसा र माओवादी ध्वंसलाई नमिठो मान्दै शंकाको लाभ दिन राजी हुँदा मतपत्रमार्फत वाम गठबन्धनलाई पाँच बर्षे सत्ता सुम्पिन तयार भए । इतिहासको भरमा बाँच्ने काँग्रेस पार्टीको सत्ता सञ्चालन शैलीले वाक्कदिक्क भएका जनताले वाम सरकारबाट अपेक्षा गरेको अल्पकालिन र दीर्घकालिन कामको न्युनतम लक्षण समेत देख्न नपाउँदा भित्र भित्र निराश र आक्रोसित हुँदैछन । सर्वसाधारण जनताले दैनिक महसुस गर्ने सामान्य कुरालाई वास्ता नगर्ने, पूर्व विशिष्टलाई पाल्न मरिहत्ते गर्ने, संघीयता कार्यान्वयन गर्ने नाममा गरिव जनतामाथि अनुपयुक्त आर्थिक बोझ थप्ने, जनपक्षीय काम गरेर विरोधको स्वरलाई मत्थर पार्नुको साटो निषेधित क्षेत्र खोज्न हिडने सरकारी काइदा तत्काल रोक्नु अनिबार्य भइसकेको छ । वर्तमान काँग्रेसको आलोचना गर्नुको सट्टा इतिहासको मुल्याङ्कन गर्दै सहकार्यको हात लम्काउँदै बढनु पर्नेमा अनुपयुक्त भिडन्तमा फस्ने ओली काइदा समृद्धिको निम्ती ‘राजनीतक ओट’ र नेकपाको निम्ती दुर्भाग्य बन्दैछ । सामान्य कुरा सुन्नै नचाहाने र हवाई उडान मात्र भर्ने ओली सत्ताको बिकराल रुप बढदै जाँदा कसले बचाउँछ नेकपा ? भन्नै पर्ने बाध्यता आइलागेको छ ।

6207 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank